भौतिकवादको पतन – HamroAwaj


‘आधुनिक भौतिक विज्ञानका पछिल्ला विकासले पैदा गरेको परिणामलाई कसैले तब मात्र बुझ्न सक्छ जब उसले यो महसुस गर्छ कि यहाँ शास्त्रीय भौतिक विज्ञानको जग भत्किएको छ र यसले यस्तो सन्देश दिइरहेको छ कि विज्ञानले नै विज्ञानको जरा काट्दैछ ।’ –वर्नर हाईजेन्वर्ग

लेखको शीर्षक मात्रै पढेर, लेखकले ईश्वरवादी चिन्तनको वकालत गर्न खोज्दैछ भनेर अनुमान लगाउनुभयो भने गलत हुनेछ । विज्ञानको विकाससँगै पुराना महाभाष्य खण्डित भइसकेका छन् । जस्तो कि, संसारमा जम्मा दुई खालका दर्शन छन्– ईश्वरवादी र भौतिकवादी, भौतिकवादको विरोध गर्ने व्यक्ति ईश्वरवादी हुन्छ । यदि यसरी धारणा बनाउनुभयो भने गलत हुनेछ ।

ईश्वरवाद र भौतिकवाद, दुवै शास्त्रीय चरित्रका दर्शन हुन् जो अप्राकृतिक छन् । आधुनिक विज्ञानले यी दुवैलाई खण्डित गरिसकेको छ । परिणामतः दुवै चिन्तन प्रणाली पतन भइसकेका छन् । ईश्वरवाद र भौतिकवादको बुद्धि विलासभन्दा माथि उठ्दा मात्र जीवन र जगतका नियमको सही दर्शन हुन्छ । यो आजको नयाँ वैज्ञानिक तथ्य हो । यो आलेख भौतिकवादको पतनको परिघटनामा केन्द्रित हुनेछ ।

खण्डित विज्ञान
बीसौं शताब्दीको मध्यसम्म पनि के सोचिन्थ्यो भने विज्ञानमा ‘निरन्तर प्रगति’ भइरहन्छ । विज्ञानका पुराना ज्ञान र सिद्धान्तलाई नयाँ र अझ परिष्कृत सिद्धान्तले प्रतिस्थापित गरिरहन्छन् । यो आम प्रक्रिया हो, यसरी नै सदाकाल विज्ञानमा क्रमशः विकास भइरहन्छ । विज्ञान जगतमा ‘निरपेक्ष सत्य’ भन्ने कुनै चिज हुँदैन । सामान्य मानिस मात्र होइन, त्यो बेलाका वैज्ञानिक पनि यसरी नै सोच्दथे ।

तर बीसौं शताब्दीको उत्तराद्र्धबाटै, एकातिर विज्ञानमा ‘निरन्तर प्रगति’ अवरुद्ध भएको थियो । अर्कोतिर ‘सामान्य विज्ञान’ (शास्त्रीय विज्ञान) लाई ‘क्रान्तिकारी विज्ञान’ (आधुनिक विज्ञान) ले खण्डित गरिरहेको थियो । अर्थात्, विज्ञानमा क्रान्ति भइरहेको थियो । ‘क्रान्तिकारी विज्ञान’ ले वैज्ञानिक सिद्धान्त मात्र होइन, विज्ञानको समग्र अवधारणागत ढाँचामै परिवर्तन ल्याइरहेको थियो । विज्ञान भित्र ‘निरपेक्ष सत्य’ ले स्थान पाइरहेको थियो । विज्ञानमा ‘पाराडाइम सिफ्ट’ भइरहेको थियो ।

