चमत्कारी हेडसर – HamroAwaj


सानो छँदा कुनै अमूक काम दुनियाँमा कसैले गर्न सक्दैन भने राजाले त पक्कै सक्छन् भनेर विश्वास गर्थ्यौं हामी। स्कुलमा म्याथको कुनै समस्या शिक्षकले पनि मिलाउन सक्नुभएन भने राजाले त पक्कै मिलाउँछन् भन्ने लाग्दथ्यो।

हिंड्दा हिंड्दै बाटोमा कुनै अग्लो र सुरिलो रूख देखियो भने यो रूखमा त राजा बाहेक अरू कोही चढ्न सक्दैन जस्तो लाग्थ्यो। हेर्दै डरलाग्दो तारेभीर थियो हामी पढ्ने स्कुल नजिकैको जंगलमा। त्यो भीरबाट राजा त पक्कै हाम फाल्न सक्छन् भन्ने लाग्दथ्यो।

कोशीको विशालता देखेर त्यसै त्यसै डर लाग्थ्यो। ‘तँ सक्छस् पौडिएर पारि पुग्न?’ साथीलाई सोध्थें म। उसले भन्थ्यो- ‘राजाले त सक्दैनन् होला मैले कहाँबाट सक्नु नि!’

हाम्रो नजरमा जे पनि जान्ने, जसो पनि जान्ने, जे पनि सक्ने, जस्तो पनि सक्ने विलक्षण क्षमता भएको उच्चस्तरका अर्कै अद्भुत प्राणी थिए राजा। शायद राजालाई पनि यस्तै लाग्थ्यो। राजाका भक्तहरूले लेख नै यसरी लेखिदिन्थे कि राजा मान्छे नभएर मान्छे भन्दा उन्नत अर्कै प्राणी हुन्। प्रशंसा, स्तुति, स्वस्ति, प्रशस्ति नै यसरी गाइदिन्थे कि राजा साक्षात् भगवान् हुन्। काव्य, खण्डकाव्य, महाकाव्य यस्ता रचिदिन्थे कि दुनियाँ भरका सबसे प्रतापी, दयालु, यशस्वी प्राणी भनेकै हाम्रा राजा हुन्।

ती भक्तहरू बरू भगवानका अगाडि अररा हुन्थे तर राजाका सामु लम्पसार पर्थे। प्रश्न, प्रति–प्रश्न गर्ने, शंका–उपशंका गर्ने, सन्देहवादमा भरोसा राख्नेहरूको अस्तित्व निमेषभरमै नामेट पारिदिन्थे राजाले।

त्यसैले त राजा आफूलाई मान्छे ठान्दैनथे। मान्छे भन्दा माथिको अर्कै प्राणी ठान्थे। भगवानको अवतार मान्थे, मान्न लगाउँथे। नमान्नेलाई अराष्ट्रिय तत्त्व, अराजक तत्त्व, कम्युनिस्टे आदि आदि भन्दै जेलमा कोचिदिन्थे। वा छिमेकी देशतिर धपाइदिन्थे।

युवाकालमा टेलिभिजनकै पर्दामा सही राजा छ्याप्छ्याप्ती देखिए, सुनिए। र, देख्दा देख्दै, सुन्दा सुन्दै ती इतिहासका पानामा थुनिए। हो, सक्कली राजा इतिहासमा कैद भए पनि हामीले बाल्यकालमा कल्पना गरेका राजा जस्तै मान्छेको उदय सुप्रिम पावर पब्लिक स्कुल नाम गरेको नेपालको एउटा सरकारी स्कुलमा हेडसरको रूपमा भयो। संयोगवश यो पंक्तिकार त्यतिखेर त्यही स्कुलमा गणित विषय पढाउँथ्यो।

बाल्यकालमा हामीले कल्पेको राजा अनि यथार्थका राजा र ती हेडसर काटीकुटी मिले। बानीबेहोरा, चरित्र, क्षमता, चालढाल, रीतिरिवाज, रहनसहन, लवाइखवाइ सबै एकैचोटि मिले। मात्र श्रीपेच चाहिं थिएन हाम्रा हेडसरको हेडमा। अलि लामो समय हाम्रो स्कुलमा हेडमाष्टरगिरी गर्न पाउनुभएको भए उहाँले पनि आफूलाई नारायणको अवतार मात्रै होइन साक्षात् नारायण नै घोषणा गर्नुहुनेथियो।

सुप्रिम पावर पब्लिक स्कुलमा उहाँको दिनचर्या त्यहाँका शिक्षक, विद्यार्थी र कर्मचारीलाई-

‘मलाई महान् भन्नू!’

