त्रासदीपूर्ण समयको आँखीझ्याल – HamroAwaj


१४ साउन, काठमाडौं । १२ वर्षअघि गुरुकुलमा मञ्चित नाटक ‘पानीफोटो’ हेर्दा दिमाग हल्लिएको थियो । त्यसबेला दुईटा कुरा मेरो मस्तिष्कमा फिल्मको रिलजस्तै घुमिरहे । पहिलो– रिपोर्टिङ दौरान सशस्त्र द्वन्द्वमा बेपत्ता भएकाका परिवारको पीडा र प्रियजन फर्कने आशामा टोलाइरहेका आँखालाई अनुभूति गर्दाको मर्मस्पर्शी क्षण ।

दोस्रो– ‘मान्छेलाई ‘भ्रम’मा रमाउन मीठो लाग्छ । जब वास्तविकतामा फर्कने प्रयास गर्छ, तब उसलाई पीडा हुन्छ’ भन्ने इटालेली दार्शनिक ज्या पार्ल सात्रको चर्चित कथन । यसले एकजना चिनेको दिदीको स्मरण गराउँछ जसको श्रीमानलाई द्वन्द्वमा बेपत्ता पारियो । पति आउने आशामा ती दिदी अहिले पनि रातो सारी र सिन्दुरमै सजिन्छिन् । लाग्छ श्रीमान चाँडै आउनेछन् र उनलाई अँगाल्नेछन् ।

त्यसयता कालीगण्डकीमा धेरै पानी बगिसक्यो । न ती दिदीका श्रीमान फर्किए न उनले न्याय नै पाइन् । बरु, संक्रमणकालीन न्याय झनै गिजोलिएको छ । शान्ति प्रक्रिया निष्कर्षमा पुग्न सकेको छैन र बेपत्ता पारिएकाका परिवार प्रियजन फर्कने आशामा दोबाटो कुर्दैछन् ।

१२ वर्षपछि त्यही ‘पानीफोटो’ नाटकलाई फिल्ममा हेर्दा हामीले बाँचेको सबैभन्दा ठूलो ‘त्रासदी’को समय याद आउँछ । हलमा सुपरहिरो र रोमान्टिक फिल्मको दबदबा चलिरहँदा खगेन्द्र लामिछाने भने द्वन्द्वको एउटा आयामलाई लिएर निर्देशकीय यात्रामा निस्किएका छन् । नेपालमा यसअघि सशस्त्र द्वन्द्वका विषयमा आधारित जति फिल्म बने ती कुनै पार्टीका एजेन्डाले थिचिएका थिए, तर, पानीफोटोले द्वन्द्वका पक्षबाट तटस्थ रहेर कथा भन्छ ।

तर, फिल्म कथा होइन, दृश्यभाषा हो ।

एकमात्र छोरो कृष्णलाई तत्कालीन विद्रोही पक्षले सुराकी आरोपमा बेपत्ता बनाएपछि ऊ फर्कने आशामा दिन बिताइरहेको दम्पतीको कथा ‘पानीफोटो’ले भन्छ ।

‘पानीफोटो’को दर्शनीय पक्ष यसको अभिनय हो । अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, खगेन्द्र चरित्रमा अब्बल छन् । ‘यात्रा’पछि मलिकाको अभिनयमा विकास देखिन्छ ।

छोराको स्थिति पत्ता नलागेसम्म अन्तिम संस्कार नगर्ने अडानमा रहेको दम्पती (अनुप बराल र मेनुका प्रधान) सामाजिक दबावलाई झेल्दै छोरा खोज्ने आशाको यात्रामा निस्कन्छन् । प्रेमी फर्किएला र बिहे गरुम्ला भन्ने आशामा रहेकी राधा (मलिका महत) को पर्खाइ मर्मस्पर्शी छ ।

बेपत्ता भएको कृष्णको काजकिरिया गरेमात्र आफ्नो रोग निको हुने अन्धविश्वासमा बाँचिरहेका ठूल्दाई (प्रकाश घिमिरे), द्वन्द्वमा गाउँबाट लखेटिएर सहरमा मासु पसल गर्ने बुद्धि तामाङ र लडाइबाट भागेर भारत पुगेको र त्यहीँ बिहे गरेर घर फर्किएको खगेन्द्रका पात्र रोचक छन् ।

