डेंगुको डरलाग्दो प्रकोप, महामारीकै रुप लिन सक्ने – HamroAwaj


३० साउन, काठमाडौं । काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको प्रकोप बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हरेक दिन बिहानैदेखि डेंगुका शंकास्पद बिरामी बहिरंग कक्ष (ओपीडी) लाइन लाग्ने गरेको छ ।

अन्य अस्पताल वा प्रयोगशालामा डेंगु संक्रमण पुष्टि भएपछि टेकु आकस्मिक कक्षमा भर्ना हुने चाप बढ्दो क्रममा छ । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार डेंगु संक्रमित १५ जना भर्ना भएका छन् । दैनिक रुपमा आकस्मिक कक्षमा ८–९ जना भर्नाका लागि पालो कुर्ने गर्छन् ।

‘पछिल्लो तीन–चार दिनमा डेंगु संक्रमितको केस ह्वातै बढेको छ’, सूचना अधिकारी गौतमले अनलाइखबरसँग भने, ‘एक हप्ता अगाडि काठमाडौं उपत्यका बाहिरका संक्रमित भर्ना हुन्थे । तर, अहिले काठमाडौंका मानिसमा संक्रमण बढ्दो छ ।’

ज्वरो आउने, असाध्यै टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने भएपछि डेंगुको लक्षण हो कि भन्दै बिरामी परीक्षणका लागि आउने गरेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले बताए । अस्पतालको बहिरंग कक्ष (ओपीडी)मा दैनिक ३०–४० जना डेंगुसँग मिल्ने लक्षण लिएर आउने गरेका छन् । जसमध्ये अधिकांशलाई डेंगु पुष्टि हुने गरेको छ ।

‘डेंगु व्यापक फैलँदो छ । एकातर्फ कोरोना बढ्दै छ । अर्कोतर्फ परिवारका सबै सदस्य डेंगु संक्रमित हुँदै गएको पाइएको छ’, डा. पुनले भने, ‘अहिले कोरोनाभन्दा पनि डेंगुले बढी दुःख दिइरहेको छ ।’

सामान्य लक्षण देखिएको तर जटिल अवस्था नभएका बिरामीहरुलाई सिटामोल र झोलिलो खाना खान सुझाव दिइएको उनी बताउँछन् । ‘धेरै व्यक्तिले कोरोना विरुद्धको खोप लगाएकाले संक्रमितमा बढी जटिलता भएको छैन’, डा. पुन भन्छन्, ‘तर, डेंगु संक्रमितलाई शारीरिक पीडा एकदमै धेरै हुन्छ । अहिले परिवार नै संक्रमित भएर अस्पताल आउने क्रम बढ्दो छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको (इडिसिडी) तथ्यांक अनुसार ६१ जिल्लामा डेंगुका संक्रमित भेटिएका छन् । गत माघदेखि १५ साउनसम्म १ हजार १२६ जना डेंगुबाट संक्रमित भएका छन् । तर, हालसम्म कसैको मृत्यु भने भएको छैन ।

डेंगुबाट सबैभन्दा प्रभावित लतितपुर जिल्ला हो । ललितपुरमा २६४, रुपदेन्हीमा २२५, काठमाडौंमा ८५, धादिङ ५८ र सिन्धुलीमा ४८ जनामा डेंगु पुष्टि भएको छ ।

डेंगुबाट संक्रमित भएकाहरु यो भन्दा बढी हुन सक्ने महाशाखाले जनाएको छ । किनकी यो डेंगुको शंका लागेर अस्पताल पुग्नेहरुको मात्र तथ्यांक हो । पछिल्लो दुई महिना (असार, साउन) मा डेंगु संक्रमितको संख्या ह्वातै बढेको महाशाखाका प्रमुख डा. चुम्मन लाल दास बताउँछन् ।

महाशाखाको तथ्यांक अनुसार गत माघमा १२, फागुनमा ३, चैत १५, वैशाख २५, जेठमा ९६, असारमा ४९९ र साउनमा ४५७ डेंगु संक्रमित भएका छन् । जसमध्ये डेंगुबाट सबैभन्दा बढी गत माघदेखि बागमतीमा ५१७ र लुम्बिनीमा ३९२ जना संक्रमित भएका छन् ।

डेंगुबाट प्रदेश नम्बर १ मा ८४ संक्रमित हुँदा गण्डकीमा प्रदेशमा ४८ जना छन् । त्यसैगरी, सुुदूरपश्चिम प्रदेशमा ४६ र मधेश प्रदेशमा २१ जनामा र सबैभन्दा कम डेंगु कर्णाली प्रदेशमा १८ जना संक्रमित भएका छन् ।

नेपालमा सन् २००४ मा डेंगु पुष्टि भएको थियो । सन् २०१० र २०१७ मा पनि धेरै संख्यामा डेंगुका बिरामी भेटिएका थिए । सन् २०१९ मा धरानबाट सुरु भएको डेंगुले महामारी नै ल्याएको थियो । त्यस वर्ष १८ हजारभन्दा बढी डेंगुबाट संक्रमित तथा ६ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

डेंगुको प्रकोप : कुन बर्ष कति ? (सन् २०१० देखि २०२२ सम्म)

बर्ष संक्रमित संख्या
२०१० ५२७
२०११ ७९
२०१२ १८३
२०१३ ६८७
२०१४ ३५६
२०१५ १३५
२०१६ १५२६
२०१७ २१११
२०१८ ८११
२०१९ १८०००
२०२० ५३०
२०२१ ५४०
२०२२ ११२६ (१५ साउन) सम्म

