भड्किलो सामाजिक व्यवहार सुधार : बाधक सुषुप्त कानुन र कमजोर नियमन – HamroAwaj


एक विवेकशील, सर्वश्रेष्ठ प्राणीको उपाधि धारण गरेको मानिस जन्म सँगसँगै उसले आफ्ना सामाजिक व्यवहारहरूको प्रारम्भ गर्दछ। सामाजिक व्यवहार मानिसले समाजमा सामाजिकीकरणको निम्ति अवलम्बन गर्दछ। सामाजिकीकरण सामाजिक अनुकूलताको एक प्रक्रिया हो, जहाँ व्यक्तिहरू सामाजिक नियम र मूल्यहरूअन्तर्गत रहेर सहअस्तित्वमा बस्नुपर्दछ, जुन सिक्नुपर्दछ र आन्तरिकीकरण गर्नुपर्दछ।

हामी सबै सामाजिकीकरण अन्तर्गत रहेर सामाजिक नेटवर्कमा हुर्किरहेछौं, आफ्नो समय व्यतित गरिरहेछौं। मानिस र समाजबीच एकापसमा परिपूरण सम्बन्ध छ। एकको अस्तित्व विना अर्कोको कल्पना पनि गर्न सकिंदैन। जुन अस्तित्वलाई सन्तुलन राख्नको निम्ति मानिसले समाजमा आफ्ना क्रियाकलापहरू गर्दछ। समाजमा मानिसले जन्मदेखि मृत्युसम्म गरिने क्रियाकलापहरूको समग्रता नै सामाजिक व्यवहार हो।

सामाजिक व्यवहार अन्तर्गत विवाह, ब्रतवन्ध, चुडाकर्म, पास्नी, न्वारान, जन्मदिवस, छैठी, बुढोपास्नी र पितृ कार्यसम्म पर्दछन्। समयको बदलावसँगै सामाजिक व्यवहारको प्रकृति र स्वरूपमा पनि बदलाव आएको छ, जुन स्वाभाविक पनि हो। विश्वव्यापीकरण, परसंस्कृतीकरण, आधुनिकीकरण, प्रविधिकीकरण एवं राज्य व्यवस्थामा आएको फेरबदल पनि सामाजिक व्यवहारलाई नवीनतम् र समयानुकूल बनाउने महत्त्वपूर्ण पक्ष हुन्।

विकसित मुलुकको तुलनामा विकासोन्मुख देशमा संस्कृति तथा परम्परागत मूल्यमान्यता र मौलिक संस्कृतिको जगेर्ना एवं निरन्तरता दिने नाउँमा हुने गरेका यस्ता क्रियाकलापहरू आर्थिक रूपमा अलि जोखिम हुने गरेको पाइन्छ। मननीय कुरा के छ भने नेपाल, भारत, बङ्गलादेश, मौरिसस जस्ता देशहरू जहाँ हिन्दु धर्मावलम्बीहरूको बाहुल्य बढी छ, ती मुलुकहरूमा सामाजिक व्यवहार सम्बन्धी गतिविधि बढी हुने देखिन्छ।

धार्मिक, सांस्कृतिक क्रियाकलापहरू आडम्बरिला छन्। चाडपर्वहरू मनाइका तौरतरिकाहरू भड्किला छन्। यद्दपि वर्तमान समयमा धर्म, संस्कृति, मूल्यमान्यता, परम्परागत रीतिस्थिति एवं मौलिकताहरूको संरक्षण एवं निरन्तरताको खिलाफमा सामाजिक व्यवहार अन्तर्गतका यस्ता क्रियाकलाप र केही चाडपर्वहरू समेत मनाउने प्रचलन अलि भड्किलो महसुस गर्न थालिएको छ।