पृष्ठभूमिमा बज्ने रेडियोको समाचार सुन्दा ‘पानीफोटो’ शान्ति प्रक्रिया सुरु भइसकेको, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएको र अन्तर्राष्ट्रिय रुपमा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँग शान्ति सम्झौता भंग गरेको कालखण्डमा बनेको छ । रेडियो नाटक, रंगमंच र पुस्तकमा कथा भनिसकेका लामिछानेको यो पहिलो निर्देशकीय प्रयत्न हो ।

****

‘पानीफोटो’ को कथा र सन्दर्भ शक्तिशाली छ । अभिनय, छायांकन, सम्पादन, पाश्र्वध्वनि, रङ संयोजन पक्ष बलिया छन् । चरित्र र घटनाको डिटेलिङ, आञ्चलिकता र संवादले दर्शकलाई इंगेज पनि तुल्याउँछन् । तर, कमजोर पटकथा र निर्देशकीय अनुपस्थितिले फिल्मलाई अब्बल हुन दिएको छैन । द्वन्द्व विकास नहुँदा मध्यान्तरपछि मुख्य पात्रको लक्ष्य र संघर्ष छायाँमा छ । घटनाको विकास नहुँदा फिल्मले लय गुमाएको छ ।

अभिनय र संवादमा मात्र फिल्म निर्भर हुँदा दर्शकलाई लाग्छ, हामी नाटक हेरिरहेका छौं वा चलचित्र ? दृश्यले निर्माण गर्ने बृहत र फराकिलो मनोविज्ञान सिर्जना गर्र्ने भन्दा दृश्य संरचना रंगमञ्चको स्वैरकल्पनातित ‘मिजाएन्सिङ’ सट्तर्फ उन्मुख छन् । कथा यथार्थवादी, मर्मस्पर्शी र शक्तिशाली भएपनि त्यसलाई पटकथा संरचनामा ढाल्नेतर्फ मिहेनत कम भएको देखिन्छ ।

जब द्वन्द्वको विकास हुँदैन, दर्शकसँग अन्तर्क्रिया पनि हुँदैन । दर्शकले चरित्र र घटनाको संवेदनालाई कुनै विन्दुसम्म अनुभूत त गर्छन् तर, प्लटहरु दोहोरिरहँदा र मुख्यपात्र नै ओझेलमा पर्ने गरी संघर्ष अघि बढाइँदा यसले दर्शकमा छटपटी सिर्जना गर्छ । ‘पानीफोटो’मा निर्देशक लामिछानेले अझै क्राफ्टलाई उत्कृष्ट बनाउने प्रशस्तै ठाउँ थिए । बलियो कथावस्तु, बलियो कास्ट एन्ड क्रू हुँदाहुँदै खगेन्द्रले ‘पानीफोटो’लाई फिल्मको आकार दिन चुकेका छन् ।

समस्या ‘पानीफोटो’को मात्र होइन, पचास वर्षे इतिहास बोकेको नेपाली फिल्मको साझा समस्या हो । मुख्यतः बुझ्नपर्ने कुरा –फिल्ममा कथा हुँदैन, पटकथा हुन्छ । फिल्म कानको लागि मात्र होइन, आँखाको लागि हो ।

फिल्म कम्प्युटरबाट मात्र बन्दैन, मनदेखि पनि बन्छ । जहिलेदेखि घरेलु फिल्ममा थिएटरको प्रवेश भयो, त्यही विन्दुदेखि नेपाली फिल्ममा ‘पञ्चलाइन’ नायक बन्न थाले । जुन दिन ‘लुट’ रिलिज भयो, त्यही विन्दुदेखि नेपाली फिल्ममा सिनेमाटोग्राफी नायक बन्न थाल्यो । हुनुपर्ने यी पक्षसँग पटकथाको संयोजन थियो ।

****

‘पानीफोटो’को दर्शनीय पक्ष यसको अभिनय हो । अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, खगेन्द्र चरित्रमा अब्बल छन् । ‘यात्रा’पछि मलिकाको अभिनयमा विकास देखिन्छ ।

चरित्रभित्रको अन्तर्विरोध, आन्तरिक द्वन्द्वले अभिनय र चरित्र स्थापनालाई बलियो तुल्याएको छ । सन्तानबाट टाढिँदाको मर्म र आशाको त्यान्द्रोले बाँधेको मुख्य पात्रको जोडीको चरित्र चित्रण घरेलु फिल्मको पछिल्लो शक्तिशाली कास्टिङ हो ।


