सुरु भयो जनादेशको दौड, ध्रुबीकरण कस्तो रहला ? – HamroAwaj


१९ साउन, काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच बुधबार साँझ जुटेको सहमति अनुसार, सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव घोषणा गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ नेताहरुको बैठकले आगामी ४ मंसिरमा चुनावको मिति घोषणा गर्ने सहमति गरेको थियो । उक्त सहमति अनुसार, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चुनावबारे निर्णय गरेको हो ।

निर्वाचन आयोगले भने सरकारलाई १२० दिनको समय माग्दै २ मंसिरको मिति सुझाएको थियो । तर चुनावको मितिबारे सत्तारुढ दलहरुबीच साझा मत बन्न नसक्दा आयोगको सुझाव अन्योलमा परेको थियो ।

त्यो अन्योल चिर्दै सरकारले आयोगलाई १०८ दिनको समय दिएर चुनाव घोषणा गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आयोगको सुझावमा केही हेरफेर भएपनि फरक नपर्ने बताउँछन् । ‘मददाता नामावली दर्ता प्रक्रिया भोलिदेखि नै स्थगन गरेर दर्ता भइसकेका मतदाताहरुको नामावली ६ हजार ७५३ वडा कार्यालयमा सार्वजनिक गर्ने प्रक्रिया सुरु हुन्छ’ थपलिया भन्छन् ।

उनका अनुसार, अब मतदाता नामावली प्रकाशन, दल दर्ता, समानुपातिक तर्फको बन्द सूची निर्माण, मतदान केन्द्र निर्धारण, चुनाव चिन्ह प्रदान, उम्मेदवारी दर्ता लगायत समेटिएको तालिका प्रकाशन हुनेछ । अर्थात् मुलुक अब चुनावतर्फ होमिएको छ ।

सरकारको निर्णय र आयोगको प्रतिक्रियालाई प्रमुख प्रतिपक्षी दलले स्वागत गरेकाले मुलुक चुनावमा होमिएको सन्देश गएको छ । विपक्षी नेकपा एमालेसँग परामर्श नगरी चुनाव घोषणा गरिए पनि अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । चुनाव घोषणाको निर्णय स्वाभाविक र अपेक्षित भएको अध्यक्ष ओलीको टिप्पणीले सरकारको निर्णयलाई एमालेले सहज रुपमा लिएको अनुमान लगाउन सकिन्छ ।

यसपटक पनि राजनीतिक दलहरुबीच ध्रुबीकरण र गठबन्धन बन्ने भने प्रष्ट संकेत देखिएको छ । ४ मंसिरमा चुनाव गर्ने सहमति हुँदा नै सत्तारुढ गठबन्धनका नेताहरुबीच गठबन्धनबारे मोटामोटी सहमति भइसकेको एक नेता बताउँछन् ।

प्रमुख दलका नेताहरुले पनि मुलुक चुनावतर्फ होमिएको सन्देश जानेगरी अभिव्यक्ति दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले निष्पक्ष चुनाव हुनुपर्ने बताइरहँदा बुटवल पुगेका उपाध्यक्ष सुवास नेम्वाङले सरकारको हैसियतबारे प्रश्न उठाए । ‘आजदेखि सरकार काम चलाउ भयो, अब सरकारले महत्वपूर्ण निर्णय गर्न पाउँदैन’, नेम्वाङले भनेका छन् ।

काठमाडौं आयोजित अर्काे कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त आफ्नो उम्मेदवारीबारे नै बोले । ७० वर्षपछि चुनावमा उम्मेदवार नबन्ने मनसाय बनाए पनि एकपटक मैदानमा उत्रनुपर्ने परिस्थिति बनेको अध्यक्ष नेपालको भनाइ थियो ।

‘यो नियमित चुनाव हो, त्यही रुपमा लिएर अगाडि बढ्नुपर्छ’, एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसाल भन्छन्, ‘सरकारले निर्णय गरिसकेपछि पार्टीहरुलाई मात्रै होइन, सिंगो मुलुकलाई चुनाव लाग्ने नै भयो ।’

ध्रुब्रीकरणकै अभ्यास

०७४ मा पनि मंसिरमै संघ र प्रदेशसभाको चुनाव भएको थियो । त्यसबेला १० र २१ मंसिर गरी दुई चरणमा मतदान भएपनि यसपटक एकैचरणमा चुनाव गर्ने सरकारले निर्णय गरेको छ ।

यसपटक पनि राजनीतिक दलहरुबीच ध्रुबीकरण र गठबन्धन बन्ने भने प्रष्ट संकेत देखिएको छ । ४ मंसिरमा चुनाव गर्ने सहमति हुँदा नै सत्तारुढ गठबन्धनका नेताहरुबीच गठबन्धनबारे मोटामोटी सहमति भइसकेको एक नेता बताउँछन् ।

‘जुन उद्देश्यले यो गठबन्धन बनेको हो, त्यहीअनुसार स्थानीय चुनाव भइसकेको छ । आउने चुनावको नतिजा पनि त्यसैअनुसार ल्याउने गरी अगाडि बढ्छौं’, ती नेता भन्छन् ।

प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध उभिएका दलहरुबीच गएको ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा गठबन्धन भएको थियो ।

देशैभर गठबन्धन हुन नसकेपनि शहरी क्षेत्रमा साझा उम्मेदवार तय गरेका सत्ता दलहरु सबैले बिगतको नतिजा सुधारेका छन् । ०७४ को स्थानीय चुनावबाट पहिलो शक्ति बनेको एमाले भने दोस्रो स्थानमा खुम्चियो ।