हिजोआज नेपाली समाजमा सामाजिक व्यवहारमा गरिने तडकभडक र फजुल प्रवृत्तिले अनावश्यक गति लिंदै गइरहेको छ। समाजका सम्भ्रान्तहरूबीच हैसियत र प्रतिष्ठाको प्रतिस्पर्धा देखाउने यस्तो किसिमको सामाजिक व्यवहाररूपी रङ्गमञ्चले एकातर्फ समाजमा कमजोर, निमुखा र न्यून आयस्तरका नागरिकलाई प्रताडित त बनाएको छ नै साथसाथै सामाजिक सद्भाव, सहिष्णुता र भाइचारामा समेत विखण्डन ल्याइदिएको छ। समाजमा सम्पन्न र विपन्नबीचको खाडललाई नराम्रोसँग गहिराएको छ। मुस्किलले निर्वाहमुखी जीवन गुजारिरहेकाहरू समेत सँगसँगै लतारिन बाध्य छन्।

आफ्नो हैसियतभन्दा बढी देखावटी शैलीमा अभ्यस्त हुन विवश छन्। फलस्वरूप; एक/दुई दिनको उक्साहटले जीवनकाल खुशी र सुखलाई तिलाञ्जली दिंदै दिनहीन जीवन व्यतित गरिरहेका उदाहरण थुप्रै भेटिन्छन्। हुनेहरूको विलासिता र नहुनेहरूको लागि गलपासोको रूपमा देखिएको छ, सामाजिक व्यवहार। यी र यस्ता अनुत्पादक खर्चले पारिवारिक बोझ, खस्किंदो जीवनयापन शैली, कमजोर सामाजिक सद्भाव तथा सहिष्णुता एवं समग्र राष्ट्रको हितमै प्रतिकूल प्रभाव पर्न जाने सम्भावना त्यति नै हुन्छ।

वर्षौंको मिहिनेत र मितव्ययी जीवनयापनबाट जोगाएको रकम परिवारको कल्याण र उत्पादनमुखी कार्यमा लगाउनुको बदला सामाजिक व्यवहारको भोजभतेर जस्ता अनुत्पादक कार्यमा खर्च गरेर सक्ने चलनले समाजमा विकृति र अनैतिक कार्यलाई प्रोत्साहन गरेको छ। समाजमा देखा परेका यस्ता विकृति रोकी सामाजिक क्रियाकलाप एवं सांस्कृतिक चाडपर्वहरूमा गरिने यस्ता किसिमका तडकभडक र अनावश्यक खर्चलाई रोक्नको लागि अर्थात् सामाजिक व्यवहारमा भइरहेको बढ्दो प्रतिस्पर्धात्मक भडक र फजुल खर्चमा नियन्त्रण गर्न मौजुदा कानुनको रूपमा सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ क्रियाशील छ।

विश्वव्यापीकरण, आधुनिकीकरण, प्रविधीकरण एवं लोकतन्त्रिकीकरणको दुनियाँमा जसले कमाउन सक्छ, उसले स्वेच्छाले खर्च पनि गर्न पाउँछ। व्यक्तिगत सम्पत्ति उपभोग गर्न पाउने उसको वैयक्तिक स्वतन्त्रता हो।

राज्यले व्यक्तिको व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्न हुँदैन। फजुल खर्च नियन्त्रण गर्ने नाउँमा आर्थिक गतिविधिमा अंकुश लगाउन मिल्दैन। यस्ता किसिमका गतिविधिहरूबाट समाजमा आर्थिक क्रियाकलापहरूमा बढोत्तरी हुन्छ, आर्थिक चलायमान हुन्छ, समग्र मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दछ।

क्याटेरिङ तथा पार्टी प्यालेस आदिको उपयोगबाट थुप्रै रोजगारीको अवसरहरू सृजना भएका छन्, गरिबी न्युनीकरणमा मद्दत पुर्‍याएको छ, युवाहरूलाई विदेश पलायन हुनबाट केही हदसम्म रोक्न सफल भएको छ। परम्परागत कार्यशैलीमा परिवर्तन आएको छ, कष्टकर सामाजिक जीवनमा सहजता आएको छ भन्ने जस्ता कुराहरूबाट सामाजिक व्यवहारका पक्षमा थुप्रै आवाज नसुनिएको पनि होइन, यस सम्बन्धमा थुप्रै बहस नभएका पनि होइनन्।