आजसम्म आउँदा यो प्रक्रिया धेरै उचाइमा पुगिसकेको छ । भौतिक विज्ञानमा आएको क्रान्तिले सूक्ष्म प्रविधि (सफ्टवेयर) जन्मायो । यसले उत्पादन र सञ्चार क्षेत्रमा उथलपुथलकारी परिवर्तन सिर्जना गर्‍यो । सिंगो विश्व व्यवस्थामा उथलपुथल आयो । आज हामी क्रान्तिकारी विज्ञानले पैदा गरेको प्रविधिका ‘महान्’ ग्राहक भइसकेका छौं । सूक्ष्म प्रविधि हाम्रो जीवनको अभिन्न अंग भइसकेको छ ।

तर आजको विरोधाभास यो हो कि, हाम्रा विद्वानहरू क्रान्तिकारी प्रविधिका पारखी त भएका छन्, तर त्यस्तो प्रविधि जन्माउने विज्ञानबारे बेखबर छन् । आजको सूक्ष्म प्रविधि, विज्ञानको ‘निरन्तर विकास’ को परिणाम होला भन्ने बुझाइ छ । विज्ञानको क्रान्ति भनेको यही प्रविधिको विकास होला, विज्ञानको अवधारणागत ढाँचामै परिवर्तन आएको त होइन होला भन्ने भ्रम छ ।

यथार्थ बिल्कुलै फरक छ । वैज्ञानिक क्रान्तिका कारण पुरानो विज्ञानको अवधारणागत जग नै खण्डित भएको छ । प्रकृति र जीवनबारे आधारभूत निष्कर्ष नै खण्डित भएका छन् । ज्ञान सिद्धान्त सम्बन्धी आधारभूत बुझाइ खण्डित भएको छ । मानवीय स्वभाव सम्बन्धी आधारभूत निष्कर्ष खण्डित भएका छन् । विचारधारा र सामाजिक मूल्यमान्यताका आधारभूत प्रस्थानबिन्दु खण्डित भएका छन् । यी विषयमा नौला र अनौठा तथ्य स्थापित भएका छन् ।

सूक्ष्म प्रविधि (सफ्टवेयर) को आविष्कार वैज्ञानिक क्रान्तिको मूल पक्ष हुँदै होइन । यसको मूल पक्ष त चिन्तनगत परिवर्तन हो । चिन्तनगत परिवर्तन पनि सामान्य होइन, सिंगो भौतिकवादी चिन्तनधारालाई पतन गराउने र वैकल्पिक चिन्तनधाराको जन्म गराउने सम्मको हो । यो तथ्यलाई नबुझेसम्म अबको समाजको नेतृत्व गर्न सम्भव छैन ।

व्यावहारिक संकट
माथि विज्ञान र सिद्धान्तका जटिल कुरा गरियो । अब विषय–परिवेशलाई कलिकति व्यावहारिक आँखाले पनि हेरौं । विगत तीन सय वर्ष यता शास्त्रीय विज्ञान (भौतिकवाद) मा आधारित विचारधारा र मूल्यमान्यताको व्यापक प्रयोग भइरहेको छ ।

भौतिक तत्व मात्र शाश्वत सत्य हुन्छ भन्दै भौतिक उपलब्धिलाई नै मनुष्य जीवनको लक्ष्य मानिएको छ । भौतिक सुख मात्र वास्तविक हो भन्दै धन सुख, पद सुख र शरीर सुखमा गौरवबोध गर्ने मूल्यमान्यता बसाइएको छ । प्रकृतिसँगको संघर्ष, प्रकृतिसँग विजय र सामाजिक संघर्षमा जोड गरिएको छ । सारा विज्ञान र मानव प्रयत्न प्रकृतिसँग संघर्ष गर्ने र भौतिक सुविधा बढाउने होडमा दौडिएको छ ।

आज विज्ञान प्रविधिको विकासले मानव जाति आफ्ना सांसारिक दुःखबाट छुटकारा पाउन सक्ने ठाउँमा आइपुगेको कुरा सत्य हो । तर विज्ञान र प्रविधि, दुःख घटाउने र सुख बढाउने होइन यसको ठिक उल्टो ठाउँमा प्रयोग भइरहेका छन् । विज्ञान प्रविधिकै उपयोगबाट केही व्यक्ति वा राज्यहरू भौतिक सुविधा वृद्धि गर्न त सफल भएका छन् तर त्यसले प्रकृतिको विनाश, सामाजिक द्वन्द्व, आर्थिक संकट, सामाजिक भेदभाव, व्यक्तिगत जीवनको तनाव, जलवायु संकटदेखि स्वास्थ्य संकटसम्म पैदा गरेको छ ।

