एसईईपछि के पढ्ने ? – HamroAwaj


२०७८ सालको कक्षा १० को परीक्षाफल दुुईसाताअघि सार्वजनिक भयो । सार्वजनिक गरिएको नतिजाअनुसार ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या यसपटक ९ हजार ६३३ जना देखिए । जबकि विगत २०७६ र २०७७ मा यति नै जीपीए ल्याउनेको संख्या क्रमशः ७८ हजार १९६ र ७२ हजार ८७१ थियो ।

४ जीपीए ल्याउने त यो साल सिला खोज्नुपर्‍यो । कतिपय जिल्लामा त एक जना पनि ४ जीपीएका विद्यार्थी भेटिएनन् । यी दुई वर्षको तुलनामा यो वर्ष जीपीए किन यसरी ह्वात्तै घट्यो ? खोजको विषय देखिन्छ । स्याङ्जा, बाग्लुङ, तनहुँमा १ जना पनि ४ जीपीए ल्याउने देखिएनन् ।

सयौं निजी विद्यालय भएको कास्की जस्तो जिल्लामा मुस्किलले २ जनाले मात्र ४ जीपीए ल्याए । विगत दुई वर्ष कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुन सकेको थिएन । यो साल भयो । के यही कारण मात्र हो त जीपीए घट्नुको ? कि अरू कारण पनि छन् ? यसको व्यापक खोज तथा अनुसन्धान आजको आवश्यकता हो ।

एसईईपछिको यात्रा

सरकारले यसै वर्षदेखि नयाँ निर्देशिका जारी गरेर नतिजा प्रकाशित गर्ने गृहकार्य गरेको थियो । नतिजा प्रकाशनको सम्मुखमा आएर शिक्षा मन्त्रालयले पुरानै मूल्यांकन पद्धति अपनाउने निर्णय गर्‍यो । नयाँ निर्देशिका कार्यान्वयनमा आएको भए अझ कमजोर नतिजा आउँथ्यो ।

पुरानो निर्देशिकामा २० अङ्क भन्दा थोरै ल्याउनेलाई ‘ई’ गे्रडमा राखेर कक्षा ११ मा भर्ना हुनसक्ने प्रावधान थियो । नयाँ निर्देशिकामा भने ३५ भन्दा कम प्रतिशत ल्याउनेलाई ‘ननग्रेडेड’ मा राखिने व्यवस्था गरेको छ । त्यसको अर्थ त्यस्ता विद्यार्थीले कक्षा ११ मा भर्ना पाउनबाट वञ्चित भई ठूलै समस्या आउन सक्नेथियो ।

त्यस्तो हुन पाएन । यसपटक १.६ जीपीए ल्याउने सबै विद्यार्थीले कक्षा ११ मा पढ्न पाउने भएका छन् । यद्यपि लोकसेवाका लागि प्रतिस्पर्धी हुन् भने न्यूनतम २ जीपीए चाहिन्छ ।

कक्षा १० पछि के पढ्ने ? विद्यार्थीमा कौतूहल उत्पन्न हुनु स्वाभाविक हो । कक्षा ११ मा रोज्ने शैक्षिक संकाय, मूल विषय र रुचि नै कुनै पनि विद्यार्थीका आगतका लागि पथप्रदर्शक हुन् । भविष्यमा के बन्ने वा कुन बाटो समात्ने भन्ने विषय उसले कक्षा ११ मा कुन संकायमा जान्छ ? वा के विषय रोज्छ भन्ने कुरामा निर्भर गर्दछ ।

राम्रो जीपीएमा उत्तीर्ण विद्यार्थीका लागि यतिबेला भ्याई–नभ्याई छ । उनीहरूलाई कसैले निःशुल्क, कसैले कम शुल्क त कसैले सशुल्कमा आफ्नो कलेजमा भर्ना हुन अफर गरिरहेका छन् । गतिलामा गनिएका कतिपय कलेजहरूले त यसअघि सिट रिजर्भ समेत गरिराखिदिएका छन् ।

शिक्षा क्षेत्रमा देखिएको यो एउटा विकृति र अस्वस्थ प्रतिस्पर्धा नै हो । बसपार्कमा रुमलिएको यात्रीलाई बसवालाले तानातान गरेझैं एसईई उत्तीर्ण विद्यार्थीलाई आफूतिर तान्न धेरै कलेज तँछाडमछाड गरिरहेका छन् ।

