‘कृत्रिम निक्षेप’को असर : एक महिनामै बैंकबाट १ खर्ब २५ अर्ब गायब – HamroAwaj


२ भदौ, काठमाडौं । साउन महिनाभरिमा बैंकहरूबाट लगातार १ खर्ब २५ अर्ब निक्षेप हरायो । यो निक्षेप कर्जामा पनि गएको छैन । त्यसो भए कहाँ गयो त ? बैंकिङ क्षेत्रका जानकारहरु ‘कृत्रिम निक्षेप’का कारण यस्तो भयो भन्छन् ।

निक्षेप ‘हराएपछि’ बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतबाट माथि लाग्न लागेको छ । असार मसान्तमा राष्ट्र बैंकले तोकेको सिमाभित्र कर्जा-निक्षेप अनुपात (सीडी) रेसियो कायम गरेका बैंकहरुको निक्षेप लगातार घटेसँगै कर्जा विस्तार नगर्दा पनि सीडी रेसियो नाघेर राष्ट्र बैंकले कारवाही गर्ने दवाबमा परेका छन् ।

असार मसान्तमा २६ वटै वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशतको सीमाभित्र आएकोमा साउनमा करिब एक दर्जन बैंकको सीडी रेसियो ९० प्रतिशत माथि पुगेको छ । असारमा ८६ प्रतिशतमा झरको औसत सीडी रेसियो साउन लागेपछि लगातार बढेर ८८ प्रतिशतभन्दा माथि पुगेको छ । ३१ साउनको बैंकिङ क्षेत्रको औसत सीडी रेसियो ८८.०७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विगतका वर्षहरुमा पनि साउन महिनामा बैंकहरुको निक्षेप घट्ने गरेको थियो । गत आव २०७८/७८९ मा साउनमा निक्षेपको गिरावट अघिल्ला वर्षको तुलनामा बढ्न पुग्यो ।  चालु आवको पहिलो महिनामा १ खर्ब २५ अर्ब निक्षेप बैंकबाट बाहिरिएको छ ।

२०७९ असार मसान्तमा बैंकिङ प्रणालीबाट १ खर्ब २५ अर्ब  निक्षेप बाहिरिएको राष्ट्र बैंकको तथ्यांकले  देखाउँछ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले प्रकाशित गरेको तथ्यांकअनुसार बैंकहरुको कुल निक्षेप ५१ खर्ब ५९ अर्ब पुगेको थियो । तर, राष्ट्र बैंककै वेबसाइटमा प्रकाशित निक्षेपको तथ्यांक हेर्दा ३१ साउन ५० खर्ब ३४ अर्ब झरेको छ ।

३० साउनमा उक्त तथ्यांक ५० खर्ब १९ अर्बसम्म झरेकोमा ३१ साउनमा पुग्दा एकै दिने १५ अर्ब निक्षेप बढेको राष्ट्र बैंकको तथ्यांक छ । चालु आवमा मात्रै हैन विगतका वर्षमा पनि साउनमा निक्षेप घट्ने गरेको देखिन्छ । गत आव २०७८/७९ मा पनि साउन महिनामा बैंकहरुको निक्षेप ७४ अर्ब रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा हेर्न सकिन्छ ।  २०७८ असार मसान्तमा ४७ खर्ब ४० अर्ब पुगेको कुल निक्षेप साउन अन्तिममा ४६ खर्ब ६६ अर्बसम्म झरेको थियो ।

नेपाल बैंकर्स संघको तथ्यांक हेर्ने हो भने हरेक वर्ष साउनमा निक्षेपमा सामान्य गिरावट हुने गरेको देखिन्छ । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको पहिलो महिनामा निक्षेपको गिरावट धेरै उच्च रहेको देखिन्छ ।

