समाजवादका नाममा इमोसनल अत्याचार – HamroAwaj


११ साउन, काठमाडौं । निर्वाचन आयोगमा ११४ दल दर्ता छन् । अधिकांशको नाममा प्रायः दोहोरिने शब्द ‘नेपाल’ र ‘राष्ट्रिय’ हुन् । त्यसपछि बढी दोहोरिने शब्दमा पर्छ– समाजवाद ।

पुँजीवाद, उदारवादजस्ता शब्द नेपाली जनमानसमा यसरी चित्रित छन् कि, पार्टीहरु यस्तो नाम राखेर भोट पाइएला भन्ने कल्पनै गर्दैनन् । दलहरुका घोषणापत्र केलाउने हो भने राप्रपा बाहेकका ठूला आयतनका प्रायः सबैजसो दलहरू मुलुकमा समाजवाद ल्याउने कुरो गर्छन् ।

समाजवादको घन्टा यति जोड, जोडले बज्यो कि संविधानसभाले बनाएको संविधानसमेत यसबाट निरपेक्ष हुन सकेन । देश समाजवादउन्मुख भएको पनि सात वर्ष भइसकेछ । अग्रपंक्तिका दल र तिनका नेताहरूको चरित्र नियाल्दा समाजवादको लक्ष्य झन् टाढा हुँदै गइरहेको छ । देखिजान्नेहरु भन्छन्, केही अपवादलाई छाड्ने हो भने अधिकांश नेताहरुको जीवनशैली पुँजीवादी छ, अनि कार्यशैली सामन्तवादी ।

नेपाली कांग्रेससँगको अविश्वास र नेकपा एमालेसँगको इगोसहितको अस्वस्थ प्रतिस्पर्धाका कारण चुनावी गणितको किनारामा पुगेको आकलन गरेका कम्युनिष्टहरू शक्ति सञ्चयका हिसाबले समाजवादी केन्द्र निमार्णको गृहकार्यमा जुटेका छन् ।

जुनसुकै दलमा बसेर पनि ती नेताहरु समाजवादको नारा त लगाइरहेका छन्, तर यसलाई कसरी प्राप्त गर्ने भनेर न कुनै कार्ययोजना प्रस्तुत गर्न सकेका छन् न त कुनै सैद्धान्तिक बहस नै चल्ने गरेको छ । उनीहरूले न निःशुल्क र सर्वसुलभ शिक्षा र स्वाथ्यको लागि काम गरिरहेका छन्, न त नागरिकको बाँच्न पाउने आधारभूत अधिकारका लागि नै ।

तर, चुनाव नजिकिँदै गर्दा भोटको पिरले फेरि एउटा जबर्जस्त बहस सुरु भएको छ– समाजवादी केन्द्र निर्माणको । यसअघि नै अनलाइनखबरले प्रकाशित गरेको रिपोर्टिङमा नेताहरुले यसलाई कसरी सत्ता प्राप्तिको साधन बनाइराखेका छन् भन्ने व्याख्या गरिएको छ । पढ्नुहोस् : मुखमा समाजवादी केन्द्र, मनमा सत्ता

जीवनभर कम्युनिष्ट राजनीति गरेर आफ्नै व्यक्तिगत राजनीतिक जीवनको समेत उत्तरार्धमा पुगेका नेताहरूले समाजवादी केन्द्र निर्माणको बहसलाई अगाडि सारेका हुन् । स्थानीय तहको निर्वाचन अनुसार पहिलो दल नेपाली कांग्रेससँगको अविश्वास र दोस्रो ठूलो दल नेकपा एमालेसँगको इगोसहितको अस्वस्थ प्रतिस्पर्धाका कारण चुनावी गणितको किनारामा पुगेको आकलन गरेका कम्युनिष्टहरू शक्ति सञ्चयका हिसाबले समाजवादी केन्द्र निमार्णको गृहकार्यमा जुटेका छन् ।

यद्यपि, नेपाली राजनीतिमा समाजवादको नारा चल्न थालेको भने दलहरू अस्तित्वमा आउन थालेदेखि नै हो । विश्व राजनीतिमा समाजवादलाई कम्युनिज्म भन्दा पनि पुरानो नारा मानिन्छ । अनि प्रत्येक युगमा उत्तिकै बदनाम पनि ।

