यौनिक तथा लैङ्गिक अल्पसंख्यकको खुसी साट्ने, पीडा बिर्सने दिन – HamroAwaj


२७ साउन, काठमाडौं ।  नवलपरासी कावासोतीका सुदन पाण्डे जन्मँदा छोरा थिए । परिवारले छोराकै रुपमा उनलाई हुर्कायो, बढायो र पढायो । परिवारले छोराकै व्यवहार गरिरहे पनि उमेर बढेसँगै उनले आफूलाई फरक महसुस गर्न थाले ।

यतिसम्मकी छोराले बुहारी भित्र्याउँछ भन्ने विश्वासमा बसेका बाबु आमाको विश्वास तोडे उनले । पाण्डेको मनमा जे चाहना थियो, त्यो घरपरिवारलाई मान्य भएन । महिलाप्रति आकर्षण नै छैन भन्ने सुदनले यौनिक तथा अल्पसंख्यक समुदायकी मायासँग ६ वर्षअघि लगनगाँठो कसे ।

तर उनीहरुलाई सुदनको परिवारले अहिलेसम्म स्वीकारेको छैन । ६ वर्षसम्म घरमा पाइलो हाल्न नपाएको पीडालाई भुल्दै उनी जीवनसाथीसँगै बेहुला बेहुली बनेर गाईजात्रा मनाउन सडकमाा निस्किए ।

‘छ वर्ष भइसक्यो परिवारले अझै पनि हामीलाई स्वीकारको छैन । मन त हाम्रो पनि दुख्छ नि ।’ पाण्डेले अनलाइनखबरसँग भने, ‘घरमा छोराले बुहारी ल्याउँछ भन्ने थियो होला । तर बुहारी ल्याउने मेरो मनै नभएपछि के गर्नु ?’

आफूले मन परेको मान्छेसँग बिहे गरेको र खुसी रहको भए पनि खुलेर हिँड्ने वातावरण अझै बन्न नसकेको पाण्डेले गुनासो गरे ।

‘परिवारले नै नस्वीकारेको सम्बन्ध समाजले किन र कसरी स्वीकार्छ ?’ उनले प्रश्न गरे ।

तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका व्यक्तिहरुलाई घरपरिवार र समाजले गर्ने घृणा र तिरस्कारको पीडालाई भुल्न गाईजात्रालाई यौनिक तथा लैङ्गिक अल्पसंख्यकले गर्व दिवसका रुपमा मनाउँछन् । कोरोना भाइरसका कारण पछिल्ला दुई वर्ष मनाउन नपाएका उनीहरुले यसपाली धुमधामका साथ १९ औं गर्व दिवस मनाए । दिवसमा सहभागी भएर जीवनसाथीसँगै खुल्न पाउँदा सुदन खुसी थिए ।

सुदन र माया । तस्वीर : शंकर गिरी/अनलाइनखबर

सुदन र माया बेहुला बेहुली बनेको कार्यक्रममै सहभागी सुरज लिम्बुलाई सरकारले आफूहरुका लागि विगतको भन्दा धेरै कुरासुधार गरेको भए पनि समलिंगी विवाहलाई मान्यता नदिएकोमा चित्त दुखाइ छ । ‘हामीलाई पनि सामान्य नागरिक सहर जीवनसाथी छान्न पाउने अधिकार हुनु पर्छ’, उनी भन्छन्, ‘हामी पनि समाजकै मान्छे हौं कृपया हामीलाई अपमान र घृणाको नजरले नहेरिदिनुस ।’

सुदनको भन्दा फरक कथा छ इटहरीदेखि आएकी अनुजा चौधरीको । तर सुदनको जस्तै उनको पनि मुहारमा खुसी झल्किएको छ । उनको दिल खुस भएको छ । यहाँसम्म आइपुग्न निकै पीडा झेलेकी र मुटु पोल्ने असंख्य कटु वचन सुनेकी उनी दुख पीडाका कुरा गर्ने मुडमा छैनन् ।

‘आज त दुःख–पीडाको कुरा नगरौं न, आज त खुलेर हाँसेर बस्ने दिन हो’, ठमेलमा र्‍यालीसँगै अघि बढेकी उनले हाँस्दै भनिन, ‘परिवार, समाज र सरकारबाट घृणा गरिएको पात्र हौ हामी । यो दिन खुसी खोज्ने बहाना हो ।’

तेस्रो लिङ्गी भनेर उनले थुप्रै वचन सुनेकी छन् आफन्त, घरपरिवार र समाजबाट । समाज र आफन्तका वचन उनका मनमा गडेर बसेका छन् । जुन कहिल्यै निको हुन सक्दैनन् ।

ती कठोर र घृणित शब्द सम्झन चाहनन् अनुजा । तर बेलाबेला उनलाई अहिले गरिने व्यवहारले पनि विगत सम्झाइदिन्छ । र पुराना घाउ बल्झाइदिन्छ । भलै पुराना दिन तथा पुरानो समाज भन्दा अहिलेका दिन र समाजमा केहि परिवर्तन भने आएको महसुस गरेकी छन् उनले ।

