कर्णालीलाई धनी देख्न रारा घुम्नुपर्छ – HamroAwaj


राराताल घुम्ने अधिकांशको सपना नै हुन्छ। तर रारा घुम्ने योजना बनाउने जति सबै रारा घुम्न आउन सक्दैनन्/आउँदैनन्। रारा घुम्ने योजना बनाएर यो यात्रा र गन्तव्यको वस्तुस्थितिबारे घरमै बसेर विभिन्न माध्यमबाट जानकारी लिन खोज्छन्, मानिसले रारा यात्राबारे डर र भय पाल्न थाल्छन्। र, अन्ततः यात्राकै योजना बदल्छन्।

कर्णाली राजमार्गको बाटो खतरा छ है ! कालिकोट नाग्मादेखि बाटो कच्ची छ है ! रारा पुग्न दुई/तीन घण्टा हिंड्नुपर्छ है ! हवाई यात्रा गर्दा महँगो भाडा छ है ! रारामा होटल–लज छैन, खानपिन र बसाइँमा समस्या छ है ! डाँफे होटलमा चर्को शुल्क तिरेर बस्नुपर्छ है ! चिसोमा लेक लाग्ने सम्भावना बढी हुन्छ है ! यी र यस्तै कुरा सुनेर मानिसले रारा यात्राको योजना बदल्छन्।

बाटो राम्रो बनेपछि जाउँला भनेर टार्ने पनि कैयौं छन्। कतिपयलाई राराको यात्रा गर्न उनीहरूका आफन्तजन अभिभावकले दुर्घटनाको डर र शंकाले यात्रा गर्न दिंदैनन्। हामी कलेजबाट शैक्षिक भ्रमणलाई रारा जाँदा हाम्रा केही साथीहरूको पनि रारा जाने रहर तीव्र हुँदाहुँदै पनि अभिभावकले डर मानेर रारा जान नदिएको पाएका थियौं। केही त आफैं डरले पनि जान चाहेनन्।

त्यस्तै गाडीमा सवार अधिकांशले डर नै डर बोकेर भए पनि यात्रा गरे। जीवनमा यात्रा आवश्यक चिज हो। जो यात्रा गर्छ ऊ जिन्दगीको यात्रा पनि सहजै पार गर्न सक्छ भन्ने हेतु बोकेर म पनि राराको यात्रामा निस्किएको थिएँ।

असार महिनाको दोस्रो हप्ता मनसुन सुरुवातको अवस्था हो। यो समय रारा यात्राको निम्ति धेरै ठिक पनि होइन, धेरै बेठिक पनि होइन। राराताल त सदावहार घुम्ने स्थल नै हो। तर सुर्खेत हुँदै रारा जाने सडक बाटो सदावहार राम्रो नहुने हुँदा सवारी यात्रा गर्दा समय उपयुक्त र अनुपयुक्त छनोट गर्नुपर्दो रहेछ।

जे पर्ला त्यही टर्ला भनेर हाम्रो समूह शैक्षिक भ्रमणलाई निस्केको थियो। तल घुमाउरो कर्णाली नदी, त्यसको तीर–तीरै ठूला भीर तथा पहरा फुटालेर बनाइएको साँघुरो सडक र माथि चट्टानी पहरा भएको भौगोलिक धरातलमा पहिलोपटक यात्रा गर्दा गाडीको झ्यालबाट कर्णालीतिर हेर्यो भने ज्यान सिरिङ्ग नहुने कुरै भएन।

मैले त डर भन्दा पनि सुसाहट गरिरहेको त्यो कर्णाली नदीबाट विद्युत् उत्पादन गरेर देश विदेश बेचेर आर्थिक लाभ लिने कल्पना गरें। अझै र्‍याफ्टिङ गर्न सकिने ठाउँ कतै छन् कि टाउको ठाडो पारेर हेरें पनि। डर भन्ने चिज अलिअलि भए तापनि त्यसभन्दा ठूलो रारा घुम्ने रहर थियो।

घुमाउरो बाटोमा विपरीत दिशाबाट अरु गाडी आएको थाहा नहुने हुँदा गाडी देख्नासाथ ड्राइभरले एक्कासी ब्रेक लगाएपछि धेरैको मुटुको गतिको धड्कन भने तीव्र हुन्छ। रारा आउने–जाने क्रममा कैयौं पटक यस्तै भयो गन्ती छैन। दैलेखहुँदै कालिकोट पुग्दा कालीकोटको मान्माबाट पारिपट्टि भीरको बस्ती देखेर कर्णालीको विकटता झल्कियो।