‘मेरो स्तुति गाउनू!’

‘सुन्दर सुन्दर बिम्ब र उपमाले मलाई सम्मान गर्ने गर्नू!’

‘मेरो आलोचना गर्नेलाई गोर्खेलौरी लाउन नबिर्सिनू!’

जस्ता आदेश र फरमान जारी गरेरै बित्ने गर्दथ्यो। आदेश नमान्नेलाई विद्यालयघाती तत्त्व, हुल्लडबाज तत्त्व भनिदिनुहुन्थ्यो। स्तुति नगाउनेलाई दलाल, सडकछाप भनिदिनुहुन्थ्यो भने आलोचना गर्नेलाई रत्यौलीका पात्र भनिदिनुहुन्थ्यो।

‘म देशभरिका सबै हेडसरहरूको पनि हेडसर हुँ। त्यसैले तिमीहरूले मलाई महाहेडसर भन्ने गर्नू’ भनेर निर्देशन जारी भएपछि सबैले उहाँलाई महाहेडसर भन्नुपर्ने भयो। जसले भनेन उसले निकै दु:ख पायो। यसपछि स्कुलका औपचारिक–अनौपचारिक हरेक कार्यक्रमहरूमा उहाँको बडे–बडे तस्बिर लगाउनु अनिवार्य नै हुनगयो।

आफूले आफूलाई सुकरात, जोन डेवी, पाउलो फ्रेरे, पेष्टालोजी जस्ता दार्शनिक/शिक्षाविद्हरूसँग तुलना गर्दै आफैंसँग मख्ख पर्नुहुन्थ्यो। समकालीन दुनियाँमा आफू जत्तिको शिक्षाविद् कहींकतै नभएको दावी गर्नुहुन्थ्यो। जसले यसरी प्रशंसात्मक तुलना गरिदिन्थ्यो उसले हेडसरबाट आफूले मागेको कुरा थपक्कै पाउँथ्यो।

हेडसरको उर्दीको बर्खिलाप जानेले खपिनसक्नुको सास्ती खान्थे। कमलो जागिर रैछ भने त्यो त जान्थ्यो नै।

हुनलाई उहाँ नास्तिक हुनुहुन्थ्यो। कट्टर नास्तिक। प्रधानाध्यापक पदको शपथ खाँदा पनि ईश्वरको नाममा होइन विद्यार्थी, विद्यालय र अभिभावकको नाममा खानुभएको थियो। तर एसएलसी नतिजा भने जिल्लाभरिमा पुछारमा पर्थ्यो। किन यस्तो त हजूर? भनेर कुनै अभिभावकले सोधे सहजै भनिदिनुहुन्थ्यो- ‘सबै विषय हेडसरले नै पढाउने हो र?’ यद्यपि उहाँले पढाउने विषय सामाजिक अध्ययनमा पनि सयकडा चार–पाँच जना मात्रै पास हुन्थे।

आक्कलझुक्कल चित्रकला, नृत्य आदिमा स्कुलले राम्रो गर्थ्यो। ‘यो कसरी संभव भो सर?’ कसैले सोध्दा उहाँ भन्नुहुन्थ्यो- ‘स्कुलको नेतृत्वमा को छ त्यो हेर्नुस् न पहिला?’ यस्ता उदाहरण बग्रेल्ती भेटिन्थे।