आज मानव सभ्यता ‘विकास हुन पनि, विनाश हुन पनि बेर नलाग्ने’ चुनौतीपूर्ण अवस्थामा आइपुगेको छ । जुन–जुन राष्ट्र वा व्यक्तिहरू प्रविधिको बढीभन्दा बढी उपयोग गरेर भौतिक सुविधासम्पन्न भएका छन्, वास्तविक जीवनमा तिनीहरू नै सबैभन्दा बढी असन्तुष्ट, दुःखी, रोगी र विक्षिप्त देखिएका छन् ।

तिनीहरूले नै विश्वमा बढी तनाव पैदा गरिरहेका छन् । तिनीहरू नै लोभलालचमा युद्ध गर्नसम्म आतुर छन् । तिनीहरू नै लुट खसोटको पागलपनमा बाँचिरहेका छन् ।

तिनीहरू नै प्रकृति र पर्यावरण ध्वस्त गर्न उद्यत छन् । तिनै मुलुकहरूमा युद्ध, अपराध, बेरोजगार, सामाजिक अतिवाद मौलाइरहेको छ । तिनै देशमा नौला–नौला शारीरिक तथा मानसिक रोग र आत्महत्याको संख्या बढिरहेको छ ।

चाहे उदारवादी होउन् वा समाजवादी, भौतिकवादी आदर्शमा अघि बढेका राज्यहरू आफ्ना खराबी सच्याउनै नसक्ने गरी थला परेका छन् । निचोडमा हेर्दा, भौतिक सुखको प्राप्तिलाई लक्ष्य मान्ने चिन्तन कहींकतै सही देखिएन । यसरी व्यावहारिक दृष्टिले पनि भौतिकवादको पतन भयो ।

विचारधाराको पतन
भौतिकवादको पतनको मुख्य आयाम नै विचारधारा पतन हो । हामी यस्तो समयमा छौं, जहाँ ‘विज्ञानमा निरन्तर विकास भइरहन्छ’ भन्ने मान्यता खण्डित भएको देख्न पाइन्छ । विगत शताब्दीदेखि नै ‘विचारको विकास’ अवरुद्ध छ । शास्त्रीय विचारधारा (उदारवाद, साम्यवाद, समाजवाद, राष्ट्रवाद, कल्याणवाद) मा थप विकास हुनसकेको छैन ।
यसको कारण यति नै हो कि भौतिकवादको पतनसँगै यसभित्रका विचारधाराको पनि पतन भइसक्यो । अब ‘विचारमा क्रान्ति’ मात्र सम्भव छ । ‘विचारमा विकास’ सम्भव छैन । जतिसुकै प्रतिभाशाली व्यक्ति आएछ भने पनि विचारमा विकास सम्भव हुने छैन ।

तर शास्त्रीय राजनीतिकर्मीले यो कुरो अझै बुझ्न सकेनन् । यस कारण उनिहरू अझै यदाकदा ‘विचारको विकास’ भनिरहन्छन् । परिणाममा त्यो कि त पुरानै कुराको पुनरावृत्ति भइरहेको छ कि त घडीको पेण्डुलम जस्तो यताउता गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यो परिघटनालाई मूलतः दुई आयाममा हेर्न सकिन्छ । पहिलो, केही मार्क्सवादीहरू मार्क्सवादको सान्दर्भिकता पुष्टि गर्ने असफल प्रयास गरिरहेका छन् । समाजवादी सत्ताको पतनबारे उनी भन्दछन्– हिजो शक्ति र सम्पत्ति वितरणमा गल्ती भयो । शक्ति र सम्पत्तिको समुदायकरण गर्नुपर्थ्यो , राष्ट्रियकरण गरियो । यसलाई सच्याउने बित्तिकै समस्या समाधान हुन्छ ।