तिनै आवाज एवं बहसका बाबजुद पनि सामाजिक व्यवहारहरूलाई सुधार एवं नियमन गर्न बनेको मौजुदा कानुन हाल मृतप्रायः छ। विगत ४५ वर्षदेखिबाट सो कानुन कार्यान्वयनको निम्ति नेतृत्वले कुनै चासो देखाउन सकिरहेको स्थिति छैन।

तत्कालीन समयमा महसुस गरिएको भड्किलो सामाजिक व्यवहारलाई नियन्त्रण गर्ने अभिप्रायले निर्माण गरिएको उक्त मौजुदा कानुनमा विविध प्रावधान राखिएका छन्। जस्तैः विवाहमा जन्ती वा वरियात लाने क्रममा बाजावालासहित एकाउन्न जना भन्दा बढी हुन नहुने, भाडावाला नाच, आतसवाजी, ११ जना भन्दा बढी बाजावाला, विवाह भोजमा नजिकको नातेदार बाहेक छरछिमेकी, इष्टमित्रहरू मध्येबाट ५१ जना भन्दा बढी नहुने। त्यस्तै छैठी, न्वारान, जन्मदिन, पास्नी, चुडाकर्म, ब्रतवन्ध, बुढोपास्नी र पितृ कार्य समेतको भोजमा नजिकको नातेदार बाहेक अन्य मध्येबाट पच्चीस जनासम्मको सीमा निर्धारण गरिएको छ।

उल्लिखित व्यवस्थाहरूको बेवास्ता गरेमा आवश्यकता अनुसार कैद तथा जरिवाना सजाय समेतको प्रावधान छ। कानुनमा तोकिएका त्यस्ता बन्धनकारी प्रावधानको उल्लङ्घनकर्ता उपर स्थानीय तहले निगरानी राख्ने, सम्झाउने र अटेर गर्नेलाई आवश्यक कानूनी कारबाहीको निम्ति जिल्ला प्रशासन कार्यालयमा जनाउ दिनुपर्ने समेत व्यवस्था रहेको छ।

व्यक्तिको सोच, व्यवहार, क्षमता र राज्यको समेत भूमिकामा आएको तीव्रता सँगै सामाजिक व्यवहारलाई सुधार गर्नको लागि सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ लाई समयानुकूल बनाउँदै कार्यान्वयन गर्ने उद्देश्यले २०७१ सालमा संसदको राज्यव्यवस्था समितिमा दर्ता सामाजिक व्यवहार सुधार गर्न बनेको विधेयक, २०७१ संसदको कार्यसूचीमै प्रवेश पाएन।

उक्त विधेयकमा दाइजो, तडकभडक खर्च तथा भोजभतेर सम्बन्धी युगानुकूल नियमन गर्ने सन्दर्भमा, विवाहको वरियात तथा भोजमा ५१ जनाबाट बढाएर ५५१ जना र छैठी, न्वारान, जन्मदिन, पास्नी, चुडाकर्म आदि कार्यको भोजमा २२५ जनासम्मको हदबन्दी तोकिएको थियो। विभिन्न सामाजिक अभियन्ता, कानुनका जानकारहरू, मानवअधिकारवादी, महिला अधिकारकर्मी, उपभोक्तावादी एवं आर्थिक विश्लेषक लगायतको व्यापक खण्डन एवं राज्य संयन्त्रकै अनिच्छाको कारण उक्त विधेयकले समेत पूर्णता पाउन नसकेको स्थिति छ।

माओवादीको सशस्त्र जनयुद्ध (२०५२ देखि २०६२) कालीन अवधिमा सामाजिक व्यवहार (सुधार) सम्बन्धी कानुनका प्रावधानहरूलाई सघाउ हुने गरी सो कानुनको मक्सद पूरा गर्ने किसिमका सामाजिक व्यवहारमा सुधारका संकेतहरू नदेखिएका पनि होइनन्। जनवादी विवाह, मञ्च विवाह, सामूहिक चुडाकर्म आदि कार्यक्रमहरू व्यावहारिक रूपमै लागू भएको कतिपय दृष्टान्तहरूबाट पाइन्छ।

