इन्द्रजात्रामा विदेशका २५ नगरका मेयरलाई निम्तो – HamroAwaj


८ साउन, काठमाडौं । यस वर्षको इन्द्रजात्रा अवलोकनका लागि २५ अन्तर्राष्ट्रिय नगरपालिकाका प्रमुखहरुलाई निमन्त्रणा गर्न काठमाडौं महानगरपालिकाले आन्तरिक तयारी थालेको छ । साउन १ गतेको छैटौं कार्यपालिका बैठकले यस विषयमा निर्णय गरेको छ ।

निर्णय कार्यान्वयनका लागि महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा मूल समारोह समिति बन्नेछ । त्यस समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु सदस्य रहनेछन् ।

महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको तयारी बैठकमा कार्यान्वयन समिति गठन गरिएको छ । समितिमा प्रशासन, वित्त र सम्पदा विभाग, हनुमानढोका दरबार संरक्षण कार्यक्रम र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयको प्रतिनिधित्व छ ।

यस वर्ष भदौ २४ गते शुक्रबार इन्द्रजात्रा परेको छ । यो जात्रा हेर्न महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुकहरु (सार्क राष्ट्र) बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरबाट प्रमुखहरुलाई निमन्त्रणा गर्ने तयारी छ । प्रमुखहरुका साथमा ४ जना अधिकारीहरुलाई निम्ता दिइनेछ । यसरी २५ वटा नगर प्रत्येकबाट ४ जना सहभागी आउँदा १ सय जना पाहुना आउनेछन् ।

२०७६ सालको इन्द्रजात्रामा ६ वटा देशका १३ वटा नगरलाई निम्ता गरेको थियो । तीमध्ये ५ वटा देशका ११ वटा नगरबाट ४ जना मेयर, उपमेयर/उपाध्यक्षसहित ४१ जना पाहुना सहभागी थिए ।

महानगरले देशभित्रका ५ वटा र अन्तरराष्ट्रिय स्तरका १८ वटा नगरसँग भगिनी सम्बन्ध छ । डडेल्धुराको अमरगढी नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासी, वर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका आन्तरिक सम्बन्ध भएका नगरपालिका हुन् ।

चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ चीनका गरी ७ वटा नगर महानगरको भगिनी सम्बन्ध भएका सहर हुन् ।संयुक्त राज्य अमेरिकाका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर गरी ४ वटा नगरसँग भगिनी सम्बन्ध छ ।

यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, मान्मारको यांगुन, उत्तर कोरियाको प्योङ्याङ्, भारतको वाराणसी र स्पेनको मेडि्रड सहरसँग भगिनी सम्बन्ध छ । थाइल्याण्डको बैंककसँग सम्बन्ध स्थापनाको प्रक्रिया अन्तिम चरणमा छ ।





Source link

HamroAwaj

2022-07-24 22:15:52

Leave a Comment