सत्तारुढ गठबन्धनको बैठकको फाइल तस्वीर ।

४ मंसिरको संघ र प्रदेशसभाको चुनावमा पनि एमालेलाई हराउने लक्ष्यसहित गठबन्धन कायम राख्ने निष्कर्ष बालुवाटार बैठकले निकालेको छ । ‘शुक्रबार बिहान ९ बजे गठबन्धनको बैठक छ । त्यही बैठकबाट साझा उम्मेदवार तय गर्नेगरी छलफल अगाडि बढाउँछ’, ती उच्च नेता भन्छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि अहिलेकै राजनीतिक समीकरणका आधारमा चुनावी प्रतिश्पर्धा हुने बताउँछन् । ‘अहिलेसम्मको स्थितिमा आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं । एलायन्स नबनाइ अगाडि बढ्न नसकिने स्थितिमा हामी छैनौं’, ज्ञवाली भन्छन् ।

ज्ञवाली पनि स्थानीय चुनावको मतलाई नै एमाले एक्लै प्रतिश्पर्धामा उत्रने आधार मान्छन् । ‘नेपाली जनताको विवेक र छनोटमाथि पूर्ण विश्वास छ’ ज्ञवाली भन्छन्, ‘स्थानीय चुनावमा घेराबन्दीका बीचमा पनि पपुलर मत प्राप्त भएको छ । जनताको चाहना त्यही हो । एमाले बहुमतसहित पहिलो शक्ति बन्छ ।’

सरकारको निर्णयपछि दलहरुको गतिविधि, छलफल र बैठकका एजेण्डा पनि चुनाव केन्द्रित हुँदैछ । ‘केन्द्रीय समिति बैठकले स्पष्ट बहुमत ल्याउने निर्णय गरेको छ । हामी त्यहीअनुसार, अगाडि बढ्छौं’, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भन्छन् ।

२–२४ भदौका लागि तय भएको राष्ट्रव्यापी अभियानलाई चुनाव केन्द्रित बनाउने उनी बताउँछन् । पाँचदलीय गठबन्धनमा दलहरुलसँग चुनावी तालमेल गरेर बहुमत ल्याउने कांग्रेस नेताहरुको चाहना छ । त्यसैअनुसार, कांग्रेसको अडान र निर्णय हुने अनुमान गर्न सकिन्छ ।

गठबन्धनका अन्य दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा भने आगामी चुनावबाट संसदीय आयतन थप फराकिलो बनाउने योजनामा छन् । बिहीबार एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धन कायम रहने र तेस्रो मोर्चा पनि बन्ने बताए ।

यसको अर्थ गठबन्धनभित्र कांग्रेस बाहेकका शक्तिहरूबीच मोर्चा बन्न सक्ने सम्भावना हो । सँगै, कांग्रेस नेतृत्वको गठबन्धन कायम रहनेपनि उनीहरु बताउँछन् । ‘आगामी चुनावसम्म यो गठबन्धन कायमै रहन्छ, अझ कसिलो बनाएर लैजान्छौं’, एकीकृत समाजवादीका महासचिव डा. भुसाल भन्छन्, ‘आउने चुनावको नतिजा गठबन्धनको पक्षमा हुनेछ ।’

अहिलेको गठबन्धन तोड्ने एमालेको प्रयत्न कायम रहने पनि उत्तिकै सम्भावना बाँकी छ । एमालेले चाहे तत्काल गठबन्धन तोड्न सक्ने ओलीले अभिव्यक्ति दिँदै आएका छन् । ०७४ मा माओवादी केन्द्रसँग एमालेले गठबन्धन गर्दा कांग्रेसले भोगेको पराजय देखेकाले पनि गठबन्धन तोड्ने प्रयत्न अझै हुन सक्ने देखिन्छ ।

समानुपातिकतर्फ कांग्रेस भन्दा ४५ हजार मात्रै बढी मत ल्याएको एमालेले प्रत्यक्षतर्फ ८० सिट जितेको थियो । माओवादी केन्द्रले पनि एमालेसँग गठबन्धन गर्दा प्रत्यक्षतर्फ ३६ सिट जित्यो । तर १६५ निर्वाचन क्षेत्रमा कांग्रेसले भने २३ सिट मात्रै जितेको थियो ।

समानुपातिकतर्फ पार्टी मत कायमै रहनेपनि प्रत्यक्षतर्फ ठूलो असर पर्ने भएकाले पनि गठबन्धनको रस्साकस्सी तीव्र बन्ने अनुमान लगाउन सकिन्छ । ‘राष्ट्रिय हित र लोकतन्त्रको रक्षा र सामाजिक–आर्थिक रुपान्तरणको अभियानमा सहमति हुन्छ भने त्यस्ता शक्तिसँग सहकार्य गर्न हाम्रो ढोका खुलै छ’, उपमहासचिव ज्ञवाली भन्छन् ।

एमाले बाहेक माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र पनि वाम शक्तिहरु मिल्नुपर्ने तर्क बलियो छ । त्यसले पनि आगामी राजनीतिक कोर्स अहिलेकै गठबन्धन वा नयाँ निर्माण भन्नेमा क्रियाशील हुने देखिन्छ ।





Source link

HamroAwaj

2022-08-04 21:35:23

Leave a Comment

WP2Social Auto Publish Powered By : XYZScripts.com