वास्तवमा पढ्ने के त ? कुन संकाय रोज्दा भविष्य उज्ज्वल हुने होला ? आजका एसईई उत्तीर्ण मेधावी विद्यार्थीका लागि मुख्य चिन्ता यही नै हो । यो रोजौं कि ऊ रोजौं भनेर अन्यमनस्क अवस्थामा रहेका विद्यार्थीका लागि उचित मनोपरामर्श जरूरी पनि छ । तर हामीकहाँ परामर्शभन्दा पनि आफूअनुकूल सुझाव दिने गलत परम्परा छ । यसले गर्दा विद्यार्थीलाई विषय छनोटमा सहज होइन सकस पैदा हुनजान्छ । तसर्थ सही सुझाव र सल्लाह प्रदान गर्नु हरेक अभिभावक तथा शिक्षाविद्हरूको कर्तव्य हो ।

आज सैद्धान्तिक भन्दा व्यावहारिक ज्ञान दिने विषयको खोजी जरूरी छ । सक्नेहरू विज्ञान विषयलाई छोड्नुहुँदैन । किनभने कक्षा १२ पछि कता जाने भन्ने कुराको मार्गदर्शनसमेत कक्षा ११ मा के पढियो भन्ने कुराले गर्दछ । तसर्थ इञ्जिनियर, डाक्टरलगायतको विषयका लागि बाटो बनाउने आधार विज्ञान नै हो ।

शिक्षणतर्फ नै बस्छु भन्नेहरूले पनि शुद्ध विज्ञान वा शिक्षा संकायतर्फ विज्ञान मूल विषय लिई अध्ययन गर्न उपयुक्त हुन्छ । यसो भयो भने अध्यापन अनुमति पत्रका लागि समेत सहज हुन्छ । आज बजारमा विज्ञान विषयका शिक्षकको खाँचो नै छ ।

जहाँ विज्ञान शिक्षक पाइँदैन, त्यहाँ डाक्टर बेरोजगार छन् । यसैले शिक्षामा न राज्यको योजना नै कामयावी देखियो, न व्यक्तिको छनोट । यसमा मुख्य दोष राज्यको नै छ ।

आजको युग सूचनाप्रविधिको हो । पढेपछि लगभग बेरोजगार बस्नु नपर्ने । आफैं व्यवसाय सञ्चालन गर्न समेत सकिने आईसीटी अर्थात् सूचनाप्रविधिको अध्ययन अर्को विकल्प हुन सक्छ । यसका लागि कम्प्युटर शिक्षा पनि रोजाइको विषय बन्न सक्छ ।

हामी क्रमशः सहकारी, सामूहिकता र समूह गठनको अवधारणामा गइरहेका छौं । कृषि, व्यवसाय, उद्योग आदिमा अनुदान लिई काम गर्न खोज्नेहरूका लागि सरकारले थुप्रै अनुदान र सहजताको व्यवस्था गरेको छ । ७५३ वटै स्थानीय सरकारमा बैंकिङ सेवा पुर्‍याउने सरकारको नीति छ ।

तसर्थ आवश्यकता र रोजगारी दुवै हिसाबले व्यवस्थापन विषय पनि रोजाइको विषय बन्न सक्छ । अन्य विषयका बारेमा कुरा गर्दा जेटीए, अमिन, भेटेनरी, होटल व्यवस्थापन, स्वास्थ्यतर्फ अहेब, अनमी आदिका लागि पनि रोजगारीका क्षेत्रहरू हुन सक्छन् । यी विषयतर्फ पनि जान सकिन्छ ।

आफूले प्राप्त गरेको जीपीएका आधारमा रुचि र क्षमता समेत आकलन गरी विषय रोज्न जरूरी छ । राम्रो विषय ठानेकै भरमा सहजै उत्तीर्ण हुन नसक्ने विषयमा हात हाल्न पनि उचित हुँदैन । किनभने ‘एयर लस’ भयो भने जतिसुकै राम्रो विषय लिए पनि पछि परिन्छ ।

कतिपय अवस्थामा त लामै समय ब्याक दिएर बस्नुपर्ने अवस्था पनि आउन सक्छ । यसरी जीवन बर्बाद पार्नुभन्दा आफूलाई उपयुक्त जँचेको सरासर उत्तीर्ण हुनसक्ने विषय नै हरेकका लागि उपयुक्त हुन्छ । अभिभावकहरूले पनि आफ्ना बाबुनानीहरूलाई यस्ता कुरामा परामर्श दिनुपर्छ ।

कुनै पनि विषय आफैंमा राम्रो वा नराम्रो भन्ने हुँदैन । त्यो त आफूले हासिल गर्ने सिकाइ उपलब्धिको स्तरमा भरपर्दछ । तसर्थ; मानविकी, राजनीतिशास्त्र, अर्थशास्त्र आदिलाई पनि त्यागिहाल्न हुँदैन । विषय छनोटमा अभिभावकले दबावभन्दा पनि सहजीकरण गरिदिनुपर्छ ।