वाणिज्य बैंकहरुको  आर्थिक वर्ष २०७५/०७६  को साउन महिनामा  १५ अर्बले घटेको निक्षेप आव २०७६/०७७ को साउनमा २३ अर्बले घटेको नेपाल बैंकर्स संघले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ को साउन महिनामा ८ अर्बले र २०७८/०७९ ७८ अर्ब घट्दा चालु आवको पहिलो महिनामा १०७ अर्बले वाणिज्य बैंकहरुकेा निक्षेप घटेको देखिएको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार २०७९ असारमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब पुगेकोमा २७ साउनमा ४४ खर्ब २१ अर्बमा झरेको थियो । तर, ३१ साउनमा वाणिजय बैंकहरुको निक्षेप केही बढेर ४४ खर्ब ३५ अर्ब पुगेको  राष्ट्र बैंकले जनाएको छ । ३० साउनसम्म पनि ४४ खर्ब  २१ अर्ब रहेको निक्षेप ३१ साउनमा ४४ खर्ब  ३४ अर्ब  पुगेको छ ।

किन घट्दै बैंकहरुको निक्षेप ?

नेपाल बैंकर्स संघको अध्यक्ष अनिल उपाध्याय राजश्वको रुपमा सरकारको सञ्चित कोषमा बैंकहरुबाट निक्षेप घटेर जम्मा हुने तर, खर्च नहुँदा आउने स्रोत माध्यम नभएर निक्षेप घटेको देखिएको बताउँछन् ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको पहिलो महिनामा करिब ८० अर्ब राजस्व संकलन गरेको छ । सोही अवधिमा खर्च भने २२ अर्ब हाराहारी मात्रै रहेको छ । यही सरकारको राजश्व संकलन र खर्चबीचको ठूलो अन्तरले गर्दा बैंकहरुको निक्षेप प्रभावित भएको बैंकर्स संघका अध्यक्ष उपाध्यायले बताए ।

‘राजस्व भुक्तानी भएपनि निक्षेप पनि आउँथ्यो र त्यसले केहि घटेपनि सन्तुलित हुन्थ्यो,’ उनले भने, ‘यो वर्ष भने आउन क्रम बन्द जस्तै छ, तर, राजस्व तिर्न निक्षेप बाहिरिरहेको छ । जसले गर्दा निक्षेपमा उच्च गिरावट भयो ।’

उनको भनाइमा पुर्व बैंकर भुवन दाहाल पनि सहमत देखिन्छन् । सरकारको सञ्चित कोषमा ९१ अर्ब जम्मा हुँदा खर्च भने २२ अर्ब मात्रै रहेको र त्यसले गर्दा निक्षेप घटेको उनले बताए । यस्तै असार मसान्तमा राष्ट्र बैंकले तोकेको सीडी रेसियो व्यवस्थापन गर्न बैंकहरुले कृतिम निक्षेप सिर्जना गरेको हुनेसक्ने उनले बताए ।

असार मसान्तमा राष्ट्र बैंकले तोकेको सीडी रेसियो व्यवस्थापन गर्न बैंकहरुले २० अर्ब जति कृतिम निक्षेप सिर्जना गरेको स्रोतको दाबी छ । बैंकहरुले अन्तरबैंक सापटी लिएर त्यसलाई निक्षेप देखाएको हुनसक्नेमा पुर्व बैंकर दाहाल पनि बताउँछन् । त्यस्तो रकम केही भएपनि ठूला मात्रामा भने हुन नसक्ने उनको तर्क छ ।

यता राष्ट्र बैंककै अधिकारीहरू भने असारमा सीडी रेसियो व्यवस्थापन गर्न सिर्जना भएको निक्षेप,  साथै  सीडी व्यवस्थापन गर्न सहकारीबाट पनि बैंकहरुले ल्याएको निक्षेप फिर्ता जाने जस्ता कारणले पनि निक्षेप घटेको बताउँछन् ।

यस्तै असारमा स्थानीय तहले खर्च गर्न नसकेकेा रकममध्ये निश्चित प्रतिशत तीनै तहको सरकारको नाममा रहने संघीय विभाज्य कोषमा जम्ान हुने र त्यो रकम २ भदौपछि मात्रै फकुवा हुने हुँदा  स्थानीय तहको संञ्चित कोषमा रहेको रकम घट्दा पनि निक्षेप प्रभावित भएको हुनेसक्ने राष्ट्र बैंकका एक अधिकारीले बताए ।

