गोरखाका दृष्टिविहीनहरुलाई एक महिने कम्प्यूटर तालिम – HamroAwaj


३ साउन, गोरखा । दृष्टिविहीनहरुलाई लक्षित गरी जिल्लामा कम्प्यूटर तालिम सञ्चालन भएको छ । गोरखा नेत्रहीन संघको आयोजनामा तालिम संचालन गरिएको हो ।

नेपाल नेत्रहीन संघको पुर्नस्थापना कार्यक्रम अन्तरगत सञ्चालन भएको तालिममा १४ जना विद्यार्थी सहभागी छन् ।

सरस्वती मावि आहाले, जलकुमारी मावि थुमी र अमरज्योती मावि लुईटेलमा अध्ययनरत दृष्टिविहीन बिद्यार्थीहरु तालिममा सहभागी रहेको गोरखा नेत्रहीन संघका अध्यक्ष पवन बस्नेतले बताए । उनका अनुसार गोरखा नगरपालिका–५ स्वाँरा स्थित संघको भवनमा तालिम संचालन भइरहेको छ ।

बिद्यालयको बर्खे बिदाको सदुपयोग गर्दै सिप सिकाउने उदेश्यले तालिम संचालन गरिएको बस्नेतले जानकारी दिए । तालिममा सुमित्रा कुमारी माझीले प्रशिक्षण गरिरहेकी छन् । उनका अनुसार बिद्यार्थीहरु अहिले नेपाली टाइपिङ गर्न जान्ने भइसके ।

कम्प्यूटरसँगै उनीहरुलाइ हिडडुल गर्ने तालिम पनि दिइएको कार्यक्रम संयोजक अमृत राईले बताए । ‘बिद्यालयमा कम्प्यूटर छ, तर दृष्टिविहीनहरुले त्यसको प्रयोग गर्न सकेका छैनन्,’ उनले भने, ‘यो तालिमले बिद्यालयमा भएको कम्प्यूटरको पनि सदुपयोग हुन्छ भन्ने अपेक्षा हो ।’

तालिमको मंगलवार अनुगमनसमेत गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख महोहन बहादुर थापा, जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेल, सामाजिक बिकास कार्यालय प्रमुख दिपेन्द्र परियार, गोरखा नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्का, पत्रकार महासंघ गोरखाका सचिव बिकास मरहट्टा, पत्रकार हरिराम उप्रेती लगायतको टोलीले तालिमको निरिक्षण गरेका हुन् ।





Source link

HamroAwaj

2022-07-19 16:00:58

Leave a Comment

WP2Social Auto Publish Powered By : XYZScripts.com