मार्क्सवादीहरूले भन्ने यो कुरा नयाँ नै होइन । यो त निजी धन निषेध र राज्य निषेधको पुरानै सूत्र हो । यति कुरा गर्दैमा ‘विचारको विकास’ हुँदैन । समुदाय भन्नु नै राज्यको स्थानीय आयाम हो । राज्य भन्नु समुदायको केन्द्रीकृत आयाम हो । एकछिनलाई मानांै, निजी धन उन्मूलन गरेर सबै समुदायकरण गरिएछ । सम्पत्ति समुदायकरण गरिएको समाजमा पनि पद हुने र नहुने, ठूलो पद र सानो पद, पार्टी सदस्य र गैरपार्टी सदस्य आदि हुन्छन् । त्यही नै उक्त समाजको नयाँ वर्ग संरचना हो । त्यही शासक–शासित सम्बन्ध हो ।

जसो गरे पनि निजी धन र वर्ग उन्मूलन हुँदैन । नयाँ–नयाँ स्वरूपमा त्यो प्रकट भइरहन्छ । व्यक्ति भन्दा समाज (समुदाय) मूल्यवान हुनुपर्छ भन्ने र निजी धन मास्छु भन्ने सोच नै अप्राकृतिक हो । यथार्थमा व्यक्ति र समाज, निजी धन र सामूहिक धन परिपूरक छन् । जन्मँदा संयुक्त जन्मन्छन्, लोप हुँदा संयुक्त लोप हुन्छन् ।

प्राकृतिक द्वैत होस् वा सामाजिक, नियम एउटै हो । कुनै एकले अर्कोको निषेध गर्न सक्दैन । कुनै एक प्रधान र अर्को गौण हुन सक्दैन । एक विना अर्काको अस्तित्व पनि संभव हुँदैन । यिनीहरूलाई निषेध होइन, गतिशील सन्तुलनमा राख्न जरूरी हुन्छ । योभन्दा महत्वपूर्ण कुरा समाजलाई गणितीय चालमा हिंडाउने सोच र भौतिकवादी मूल्यमान्यता परित्याग गर्नु जरूरी हुन्छ । समाजको अगणितीय चरित्रलाई स्वीकार गर्ने र योगी मूल्यमान्यता आत्मसात् गर्ने बाटोमा अघि बढ्नुपर्ने हुन्छ ।

तर समुदायवादीहरू यसरी सोच्नै सक्दैनन् । उनीहरू शास्त्रीय विज्ञानप्रतिको अन्धविश्वासले बाँधिएका छन् । यही अन्धविश्वासका कारण मार्क्सवादलाई यिनीहरूले ‘धर्मशास्त्र’ बनाएका छन् । आफू रुढिवादी सम्प्रदाय जस्ता भएका छन् ।

मार्क्सवाद शास्त्रीय जडसूत्र हो । भौतिकवादको पतनसँगै मार्क्सवादको पनि पतन भइसक्यो । ‘मार्क्सवादको विकास’ अब सम्भव छैन । मार्क्सवादलाई तन्काउन खोज्ने जोसुकै असफल हुन्छ । यो तथ्य नबुझ्नु नै समुदायवादी/समाजवादीहरूको दुःख हो ।

यता उदारवादीले केही दशक अगाडि ‘इतिहासको अन्त्य’ र ‘उदारवाद निर्विकल्प’ भएको दाबी गरेका थिए । तर यो निष्कर्षमा यिनीहरू एकदशक पनि टिक्न सकेनन् । विश्व परिस्थितिले उदारवादी राज्य प्रणालीमाथि चौतर्फी प्रश्न उठाइदियो । उदारवादी सूत्र भित्रबाट ती प्रश्नको उत्तर दिन सम्भव भएन ।

