ताप्लेजुङमा उर्वर जमिन बाँझिदै


खेतीपाती गर्न विभिन्न प्रविधिको आविष्कार भएको छ। मेसिनले नै खेत जोत्छ। मेसिनले नै धानको बीउ रोप्छ। तर ताप्लेजुङलगायत पहाडी क्षेत्रमा प्रविधिको प्रयोग हुन सकेको छैन। पहाडी क्षेत्रमा खेतीपाती गर्नका लागि अझै पनि गोरुको प्रयोग गर्नु पर्दछ।

मानवीय जनशक्तिको आवश्यक पर्दछ। पहाडी क्षेत्रमा तराई जस्तो समतल जमिन छैन। भिरालो जमिन, थुम्का–थुम्की स–सानो डिलहरू त्यसमा पनि चट्टान, माटो र चट्टान बराबर हुने भएकाले पहाडी क्षेत्रका कृषकले कृषिका लागि अविष्कार भएका मेसिन प्रयोग गर्न सकेका छैनन्। विभिन्न प्रविधिको प्रयोग हुन नसक्नुले पनि पहाडी क्षेत्रमा खेतबारी बाँझिदै  गएको कृषि विज्ञ भिङमारे हेल्लोकले बताए।

कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्न नसक्दा पर्याप्त मात्रामा धानखेती हुन सकिरहेको छैन। धानलाई मुख्यबाली मानिए पनि परम्परागत खेती प्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि प्राविधिक बताउँछन्। 

युवापुस्ता रोजगारी, अवसर र सेवा सुविधाको खोजीमा विदेश र  सहर पसेका कारण यति बेला गाउँमा काम गर्ने जनशक्तिको अभावले खेतीयोग्य जमीन बाँझो हुँदै गएको छ। पछिल्लो समय गाउँघरमा गाईगोरु पाल्न छाडेपछि रोपाइँ गर्न, खेतबारी जोत्ने र मलमूत्रको समेत अभाव झेल्न किसान बाध्य छन्। सरकारले कृषिमा यान्त्रिकीकरण गर्ने भन्दै अनुदानमा विभिन्न सहयोग र कार्यक्रम ल्याए पनि पहाडी क्षेत्रका किसान  यान्त्रिकीकरणको प्रयोगबाट वञ्चित रहेको कृषि विज्ञ हेल्लोकले बताए। धान रोप्न छोडेर किसान फलफूल खेती, अलैँची खेती जस्ता वैकल्पिक खेती गर्न बाध्य छन्। 

खेताला पाउन मुस्किल

विगतमा गाउँघरमा पर्मा खेल्ने प्रचलन थियो। एक दिन एक परिवारको रोपाइँ र अर्को दिन अर्को परिवारको रोपाइँ गर्ने त्यसरी नै खेतीपाती गर्ने चलन थियो। तर आजभोलि गाउँघरमा पर्मा खेल्ने चलन हराउँदै गएको सिदिङवा गाउँपालिका–४ का अनिता लिम्बूले बताइन्। उनले भने, ‘खेताला पाउनै छोडेको छ।’ खेतालाको ज्यालादर प्रत्येक वर्ष बढ्दै गएको छ। एक खेतालाको रु ५००  ज्याला दिनु पर्दछ। एक हल गोरुको रु एक हजार ज्याला पुगेको सिरिजङ्घा गाउँपालिका–१ आम्वेगुदिनका वडाध्यक्ष असिम कुवँरले बताए। ज्याला बढ्दै गए पनि उत्पादन भने घट्दै गएकाले अन्न बाली छोडेर नगदेबालीतर्फ  कृषकको आकर्षण बढ्दै गएको छ।

कृषि पेसा अपहेलित 

गाउँ घरमा भन्ने गरिन्छ, ‘अहिले राम्ररी पढ। नत्र पछि हलो जोत्दै बस्नु पर्ला।’ समाजमा पढे लेखेकाले जागिर खाने र नपढेकाले कृषि कर्म गर्नु पर्छ भन्ने मानसिकताले जरा गाडेको छ। कृषि प्रविधिक प्रत्येक वर्ष सयौँको सङ्ख्यामा उत्पादन हुन्छन्। कृषि पेसा गर्ने सोच भने हुँदैन। 

कृषि व्यवसाय सीमितले मात्र अङ्गाल्ने गरेको विज्ञ हेल्लोकको भनाइ छ। कृषकलाई अनुदान र प्रविधिक सहयोग सहुलियत व्याज दरमा ऋणको सहजीकरण हुन सके उर्वर जमिन बाँझो रहने समसइा हट्ने कृषक बताउँछन्। गाउँमै कृषि कर्म गर्न प्रोत्साहन गर्न सके जमिन बाँझो हुनबाट जोगिने फक्ताङलुङ गाउँपालिका–४ का विक्रम माबोहाङले बताए।

धान रोपाइँ क्रमिक रुपमा घट्दै

यसवर्ष ताप्लेजुङको नौ स्थानीय तहमा धानखेतीयोग्य आठ हजार ७३७ हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिएको थियो। सो खेतीबाट २२ हजार १७.२४ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले बताए। गत वर्ष आठ हजार ३०० हेक्टरमा गरिएको खेतीमा २१ हजार ८२ मेट्रिकटन  धान उत्पादन भएको थियो। 

विसं २०७५ मा ताप्लेजुङमा आठ हजार ५६२ हेक्टरमा धानखेती गरिएको थियो। सो खेतीबाट १८ हजार १५१ मेट्रिकटन धान उत्पादन भएको थियो। विसं २०७६ मा आठ अजार ३८.०४ हेक्टरमा धानखेती गरिएकामा २० हजार ७६.९७ मेट्रिकटन धान उत्पादन भएको थियो। विसं २०७७ मा आठ हजार ३००.१५ हेक्टरमा धानखेती गरिएकामा २१ हजार ८२.३८ मेट्रिकटन धान उत्पादन भएको सम्पर्क कार्यालय ताप्लेजुङले जनाएको छ।





Source link

Leave a Comment