घोषणापत्र र नाराका हिसाबले समाजवाद पढ्न र सुन्न लोकप्रिय लाग्छ । समग्रमा सामाजिक न्यायलाई केन्द्रमा राखेर आर्थिक, राजनीतिक, सांस्कृतिक, लैंगिक समताको वकालत हुनुपर्छ भन्दा कुन चाहिँ नेता लोकप्रिय नहोला र ! यही बुझेरै बिपी कोइरालाले प्रजातान्त्रिक समाजवादको धार समाएका थिए भने कम्युनिष्टहरू वैज्ञानिक समाजवाद भन्दै आएका छन् ।

दलहरुको घोषणापत्र पछ्याउँदा कांग्रेसले आफ्नो मुख्य उद्देश्य प्रजातान्त्रिक समाजवाद भनेको छ भने कम्युनिष्ट पार्टीहरूले सामाजिक न्यायसँग जोड्दै समाजवादलाई साम्यवादसम्म पुग्ने एउटा खुड्किलोको रूपमा व्याख्या गर्दै आएका छन् ।

बिपीले प्रजातन्त्र र समाजवाद एउटै रथका दुई पांग्रा हुन् भनेर बारम्बार भनिरहन्थे । त्यतिबेला प्रगतिशील कर, सामाजिक न्याय र समानताको नारालाई अलि बढ्ता जोड दिएर व्याख्या गरिन्थ्यो । बिपीले विधिमा प्रजातान्त्रिक र एजेन्डामा आमूल परिवर्तनको कुशल संयोजन गर्ने प्रयास गरेका थिए । तर, ०४६ सालपछि बेरोकतोक उदारवादलाई अंगालेको कांग्रेस नेतृत्वले भित्तामा बिपीको निर्जीव तस्वीर टाँस्न नछाडे पनि उनको जीवन्त विचारहरूलाई दुत्कार्दै आइरहेको छ ।

सत्ता बाहिर रहँदा समाजवादको चर्को नारा लगाए पनि सत्तामा पुग्नासाथ ‘पुँजीवाद’कै सेवा एउटा आम प्रवृत्ति बन्यो । यस्तो लाग्छ– बरालिएका दलहरू ‘काशी जान कुतीको बाटो’ हिंडिरहेका छन् ।

समाजवादलाई केवल साम्यवादमा पुग्ने खुड्किलो अर्थात एउटा साधनको रुपमा अपनाउने कम्युनिष्टहरुले पनि आफू सत्तामा पुग्दा समेत कुनै उल्लेखनीय काम गर्न सकेनन् । सत्ता बाहिर रहँदा समाजवादको चर्को नारा लगाए पनि सत्तामा पुग्नासाथ ‘पुँजीवाद’कै सेवा एउटा आम प्रवृत्ति बन्यो । यस्तो लाग्छ– बरालिएका दलहरू ‘काशी जान कुतीको बाटो’ हिंडिरहेका छन् । उनीहरुको कर्मले यही पुष्टि गर्दै आएको छ ।

‘समाजवादले जनताको न्यायलाई बढ्ता अपिल गर्छ, जनतालाई सम्वोधन गर्छ भनेर नेताहरूले आफूलाई समाजवादी दावी गर्छन्,’ लेखक तथा विश्लेषक नारायण ढकालले भने, ‘सबैतिर समाजवाद राखियो तर समाजवादतिर जाने प्रस्थान विन्दु नै देखिएन । जस्तो कि, शिक्षा र स्वास्थ्यमा चरम निजीकरण छ । सामाजिक संस्थाहरू बनिरहेका छैनन् ।’

करोडौ रूपैयाँ खर्च गरेर चुनाव लड्ने, चुनावका लागि ठूला ठूला व्यापारी र विचौलियाहरूसँग आर्थिक सहयोग लिने, उनीहरूलाई नै सहयोग पुग्ने खालको कानुन निर्माण गर्ने चक्र ०४६ सालको राजनीतिक परिवर्तनपछि झन् झन् फस्टाउँदै गइरहेको छ । प्रत्येक राजनीतिक दल र ती दलका शीर्ष नेताहरूको विचौलिया व्यापारीसँगको अनुचित उठबसले नेताहरू कुन बाटोमा छन्, जन–जनले अनुभूति गरिसकेका छन् । तर पनि न उनीहरूले आफूलाई समाजवादी हुँ भन्न छोडेका छन्, न समाजवादको नारा दिन नै ।