उदारवादी सूत्रलाई तन्काउन नमिलेपछि आजभोलि यिनीहरू सभ्यता र पहिचानको कुरा गर्न थालेका छन् । यसरी यिनीहरूको हालत घडीको पेन्डुलम जस्तो भएको छ । यसको कारण पनि उही हो, भौतिकवादको पतनसँगै उदारवादी विचारधाराको पनि पतन भयो ।
तर उदारवादीहरूले यो कुरो बुझेका छैनन् वा बुझी बुझी बुझपचाइरहेका छन् । उदारवादी वा पहिचानवादी सूत्र भित्रबाट विचारको संकट हल हुन सक्दैन भनेर स्वीकार नगर्नु नै यिनीहरूको दुःख हो ।

शास्त्रीय विचारधारालाई तन्काउन खोज्नेमा केही ‘नयाँ समाजवादी’ पनि देखापरेका छन् । यिनीहरू ‘मार्क्सवादी समाजवाद’ नमान्ने त भन्दछन् तर यिनीहरूको कुरा माथिका समुदायवादीको भन्दा फरक छैन । उदारवादी र समाजवादी सत्तामा शक्ति र सम्पत्ति वितरणको टेक्निक गलत थियो । यति कुरा समुदायवादी र ‘नयाँ समाजवादी’ को एउटै हो ।

‘नयाँ समाजवादी’ को फरक कुरा व्यक्ति र समाजलाई बराबर मूल्य दिनुपर्छ भन्ने हो । उनीहरू भन्छन्– साम्यवादी विचारबाट व्यक्ति र निजी धनप्र्रतिको पूर्वाग्रह हटाउनुपर्दछ । उदारवादी विचारभित्र राजनीतिक प्रणालीलाई सहभागितामूलक बनाउनुपर्दछ । तब यी दुईलाई मिलाउँदा समस्या समाधान हुन्छ ।

शास्त्रीय विचारधारालाई तन्काउने यो सायद अन्तिम उपाय हो । तर यसको कुनै अर्थ र मूल्य छैन । कारण, यसले वैचारिक संकट हल गर्दैन । आजको वैचारिक संकट ‘सामाजिक प्रविधि’ प्रयोगको गल्तीले मात्र पैदा भएको होइन । यसका पछाडि त सिंगो चिन्तन प्रणालीका खराबीले काम गरेको छ । त्योभन्दा पनि महत्वपूर्ण कुरा, सिंगो शास्त्रीय पद्धति नै खण्डित भइसक्यो । अब यो तन्किन नै संभव छैन ।

‘नयाँ समाजवादी’ हरूको वैचारिकी अन्त्य शास्त्रीय सोचको गोलचक्कर नै हो । जोसुकैले प्रयोग गरोस्, समाजवाद पदावली दुई कारणले गलत छ । पहिलो, समाजवाद पदावलीले व्यक्ति भन्दा समाजको मूल्य उच्च हुन्छ भन्ने सन्देश दिन्छ । दोस्रो, समाजवाद मान्नु भनेको समाजको चाल गणितीय हुन्छ भन्ने सूत्र मान्नु हो । यही सूत्र शास्त्रीय चिन्तनको मूल हो ।

‘नयाँ समाजवादी’ हरू एकातिर व्यक्ति र समाजलाई बराबर मूल्य दिनुपर्दछ पनि भन्दछन् । अर्कोतिर समाजवाद पदावलीप्रति कठोर मोह पनि देखाउँछन् । यसरी उनीहरू आफ्ना कुरा आफैंले खण्डन गरिरहेका छन् । शास्त्रीय विचारको जडसूत्रले बाँधिएर सोच्दा यस्तै विरोधाभास पैदा हुन्छ । ‘नयाँ समाजवादी’ हरू यस्तै विरोधाभासले बाँधिएका छन् ।