एसएलसी रिजल्ट लगत्तै अभिभावकहरूले अब हेडसर बदल्नुपर्‍यो भनेर वर्षै पिच्छे जसो आवाज उठाइरहन्थे। जसै आवाज बुलन्द हुन्थ्यो हेडसर रातारात धर्मभीरू भैदिनुहुन्थ्यो। अभिभावकले देख्ने गरी शिवलिङ्गको पूजा आराधना गर्न थाल्नुहुन्थ्यो। सुन्ने गरी ठूलो ठूलो स्वरले स्कुलै थर्किने गरी भगवानको भजन गाउनुहुन्थ्यो। थाहा पाउने गरी पूजापाठ, न्यासध्यान, आरती, तीर्थ, व्रत आदिमा दिल बसाउनुहुन्थ्यो।

विद्यालय आउँदा रामायण, देवीभागवत, गरूड पुराणका ठेलीहरू च्यापेर आउनुहुन्थ्यो। त्यस्ता पुस्तकहरू आफ्नो टेबुल माथि सबैले देख्नेगरी सजाएर राख्नुहुन्थ्यो। अफिसमा भएका पृथ्वीनारायण, गान्धी, बीपी, पुष्पलाल, मदन, बोस, मार्क्स, आइन्स्टाइन, लिंकन आदिका तस्बिर उतारेर बुद्ध, कृष्ण, राम, सीता आदिका तस्बिर लगाउनुहुन्थ्यो। पठनपाठन रोकेरै भए पनि विद्यालयमै एकाह, सप्ताह पुराण लगाउनुहुन्थ्यो।

यति गरेपछि कुनै माइकालालले पनि हेडसर बदल्ने कुरा गर्न सक्दैनथ्यो। गरे ऊ पापी ठहरिन्थ्यो। अभिभावकहरू यस्ता धर्मात्माको विरुद्धमा बेकार लागिएछ भनेर सायद भित्रभित्रै पश्चात्ताप गरेर जान्थे।

हाम्रो हेडसरलाई के थाहा थिएन ? जे पनि थाहा थियो। के चाहिं जान्नुहुन्नथ्यो उहाँ ? जे पनि जान्नुहुन्थ्यो। के चाहिं गर्न सक्नुहुन्नथ्यो उहाँले ? जे पनि सक्नुहुन्थ्यो। किनभने उहाँ सबै विषयको विज्ञ विशेषज्ञ हुनुहुन्थ्यो। भूगोल, इतिहास, अर्थशास्त्र, गणित, राजनीतिशास्त्र, समाजशास्त्र, धर्मशास्त्र, न्याय, कानुन, दर्शन जस्ता अप्राविधिक विषयको शास्त्रार्थमा त उहाँका अघि कोही पनि टिक्न पाउन्नथे।

सके तर्कले, नसके कुतर्कले, त्यसले पनि नसके आफ्नो ग्रुपका शिक्षक, विद्यार्थी र कर्मचारीहरूको मारमुङ्ग्री र बाहुबलले पनि जित्नुहुन्थ्यो। बाहुबलमा पनि उहाँको अगाध आस्था र विश्वास थियो। किनभने एउटा धुरन्धर हेडमाष्टरलाई यति विषयको ज्ञान र विश्वास हुनु त मामुली नै हो। नत्र स्कुल चलाउन गाह्रो हुन्छ।

बाहुबली फण्डाको लागि उहाँले ‘गुण्डा फार्म’ सञ्चालन गर्नुभएको थियो। एकदुई चोटि यो माष्टरले पनि त्यस्तो फार्म भ्रमण गर्ने मौका पाएको थियो। फार्मबाट उत्पादित डण्डा चाखेर पाइन्ट भिजाएको याद पनि ताजै छ। त्यही फार्मको म्यानेजर अर्थात् हेडसरको जिग्री गुण्डा एकपटक विपक्षी गुण्डाहरूको हमलामा सख्त घाइते भो।

पख्लास्! भन्दै दुनियाँसामु आगो ओकल्नु भो हाम्रो हेडसरले। हरेक दिन जसो अस्पताल धाएर उसको स्वास्थ्य लाभको कामना गरिरहनुभो। निको भो ऊ। त्यसको केही महिनापछि प्रहरी इन्काउण्टरमा ऊ मारियो। मारिएपछि हाम्रो हेडसरसँग उसको सम्बन्धका बारे पनि प्रश्न उठे।