त्यस्तै असमारमा सरकारले भुक्तानी गरेको ठुलो निर्माण व्यवसायीलाई असारमा कर्जा नतिरि साउन लागेपछि मात्रै भुक्तानी गर्न लगाउन, स्थानीय तहलाई असारमा गर्नुपर्ने भुक्तानी साउनमा मात्रै  गर्ने जस्ता कार्यले पनि साउनको सुरुमा बैंकबाट ठूलो मात्रामा निक्षेप घट्ने गरेको देखिएको राष्ट्र बैंकका ती अधिकारीले बताए ।

यसमा पूर्व बैंकर भुवन दाहाल पनि सहमत देखिन्छन् । बैंकका शाखा प्रबन्धकले आफ्नो पफर्मेन्स राम्रो देखाउन असार सरकारी भुक्तानीपछि रकम जम्मा हुने तर, कर्जा भुक्तानी भने साउन लागेपछि मात्रै गर्न लगाउने गरेको उनले बताए । असारका तुलनामा साउनको पहिलो सातामा विगत वर्षदेखि नै निक्षेप र कर्जा दुबै घट्नुको प्रमुख कारण यही रहेको उनले बताए । यस्तै कतिपय स्थानीय तहको भुक्तानी नै बैंकका स्थानीय तहको शाखाले असार अन्तिमबाट केही दिन पछाडी लगेर मात्रै भुक्तानी गराउने गरेको उनले बताए ।

राष्ट्र बैंककै कतिपय अधिकारीहरू भने चुनाव नजिक आउँदै गर्दा त्यसले गर्दा पनि प्रणालीबाट पैससा बाहिरिन लागेको हुनसक्ने बताउँछन् । चुनावमा यसरी पैसा बाहिरिनु गलत भएपनि यसमा केही गर्न नसकिने उनीहरुको तर्क छ । अहिले चुनावको लागि पैसा बाहिरिए पनि चुनावपछि प्रणालीमा आउने हुनाले केही महिना तरलता समस्या भएपनि ठूलो असर नहुने उनले बताए ।

बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय नेपाल आयल निगमले  साउनमा पेट्रोलियम पदार्थ खरिदको भुक्तानी गरेकोले पनि निक्षेप घटेको बताउँछन् । साउनमा निगमले १६ अर्ब रुपैयाँ भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गरेको छ । यस्तै चाडपर्व लक्षित गर्दै सर्वसाधारण त्यसको जोहामा लाग्ने व्यापारीले सामान स्टक गर्ने जस्ता गतिविधिले पनि निक्षेप केही बाहिरिएको हुनेसक्ने बैंकर्स संघका अध्यक्ष उपाध्ययको तर्क छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पोख्रेल बैंकहरुको अन्तर बैंक कारोबार परिपक्व हुने, राष्ट्र बैंकबाट लिएको तरलता सुविधा पनि परिपक्व हुँदै जाँदा त्यसबाट सिर्जना भएका केही निक्षेपहरु घटेको बताउँछन् । यस्तो स्रोतलाई बैंकहरुले निक्षेप नै नभने पनि वित्तीय स्रोत भएकोले त्यसले कुनै कुनै माध्यमबाट त्यसमा केही स्रोत गणना गरेको हुनसक्ने उनको तर्क छ ।

‘आर्टिफिसियल’ निक्षेप देखाएको र त्यो घटेसँगै निक्षेप घटेको भनेर आइरहेको भएपनि त्यस्तो हुन नसक्ने उनले बताए । यद्यपी तरलता व्यवस्थापन गर्न लिएको स्रोतलाई निक्षेपमा गणना गरेको तर, अहिले त्यो अवधि पुरा हुँदै जाँदा निक्षेप घटेको देखिएको हुनसक्ने उनको तर्क छ ।





Source link

HamroAwaj

2022-08-19 10:59:53

Leave a Comment