जब कालिकोटको नाग्मा कटेर जुम्लाको सिंजा क्षेत्र सुरु हुन्छ तब कर्णाली भौगोलिक रूपमा पनि धनी देखिन्छ। सिंजा र हिमा गापामा रहेको हिमा नदीका दायाँबायाँका मनमोहक हरियाली फाँटहरू देखिन्छन्। कोही रोपाइँ गरिरहेका त कोही खेत चहारिरहेका देख्दा मार्सी चामलले कर्णालीको भोकमरीसँग लड्न गरेको किसानको संघर्ष झल्किन्छ।

 

राज्यले बस् किसानलाई अलिकति मल दिएको भए! मार्सी चामलमा लाग्ने रोग निको पार्न, कीरा फट्याङ्ग्रा मार्न औषधि दिएको भए! केही कृषि प्राविधिक औजार तथा प्राविधिकहरूको व्यवस्था गरेको भए! उत्पादित मार्सी चामललाई ब्रान्डेट बनाएर देशभर बेचेर नै आर्थिक लाभ लिन सकिन्छ भन्ने सोचले मैले सिंजालाई धनी देखें।

सडकको छेउछाउमा स्याउका बगैंचाहरूमा लटरम्म स्याउ फलेको देख्दा फलफूलमा कर्णाली आत्मनिर्भर देखिन्छ। स्याउको अर्गानिक जुस मात्र बेच्न सकियो भने त्यहाँका स्थानीयले रोजगारी पाउँछन्। त्यहाँ पुग्ने पर्यटकले कुनै विदेशी जुस खोज्नु नै पर्दैन। त्यसैगरी गाडीबाटै वारिपारि ठाउँ–ठाउँमा एक घरमा अर्को घर टाँसिएर बसेका बस्तीहरू देखिंदा सामाजिक एकता कायम भएको सुन्दर चित्र झल्किन्छ। गोठिज्युला हुँदै मुगु जाने क्रममा बाटो पक्की नभए पनि कतै हिलो त कतै ठूला डरलाग्दा भीर काट्दै जाँदा वनजंगल, ठूलो चरन क्षेत्र पाटनहरू पनि देखिन्छन्। बाटोमा भेडा, गाईका लस्कर देख्दा भेडाको ऊनको उद्योग बनाएर कपडा बुन्ने र बेच्ने गरियो भने, भेडाको मासुको व्यापार गरियो भने, गाईको दूध दही पर्यटकलाई खुवाएर त्यसको घिउलाई बेच्न सकियो, छुर्पी, मिठाई बनाउन प्रयोग गरियो भने थुप्रै आर्थिक लाभ लिन सकिन्छ भन्ने सोचहरूले कर्णाली अझै धनी देखिन्छ।

मुगुको सदरमुकाम गमगढी सहरसम्म आउने क्रममा सडकको छेउछाउमा लगाएको कोदो, सिमी, आलु गोडाइमा पिठ्युँमा बच्चा बोकेर लागेका महिला, निधारमा खलखली पसिना बगाएर त्यहाँको कडा पक्कर धर्तीसँग ठक्कर गरेर फुटेका तिनका पाउ र छिटोछिटो चलाएका बहादुरी पाखुराहरूले जीवनस्थितिको घतलाग्दो दृश्यले कर्णालीमा कुपोषण छ भन्ने कुरा भुलेको थिएँ। मोटाघाटा पो छैनन् बहादुर त कति हो कति भन्नै नसकिने!

कर्णालीका मान्छेहरूले उब्जाउने सिमी, आलु र कोदोको स्थानीय बजारदेखि बाहिरी बजारसम्म बनाउने हो भने थुप्रै आर्थिक लाभ लिन सकिन्छ। यार्सागुम्बा, पाँचऔँले जस्ता जडीबुटीहरू घरका छतमा सुकाएको देखेपछि कर्णालीमा पाइने विभिन्न प्रकारका जडीबुटीको प्रशोधन गरेर औषधि बनाएर बेच्ने, प्राथमिक उपचारलाई प्रयोग गर्ने हो भने राज्यको ढुकुटीमा पैसा बचत गर्न सकिन्छ भन्ने सोच पनि आउँछ। जसले गर्दा कर्णाली धनी देखिंदै अनि कर्णालीप्रतिको भ्रम मेटिंदै जान्छ।

मुगु, गमगढी सदरमुकामबाट राराताल जाने क्रममा देखेको ताल्चा विमानस्थललाई देख्दा सडक यात्रा निकै नै जोखिमपूर्ण रहेको हुँदा सहजै रारा घुम्न आउने पर्यटकहरू हवाई यातायात मार्फत रारा आउन सके भने त गजबको फाइदा हुनेरहेछ। सल्लेरी बजारबाट निकुञ्ज प्रवेश गरी हिंडेर राराताल पुग्ने क्रममा हरियाली जंगल, त्यसभित्र रहेका आँखाले हेरी नभ्याउने पाटनले त्यहाँ भेडा चराइरहौं जस्तो भाव आउने, जोड–जोडले चिच्याएर कला हाल्न, गीत गाउन उधुमै मन लाग्दो दृश्यले पर्यटकको मन लोभ्याउने पक्कै नै गर्छ।