यसपछि उहाँले आफ्नो जिग्री गुण्डानायकलाई चिन्दै चिन्नुभएन। निसंकोच भनिदिनुभो- ‘म उसलाई चिन्दै चिन्दिनँ। नचिनेपछि मसँग उसको सम्बन्ध हुने कुरै भएन।’

चिकित्साशास्त्र, इन्जिनियरिङ जस्ता नितान्त प्राविधिक विषयमा पनि उहाँको गहिरो दक्षता र विशेषज्ञता थियो। अद्वितीय क्षमता थियो। चिकित्साशास्त्रभित्रका पनि एलोप्याथी, होमियोप्याथी, आयुर्वेद, प्राकृतिक चिकित्सा, योग चिकित्सा, अक्युपंचर, अक्युप्रेशर आदि सबैमा उहाँको गहिरो दक्षता थियो।

‘गुन्द्रुक र ढिंडो सबभन्दा ठूलो औषधि हो’, ‘रोटीमा परिकार हुँदैन’,
‘संसारमा सुप्रिम पावर पब्लिक स्कुलका विद्यार्थी जति मेधावी कहींका पनि हुँदैनन्’,
‘संसारमा हाम्रो स्कुलका विद्यार्थीसँग जस्तो रोग प्रतिरोधात्मक क्षमता अरू कसैको हुँदैन’ भनेर हाम्रा हेडसरले नै पत्ता लगाउनुभएको थियो।

कुन रोग लाग्यो, त्यो रोगमा केके औषधि चल्छ, के खान हुन्छ, के हुँदैन उहाँले ठ्याक्कै भनिदिनुहुन्थ्यो। बस् उहाँको सामु रोगी मात्रै उपस्थित हुनुपर्‍यो ! त्यसैले त हेडमाष्टरको पद रहे पनि नरहे पनि उहाँलाई कुनै चिन्ता थिएन जस्तो लाग्थ्यो। आयुर्वेदिक क्लिनिक होस् वा एलोप्याथिक वा इन्जिनियरिङ परामर्श दिने कन्सल्टेन्सी वा ल फर्म जे खोलेर पनि आफ्नो शानशौकत बर्करार राख्न सक्नुहुन्थ्यो। तैपनि त्यही पद जोगाउन अनेक अनेक गर्नुभो। यो चाहिं गर्न बाँकी रह्यो भन्ने नै केही थिएन। त्यो पदको किन त्यति धेरै माया गर्नुभो यो एउटा रहस्यको पाटो थियो उहाँको।

यसरी सबै कुराको विज्ञ, विशेषज्ञ र ज्ञाता भएको हुनाले उहाँलाई न सल्लाहकारको खाँचो हुन्थ्यो न विशेषज्ञको। तर सल्लाहकार, विशेषज्ञ भनेर यसो एकदुई जनालाई जागिर दिनु उहाँको बाध्यता थियो। स्कुलमा आफ्नो ग्रुप बलियो बनाउनुपर्ने बाध्यता। आफ्ना ग्रुपका भक्तहरूलाई स्कुलमा यसो गरिखाने मेलो नदिए तिनले छोडेर जान्छन् र एक्लै परिन्छ भन्ने कुरामा उहाँ सचेत हुनुहुन्थ्यो।

त्यसैले त सल्लाहकार भनेर राखिएकाहरूले ‘हजुरले जे गर्नुहुन्छ ठीक गर्नुहुन्छ, जे भन्नुहुन्छ त्यो पनि ठीक भन्नुहुन्छ’ टाइपको सल्लाह दिन्थे। यो भएन, यस्तो हुँदैन, यो गरौं भन्ने आलोचनात्मक चेत भएका शिक्षकहरू हेडसरको आँखाका कसिंगर हुन्थे। आफूतिर सोझिएका के, कहाँ, किन, कसरी, कति, कस्तो, कस्को आदि जस्ता क-प्रश्नदेखि हेडसरलाई बेपत्तै रिस उठ्थ्यो। अरूलाई भने यस्ता प्रश्नहरू सोझ्याएर हैरान पार्नुहुन्थ्यो। तब न महाहेडसर!

