रातो स्टीकर टाँसेको घरमा एक फन्को घुमेर पुगेका बाबुराम – HamroAwaj


पुरानो घरको तिर्सना : गोरखा पालुङटार-१ स्थित भुइँचालोपछि रेट्रोफिट गरेको आफ्नो घरको आँगनमा बाबुराम भट्टराई परिवार । उनी प्रचण्डसँग फेरि मिल्ने तयारीमा छन् । तस्वीर : भट्टराईको फेसबुकबाट ।

प्रचण्डले यो पंक्तिकारसँग दुई साताअघि भनेका थिए, ‘बाबुरामजीका विकल्प सकिँदै गएका छन् । अब तपाईं हेर्दै जानुस्, उहाँ अवश्य हामीसँग आउनुहुन्छ ।’

यथार्थमा प्रचण्डका पनि विकल्प सकिँदै गएका छन् । किनभने उनले आफूसँग र्‍याङठ्याङ नमिल्ने एमाले अध्यक्ष केपी ओलीसँग वाम गठबन्धन गरेर पनि हेरे । एउटै पार्टी बनाएर पनि हेरे । उनी पनि थाकेकै छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ११ साउनको त्यो बिहान खुमलटार निवासमा अनलाइनखबरसँग आफ्ना समीक्षा र योजना साझा गर्ने क्रममा थिए । उनी भट्टराईसँगको उतारचढावमय विगतलाई केस्रा-केस्रा केलाउँदै थिए । भट्टराईसँग मिलेर जानुहुन्न भन्ने धार पार्टीकाे दाेस्राे तहका नेताहरुभित्र बलियो छ भन्ने प्रचण्डलाई थाहा नभएको होइन । त्यही ‘धार’ ले ०७४ असोज १७ को वाम गठबन्धन घोषणासभामा सँगै आएका भट्टराईलाई तत्कालै बाहिर धकेलेको खुमलटारको बुझाई थियो ।

अरु जे भए पनि लडाइँको सुरुवातकालीन बेलादेखिको आत्मीयता प्रधान भएकाले उनी भट्टराईसँगै मिलेर जानु नै उचित हुने निष्कर्षमा थिए । लामो समयका सहकर्मी बाबुराम भट्टराईसँग प्रचण्ड प्रेम–घृणाको दुईधारे सम्बन्धमा छन् भन्ने सबैलाई हेक्का छ । तर बादल, मोहन वैद्यहरू आफूबाट टाढिएको अवस्थामा भट्टराईसँग मात्रै मिलेर गए पनि पार्टीको कार्यकर्ता पंक्ति जोसिन्छ भन्ने उनको सिधा बुझाई छ ।

उता आफूसमेतले जन्माईहुर्काइ गरेको माओवादी पार्टीलाई रेड स्टीकर टाँसेको घर भन्दै छाडिहिँडेका बाबुराम भट्टराई गोरखाको आफ्नो पुरानो घरलाई भने रेट्रोफिटिङ गर्दै थिए । झन्डै सात वर्षपछि उनी उही रेड स्टीकर टाँसेको पुरानो माओवादी घरलाई रेट्रोफिट गरेकाे जिकिर गर्दै फर्किने ताकमा छन् । आजका दिनमा त्यो दलको घर टालटुल गरेकै भरमा बस्न योग्य भइसकेको छ या छैन, उनैलाई थाहा हुनुपर्छ ।

पार्टी एकताको लक्ष्य राखेर हाललाई आगामी संघ, प्रदेश चुनावमा एउटै चिह्न र घोषणापत्रमा जाने समझदारी भएको छ । भट्टराई अब पार्टीको नाम भने नेकपा माओवादी केन्द्र नहुन सक्ने सम्भावना देखाउँछन् । उनको जोड समाजवादी केन्द्रमै छ । तर यत्ति निहुँमा उनीहरूको सम्भावित प्याच अप रोकिनेवाला छैन । भट्टराई निकट नेता तथा नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेको भाषामा दुई नेताबीच ‘दुई ज्यान, एक मन’ भइसकेको अवस्था छ ।

यी सात वर्षमा बाबुरामले नयाँ शक्ति खोले । त्यसले ठिकठाक काम नगरेपछि उपेन्द्र यादव र अशोक राईसँग गला मिलाए । समाजवादी पार्टी नेपाल बन्यो । महन्थ ठाकुरसँग समेत मिल्न जाँदा दलको नाम जनता समाजवादी पार्टी भयो । उनीहरूसँग पालैपालो फुटपछि भट्टराई अहिले नेपाल समाजवादी पार्टी गठन गरी अध्यक्ष बनेका छन् । यसले पनि दीर्घायु नलिने छाँट सायद देखिसकेको हुनुपर्छ । त्यसैले उनी फरक्क फर्केर प्रचण्डसँगै पुगेका छन् । उनीहरूबीच हिजोआज पटक–पटक कुरा हुन्छ । दुःखबिमार सोधासोध हुन्छ ।

अघिल्लो वर्ष हिसिला यमी आफ्नो पुस्तक ‘हिसिलाः फ्रम रिभोल्युसनरी टु फस्ट लेडी’ उपहार दिन प्रचण्डकहाँ पुगेकी थिइन् । गाता सुम्सुम्याउँदै उनले भनेछन्, ‘कहाँ उपेन्द्रजी महन्थजीहरुसँग बसिराख्या ? खुरुक्क पार्टीको काम गर्न आउनुहोस् ।’