समाजमा छैठी, पास्नी, ब्रतबन्ध, विवाह आदि कार्य गर्दा अनावश्यक तामझाम गर्नेहरू जनकारबाहीमा पर्ने गर्दथे भने धर्म र परम्परागत मौलिक संस्कृतिलाई समाजका ठूलाठालूले कमजोरहरू माथि गर्ने शोषणको रूपमा व्याख्या गरिन्थ्यो। तर विडम्बना के भइदियो भने तिनै आफूलाई सर्वहारा वर्गका हिमायती भन्न रुचाउने सशस्त्र युद्धका अगुवाहरू नै आज राज्यको महत्त्वपूर्ण निर्णायक तहमा क्रियाशील छन्। राज्यको बागडोर उनीहरूको वरिपरि छ। तिनीहरू नै आज आफ्नो धरातल बिर्सिएर विलासी दैनिकीमा लिप्त छन्।

हिजो समाजवादी तथा साम्यवादको भजन गाउनेहरू आज करोडौं खर्चेर तामझामका साथ आफन्तहरूको विवाह, ब्रतवन्ध, जन्मोत्सव लगायतका कार्यक्रमहरू गरिरहेका छन्। विवाहको वरियातमा प्लेन चार्टर गर्नेदेखि जन्मोत्सवमा प्रयोग हुने केक बोक्न हेलिकप्टर चार्टर गर्नेसम्मको प्रतिस्पर्धामा उनीहरू नै अगाडि देखिन्छन्।

‘जनवादी’, ‘जनकारबाही’, ‘साम्यवादी’, ‘समाजवादी’ जस्ता शब्दावलीहरू केवल “यी त सब भन्ने कुराहरू न हुन्” भन्ने उक्तिलाई चरितार्थ बनाउन तिनीहरू नै सक्रिय छन्।

वर्तमान सन्दर्भमा सामाजिक व्यवहार अन्तर्गतका उल्लिखित कार्यक्रमहरू तथा नेपालीको मौलिक पर्व विशेषगरी तीज पर्वमा देखाइने तामझामयुक्त गरगहनाको प्रयोग समेतका अनावश्यक तडकभडकलाई नियन्त्रण गर्न सुषुप्त अवस्थामा रहेको सामाजिक व्यवहार सम्बन्धी कानुनलाई समयानुकूल परिमार्जन गर्दै क्रियाशील एवं जीवन्त बनाउन र कार्यान्वयनमा ल्याउन अत्यावश्यक देखिन्छ।

कानुनमै व्यवस्था गरेर स्थानीय तहलाई यस सम्बन्धमा नियमन गर्ने विशेष अख्तियारी दिनुपर्ने देखिन्छ। विवाहमा दाइजो, तिलक जस्ता उपहारहरूलाई मौद्रिक मूल्यमा मापन गरी उल्लेख्य प्रगतिशील कर निर्धारण गर्ने, क्याटरिङ, पार्टी प्यालेस, समाज घर लगायत समुदायमा सामाजिक क्रियाकलापहरूलाई सहजता प्रदान गर्दै आर्थिक उपार्जन गर्ने हेतुले सञ्चालनमा ल्याइएका संरचनाहरूको राज्यको तर्फबाट विशेष सुरक्षा तथा संरक्षण गर्नुपर्छ। यसका मापदण्ड निर्धारण, वहन गर्नुपर्ने दायित्वमा सहुलियत, छुट तथा अनुदानको व्यवस्था गरी सर्वसाधारणको लागि समेत सर्वसुलभ बनाउनुपर्छ।

सामाजिक सद्भाव, सहिष्णुता, सरल सहज जीवनशैली एवं सामूहिक भावनाको लागि ऐक्यबद्धताको वातावरण सृजना गर्दै सामाजिक व्यवहारमा सुधार गर्नुपर्छ। साथै नागरिकमा समेत यस सम्बन्धी चेतनाको विकास भई सरल, मितव्ययी र मर्यादित जीवनशैली अभ्यस्तको प्रयास गर्नु अपरिहार्य देखिन्छ।

(लेखक उच्च अदालत पोखरामा कार्यरत छन्।)





Source link

HamroAwaj

2022-08-11 20:05:27

Leave a Comment