समाजवादी केन्द्र निर्माणबारे छलफल गरिरहेका नेताहरु ।

जनताको न्यायसँग जोडिएको कुरासँग संभवतः कसैले दुश्मनी गर्नु नपर्ने भएकाले पनि होला उनीहरूलाई समाजवाद प्रिय लागेको हो । कम्युनिष्ट र वामपन्थी धार असाध्यै बदनाम भएकाले पनि उनीहरूले आफ्नो राजनीतिक सिफ्ट समाजवादी हुँ भनेर गरिरहेका हुन पनि सक्छन् ।

जस्तो कि कुनैबेलाका २४ क्यारेट वामपन्थी डा. बाबुराम भट्टराई अहिले आफूलाई कम्युनिष्ट हुँ भन्न रुचाउँदैनन् । तर, उनै कम्युनिष्टहरू मिलेर समाजवादी मोर्चा बनाए आफू सहभागी हुन्छु भन्न कुनै अप्ठ्यारो मान्दैनन् ।

नेकपा एमालेमा लामो राजनीति गरेका माधवकुमार नेपालले पार्टीको नाम नेकपा एकीकृत समाजवादी राखे । तर ०४६ सालको राजनीतिक परिवर्तन पछि खुल्ला राजनीतिक यात्रा थालेका यी दलहरूले आफ्नो घोषणापत्रमा उल्लिखित राजनीतिक धरातल बिर्सिंदै गएको लेखक ढकाल बताउँछन् ।

‘०४६ सालपछि एमालेहरू प्रजातान्त्रिक समाजवादभन्दा पनि तल्लोस्तरमा प्रकट भए’ ढकालले भने, ‘कांग्रेस ४६ सालपछि संवैधानिक राजतन्त्र, संसदको कुरामा भुलेर बिपीले अघि सारेको प्रजातान्त्रिक समाजवादलाई तिलाञ्जली दियो ।’

नेताहरूले जे भने पनि समाजवादतिर जाने नीति र कार्यक्रम घोषणापत्रमा पनि नदेखिने ढकालको जिकिर छ । ‘हामी सरकारमा आयौं भने शिक्षालाई सार्वजनिकीकरण गर्छाैं भनेको कतै सुनिन्न, स्वास्थ्यलाई सर्वसुलभ बनाउछौँ कहिल्यै पनि भन्दैनन्’ उनले भने, ‘तर समाजवादको लोकप्रियताले गर्दा नारा चाहिँ छोड्न नचाहेका हुन् ।’

भनिन्छ– कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सहरूले सन् १८४८ मा कम्युनिष्ट पार्टीको होइन, समाजवादको घोषणापत्र लेख्न चाहन्थे । तर, १८औं शताब्दीमा नै समाजवाद शब्द यतिधेरै बदनाम भइसकेको थियो कि उनीहरुले ‘कम्युनिष्ट पार्टी’कै घोषणापत्र लेखे ।

त्यही भएर दार्शनिक सीइएम जडले भनेका छन्, ‘समाजवाद यस्तो टोपी भयो, जसलाई सबैले आ–आफ्नो आकार र आवश्यकताअनुसार शीरमा लगाए र यसले आफ्नो वास्तविक आकार गुमाउन पुग्यो ।’

एकातिर समाजवादको चर्को नारा लगाउने शक्ति नै सत्तामा पुगिरहने र अर्कोतिर शिक्षा र स्वास्थ्यमा नै अचाक्ली व्यापारीकरण र माफियाकरण बढिरहने ! समाजवादी भन्नेहरुको शासनमा गरिब र धनीबीचको दूरी झन् झन् बढिरहेको तथ्यांकहरूले नै बताइरहेका छन् ।

‘लामो समयदेखि दार्शनिक धरातलमा आन्दोलन उठ्ने भएकाले पुँजीवादी धाराले पनि कुनै कुनै हिसाबले आन्दोलन गर्नुपर्ने भयो’ वामपन्थी लेखक तथा वैज्ञानिक समाजवादी पार्टी नेपालका अध्यक्ष आहुति भन्छन्, ‘श्रमिकहरू उठिरहन्छन्, एकथरीलाई कम्युनिष्टका नाममा ब्याज खान पर्ने भयो, समाजवाद भन्दै आएको अर्काेले पनि छोड्न मिलेन ।’

यसरी सबैले रहरले भन्दा बाध्यताले समाजवाद बोकिरहेको उनको बुझाइ छ । उनले भने, ‘अहिलेको अवस्थामा मनमा भ्रम छर्ने सबैभन्दा ठूलो हतियार नै समाजवाद हो ।’