राजनीतिमा कुनै पनि कुरो स्थायी हुँदैन । अझ अहिले त ‘स्वतन्त्र’ को हावा लागेको छ । त्यसमाथि नेपालको चुनाव प्रणाली नै यस्तो छ कि, ठूलो पार्टीका केपी ओलीलाई रवि लामिछानेको चिन्ता गरेर हिँड्नुपर्ने अवस्था छ । प्रचण्ड, शेरबहादुर देउवाहरूलाई राजेन्द्र लिङ्देनले उठाएका प्रश्नको जवाफ दिएर हिँड्नुपर्ने बाध्यता छ ।

यस्तै बाध्यता बाबुराम भट्टराईलाई पनि आइलाग्यो, जो आफूले रातो स्टीकर टाँसिहिँडेको माओवादी केन्द्रसँग मेलमिलाप नीति अँगाल्नुपर्ने नियतिमा एक फन्को घुमेर आइपुगेका छन् ।

यो एकै दिनको परिणति भने होइन । ३० वर्ष सहकार्य गरेका दुई नेताहरूबीच तिक्तता यति बढिसकेको थियो कि भट्टराईले माओवादी छाड्नु तीन दिनअघि बीबीसीसँग अन्तर्वार्ता दिँदै प्रचण्डले चुनौती दिएका थिए, ‘मैले बाबुरामजीलाई ३० वर्ष झेलें । कसैले एक वर्ष झेलेर देखाओस् ।’

संविधान जारी हुनेबित्तिकै भट्टराईले माओवादी विचारधाराको औचित्य सकिएको भन्दै पार्टी परित्याग गरे । उनीहरुबीच अब कुनै पनि हालतमा मिलजुल सम्भव छैन भन्ने प्रष्ट भएपछि पत्रकार नेत्र पन्थीले ‘डिभोर्सः प्रचण्ड र बाबुरामको’ पुस्तक नै लेखेका थिए ।

यो बीचमा सबथोक आ-आफ्नै गतिमा चलिरहेको थियो । अकस्मात् चुनाव आइदियो । उनीहरूले ‘विचारभन्दा माथि पार्टी’ भन्ने नीति अख्तियार गरेका छन् । भोट सत्य, अरु भ्रम ! त्यसैले याे नयाँ परिस्थितिमा बरु उनीहरुकाे छ वर्षे ‘डिभोर्स’ पछिको ‘प्याच अप’बारे नेत्रजीको नयाँ विश्लेषण पढ्न पाइएला, परन्तु यो चुनावमा पाँच वर्षअघिको एउटा रोचक दृश्य देख्न पाइने छैन । अघिल्लो चुनावमा ओली, प्रचण्डहरुले वाम गठबन्धन बनाउँदा बाबुराम किन ‘दक्षिणपन्थी कित्तामा गएको’ भन्दै पीताम्बर शर्मा, महेश मास्के, हरि रोका, कैलाशनाथ प्याकुरेल, विमल निभा, पूर्वगभर्नर दीपेन्द्र क्षेत्री, शरद वन्तलगायत बुद्धिजीवीहरूको एउटा समूहले प्रश्न उठाएको थियो ।

‘डा. भट्टराई मार्क्सवादी विचारधाराका पक्षधर मात्रै नरहेका होइनन्, उनका पछिल्ला गैरराजनीतिक र सिद्धान्तहीन मन्तव्यहरूबाट उनी अवसरवादको प्रतिनिधिपात्र बनेका छन् भन्ने हाम्रो ठम्याइ हो,’ वक्तव्यमा भनिएको थियाे, ‘गोरखाका पारखी जनताले यसप्रकारका अवसरवादीलाई पहिचान गरी सही निर्णय गर्ने हामीले अपेक्षा गरेका छौं ।’

त्यो समूहले समाजवाद उन्मुख देशमा भट्टराईको निर्णय गलत भएको भन्दै उनले भोट पाउने आधार नभएको निष्कर्ष निकालेको थियो । अनि  प्रचण्ड र ओली मिलेकाे अवस्ठामा चुनावपछि राजनीतिक अस्थिरता अन्त्य हुने र अन्तर्राष्ट्रिय ऐक्यबद्धताका ‘नयाँ आयाम उद्घाटित हुने’ दह्रो विश्वास व्यक्त गरेकाे थियाे ।

विगत पाँच वर्षमा सबका सब नेताहरुको क्रिया–प्रतिक्रिया यति छताछुल्ल भयो कि अन्तर्राष्ट्रिय ऐक्यबद्धताका ‘नयाँ आयाम उद्घाटित हुने’ अवस्था नै देखा परेन । त्यसैले  यसपालि भने त्यो बाैद्धिक समूहलाई पनि निश्चित दल या गठबन्धनका नाममा भोट माग्नुपर्ने झेउलो आइलाग्ने देखिँदैन । किनभने  आफूले छाेडेकाे मार्क्सवाद बाबुरामले फेरि ‘समात्ने’ भए । चुनाव आइसक्याे । अब त छाेड्ने कुरै छैन ।

हुन त  बाबुरामले केही अघि अर्कै प्रसंगमा ट्वीट गरेका थिए, ‘मियाँ बिबी राजी तो क्या करेगा काजी ?’ आशा गरौं, उनले त्यो ट्वीट माओवादीमा प्रचण्डपछिको बरियतामा रहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठतर्फ लक्षित गरेका होइनन् । अनि प्रचण्डसँगकाे नयाँ मधुमासबारे नयाँ बाैद्धिक वक्तव्यकाे प्रतीक्षा उनमा पक्कै नहाेला ।





Source link

HamroAwaj

2022-08-14 22:24:26

Leave a Comment