प्रोफेसर शर्माको डायरी – HamroAwaj


पढेको थिएँ- ‘वेदव्यास पर्सिया पुगेका थिए । त्यहाँका राजाले व्यासलाई राजमहलमा भव्य स्वागत गरे । साथै हिन्द देशबाट आएका विद्वान भन्दै शास्त्रार्थ गर्न जराथुस्त्रलाई खटाए ।’

उक्त विषय सत्य वा असत्य जे पनि हुन सक्छ । परन्तु यसमा दुईमत छैन कि, व्यास त्यो युगका प्रकाण्ड विद्वान थिए । व्यासले वेद, महाभारत, अठार पुराण आदि रचे, लिपिबद्ध गरे ।

उक्ति नै छ – ‘स्वदेशे पुज्यते राजा विद्वान सर्वत्र पुज्यते ।’ विद्वान सम्पूर्ण भूलोकको गहना हो । विद्वानमा दरिन चानचुने योग्यताले पुग्दैन । विद्वान त्यो हो जसमा जीवन र जगतका यावत् विषयमा विपुल ज्ञान हुन्छ । विज्ञ र विद्वानबीचको भिन्नता त्यही हो कि, विज्ञ निश्चित विषयमा विशेष दखल राख्छ । विद्वानले जीवन र जगतका यावत् पहलुहरूमा विहंगम दृष्टिका साथ अध्ययन-अन्वेषण गरेको हुन्छ ।

प्रश्न उठ्छ, विद्वान बन्नका लागि आवश्यक न्यूनतम योग्यता अरू केके हुन सक्छन् त ? कुनै व्यक्ति युनिभर्सिटीबाट पीएचडी वा उच्च शैक्षिक डिग्री प्राप्त गरेपछि निःशर्त विद्वान भैहाल्ने हो कि ? या विद्वान कहलाउनका लागि विश्वविद्यालयको प्रमाणपत्र भन्दा बाहिर पनि निश्चित दक्षता वा योग्यता जरूरी हुन्छ ?

यसबारे मेरो मत के छ भने, युनिभर्सिटीको सर्वोच्च डिग्री हात पारेकै आधारमा सबैलाई विद्वान भनिहाल्न गाह्रो छ । हामीले कैयौं त्यस्ता व्यक्तिलाई देखेका छौं, जोसँग युनिभर्सिटीको डिग्री त छ तर आफूलाई त्यस अनुकूल प्रस्तुत गर्न सकिरहेको पाइँदैन । अनि हामी वरिपरि त्यस्ता मानिस पनि छन्, जोसँग कलेज-युनिभर्सिटीको एकेडेमिक डिग्री छैन तर ऊभित्र ज्ञानको विशाल महासागर दृष्टिगोचर हुने गर्दछ ।

विश्वविद्यालयबाट सर्वोच्च शैक्षिक डिग्री हासिल गरेका सबै मानिस सार्वजनिक जीवनमा अब्बल ठहरिन्छन् भन्ने कुराको पनि कुनै ग्यारेन्टी हुँदैन । यदि युनिभर्सिटीले प्रदान गर्ने शैक्षिक डिग्री अब्बलताको मानक हुन्थ्यो भने समाजका हरेक क्षेत्रमा सर्वोच्च शैक्षिक डिग्रीधारीहरूको एकछत्र हालीमुहाली चल्नुुपर्ने थियो । अर्थात् होनहार वैज्ञानिक, उत्कृष्ट कवि, प्रभावशाली लेखक, कुशल कलाकार, प्रभावकारी वक्ता, सुयोग्य नेता, महान् दार्शनिक, सफल उद्योगपति आदि-इत्यादि सर्वोच्च शैक्षिक डिग्रीधारी बाहेक अरू नहुनुपर्ने थियो । यथार्थमा त्यस्तो विरलै देखिन्छ ।

हाम्रो मानसिकता बडो विचित्रको छ । हामी पढ्ने भनेको डिग्री आर्जन र जागिर प्राप्तिका लागि हो भन्ने सोच्छौं । अध्ययन भनेको बालक र युवाको काम हो भन्ने ठान्छौं । त्यसैले धेरै मानिस कलेज-युनिभर्सिटीको डिग्री हात पारेको वा लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेको भोलिपल्टदेखि पुस्तक फर्काएर हेर्न छोडिदिन्छन् । खासमा ज्ञान आर्जनसँग उमेरको कुनै लेनादेना छैन । हिन्दी कहावत छ – ‘सिखने की कोइ उमर नहीं होती ! जहाँ जागो वहीं सबेरा ।’