आफूले आफैंलाई समाजवादी घोषणा गर्दैमा न कुनै नेता, दल, न त राज्य नै समाजवादी बन्छ । समाजवाद विचारको ठेली घोकेर सुनाउने भन्दा पनि व्यवहारमा लागू हुनुपर्ने विषय हो । तर कुनै राज्यले समाजवाद स्वीकार गर्दैमा त्यो राज्यको व्यवहार समाजवादी हुन सक्दैन भन्ने स्पष्ट हुन हाम्रै मुलुक नेपाल सबैभन्दा उपयुक्त उदाहरण हो ।

एकातिर समाजवादको चर्को नारा लगाउने शक्ति नै सत्तामा पुगिरहने र अर्कोतिर शिक्षा र स्वास्थ्यमा नै अचाक्ली व्यापारीकरण र माफियाकरण बढिरहने ! समाजवादी भन्नेहरुको शासनमा गरिब र धनीबीचको दूरी झन् झन् बढिरहेको तथ्यांकहरूले नै बताइरहेका छन् । यो वास्तवमै विरोधाभाषपूर्ण विषय हो ।

जनता समाजवादी पार्टीका नेतासमेत रहेका विश्लेषक डम्बर खतिवडा नेपालको सन्दर्भमा समाजवाद केवल पाखण्ड भएको टिप्पणी गर्छन् । ‘समाजवाद एक किसिमको सस्तो शब्द हुँदै गएको जस्तो देखिन्छ,’ खतिवडाले भने, ‘यति धेरै समाजवादी र साम्यवादीहरू हुँदाहुँदै पनि किन समाजवादी राज्य, समाजवादी अर्थतन्त्र, प्रणाली, समाजवादी मूल्य मान्यता, समाजवादी संस्कृति निर्माण भएन त भन्ने प्रश्न त उठ्छ नि ।’

खतिवडाको निष्कर्षमा समाजवादलाई दलहरूले केबल जप्ने मन्त्रजस्तो बनाए । ‘भारतमा केजरीवालले आफूलाई समाजवादी भन्दैनन्, तर सेभेन स्टार होटेलजस्ता सरकारी स्कुल बनाउँछन् । व्यवहारमा भएपछि शब्दमा किन जप्नुपर्‍यो र ?’
खतिवडा अगाडि थप्छन्, ‘नेपाल दुर्भाग्यको अवस्थामा छ । समाजवाद मतदाताहरूको मनोवैज्ञानिक दोहन गर्ने शब्द जस्तो भएको छ भन्ने मलाई लाग्छ ।’

झण्डै दुई तिहाइ बहुमतसहित देशकै ठूलो दल भएको बेला तत्कालीन माओवादीले विद्रोहको कार्यदिशा लियो । त्यतिबेला उनीहरू भन्थे– ‘मुखमा संविधानसभा, मनमा विद्रोह ।’ किनकि संविधानसभा बजारमा बिक्ने शब्द थियो ।

अहिले एमाले अध्यक्ष केपी ओलीले ‘ग्रीन सिग्नल’ दिनासाथ अहिले समाजवाद केन्द्र भन्ने धेरै शक्ति कम्युनिष्ट एकतातिर मोडिनेवाला छन् । तैपनि नेपालको सन्दर्भमा समाजवाद लोकप्रिय शब्द भएकोले अहिले उनीहरू एउटा सहायक विकल्पको रुपमा ‘समाजवादी केन्द्र’को गृहकार्यमा जुटेका छन् । यस्तो लाग्छ– दलहरू मतदाताको मत तान्न समाजवादी केन्द्रको कुरा गरिरहेका छन्, ‘मुखमा समाजवाद, मनमा मत !’ मानौं, समाजवाद नफलाक्दासम्म भोटै पाइँदैन ।

समाजवाद नाम जोडिएका दलहरू

  • आधुनिक नेपाल समाजवादी पार्टी
  • नेपाल समाजवादी कांग्रेस
  • समाजवादी पार्टी नेपाल
  • जन समाजवादी पार्टी
  • नेपाल समाजवादी पार्टी लोहियाबादी
  • नेपाल संघीय समाजवादी पार्टी
  • राष्ट्रिय समाजवादी पार्टी नेपाल
  • जनता समाजवादी पार्टी
  • नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी
  • लोकतान्त्रिक समाजवादी पार्टी
  • समाजवादी केन्द्र नेपाल
  • नेकपा समाजवादी
  • वैज्ञानिक समाजवादी पार्टी
  • नेकपा माओवादी समाजवादी



Source link

HamroAwaj

2022-07-27 20:52:28

Leave a Comment

WP2Social Auto Publish Powered By : XYZScripts.com