नेपाली रुपैयाँ अमेरिकी डलरसँग इतिहासकै कमजोर भएको छ

काठमाण्डाै – पछिल्लो समय विश्वभर डलरको भाउ बढ्दै जाँदा नेपाली रुपैयाँ कमजोर बन्ने क्रम बढिरहेको छ । अमेरिकी डलरसँग नेपाली मुद्रा इतिहासकै कमजोर भएको छ ।

नेपाल राष्ट्र बैंकले आजको लागि १ अमेरिकी डलरको खरिद मूल्य १ सय २७ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य १ सय २८ रुपैयाँ ११ पैसा तोकेको छ ।

पछिल्लो एक वर्षमा डलरसँग नेपाली मुद्रा ७ प्रतिशतले कमजोर बनेको छ ।नेपालमा डलरको भाउ यति धेरै पुगेको पहिलो पटक हो ।  विश्वभर अमेरिकी डलरको माग बढ्दै जानु, युरो कमजोर हुनु, रुस–युक्रेन युद्ध लगायतका कारण डलरको भाउ बढिरहेको छ । तर नेपाली बजारमा युरो भने कमजोर बनेको छ ।

अमेरिकी डलर र युरोको भाउ बराबरी जस्तै छ । आजको लागि राष्ट्र बैंकले युरोको खरिद मूल्य १ सय २७ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य १ सय २८ रुपैयाँ ३१ पैसा तोकेको छ । युरोपमा २० वर्षपछि अमेरिकी डलर युरोभन्दा बलियो बनेको कारण विश्वका धेरै देशमा युरो कमजोर भएको हो ।

Leave a Comment