त्योभन्दा अलि अगाडि बढ्दै जाँदा जब रारा देखिन्छ देख्नासाथ दौडेर चुम्न मन लाग्छ। मनको खुशीको सीमाले दुनियाँलाई भुलेर दुनियाँले नै सुन्ने गरी कराउन मन लाग्छ। रारातालको किनारा पुग्न जति नजिक पुग्यो त्यति ठूलो ताल देखिंदै जान्छ। मान्छेका नयनले रारातालको सबै दृश्य एकैपटकमा देख्न सक्दैन।

चारैतर्फ फन्को मारेर हेर्ने हो भने हरियो वनजंगलको बीचमा विशाल, अटल, निश्चल, शान्त, सुन्दर मनमोहक राराताल देखिन्छ। बस मान्छेको नयनले आफ्नो आसपासमा कोही हुन्छ भने पनि, नजिकै केही अरु बहुमूल्य चिज हुन्छ भने पनि अरु देख्दैन केवल सुन्दर राराताल मात्र देख्छ।

राराको पानी खेलेर बसिरहौं जस्तो, राराको पानीले नुहाइदिउँ जस्तो, सधैं कफी खाएर राराताल हेरि बसिरहौं जस्तो, दामी दामी गीत, गजल, कविता गाएर, सुनेर रचेर बसौं जस्तो, मिठो कहानीवाला पुस्तक पढेर बसिरहौं जस्तो, रारालाई नै प्रेम गरिरहौं जस्तो लाग्छ। रारा वरिपरि घोडामा यात्रा गरिरहौं झैं लाग्छ। सधैं बिहान हुनासाथ रारामाथि बोटिङ गरिरहौँ झैं लाग्छ। अरु सबै रहर पूरा सम्भव पनि छ। खैर राराभित्र नुहाउने, कपडा धुने, माछा मार्ने जस्ता गतिविधि भने पूर्ण निषेधित नै छन्। त्यसैले त रारा सफा छ। त्यसैले रारा अब्सरा छ। त्यसैले त सबैको लागि रारा सपना छ। त्यसैले त राराको लागि मेरो यो लेख छ।

प्रकृतिको अनुपम सुन्दर क्षेत्र रारालाई रारातालको किनारैबाट पूर्ण रूपमा एकैपटक नियाल्न नसकिने हुँदा साढे दुई घण्टा उकालो हिंडेर मुर्मा टप पुगेर एकै नजरमा एकैपटक रारालाई एकटकले हेर्न सकिंदोरहेछ। यसले थुप्रै पर्यटकलाई आकर्षित गर्छ तर यहाँसम्म सवारी यात्रालाई जोड्न सकियो भने, मुर्मा डाँडा नजिक राम्रा रेष्टुरेन्ट, होटल र लजको स्थापना गर्ने हो भने, मुर्मा गाउँमा होटल र लज राम्रा खोल्ने हो भने स्थानीयले रोजगारी पाउँछन्।

स्थानीय परिकारले बजार पाउँछन् र पर्यटकहरूलाई पनि सोचे झैं व्यवस्थित बसाइ र खानपिनको व्यवस्था हुँदा लामो समय बस्ने योजना बनाउँछन्। जसले गर्दा राराले मनग्ये आर्थिक लाभ हासिल गर्न मज्जाले सक्छ। यसरी कर्णालीले विकास पाए कर्णाली धनी नदेख्ने कुरै भएन।

५.१ किलोमिटर लम्बाइ, २.७ किलोमिटर चौडाइ र १६७ किलोमिटर गहिराई भएको नेपालको सबैभन्दा ठूलो ताल रारातालको उत्पत्तिको कहानीसँग नाम जोडेर बनेको ऋषि ठाकुरदेवको मन्दिरको पूजामा जोड दिएर, त्यसको निम्ति जललाई विशेष चिनो बनाएर प्रचारमा जोड दिन सकिन्छ। त्यसैगरी मुगुमा ऊन, फलफूल, काठ इत्यादि वस्तु तथा सामग्री बनाएर रारा घुम्न आउने पर्यटकले किन्न मिल्ने साना आकर्षक चिनो बनाएर बेच्न सकिन्छ।

