माधव नेपालको बामे सर्दो पार्टीमा विचलनका स्वरहरू – HamroAwaj


११ साउन, काठमाडौं । तस्वीर आफैं नबोल्लान्, तर इतिहासका खास कालखन्डमा तिनका अर्थ विशेष हुन्छन् । त्यस्तै विशेष क्षणको दृश्य थियो, एक वर्षअघि अध्यक्ष माधवकुमार नेपालको हात समाएर निर्वाचन आयोगतर्फ पाइला सारिरहेकी नेता रामकुमारी झाँक्रीको तस्वीर ।

प्रसंग थियो, नयाँ दल दर्ताको । नेकपा एमालेबाट ‘विद्रोह’ गरेर नयाँ दल निर्माणको जोखिम उठाउन नेपाललाई झाँक्री जस्तै तन्नेरी नेता, कार्यकर्ताको हौसलाले काम गरेको थियो ।

नेकपा एकीकृत समाजवादी नाममा खुल्दै गरेको नयाँ दलका लागि चलेका उत्साहका ती पाइलाहरुको फोटो बाहिर आइसक्दा सामाजिक सञ्जालमा तुरुन्तै छाइसकेको थियो । हिजोआज सोसल मिडियाको भाषामा भन्छन् नि, ‘त्यो तस्वीर भाइरल भइसकेको थियो ।’

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्तरसंघर्षमा अन्तिमसम्म साथ दिएर नयाँ पार्टी निर्माणमा ‘१० भाइ’ले रोक्न खोज्दा पनि बाँकी युवाको अनुहार हेरेरै नेपाल आफ्नो निर्णयमा अविचलित थिए ।

तर त्यो एक वर्षअघिको तस्वीर यति बेला हेर्दा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताको मुहारमा तेज आउँदैन ।

‘एमाले विद्रोहकी बिम्ब’ बनेकी झाँक्री पार्टी दर्ताको एक वर्ष पुग्दा नपुग्दै माधव नेपाललाई बलियो आड भरोसा दिइरहेको दृश्यमा कैद हुन छाडेकी छिन् । झाँक्री एकीकृत समाजवादीको सचिव भएकाले पार्टीमा उनको जिम्मेवारी ठूलै हुन्छ । तर, मन्त्रीबाट राजीनामा दिएयता झाँक्री पार्टी गतिविधिमा खासै देखिन्नन् ।

६ महिनाको आलोपालो पुर्‍याउनु पर्ने भन्दै पार्टीले सरकारबाट फिर्ता बोलाएपछि १३ असारमा सरकारबाट बाहिरिएका झाँक्रीसहितका नेताहरुले पार्टीको बैठकमा जान समेत जाँगर चलाइरहेका छैनन् । मन्त्री छाड्दा उनको आँखामा आँसु थियो, अहिले अनुहारमा उदासी ।

निर्वाचन आयोगमा दर्ता भएको तिथि पछ्याउँदा आगामी २ भदौमा मात्रै एकीकृत समाजवादीको आयु एक वर्षको हुने छ । एउटा राजनीतिक पार्टीका लागि एक वर्ष कुनै लामो समय होइन । स्वभाविक रुपमा पार्टी निर्माणमा लामो समय खर्चिएका स्थापित नेता कार्यकर्तासहितको पार्टी बनाएकाले एकीकृत समाजवादीसित ‘तीव्र प्रगति’को आकांक्षा धेरैले राखेका थिए ।

तर, त्यस्तो आशा जगाउनेहरु नै निरुत्साहित भएको जस्तो देखिएकाले एकीकृत समाजवादीको सुखद भविष्यको छनक भने मिल्दैन ।

औचित्य स्थापित नहुँदै विचलन

यो एक वर्षको मुल्यांकन गर्दा उपमहासचिव जगन्नाथ खतिवडा पार्टीको अवस्थालाई ‘कोरकोराएको तर फुल नपारेको कुखुरा’सँग दाँज्छन् । उनकै भनाइ मान्ने हो भने पनि एकीकृत समाजवादी भर्खरै बामे सर्दै गरेको पार्टी हो । बामे सर्दै गरेको पार्टीमा विचलित स्वर पनि सुनिन थालेका छन् ।

पार्टीमा बलियो प्रभाव राख्ने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नै एमालेसँग मिल्नुपर्ने विचार राखिसकेका छन् । ‘वाम एकताको फ्रेम’मा एमालेसँग मिल्ने वा नजिकिने चाहना खनालले खुल्ला रुपमै प्रकट गरिरहेका छन् ।