पतन भइसकेका विचारलाई अनावश्यक जीवन भर्ने प्रयास नै ‘नयाँ समाजवादी’हरूको असंगत काम हो । यही नै उनीहरूको दुःख हो । व्यक्तिवाद पदावली जति गलत छ, समाजवाद पदावली त्यति नै गलत छ । आफ्नो उत्थानका लागि ‘नयाँ समाजवादी’ले आफैंभित्रका विरोधाभासलाई पहिचान गर्न सक्नुपर्दछ । व्यक्तिवाद कि समाजवाद ? को अर्थहीन बुद्धिविलासभन्दा बाहिर आउन सक्नुपर्दछ ।

नयाँ बाटो
विज्ञानको क्रान्तिले अवसर र चुनौती दुवै पैदा गरेको छ । अवसर यो हो कि विज्ञानको क्रान्तिका कारण मानव जातिले सारा वैचारिक विभाजन मेटाएर साझा हितका लागि साझा यात्रा तय गर्ने आधार तयार भएको छ । क्रान्तिकारी विज्ञानले दिएको सूक्ष्म प्रविधिको सहारा मानव जातिले जीवनको गुणस्तर वृद्धि गर्न सक्ने अवस्था सिर्जना भएको छ ।

तर यो अवसर सदुपयोग गर्न निश्चित शर्त पूरा हुनुपर्दछ । पहिलो, विज्ञानको बोध र दोस्रो, प्रविधिको सदुपयोग । यो शर्तमा ध्यान नदिंदा त्यसको परिणाम प्रत्युत्पादक पनि हुन सक्छ । कारण, प्रविधि त हतियार हो । यसबाट सिर्जना र ध्वंस दुवै हुन सक्छ ।

यदि विज्ञानको बोध भएका व्यक्ति/समूहको हातमा प्रविधि प¥यो भने त्यसबाट सृजनशील कर्म हुन सक्छ । तर शास्त्रीय (ध्वंसात्मक) सोच बोकेका व्यक्ति÷समूहको हातमा पर्‍यो भने त्यसले समाजमा उपद्रव पैदा गर्ने मात्र होइन, सिंगो ग्रहको अस्तित्व नै खतरामा पर्दछ ।

आज हामी माथि उल्लिखित दोस्रो अवस्थामा छौं । अर्थात्, हामी यतिबेला विज्ञानको बोध विना प्रविधिको प्रयोग भइरहेको समयमा बाँचिरहेका छौं । यतिबेला राजनीति र प्रविधि, दुवै गलत सोच बोकेका मानिसको हातमा छ । यही नै आजको हाम्रो चुनौती हो । यो चुनौती समाधानका लागि आजका सचेत नागरिकको निश्चित कर्तव्य छ । त्यो कर्तव्य भनेको यस्तो सामाजिक शक्ति सिर्जना गर्नु हो, जसले विज्ञानको बोध र प्रविधिको सदुपयोग पनि गरोस् ।

कुनै चिजको पतनमा कुनै चिजको उत्थान पनि हुन्छ । भौतिकवादको पतनलाई नकारात्मक घटना मान्नुहुँदैन । यसको पतनले नयाँ चिजको जन्म दिइरहेको छ । भौतिकवादको खरानीमा जैविक दर्शन, जैविक विचारधारा, जैविक राजनीतिको जन्म हुँदैछ । जैविक समाज निर्माणको आधार तयार हुँदैछ ।

सचेत नागरिकले अब यो संभावनालाई साकार बनाउनपट्टि लाग्नुपर्दछ । यदि यता लाग्ने हो भने यसका पनि निश्चित शर्त हुनेछन् । पहिलो, शास्त्रीय सम्प्रदायबाट सम्बन्धविच्छेद जरूरी छ । दोस्रो, कसरी विज्ञानले विज्ञानको जरा काटिरहेको छ ? कसरी विज्ञानमा क्रान्ति भइरहेको छ ? यसको अध्ययन जरूरी छ ।





Source link

HamroAwaj

2022-07-18 10:18:26

Leave a Comment

WP2Social Auto Publish Powered By : XYZScripts.com