किन कमजोर बनिरहेछ नेपाली पासपोर्ट ? – HamroAwaj


हेन्ली एण्ड पार्टनर्स विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता हो। यसले सन् २००६ देखि निरन्तर रूपमा विश्वका सबैभन्दा शक्तिशाली (भ्रमणमैत्री) र कम शक्तिशाली पासपोर्ट मापन गर्दै आएको छ।

जुन देशले सबैभन्दा बढी मुलुकमा अन अराइभल भिसा पाउँछ अर्थात् विश्वका कति देशले भिसा विना नै (भिसा फ्री स्कोर) ती देश प्रवेश गर्न दिन्छन् भन्ने आधारमा उक्त संस्थाले यसरी र्‍याङ्किङ गर्ने गर्दछ। यो अन्तर्राष्ट्रिय हवाई यातायात आयोगले प्रदान गर्ने तथ्यांकमा आधारित छ।

हालै सार्वजनिक हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्ट अनुसार पहुँचको आधारमा ११२ देशहरूमा गरिएको सर्वेक्षणको रिपोर्टमा नेपालको पासपोर्ट १०६औं स्थानमा परेको देखाइएको छ। यसअनुसार नेपाल छैटौं कमजोर पासपोर्ट भएक‍ो मुलुक हो। नेपालसँगै प्यालेस्टाइन पनि १०६औं स्थानमा रहेको छ।

नेपालको पासपोर्टले ३८ वटा मुलुकमा अनअराइभल भिसामार्फत सोझै पहुँच पाउँछ। संसारको सबैभन्दा बढी शक्तिशाली राहदानी जापानको रहेको छ। यसले १९३ मुलुकमा अनअराइभल भिसा मार्फत सोझै पहुँच पाउँछ।

सन् २००६ को रिपोर्ट अनुसार ८३ देशहरूमध्ये नेपालको पासपोर्ट ७६औं स्थानमा रहेको थियो भने २००७ मा ८६ देशहरूमध्ये ७८औं स्थानमा परेको थियो। २००८ मा नेपाल ९७ देशहरूमध्ये ८०औं स्थानमा थियो। त्यस्तै सन् २०२० मा १०६ देशहरूमध्ये १०१ औं स्थानमा, २०२१ मा ११६ देशहरूमध्ये ११०औं स्थानमा र २०२२ मा ११२ देशहरूमध्ये १०६ औं स्थानमा रहेको छ। अर्थात् यसरी हेर्दा सन् २००६ मा ७औं कमजोर पासपोर्टको मुलुक, २००७ मा ८औं कमजोर पासपोर्टको मुलुक र २००८ मा १७औं कमजोर पासपोर्टको मुलुक थियो।

त्यस्तै सन् २०२० मा पाँचौं कमजोर पासपोर्टको मुलुक, २०२१ मा छैटौं कमजोर पासपोर्टको मुलुक र २०२२ मा छैटौं कमजोर पासपोर्टको मुलुक रहेको छ। यसले नेपालको र्‍याङ्किङ क्रम बढ्दो नभएर खस्कँदो देखाउँछ।

नेपालको राहदानी कमजोर हुनुमा भिसा नियम उल्लङ्घन गर्ने प्रवृत्ति लगायत थुप्रै कारण रहेका छन्। नेपालका कूटनीतिज्ञ वा अधिकारीले राहदानी दुरूपयोग गरेको वर्षौंदेखि कैयौं घटना भएका छन्। आम नागरिकको कुरा गर्दा पर्यटक भिसामा नेपाल प्रवेश गरेको वा विदेशी मुलुकमा गैरकानुनी रूपमा बसोबास गर्ने धेरै घटना छन्। धेरै देशमा नेपाली फर्किंदैनन् भन्ने धारणा छ। उनीहरूले हामीलाई पर्यटक वा आगन्तुकको रूपमा हेर्दैनन्। या त हामीलाई आप्रवासी कामदार वा अवैध आप्रवासीको रूपमा हेरिन्छ।

नेपालको राहदानीको स्थिति मुख्यतया देशको आर्थिक विकास र त्यहाँका नागरिकहरूको सामाजिक-सांस्कृतिक स्थितिले निर्धारण गर्छ। लन्डन स्कूल अफ इकोनोमिक्सका भूगोलका प्राध्यापक एरिक न्युमायरले भिसा व्यवस्थामा महत्वपूर्ण हुने धेरै कारक पहिचान गरेका छन्, जसमा देशको जीडीपी, राजनीतिक स्वतन्त्रतामा प्रतिबन्ध, सशस्त्र द्वन्द्व, आतंकवादी हमला, बाह्य पर्यटक, पर्यटन प्राप्ति, द्विपक्षीय व्यापार र सांस्कृतिक र सभ्यता समानता रहेका छन्। यी कतिपय कारकहरू पनि हाम्रा कमजोर अवस्थामा छन्।

युरोपेली मुलुकमा नेपालीलाई सहज पहुँच थियो। तर नेपालीहरूले भिसाभन्दा बढी समय र गैरकानूनी रूपमा बसाइँ सर्न थालेपछि यो सबै रोकियो। हाम्रो राहदानी र्‍याङ्किङ भिसा पहुँचमा आधारित छ र हाम्रो अर्थतन्त्र र खर्च क्षमताका कारण हाम्रो पहुँच कम छ। र्‍याङ्किङमा हाम्रो गतिशीलता, यात्रा, व्यापार र प्रत्येक देशका नागरिकहरूसँग संलग्नताको स्तरमा पनि यो निर्भर रहन्छ।

राहदानी अनुक्रमाणिकाले पासपोर्ट सम्बन्धी समाचार क्युरेट गर्ने व्यापक ब्लग र विश्वव्यापी गतिशीलता, सुरक्षा, प्रविधि, ब्रान्डिङ र विश्वभरका भिसा नीतिहरूमा विचारहरू पनि समावेश गर्दछ। यसले राष्ट्रप्रतिको विश्वसनीयतालाई पनि प्रतिविम्बित गर्दछ। राष्ट्र र राष्ट्रका नागरिकहरूलाई हेर्ने एक दृष्टिकोण पनि हो यो। यसले राष्ट्रको प्रभावकारिता र सक्षमतालाई पनि मापन गर्दछ। त्यसैले पनि मुलुकको पासपोर्ट शक्तिशाली हुनु अति आवश्यक मानिन्छ।

चिन्ताको विषय यो हो कि क्रमशः सरकारहरूले यसलाई सम्बोधन गर्न कुनै सक्रिय कदम चालेको देखिंदैन। यसलाई सच्याउन भिसा नियम उल्लङ्घन गर्ने प्रवृत्तिको न्यूनीकरण गर्नुपर्छ। हाम्रा मानिसहरूको गतिशीलता दर उच्च छ, समयमै फर्कनुहोस् र राम्रोसँग खर्च गरियो भने हाम्रो र्‍याङ्किङ स्वतः माथि जान्छ भन्नुपर्छ।

जबसम्म हामीले आर्थिक समृद्धि हासिल गर्दै कामका लागि विदेश जाने संस्कृतिलाई सम्बोधन गर्दैनौं, तबसम्म हाम्रो यही अवस्था हुनेछ। यस विषयमा राष्ट्रसँगै प्रत्येक नागरिक गम्भीर भई भिसा नीति, नागरिकता, देश ब्रान्डिङ, विश्वव्यापी गतिशीलता, सार्वजनिक सुरक्षा, परोपकार र विदेश नीतिमा छलफललाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ।





Source link

HamroAwaj

2022-07-25 21:22:30

Leave a Comment