प्रत्येक महिना रारा मेला लगाएर बजारीकरण गर्न पनि सकिन्छ। साथै रारातालको ठाउँ–ठाउँमा भ्युटावर बनाउने। हेर्ने र बस्ने स्थल बनाउने। राराताल व्यवस्थापन समितिले चिया, नास्ता जस्ता सामान्य खुद्रा पसलको व्यवस्था ठाउँ–ठाउँमा गर्नुपर्छ। तर प्लाष्टिकजन्य पदार्थ, फोहोरहरू अनिवार्य रूपमा डस्टबिनमा राख्ने गराउनुपर्छ। पर्यटन व्यवसायको विकास र पर्यटकको आगमनसँगै प्रदूषणहरू बढ्न सक्छ। संयमित भएर पूर्णरूपमा नियन्त्रणमा लिनुपर्छ।

 

यसरी रारासम्मको यात्रा गर्ने क्रममा कर्णालीको गरिबी, बेरोजगारी, भोकमरी, अशिक्षा, कुपोषण यी सम्पूर्ण किसिमका समस्या हिंड्दै पाइला मेट्दै भन्ने गाउँखाने कथा झैं माथि उल्लेखित योजनाहरू यात्रापिच्छे समस्या समाधानको विशाल पाटो भएर आउँदा समस्या मेटिंदै जान्छन्। कर्णालीलाई मात्र होइन नेपाललाई नै धनी बनाउने चिज एकपछि अर्को भेटिंदै जान्छन्।

रारालाई हेर्न आउनेले भन्न सक्दैनन् कर्णाली गरिब छ भनेर। हो कर्णालीमा अरुभन्दा पढेलेखेकै कम जनशक्ति छन् तर कर्णालीकै मान्छे तुइन तरेर, भीर बाटोमा ४/५ घण्टा हिंडेर पढ्न जान्छन् खै त पायक पर्ने ठाउँमा विद्यालय बनाउन सकेको ? खै समयमै पुस्तक पठाउन सकेको ?

हो कर्णालीमा भोकमरी छ तर यहाँकै मान्छेहरूले भीरपाखो जोतेर कोदो र आलु उब्जाएका छन्। खै खाने चामल पठाएको? हो कर्णालीमा बालबालिका कुपोषित छन् तर यिनै बालबालिकाले ४/५ घण्टा हिंडेर बजारबाट नुनतेल बोकेर घर आउँछन्। भारी बोकेर ज्याला गरेका छन्। खै यिनको निम्ति सन्तुलित भोजन दिएको ?

हो कर्णालीमा रोगव्याधि छ तर यहाँकै मान्छे टाढाबाट पानी बोकेर खान्छन्। खै घरघरमा सफा पानीको व्यवस्था गरिएको सरकार ? हो कर्णालीका मान्छेको आर्थिक स्थिति कमजोर छ तर कर्णालीकै मान्छेले एउटै देशमा बसेर काठमाडौंमा प्रति प्याकेट रु.२५ पर्ने नुन उपभोग अवधि सकिंदा पनि प्रति प्याकेट रु.३५ हालेर किनेर जीवन बिताएका छन। तिर्नुपर्ने शुल्कको २० प्रतिशत भन्दा बढी अतिरिक्त महँगी शुल्क तिरेर हरेक चिजहरू खरिद गरी जीवन चलाउने कर्णालीका जनता गरिब हुन् कि धनी सरकार ?

समृद्धि र समाजवादको सपना बाँड्ने तर राराताल रहेको जिल्लामा अझैसम्म सडक पक्की नहुनु, रुट मान्यता प्राप्त नहुनु, रारातालसम्म सडक बाटो अझै नपुग्नु, रारामा उपयुक्त होटल लज नहुनु, अझै पनि जनताले आफ्नो मौलिक हकको प्रत्याभूति गर्न नपाउनु कस्तो दुर्दशा हो? सरकार र संघसंस्थाले समस्याको तथ्य मात्र दिइरहने कि समाधान पनि दिने? ध्यान दिनुपर्छ। पक्कै पनि विकासमा कर्णाली अरुभन्दा पछाडि नै हो र छ। तर कर्णालीलाई गरिब भनेर विकासमा पछाडि पार्नु भने हुँदैन। संघीयताको चरम फाइदा कर्णालीले लिनुपर्छ। राराको पर्यटन व्यवसायको विकास, विस्तार र प्रचार गर्नुपर्छ। माथि उल्लेख गरेजस्तै कर्णालीलाई धनी देख्न, धनी बनाउन, तपाईंहरू एकपटक होइन पटक–पटक रारा घुम्न आउनुपर्छ। तपाईं मात्र होइन तपाईंका साथीभाइ, आफन्त, परिवार लिएर आउनुपर्छ। अवश्य पनि रारा देख्नेले कर्णाली धनी देख्छ।

लेखक मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ ल मा बीएएलएलबी दोस्रो सेमेस्टरमा अध्ययनरत छन्।





Source link

HamroAwaj

2022-07-23 07:38:53

Leave a Comment