डेंगुको अहिलेसम्म नियन्त्रणको अवस्थामा रहेको इडिसिडी अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहाल बताउँछन् । तर, गत बर्षको तुलनामा संक्रमित संख्या बढेकोले प्रकोपको रुप लिनसक्ने उनको भनाइ छ ।

‘गत बर्ष ६ सयको हाराहारीमा संक्रमित संख्या थियो । यस बर्ष पानी परिरहेकाले कात्तिकसम्म संक्रमित संख्या बढ्ने आशंका छ’, दाहालले भने ।

डेंगु नियन्त्रणका लागि स्थानीय तहका स्वास्थ्य संयोजक तथा जिल्ला तथा प्रदेशका उच्च अधिकारीसँग समन्वयमा लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन सुरू भएको इडिसिडीले जनाएको छ ।

अहिले नै डेंगुको संक्रमण देखिनुले प्रकोपको रूप लिनसक्ने विज्ञको आंकलन छ । ‘सामान्यता काठमाडौं उपत्यकामा दशैं–तिहारको समयपछि डेंगु देखिने गरेको थियो । तर, सन् २०१९ पछि फरक अवस्था देखिएको छ’, डा. पुन भन्छन्, ‘ अहिले नै डेंगुले धेरै जनालाई आक्रान्त बनाएको छ । चाँडै नियन्त्रणमा नआउने हो भने प्रकोपको रूप लिन्छ ।’

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइन्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ ।

विशेष गरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन् ।

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला तीन/चार बर्षमा डेंगुको ‘आउट ब्रेक’ हुने बताउँछन् । हाल फैलिरहेको डेंगु कुन प्रकारको हो भन्ने अध्ययन हुन बाँकी रहेको महाशाखाले जनाएको छ । सन् २०१९ मा डेंगु २ ले महामारीको प्रकोप लिएको थियो ।

एडिस जातिका (एजिप्टाइ र एल्वौपेक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउँदा शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ । त्यसैगरी, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांशपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् ।

एडिज नामक लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्छ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले धेरै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । यसको पोथी जातको लामखुट्टेले अण्डा पार्ने बेलामा टोक्ने गर्छ ।

एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जाने डा. बाँस्कोटा बताउँछन् । ‘डेंगु जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । एक पटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ’, डा. बाँस्कोटा भन्छन् ।

संक्रमितमध्ये १० प्रतिशतमा मात्र लक्षण

चिकित्सकहरुका अनुसार १० हजार मानिसलाई डेंगु भयो भने १ हजारमा मात्र लक्षण देखा पर्छन् । बाँकी ९ हजार मानिसमा लामखुट्टेलाई इन्फेट गर्ने क्षमता हुन सक्छ । सुरुमा भाइरस छिरेपछि शरीरमा रोगसँग लड्ने क्षमता (एन्टिबडी) नबन्दासम्मको समयमा लामखुट्टेले टोकेमा शरीरको भाइरसले लामखुट्टेमा संक्रमण हुन्छ । एक पटक लामखुट्टे संक्रमित भएपछि उसका वंशजहरूमा समेत संक्रमण हुने गर्छ ।

डा. बाँस्कोटाका अनुसार लक्षण देखिएका एक हजारमा पनि ५ सयजति व्यक्तिमा भाइरल ज्वरोको जस्तो लक्षण देखिन्छन् । बाँकी ५ सय जनालाई डेंगु ज्वरो आउँछ । जसमा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, मांसपेशी र हडी करकरी खाने, जोनी दुख्ने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने र ज्वरो घटेको २–४ दिनमा शरीर चिलाउने र राता दानाहरू आउने हुन्छ ।

यिनीहरूमा सानो संख्यामा हेमोह्रेजिक ज्वरो आउन सक्छ र तिनीहरूमा केही मानिस रक्तनलीबाट पनि बाहिर निस्केर फोक्सो र पेटमा पानी जमेर रक्तचाप घट्न सक्छ ।

डेंगु लाग्दा देखिने जटिल लक्षण

डेंगु संक्रमित व्यक्तिमा श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगेजस्तो हुने, कालो खालको दिसा आउने, उल्टी हुँदा रगत देखिने, बिरामी मूच्र्छा हुनेलगायत लक्षण देखिएमा जटिल हो भनेर चिन्न सकिन्छ । यस्ता लक्षणका संक्रमितलाई भर्ना गरेर उपचार गर्नु जरुरी हुने बाँस्कोटा बताउँछन् ।

खासमा डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहँदा संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिने उनको भनाइ छ ।

कसरी बच्ने ?

डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ ।

पानी राख्ने भाँडाहरु जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्नेगरी राम्ररी छोपेर राखौं। साथै पानी जम्नसक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्नुपर्छ ।

यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।

त्यसैगरी, कोठाभित्र लामखुट्टे भगाउने धुप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउनुपर्छ । पूरै शरीर ढाक्ने लुगा उपयुक्त हुन्छ । लामखुट्टेले फुल पार्नसक्ने सम्भावित घर र विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाडाहरु खोजी खोजी सफा गर्नुपर्छ । लामखुट्टेको फुल नष्ट गर्नुपर्ने हुन्छ ।





Source link

HamroAwaj

2022-08-16 20:53:58

Leave a Comment