विद्यालयमा कुनै विषयमा द्विविधा, विवाद, असमञ्जस्य, अकर्मण्यता, अस्पष्टता देखा पर्‍यो भने कसैले चिन्ता लिनुपर्ने अवस्थै थिएन। त्यो विषयमा हेडसरलाई बोल्न दिए तुरून्तै दूधको दूध पानीको पानी ! स्कुलमा भ्रष्टाचार वा अनुचित काम भयो कि भएन ? अमूक घटना लिएर सोध्थ्यौं हामी उहाँलाई। उहाँले ‘भयो’ भन्नुभो भने भ्रष्टाचार भएको रहेछ भनेर बुझ्थ्यौं अनि ‘भएन’ भन्नुभयो भने ए होइन रहेछ भनेर बुझ्थ्यौं।

मौका पाए हाम्रा हेडसरले यो देशका अख्तियार, सतर्कता केन्द्र, लोकसेवा, न्यायपालिका, कार्यपालिका, खबरपालिका, व्यवस्थापिका सबैको बोझ एक्लैले उठाइदिनुहुन्थ्यो। भाग्यले ठगेर मात्रै जाबो एउटा सरकारी स्कुलको हेडमाष्टरमा हल्लिनु पर्‍या छ जस्तो लाग्थ्यो।

कसैको योग्यताबारे प्रश्न उठे उहाँलाई सोध्दा उहाँले योग्य भने योग्य नत्र अयोग्य। आँखामा पट्टी नलाए पनि हातमा तराजु बोकेरै हिंड्ने गर्नुहुन्थ्यो। त्यही तराजुले बेलाबखत मान्छे पनि जोखिरहनुहुन्थ्यो। सत्तरी किलो वजन भएको शिक्षक जो आफ्नो अनन्य भक्त हो उसलाई एकातिर राख्नुहुन्थ्यो अनि एक दर्जन बढी अरू शिक्षकलाई अर्कोतिर राखेर भन्दिनुहुन्थ्यो- ‘सत्तरी किलो बराबर एक दर्जन माष्टरको तौल।’

यस्तो थियो उहाँको गणित! गणित भनेको त जोड, घटाउ, गुणन, भाग यी चार कुराभन्दा बढी त केही नै होइन भन्ने उहाँको अखण्ड मान्यता थियो। अंग्रेजी भन्या त्यही एबीसीडी लगायतका छब्बीस थान अक्षर भन्दा बढी केही होइन भन्नेमा पनि दृढ हुनुहुन्थ्यो।

एकदिन स्कुलको हलमा स्टाफ मिटिङ भैरहेको थियो। मिटिङमा हेडसरले- ‘विद्यार्थीलाई म्याथ किन गाह्रो लाग्छ हँ? आखिर म्याथ भनेको त जोड, घटाउ, गुणन, भाग यी चार कुरा भन्दा बढी त केही होइन।’ भन्दै उही बासी पुराण दोहोर्‍याउनुभो। गणित शिक्षकको नाताले मैले ‘होइन सर गणित भनेको यो भन्दा अरू पनि धेरै हो’ के भनेको थिएँ, उहाँले तत्कालै- ‘चुप लाग् तँ! तँ हेडसर कि म हेडसर?’ भनेर सातो खानुभो।

‘तँ’ नै भन्नुभो सारा शिक्षकका सामुन्ने। त्यसपछि म चुप। निजी स्रोतबाट तलब खाने दल निरपेक्ष म बबुरो अस्थायी माष्टरले त्यत्रो बडो राजहेडसरको प्रतिवाद गर्न सक्ने कुरा पनि थिएन। उहाँको बोल्ने शैली नै यस्तै थियो।

सन्देहवादी चेत भएका मान्छेलाई होच्याउन, हकार्न, हुर्मत लिन र ह्युमिलेट गर्नमा बडो मज्जा मान्नुहुन्थ्यो उहाँ। दुनियाँका विरलै मान्छेलाई मात्र यस्तो रुचि हुँदो हो।

