उपसभामुख छान्न आज मतदान हुँदै, कांग्रेसकी भुसालको जित निश्चित


काठमाण्डाै – प्रतिनिधि सभाको उपसभामुख छान्न आज मतदान हुँदैछ । उपसभामुख छान्नको लागि प्रतिनिधि सभामा दिउँसो ३ बजे मतदान हुन लागेको हो ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दिनुभएको छ । संसद्को अङ्क गणित हेर्दा उपसभामुखमा कांग्रेसकी नेतृ भुसालको जित निश्चित जस्तै देखिन्छ । प्रतिनिधि सभामा अहिले २ सय ७१ जना सांसद रहेका छन् ।

उपसभामुखमा निर्वाचित हुनको लागि संसदमा तत्काल कायम रहेको सङ्ख्याको बहुमत अर्थात १ सय ३६ मत आवश्यक पर्छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४०, एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका २० र राष्ट्रिय जनमोर्चाका सांसद गरेर १ सय ५४ जना सांसद रहेकाले कांग्रेसकी पुष्पा भुसाल निर्वाचित हुने पक्का जस्तै छ ।

एमालेसँग ९८ जना सांसद रहेका छन् । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि २९ महिनासम्म यो पद रिक्त थियो । तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार  बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिनुभएको थियो ।

प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ । 
 





Source link

Leave a Comment

WP2Social Auto Publish Powered By : XYZScripts.com