विभाजन ताका नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्ने खनालले एमालेसँग मिल्नुपर्ने विचार विशेष गरि स्थानीय तहको चुनावपछि राख्न थालेका हुन् । चुनावमा पार्टीको पक्षमा देशभरबाट उत्साहजनक परिणाम पनि नआउनु र आफ्नै गृहजिल्ला इलाममा पनि सोचे जस्तो नभएपछि खनाल बिच्किएको पाइन्छ ।

गठबन्धनका साझेदार दल र विशेष गरि नेपाली कांग्रेसले आफ्नो गृह जिल्लामै मत नदिएको भन्दै खनालले सार्वजनिकरुपमै असन्तुष्टि जनाएका थिए । टेलिभिजन अन्तर्वार्तामार्फत् उनले एमालेसँग मिल्न सक्ने चेतावनी कांग्रेसलाई दिएका थिए ।

नेपाली कांग्रेसबाट अपेक्षितरुपमा ‘मत ट्रान्सफर’ नभएको देखेपछि खनालले संघीय चुनावमा आफ्नो भविष्यलाई लिएर चिन्ता लिएको कतिपयले बताउने गरेका छन् । स्थानीय तहको चुनावमा नेपाली कांग्रेससँग तालमेल गरेको भए पनि उनले जिल्ला समन्वय समितिको चुनावमा खनालले आफ्नो जिल्लामा एमालेसँग तालमेल गरेका थिए ।

एकातिर खनाल जत्तिको नेताको विचलित आवाज आउनु र अर्कोतिर नेकपा माओवादी केन्द्रसँग एकीकरणको चर्चाले नेता, कार्यकर्तामा पनि मनोवैज्ञानिक असर गरेको बताइन्छ । पार्टी निर्माणका बलिया औजार मानिने भ्रातृ संगठनका नेताहरु यसले आफूहरुमा उर्जा हराएको बताउने गर्छन । ‘पार्टी निर्माणमा प्रगति सोचे जस्तो छैन,’ एकीकृत समाजवादी निकट अनेरास्ववियूका एक पदाधिकारी भन्छन्, ‘नेताहरुकै बोली–व्यवहारले पनि हामीमा काम गर्ने उर्जा मर्न थालेको छ ।’

सत्ता गठबन्धनभित्रै बाम पार्टीहरुबीच अहिले समाजवादी मोर्चा निर्माण गर्ने र एउटै पार्टी बनाउने सम्मको चर्चा चलिरहेको छ । त्यसमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पक्ष सकारात्मक भए पनि खनाल पक्ष भने सकरात्मक छैनन् । माओवादीसँग एकता गर्नुभन्दा एमालेमै फर्किनुपर्ने धारणा उनले राख्ने गरेका छन् ।

यद्यपि उपमहासचिव प्रकाश ज्वाला भने एमालेमा एक वर्षअघि र अहिले कुनै नीतिगत र शैलीगत भिनन्ता नआएकाले एकता वा तालमेलको सम्भावना नरहेको बताउँछन् । ‘उनीहरुमा यो एक वर्षमा कुनै भिन्नता आएको छैन,’ अनलाइनखबरसँग उनले भने, ‘उनीहरुको प्रवृत्ति, दम्भ उस्तै छ । हिजो गरेका गल्ती केहीमा पनि कुनै ‘रियलाइजेसन’ छैन । त्यसकारण एमालेसँग मोर्चा बनाउने कुरा वा एकता गर्ने कुरा हामीले सोचेका पनि छैनौं ।’

पहिलो चुनाव : अनपेक्षित परिणाम

पार्टी गठनको छोटै समयमा स्थानीय तहको चुनावमा होमिनुपर्ने बाध्यता एकीकृत समाजवादीसामु आइलाग्यो । पार्टी गठन लगत्तै कोरोना सुरु भएकाले संगठन निर्माण नै गर्न नपाइ चुनावमा जान अप्ठ्यारो हुने भन्दै एकीकृत समाजवादीले स्थानीय तहको चुनावलाई केही समय पछि धकेल्ने प्रयास पनि गरेको थियो ।

संघीय, प्रादेशिक र स्थानीय चुनाव एकै समयमा गर्नुपर्ने प्रस्ताव माधव नेपालले राखेका पनि थिए । गठबन्धनले पनि त्यही कुरा उठाएको थियो । तर, स्थानीय तहको चुनाव तोकिएकै समयमा गर्नुपर्ने दवाव परेपछि शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार वैशाख ३० गतेका लागि चुनाव घोषणा गर्न बाध्य भएको थियो ।