र्‍यालीको एक झलक । तस्वीर : शंकर गिरी/अनलाइनखबर

जन्मिँदा छोरा जन्मिए पनि उमेर बढ्दै गएपछि भावना र उनको मन छोरी बन्दै गयो । ‘मलाई भगवानले नै यस्तै बनाए त यसमा मेरो के दोष भयो ?’ उनले गुनसो गरिन्, ‘मान्छेलाई पनि जनावरभन्दा तल्लो व्यवहार गर्छ यो समाज ।’
अनुजालाई सुरुमा घरको व्यवहारले तनाव दियो । पछि समाज र समाजपछि स्कुल तथा साथीभाइले ।

कक्षा १० सम्म पढेकी उनलाई स्कुल जाँदा यो त ‘गे’ (तेस्रोलिङ्गी) हो । यसको त संगत गर्नु हुन्न भन्थे साथीभाइ ।

साथीभाइको मात्रै अपहेलना सहेकी भोगेकी छैनन् उनले । सबै नागरिक समान हुन् कसैलाई भेदभाव गर्नु हुन्न भनेर सिकाउने शिक्षकले नै पहिचानलाई लिएर बारम्बार उनीमाथि व्यङ्ग्य गरिरहे ।

‘शिक्षा दिने, सबैलाई हक अधिकार बताउने, समाज बदल्ने शिक्षकले त अपमान र घृणाको नजरले हेर्छन्, अरुको के कुरा गर्नु र ?’ उनले विगत सम्झिँदै भनिन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई अपहेलना र घृणाको सुरुवात घरबाट हुने गरेको उनको अनुभव छ । ‘मैले आफूलाई बुझ्न थालेदेखिका १० वर्ष निकै पीडामा बिताएकी छु । जसलाई म चाहेर पनि सम्झिन चाहन्न । ती दिन सम्झेपछि अझै पनि मुटु काप्छ’ उनले अनलाइनखबरलाई सुनाइन् ।

राजा प्रताप मल्लले पुत्र वियोगमा रहेकी पत्नीलाई शोकबाट मुक्त गर्न सुरु गरेका थिए गाईजात्रा । मल्ल कालमा सुरु भएको गाईजात्रा अहिले संस्कृति बनेको छ । एक वर्ष भित्रमा आफन्तको वियोगमा परेका नेवार समुदायले गाईजात्रा निकाल्दै आएका छन् ।

तर पछिल्लो समयमा भने गाईजात्रालाई पीडा, भेदभाव र अपहेलनामा पर्ने गरेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकले खुसी साट्ने, पीडा भुल्ने र अपहेलना विर्सिने दिनका रुपमा मनाउन थालेका छन् ।

अमेरिकामा जुनको अन्तिम आइतबार मनाइने ‘गे प्राइड डे’ नेपालमा गाईजात्राका दिन मनाइन्छ भन्ने थाहा पाएपछि अमेरिकाको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी प्रमुख जेसिका र्स्टनले मन थाम्न सकिनन् । त्यसैले उनी कार्यक्रममा सहभागी हुनकै लागि अमेरिकादेखि आइन् ।

सहभागीहरुसँग सेल्फी खिच्दै नेपालका लागि अमेरिकी राजदूत । तस्वीर : शंकर गिरी/अनलाइनखबर

यौनिक तथा लैङ्गिक अल्पसंख्यकको कार्यक्रममा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेकोमा खुसी व्यक्त गर्दै उनले सबै नागरिक समान भएकाले समाजमा सबैलाई सम्मानपूर्वक बाँच्न पाउनु पर्ने बताइन् ।

‘हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार भएकाले यौंनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकाले पनि आम नागरिकसरह बाँच्नुपर्छ र उनीहरुसरह नै व्यवहार गरिनु पर्छ’, नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीसँगै र्‍यालीमा सहभागी जेसिकाले भनिन ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय नेपालकी प्रमुख पिंकी गुरुङले आजको दिन अस्तित्व र पहिचानको दिन भएको भन्दै यहाँसम्म आइपुग्न निकै संघर्ष र पीडा भोग्नुपरेको बताइन ।

‘हामीले यहाँसम्म पुग्न निकै संघर्ष गरेका छौं पीडा खेपेका छौ । एक समय यस्तो थियो थियो यौनिक तथा लैङगिक अल्पसंख्यक मृतकको शरीरलाई घरपरिवारलेसमेत उठाउदैन्थ्यो । ती शरीरलाई पनि हामीले नै जलाएका हौं । यसरी हामी अगाडी बढेका हौं’, विगत सम्झिदै गुरुङले भनिन् ।

उनले दिवंगत आत्माको चिरशान्तिका लागि गाईजात्रा मनाउने गरेको बताउँदै आफूहरुले गाईजात्रा मनाउँदा सुरुमा गाली खाए पनि अहिले समाजले आफ्नो समुदायलाई बुझ्न खोजेको बताइन् । पहिलेभन्दा सामाजिक चेत बढेको र परिवार तथा सामाजिक रुपमा खुल्न नसकेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्ति पनि गाईजात्रामा आएर खुल्न थालेको उनले देखेकी छन् ।





Source link

HamroAwaj

2022-08-12 21:07:46

Leave a Comment