हामीलाई लाग्थ्यो- हाम्रा हेडसर जस्तै मान्छेहरू संसारमा थुप्रै भैदिए न विश्वविद्यालय, न अस्पताल, न अनुसन्धान केन्द्र, न खोज, न अध्ययन, न बैठक, न गोष्ठी, न सेमिनार, न वेबमिनार अहँ केहीको खाँचो पर्ने थिएन। विश्वविद्यालय, अध्ययन अनुसन्धानमा हुने त्यत्रो खर्च जोगिने थियो। जोगिएको खर्च अरू उपयोगी काममा लगाउन सकिन्थ्यो।

तर अरूलाई शिष्टता र सभ्यता सिकाएर भने कहिल्यै अघाउनुहुन्नथ्यो। मीठो बोल्नू, शिष्ट बोल्नू, सभ्य बन्नू भनेर अर्ति उपदेशादि दिएको दियै गर्नुहुन्थ्यो। विडम्बना यो पंक्तिकारले त्यो स्कुलमा पढाउन्जेल हेडसरले शिष्ट र सभ्य बोलेको कदापि सुन्न पाएन।

हेडसरको मात्रै होइन उहाँका ग्रुपका कसैको पनि उहाँको भन्दा फरक ढंगको बोलीचाली थिएन। अरू त अरू स्कुलमा शुरूमा जागिर खान आउँदा असाध्य सभ्य, शिष्ट र मिलनसार उधुम सर पनि हेडसरको ग्रुपमा लागेपछि काटीकुटी हेडसरकै क्लोन भएर निस्कनुभएको थियो।

आजभोलि कतिपय युट्युबेहरूले प्रहरी, पत्रकार, अनुसन्धान अधिकृत, गुप्तचर आदिलाई थाहा नभएको कुरा जसरी ठोकुवाका साथ भन्दिन्छन् ठ्याक्कै त्यसरी नै उहाँले पनि ठोकुवा गरिदिनुहुन्थ्यो। उहाँले ठोकुवा गरेपछि वाह् वाह् गरेन ताली ठोकेन भने त्यो शिक्षक, विद्यार्थी, कर्मचारी उहाँको निशानामा पर्‍यो भनेर जाने हुन्थ्यो।

एकपटक जाडो यामको कुनै दिन एउटा कार्यक्रममा स्कुलमा एकजना विशिष्ट अतिथिलाई बोलाइएको थियो। उहाँले आफ्नो विषयमा चित्तबुझ्दो भाषण गर्नुभो। ताली मजैले बज्यो। उहाँ पछि हाम्रा हेडसरले बोल्नुभो। हेडसरका एकाध भक्तबाहेक अरूले ताली बजाएनन् हेडसर बोलुञ्जेल एक किसिमको सन्नाटा नै छायो।

हेडसरले यो कुरा मनमा राखिराख्नुभएको रहेछ। भोलिपल्ट ताली नठोक्ने सबैको हात हातमा अनुशासनहीनताको आरोप सहितको स्पष्टीकरण पत्र प्राप्त भयो।

न्याय, अन्याय, भ्रष्टाचार, सदाचार छुट्याउनको लागि उहाँलाई कुनै अध्ययन, अनुसन्धान, सोधपुछ, तहकिकात, बयान, बहस, न्यायालय, न्यायाधीश केही चाहिंदैनथ्यो। यसो अनुहार, जोखाना, ग्रुप आबद्धता हेरेकै भरमा, आफ्नो परिक्रमा गरे नगरेकै भरमा, आफ्नो महिमागान गाए नगाएकै भरमा ट्वाक्कै भनिदिनुहुन्थ्यो। त्यस्ता वाहियात काममा हुने स्कुलको लाखौं खर्च बचत गरिदिनुभएको थियो। त्यसको हिसाबकिताब गर्दा उहाँलाई ‘राजहेडसर’को उपाधि पनि कम हुन्छ।

कस्ता कस्ता विज्ञहरूले भन्न नसकेको कुरो उहाँले फ्याट्टै सजिलै भनिदिनुहुन्थ्यो। दिनमा उन्नाइस/बीस घण्टा उहाँ यस्तै काममा व्यस्त रहनुहुन्थ्यो। यस्तो व्यस्तता देख्दा देख्दै पनि कतिपय शिक्षक अभिभावकहरूले उहाँको कार्यकालभरि यो हेडमाष्टरले कामै गरेन भनेर टोकसिरहे।