गठबन्धन समेत गरेकाले चुनावमा राम्रै परिणामको अपेक्षा एकीकृत समाजवादीका नेताहरुले गरेका थिए । तर, नतिजा भने अनपेक्षित आयो । ‘संगठन निर्माणमा अगाडि बढिरहेका बेला निर्वाचन आयो,’ नेता बलराम बास्कोटा भन्छन्, ‘संघ, प्रदेश र स्थानीय चुनाव एकैपटक होस् भन्ने हाम्रो चाहाना थियो । हाम्रो पार्टीले आकार ग्रहण नगरिसकेको स्थिति थियो । तर, हामीले सामना गर्नुपर्‍यो । त्यसको परिणाम हामीले अपेक्षा गरेको भन्दा भिन्न रह्यो ।’

कुल ७५३ स्थानीय तहमध्ये एकीकृत समाजवादीले २० पालिका प्रमुख मात्रै जित्न सक्यो भने ६ हजार भन्दा बढी वडामा १९० वटा मात्रै जित्यो । वडाको मतलाई आधार मान्दा एकीकृत समाजवादीले देशभर कुल ४ लाख २२ हजार ७ सय ३७ मत प्राप्त गरेको छ । यसलाई प्रतिशतमा हेर्दा ३.६६ मात्रै हुन्छ ।

कमजोर नीतिका पछाडि आफ्नै र गठबन्धन कारक रहेको ठम्याइ एकीकृत समाजवादीको छ । ‘यस निर्वाचनमा अनुभूत भएको हाम्रो सबैभन्दा ठलो कमजोर पक्ष पार्टीको संगठित शक्ति बलियो नहुनु हो,’ निर्वाचनको समीक्षा गर्दै अध्यक्ष नेपालले तयार पारेको प्रतिवेदनमा भनिएको छ, ‘केही महिना अगाडि मात्रै विद्रोह गरेर पार्टी पुनर्गठन अभियानमा लागेका हामीले संगठन बलियो बनाउन पाएकै थिएनौं । सबै स्थानीय तहमा पार्टी कमिटी निर्माण गर्न पनि भ्याएका थिएनौं । स्थानीय तहमा जे जति कमिटीहरू बनेका थिए ती पनि तदर्थ प्रकृतिका थिए र कसिला एवं दरिला थिएनन् ।’

गठबन्धनका पाँच कारण केलाउँदै एकअर्कालाई मत नै नहाल्ने प्रवृत्ति समेत कारण रहेको ठम्याइ नेपालको प्रतिवेदनमा छ । प्रतिवेदनमा अगाडि भनिएको छ, ‘गठबन्धन भएका स्थानमा इमान्दारीपूर्वक भोट नहाल्ने र गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहने प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी देखियो ।’

विधिको कुरा गरेर विधि तोडेको आरोप

नवौं महाधिवेशनदेखि नै एमालेभित्र नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको थियो । अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशाको कार्यान्वयन नगरेको, पार्टीभित्र अरुका कुरा नसुनेको जस्ता आरोप नेकपा बन्नुअघि नै नेपाल पक्षले ओलीमाथि लगाइ नै रहेको थियो । नेकपा बनेपछि भने एमालेको त्यो विवादको पनि स्थानान्तरण भयो ।

नेकपाभित्र ओलीविरुद्धको संघर्षमा नेपाल पक्षले तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दियो । पार्टीभित्रको अन्तरसंघर्षका कारण ओलीले दुई–दुई पटक संसद विघटन गरेपछि ‘संघीय लोकतान्त्रिक गणतन्त्र, देशको शान र अग्रगामी उपलब्धिलाई उल्टाउन’ खोेजेको भन्दै नेकपाको प्रचण्ड–माधव पक्ष सडकमा आयो ।

सर्वोच्चको आदेशपछि नेकपा टुंगिएपछि पनि एमालेमा बस्न नसकिने निष्कर्ष निकाल्दै नेपाल पक्ष नयाँ पार्टी गठनमा लाग्यो । एमाले छाड्दै गर्दा ‘संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रियताको जगेर्ना र विधानले निर्दिष्ट गरे अनुसार समाजवादको दिशामा मुलुकलाई कसरी अगाडि बढाउन’ विद्रोह गर्नु परेको स्पष्टीकरण माधव नेपालले दिएका थिए । यस हिसाबले पछिल्लो समय विधि र पद्धतिका धेरै कुरा उनले नै गरेका थिए । सार्वजनिक मञ्चहरुबाट पनि नेपालले ओलीमाथि आफूहरुको अपमान गरेको, विधि पद्धति तोडेको आरोप लगाइरहन्छन् ।

तर, नेपाल आफैं पनि यस्तो आरोप लाग्नबाट भने जोगिन सकेनन् । एमाले विभाजन गर्न ४० प्रतिशत नपुग्ने भएपछि राजनीतिक दल सम्बन्धी ऐनका विद्यमान व्यवस्थालाई अध्यादेश ल्याएर २० प्रतिशतमा झारिएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले यस्तै अध्यादेश ल्याउँदा नेपाल लगायतका नेताहरुले चर्को आलोचना गरेका थिए । तर, आफ्नो पार्टी जन्माउन नै उनले अध्यादेशको साहारा लिनुपर्‍यो । यसले नेपालमाथि नैतिक प्रश्न उठ्यो ।