तर्क आ–आफ्नै

फ्रान्सका प्रसिद्ध समाजशास्त्री दुर्खिमले समाज शिक्षाबाट अलग र शिक्षा समाजबाट अलग हुन सक्दैन भनेका थिए । यसैकारण के पढ्ने भन्ने कुरा समाजको आवश्यकतामा निर्भर हुनुपर्ने थियो । तर हामीकहाँ त्यो अवस्था छैन । अहिले बजारमा विज्ञान शिक्षकको आवश्यकता बढी छ । तर शिक्षणीय हिसाबले विज्ञान पढ््नेको संख्या अत्यन्तै कम छ । एक किसिमले छँदै छैन भने पनि हुन्छ । पढिहालेछन् भने पनि अध्यापन अनुमति पत्र लिन उनीहरू मान्दैनन् । विज्ञानलाई उपल्लो कक्षाको तयारीका रूपमा मात्र लिने प्रवृत्ति छ ।

हाम्रो पढाइ या त विदेशतिर सुइँकुच्चा ठोक्ने या त इञ्जिनियर, डाक्टर हुनेतर्फ नै केन्द्रित देखिन्छ । यसैले अहिले बजारमा यी दुवैका जनशक्ति फालाफाल छन् । जहाँ विज्ञान शिक्षक पाइँदैन, त्यहाँ डाक्टर बेरोजगार छन् । यसैले शिक्षामा न राज्यको योजना नै कामयावी देखियो, न व्यक्तिको छनोट ।

यसमा मुख्य दोष राज्यको नै छ । किनभने हामीसँग यो यो विधाको जनशक्ति पर्याप्त छ, अब यो यो विधामा जनशक्तिको जरूरी छ भनेर लेखाजोखा गर्ने चलन नै छैन । यसको अभावपूर्तिका लागि विगतमा हामीसँग विद्यालयस्तरबाटै योजना बनाएर छलफल गर्ने चलन थियो ।

सबैभन्दा तल्लो निकाय विद्यालयले विद्यालय सुधार योजना (एसआईपी) बनाउने गर्दथे । यसैका आधारमा गाउँ शिक्षा योजना (भीईपी) बनाउने चलन थियो । गाउँ शिक्षा योजनाका आधारमा रहेर जिल्लाले जिल्ला शिक्षा योजना (डीईपी) बनाउँथे । जिल्ला शिक्षा योजनाका आधारमा राष्ट्रिय शिक्षा योजना बनाउने अवधारणा थियो । आजकल यी योजना बनाउनेतर्फ कसैको ध्यान गएको छैन ।

उच्चस्तरीय शिक्षा आयोग पनि प्रायः विभागीय मन्त्रीकै अध्यक्षतामा बन्ने र तिनले दिएको सुझावका आधारमा सुधारको संभावना पनि नहुने देखिन्छ । त्यसैले यस्ता आयोग कहिले बने भन्ने विषयमा सर्वसाधारणले चासो राखेको पनि पाइँदैन । आजसम्मको शैक्षिक इतिहासमा शिक्षा आयोग २०४९ को प्रतिवेदन मात्र सबैभन्दा बढी कार्यान्वयन गरिएको प्रतिवेदन हो । बाँकी सबै औपचारिकतामा मात्र सीमित देखिन्छन् ।

आगामी दिनमा राज्यले शिक्षाको बृहत् योजना बनाई आवश्यक पर्ने जनशक्तिको खाका सार्वजनिक गर्न सके विद्यार्थीका लागि कुन विषय छनोट गर्ने भन्ने बारेमा निर्णय लिन सहज हुन्छ ।

पढिसकेपछि बजारमा टिकाउ र बिकाउ हुने विषयमा नै सबैको मन तानिन्छ । तसर्थ बजारको आवश्यकता यो हो भनेर सूचित गरिदिन आवश्यक छ । बजारमा खपतको अवस्था हेरेर मात्र उनीहरूले आफ्नो रुचि, क्षमता र सामर्थ्यको आधारमा विषय छनोट गर्न स्वतन्त्र हुनसक्छन् । अभिभावकलाई पनि परामर्श दिन सहज हुन्छ ।

छिमेकीको बच्चाले यो पढ्यो, तिमीले पनि यही पढ्नुपर्छ भनेर मात्र हाम्रो दायित्व पूरा हुँदैन । हरेक अभिभावकले आफ्नो सन्तानले पनि फलानाको छोराले पढेकै विषय पढ्नुपर्छ भन्ने मान्यता नत्यागेसम्म बाबुनानीको शैक्षिक सफलता सम्भव छैन ।

(लेखक सेवानिवृत जिल्ला शिक्षा अधिकारी हुन् ।)





Source link

HamroAwaj

2022-08-14 16:52:51

Leave a Comment