उहाँको ज्ञानको दायराको कुरा गर्नुहुन्छ भने सूक्ष्मातिसूक्ष्म भाइरसदेखि जुम्रा हुँदै विशालकाय गैंडा र लोप भएको डाइनोसरसम्मको विशेषज्ञ हुनुहुन्थ्यो। परमाणुदेखि परब्रह्मसम्मको, वाक् कलादेखि पाक कलासम्म, गाना–बजानादेखि खानापिनासम्मको उस्ताद मात्रै होइन कला, संस्कृति र साहित्य तीनै कुराको त्रिवेणी पनि हुनुहुन्थ्यो।

उहाँका अगाडि गूगल, विकीपेडियादि सब फिक्का! ती त सतही सूचना र छिपछिपे ज्ञानका स्रोत हुन् जस्तो लाग्थ्यो हामीलाई। विशिष्ट ज्ञानको स्रोत त हाम्रो हेडसर बाहेक दुनियाँमा कोही छ जस्तो नै लाग्दैनथ्यो। मैले झूठो बोलेको किमार्थ होइन। उहाँका आजसम्मका भाषण, वचन, प्रवचन, शिक्षण, प्रशिक्षण, वाणी, महावाणी, लेख, आलेख, महालेख, अर्ति, उपदेश, दिव्योपदेश जे जति छन् तिनको मिहिन अध्ययन गर्नुभो भने तपाईं पनि चित् खानुहुनेछ।

इन्टरनेटको आविष्कार हुने बित्तिकै उहाँको पहुँचमा हुँदो हो त गूगल लगायतका सारा सर्च इञ्जिन र विकीपेडियादि गर्भमै तुहिन्थे। दुर्भाग्य! त्यस्तो हुन पाएन र हाम्रो स्कुलले ठूलो अवसर गुमायो भन्छ यो पंक्तिकार।

उहाँका कविताको शक्तिले धेरै भक्तले एलपी, भूपी आदिलाई नै बिर्से। भाइरस बारेको ज्ञानको शक्तिले एक से एक सूक्ष्म जीव वैज्ञानिकहरूलाई बिर्से। ‘पित्तचूर्ण’ को विशेषज्ञताको शक्तिले मै हुँ भनिएका एक से एक आयुर्वेदाचार्यहरू फ्लप खाए। जलगैंडाको विज्ञता सुनेर कैयौं वन्यजन्तुविद् धर्मराए। पाण्डा र फण्डामा त्यत्तिकै विशेषज्ञता थियो उहाँसँग।

स्कुलमा थरीथरीका विवादास्पद फण्डा जन्माइरहने, काण्ड गरिरहने र तिनमा आफ्ना विरोधीहरूलाई भुलाइरहने उहाँको जस्तो अद्भुत कला शायद दुनियाँमा कसैमा पनि थिएन, छैन। विषयान्तरको विशेषज्ञतामा उहाँको हाराहारी कोही पुग्ने संभावनै छैन।

नेपालमा जन्मेर मात्रै हो अमेरिका, बेलायत जस्ता देशमा जन्मिनुभएको भए शिक्षा क्षेत्रको वैश्विक नेतृत्व नै उहाँको वरिपरि हुन्थ्यो। यो कुरा उहाँ स्वयंले नै पटक–पटक व्यक्त गर्नुभएकै थियो। जिन्दगीमा एक पटक उहाँको भाषण प्रवचन नसुनी जो परलोक भयो उसको जिन्दगी खेर गयो। पैसा कमाएर मात्र के गर्ने ?