त्यस्तै गैर सांसदलाई मन्त्री बनाउने नेपालको कदमको पनि आलोचना भएको छ । एकीकृत समाजवादीबाट श्रम मन्त्री बनेका शेरबहादुर कुँवर गैरसांसद हुन । यस्ता गतिविधिका कारण कतिपयले विधिको कुरा गर्नेले नै विधि तोडेको टिप्पणी उनीमाथि गरेका छन् ।

एमाले भन्दा भिन्न हुने चुनौती

यो एक वर्षमा एकीकृत समाजवादीले एमाले भन्दा आफ्नो अलग पहिचान स्थापित गर्न सकेन । जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त नमान्ने बाहेक उसले वैचारिकरुपमा एमाले भन्दा फरक रुपमा आफूलाई उभ्याएको छैन् । एमालेले जबजलाई समेत सिद्धान्त मान्दा एकीकृत समाजवादीले आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद मात्रै हुने बताएको छ ।

‘नेपालमा मार्क्सवादको प्रयोगको प्रयासका प्रारम्भकर्ता कमरेड पुष्पलालले नै माक्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचार प्रस्तुत गर्नुभएको थियो र जननेता कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादमा त्यसको सविस्तार व्याख्या गर्नुभएको थियो,’ एकीकृत समाजवादीको घोषणा पत्रमा भनिएको छ । विधानमा पनि उसले आफूलाई एमाले भन्दा भिन्न देखाउन सकेको छैन ।

उपमहासचिव ज्वाला एमाले भन्दा फरक एजेन्डा दिने कुरामा कमजोर भएको स्वीकार गर्छन् । ‘हामीले अझैं यो भन्दा नयाँ एजेन्डा दिनुपर्थ्यो ,’ उनको भनाइ छ, ‘अलिकति जनतालाई आकर्षण दिने । युवा पङ्तीलाई आर्कषित, उत्साहित गर्ने र हिजोको एमाले भन्दा अझ फरक एजेन्डा दिएर फरकपन दिने कुरामा हामीले जति गर्नपथ्र्यो, त्यति गर्न सकेका छैनौं ।’

यद्यपि एमालेबाट गरेको विद्रोहको भने औचित्य पुष्टि आफूहरुले गरेको दाबी ज्वाला गर्छन् । ‘हामीले विद्रोह गरेर पार्टी निर्माण गर्‍यौं,त्यसको औचित्य पुष्टि गर्नु थियो,’ उनी भन्छन्, ‘ त्यसको पुष्टि हामीले गरेका छौं । विद्रोह गर्नु सही थियो भन्ने आम जनतामा र हाम्रो पङ्तीमा स्थापित भएको छ ।’

संगठन निर्माणतर्फ पनि केही सुस्त भएको एकीकृत समाजवादीले स्वीकार गरेको छ । अझैं सबै पालिका र वडामा कमिटी बन्न नसकेको अध्यक्ष नेपालले हालै सकिएको तेस्रो केन्द्रीय कमिटी बैठकमा पेस गरेको प्रतिवेदनमा उल्लेख छ । ‘संगठन निर्माणको काम जति भएको छ, त्यो सन्तोषजनक भए पनि पर्याप्त भने छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘तीन महिने कार्ययोजनामा निर्धारित सबै पालिका र वडामा कमिटी निर्माण गर्ने लक्ष्य अझैं प्राप्त भएको छैन ।’

यो अवधिमा केन्द्रीय निकाय र विभागमा १ हजार ५ सय ३८, प्रदेश कमिटीमा १ हजार ४ सय १५ र जिल्ला कमिटीहरुमा १४ हजार ६ सय ३९ जना संगठित सदस्य बनेको एकीकृत समाजवादीले उल्लेख गरेको छ ।

त्यस्तै पालिका कमिटीहरुमा २३ हजार ६ सय ७६ र वडा कमिटीमा ८१ हजार ९८ संगठित भएको बताएको छ । अहिलेसम्म पार्टी सबै जिल्ला, ७३.७० प्रतिशत पालिका र ५५.२१ वडामा कमिटी निर्माण गर्न सकेको एकीकृत समाजवादीको तथ्यांक छ । यो बीचमा केही साना पार्टीहरुसँग एकीकरण भएको समेत बताइएको छ ।





Source link

HamroAwaj

2022-07-28 20:38:17

Leave a Comment