मानिसले आफूलाई दीर्घजीवी बनाउन पोषणयुक्त खाद्यवस्तु ग्रहण गरेजस्तै ज्ञान, धारणा, सोचलाई सर्वकालिक वा समयसापेक्ष बनाउनका लागि अध्ययन, चिन्तन-मननलाई नवीकृत गरिरहनु आवश्यक छ । जसरी खाद्यवस्तु ग्रहणको अभावमा शरीरको मृत्यु हुन्छ, त्यसरी नै दिमागी कोषिकाहरूलाई निरन्तर क्रियाशील नबनाउनाले निष्प्रभावी बन्न पुग्दछन् । जब मान्छे दशकौंअघिको बासी ज्ञान, सूचनाको भरमा लामो समय अडिन थाल्छ, तब मस्तिष्कका तन्तुहरूको क्षयीकरण प्रक्रिया आरम्भ हुन्छ ।

ब्रहृमाण्डले प्रकृतिको सृजना गर्‍यो । प्रकृतिले मानिसको रचना रच्यो । मानव मस्तिष्क प्रकृतिको विलक्षण रचना हो । संसारमा प्रचलित दर्शन, वाद, सिद्धान्त तथा वैज्ञानिक आविष्कारहरू उर्बर मानव मस्तिष्कका उपज हुन् । परन्तु हामीले हाम्रा पुर्खाहरूको ओठेभक्ति गायौं मात्र । उनीहरूले जोगाड गरिदिएको साँवाको ब्याज खायौं मात्र । विश्वले ज्ञान-विज्ञान र प्रविधिमा चामत्कारिक छलाङ हानिरहेका बेला हामी चाहिं महान् ऋषिमुनिका सन्तति हौं भन्दै घिरौंला जत्रो नाक बनायौं मात्र । संसार जतिवेला विज्ञान-प्रविधिको क्षेत्रमा गुणात्मक फड्को मारिरहेको थियो, हामी ‘बुद्धम् शरणम् गच्छामि’ भन्दै रागभैरवी गाइरहेका थियौं !

म ध्यानको विरोधी होइन । विरोध गर्नुपर्ने कारण पनि छैन । ध्यानले चित्त शुद्धि र एकाग्रताको द्वार खोल्छ । गुनासो त त्यहाँनेर छ कि, हामीले ध्यानलाई विज्ञानसँग जोड्न सकेनौं । हामीले ध्यानलाई विज्ञान र प्रविधिको ढोका उघार्ने ताला बनाउन सकेनौं । समष्टिमा हामीले बुद्धत्वभित्र आइन्स्टाइन, न्यूटन, ग्यालेलियो, कोपर्निकस जस्ता वैज्ञानिकको प्राणपखेरु प्रतिष्ठापित गर्न सकेनौं ।

भनिन्छ, प्राचीन ग्रीक नगर राज्यका बासिन्दाहरू अति जिज्ञासु थिए । उनीहरू प्रकृतिमा घट्ने विभिन्न घटनालाई तर्कको मदानीमा मथ्दै उत्तर खोज्थे । जस्तो कि सूर्य हरेक दिन बिहान पूर्वबाट किन उदाउँछ ? अनि पश्चिममा किन अस्ताउँछ ? आदि-इत्यादि । कतिपय प्रश्न त यस्ता हुन्थे जसको तार्किक जवाफ दार्शनिक सुकरातसँग पनि हुन्थेन ।

मलाई सोध्न मन लागेको छ, किन हाम्रोमा व्यास, वाल्मीकि, कपिल, गौतम, विश्वामित्रका विद्वत् बीजहरू पुस्तान्तरण भएर आउन सकेनन् ? अल्बर्ट आइन्स्टाइन, न्यूटन, ग्यालेलियो, कोपर्निकस, डार्विनहरू हाम्रोमा किन जन्मन सकेनन् ? कारण एउटै छ, हामी ध्यानी बढी विज्ञानी कम भयौं । हामीले ध्यानको पाँच गुणा समय अध्ययन-चिन्तनमा खर्चिन जरूरी थियो ।

पहिला-पहिला कम्युनिस्टहरू निकै पढ्थे । ज्ञानलाई निरन्तर सम्पादन र नवीकरण गरिरहन्थे । कम्युनिस्टहरू जीवन र जगतका यावत् पहलुहरूको सिंहावलोकन, विचार मन्थन, व्याख्या-विश्लेषणमा सामेल हुन्थे । तर यतिखेर अवस्था ठीक उल्टो छ । कम्युनिस्ट हुन् वा गैर कम्युनिस्ट, सबैको अध्ययनको प्रकृति टापटिपे वा सतही ज्ञान आर्जन गर्ने खालको हुन गएको छ ।

फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल हाम्रो सिर्जनशीलता र बौद्धिकता भुत्ते बनाउनमा मन्द विष सावित भइरहेका छन् । पत्रपत्रिकाको चटपटे हेडलाइन हेरेर वा एफएम न्यूज सुनेर भ्यूज निर्माण गर्नेहरूको उडन्ते समूह दिनानुदिन बढ्दै गएको छ । समाजको ठूलो हिस्सा बौद्धिक मन्थनतर्फ कम, आर्थिक चिन्तनतिर ज्यादा उन्मुख भएको आभास हुन थालेको छ । जीवनको लामो कालखण्ड त्याग-तपस्या र बलिदानमा बिताएका राष्ट्रिय अगुवाहरूमा समेत पर्खने धैर्य हराउँदै गएको देखिन लागेको छ । जसरी होस् रातारात धनी बन्ने । मर्सिडिज कारमा हुइँकिने । आलिसान महलमा बस्ने । भोगविलासपूर्ण जिन्दगी बिताउने । समकालीन नेपालका अधिकांश नेता-कार्यकर्ताको मनोवृत्ति यस्तै भेटिन्छ ।

पाठक महोदय, तपाईंमध्ये धेरैले ‘प्रोफेसर शर्माको डायरी’ पढ्नुभएको हुनुपर्छ । प्रोफेसर शर्मा नेपाली साहित्यको त्यो पात्र हो जो तीस वर्षअघि तयार गरेको लेक्चर नोट अर्थात् डायरी हेरेर युनिभर्सिटीमा प्राध्यापन गर्ने गर्दथ्यो !

प्रोफेसर शर्मा जडवत् छ । उसले ज्ञानको नवीन क्षितिजसंग साक्षात्कार नगरी दशकौं बितायो । ज्ञानलाई निरन्तर नवीकृत, प्रशोधित र सम्पादित गरिरहनुपर्छ भन्ने कुरा प्रोफेसर शर्माको दिमागमा कहिल्यै घुसेन । त्यसैले प्रोफेसर शर्मा तीस वर्ष पुरानो डायरी बोकेर हर दिन युनिभर्सिटी जान्थ्यो अनि विद्यार्थीलाई दीक्षित गर्दथ्यो । कवि विप्लव ढकालले प्रोफेसर शर्माको फोटोग्राफी उतारेका छन्-

‘आज तीस वर्षपछि अचानक प्रोफेसर शर्माको कालो ब्यागबाट एउटा पुरातात्विक डायरी हरायो । त्यो डायरीसँगै वर्षौं पुरानो ज्ञानको एउटा उज्यालो इतिहास हरायो । अब कि त प्रोफेसर शर्मा बहुलाउँछ कि जमिनमा टाउको पछार्दै रुन्छ । कि भट्टीमा एक्लै पसेर संसारै उल्टो हुने गरी पिउँछ । … अब के गर्छ प्रोफेसर शर्मा ? कसैलाई थाहा छैन । ऊ आफैंलाई पनि थाहा छैन …।’

प्रोफेसर शर्मा हाम्रो समाजको यथार्थ हो । हाम्रोमा प्रोफेसर शर्मा प्रवृत्तिका अनगिन्ती पात्र छन् । जो अध्ययनलाई कर्मकाण्ड मान्छन् । ज्ञान आर्जनलाई युनिभर्सिटीको डिग्री प्राप्तिसँग सीमित राख्छन् । तिनीहरू पढ्छन् त केवल सर्टिफिकेट हात पार्नका लागि । जागिर खानका लागि । तिनीहरू ज्ञानलाई तरोताजा (रिफ्रेस) गरिरहनुपर्छ भन्ने कुराप्रति खासै मतलब राख्दैनन् ।

ज्ञानको पुनर्ताजगी र झरनाबीच एक प्रकारको समानता देख्छु म । एकछिन कल्पना गरौं, झरनामा पानी झर्ने क्रम रोकियो भने के होला ? उत्तर सहज छ, पानीको प्रहारमा रगडिएका सुकिला चट्टानहरूमा काई-लेउ पलाउन सुरु गर्नेछ । काई-लेउ र पानीबीच सह-सम्बन्ध हुन्छ । काई-लेउ जलप्रवाह कमजोर हुन थालेपछि पलाउँछ । जुन दिनदेखि खोला-नदीमा पानीको प्रवाह कमजोर हुन थाल्छ त्यही दिनदेखि काई-लेउ पलाउन सुरु गर्छ ।

बिट मार्नुअघि म यही भन्न चाहन्छु, हरेक व्यक्तिले ज्ञानको सफ्टवेयरलाई निरन्तर रिफ्रेस वा नवीकृत गरिरहनु आवश्यक छ । यदि हामीले ज्ञानको सफ्टवेयरलाई सम्पादन वा नवीकरण गर्न चुक्यौं भने निश्चित छ, एक दिन हाम्रो मस्तिष्कमा पनि खोलाको चट्टानमा जस्तै काई-लेउ जम्न सुरु गर्नेछ । निःसन्देह हामी त्यस दिन प्रोफेसर शर्माको नयाँ संस्करण बन्न पुग्नेछौं ।





Source link

HamroAwaj

2022-08-13 11:05:34

Leave a Comment