उहाँका कवितामा कतिले संगीत भरे। कति भर्ने क्रममै होलान्। ती कविताका विषयमा समालोचनाका ठ्यासफूहरू बजारमा आउनै बाँकी होलान्। जनजिब्रोमा बसेको सुपरहिट गीत पनि उहाँले ‘विद्यार्थीले मन पराएनन्’ भनेपछि सीधै ‘विद्यार्थी’को निशानामा पर्थ्यो। र त्यो गीत स्कुलमा गाउन, बजाउन त के गुनगुनाउन पनि प्रतिबन्ध लाग्थ्यो।

हामीलाई लाग्थ्यो- हाम्रा हेडसर जस्तै मान्छेहरू संसारमा थुप्रै भैदिए न विश्वविद्यालय, न अस्पताल, न अनुसन्धान केन्द्र, न खोज, न अध्ययन, न बैठक, न गोष्ठी, न सेमिनार, न वेबमिनार अहँ केहीको खाँचो पर्ने थिएन। विश्वविद्यालय, अध्ययन अनुसन्धानमा हुने त्यत्रो खर्च जोगिने थियो। जोगिएको खर्च अरू उपयोगी काममा लगाउन सकिन्थ्यो।

कस्ता काममा ?

जस्तै नाङ्गो आँखाले मंगल ग्रहको दृश्यावलोकन गर्न मिल्ने भ्यू टावरको निर्माण गर्न, ब्रम्हाजीको जन्मभूमिको उत्खनन् गर्ने, शिवजीको आत्माको खोजी गर्ने, भगवान् रामचन्द्रको शौचालयको वास्तुकलाको खोजी गर्ने आदि कार्यमा लगाउन पाइन्थ्यो। हुन पनि हो, दुनियाँमा सबै मान्छे सबै विषयका विज्ञ विशेषज्ञ भएपछि किन चाहियो यस्ता बकम्फुसे संस्थाहरू?

अघिल्लो दिनसम्म उहाँको विरोध गरेर नथाक्ने अमूक शिक्षक वा अमूक विद्यार्थी वा कर्मचारी रातारात उहाँको भक्त भएर निस्किन्थ्यो। त्यस्तो खतरनाक वाक्पटुता र सम्मोहनकला थियो उहाँसँग।

स्कुल बाहिर उहाँको पुत्ला पोल्न निस्केको अमूक शिक्षक भोलिपल्ट त्यही स्कुलको कुनै लाभदायी पद ओगट्दै अफिस कोठामा उहाँको तस्बिर टाँस्दै गरेको भेटिन्थ्यो। जिन्दगीभरी उहाँको विरोध गरेर न अघाएको समुदायको कुनै मनुष्य स्कुलको तला थप्ने टेण्डर पार्दै उहाँको पाउमा लम्पसार परेको देखिन्थ्यो।

कोरोनाको महामारीपछि हाम्रो हेडसर कोभिड विशेषज्ञ पनि हुनुभो। कोभिड र भीड बारेको उहाँको दर्शन असाध्यै उम्दाकोटिको दर्शन मानिएको छ। यो दर्शन अनुसार- ‘हेडसरको जयजयकार गर्न एकै लाख मान्छे भेला भए पनि त्यो भीड कोभिडको कारक हुँदैन। हेडसरको आलोचना गर्न र गल्ती, कमजोरी देखाउन दुई जना मात्र भेला भए पनि त्यो भीड हुन्छ र त्यो भीड कोभिडको कारक पनि हुन्छ।’

उहाँले कुनै नौलो कुरा भन्नुभो। त्यसको स्रोत के? आधिकारिकता के? भनेर सोध्ने दुस्साहस गर्दैनथ्यौं हामी। एकाध अटेरीले सोध्थे र मुखभरीको जवाफ पाएपछि चुप बस्थे। किनभने ब्रह्माण्डमा भएका ज्ञान–विज्ञानका सारा कुराहरू उहाँबाट नै नि:सृत हुने हो भन्नेमा हामी विश्वस्त भइसकेका थियौं।

अर्थात् उहाँले बोलेपछि र उहाँका भक्तहरूले ताली ठोकेपछि सकियो। त्यही नै स्रोत हो। जुन अकाट्य हुन्थ्यो। औंला ठड्याउन, प्रश्न सोध्न पटक्कै पाइन्नथ्यो। त्यसैले, उहाँका कतिपय अनुयायीहरूले उहाँलाई ‘ज्ञानको विश्वविद्यालय’, ‘दोस्रो गौतम बुद्ध’को दर्जा पनि दिएका थिए। जुन एकदमै उपयुक्त थियो।





Source link

HamroAwaj

2022-08-12 11:52:20

Leave a Comment