चरित्रको सम्बन्ध स्थापना र उनीहरुबीचको द्वन्द्वले दर्शकलाई इंगेज तुल्याउँछ । मुख्य पात्र मेनुकाको अभिनयलाई उनको फिल्म करिअरकै पावरफूल एक्टिङ मान्न सकिन्छ । अनुपका दुई सेड फिल्ममा छन् । मध्यान्तरअघि र पछि उनको चरित्रमा परिवर्तन देख्न सकिन्छ ।

आभासको पाश्र्वध्वनिले मुडसँग अन्तर्क्रिया गर्छ । दीपक बज्राचार्यले फिल्मलाई काँधमा बोकेका छन् । छायांकारको रुपमा उनले निर्माण गर्ने दृश्य कम्पोज थाहा भएकै कुरा हो ।

क्यामेराले पनि अभिनय गर्छ भन्ने मान्यता दीपक राख्छन् र पानीफोटोमा सोहीअनुसार दृश्यलाई आकार दिएका छन् । फिल्मको मुख्य पात्र जो तस्वीरमा मात्र छ, उसको उपस्थितिको अर्थ दिलाउने काम दीपकले गरेका छन् । निमेष श्रेष्ठको सम्पादन अर्को सुन्दर पक्ष हो ।

दीक्षा थापाको श्रृंगारले चरित्रलाई जीवन्त तुल्याएको छ । सुजिता चौधरीको पहिरन डिजाइन प्रशंसनीय पक्ष हो । स्वैरकाल्पनिक सट्मा मनोज श्रेष्ठले गजबको भीएफएक्स बुनेका छन् ।

सम्भवतः ‘कालोपोथी’पछि हामीले नेपाली फिल्ममा मिजाएन्सिङ सट्लाई पानीफोटोमा हेर्दैछौं । यस्तो किसिमको दृश्य कम्पोजले चरित्रलाई गहिराइमा लैजान्छ । कास्टिङमा समावेश पानीचित्रको स्केचले फिल्मको सघनतालाई बढाएको छ । कास्टिङ हुनु भनेको कलाकार र प्राविधिकको नाम मात्र होइन भन्ने कुरा पानीफोटोले बुझाएको छ ।

सेना समायोजनमा अयोग्य भएर विदेश हानिएको रोल्पाको चमन मगर होस् या गाउँमै क्यारेमबोर्ड खेलेर दिन कटाइरहेका तन्नेरी । रेडियोमा बजिरहने नारी सशक्तिकरणका समाचार होउन् या माओवादी कमान्डरले फिल्ममा भनेजस्तो समान्ती राज्यसत्ता ढाल्ने उनीहरुको महान क्रान्ति ।

पटकथाको डिटेलिङले व्यवस्था, युद्धका पक्ष र समाजलाई प्रश्न गर्छन् । ‘ओपन इन्डिङ’मार्फत निर्देशकले बेपत्ता पारिएकाका परिवारको तर्फबाट सत्तालाई प्रश्न गरेका छन् : हामीले न्याय कहिले पाउने ?

‘पानीफोटो’ फिल्म मात्र होइन बरु यो एउटा मुभमेन्ट हो जसले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पु¥याउन दबाव दिन्छ । साथै, सत्य निरुपण तथा मेलमिलापमार्फत शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनेतर्फ पहल पनि ।

फिल्मले दलहरुको एजेन्डा बोकेको छैन बरु, बीचमा रहेर नागरिकको आवाज भनेको छ । कम्तीमा ‘पानीफोटो’ विदेशबाट आयातित कथा होइन, हाम्रो पुस्ताले बाँचेको त्रासदीपूर्ण समयको एउटा आँखिझ्याल हो । हाम्रो निकट इतिहास थाहा पाउन दर्शकले यो फिल्म हेर्नुपर्छ ।

फेरिपनि, फिल्म कथा होइन, दृश्यभाषा हो ।

निर्माता : टुकी आर्ट प्रोडक्सन
कलाकार : मेनुका प्रधान, अनुप बराल, मलिका महत, खगेन्द्र लामिछाने
रङ संयोजन : जुनिम गहतराज
निर्माण नियन्त्रक : शंकर पाण्डे
ध्वनी डिजाइन : किशोर आचार्य
सम्पादक : निमेष श्रेष्ठ
छायांकार : दीपक बज्राचार्य
लेखक/निर्देशक : खगेन्द्र लामिछाने
समय : १ घण्टा ५२ मिनेट





Source link

HamroAwaj

2022-07-30 19:44:05

Leave a Comment