त्रिवि केन्द्रीय विभागहरूमा विद्यार्थीको खडेरी – HamroAwaj


३ भदौ, काठमाडौं । नेपालको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि)का केन्द्रीय विभागहरूमा नेपालभरबाट विद्यार्थी पढ्न आउँछन् । त्रिविले उच्च शिक्षाको करिब ८० प्रतिशत विद्यार्थी धानेको छ । तर, पछिल्लो समय त्रिविमा विद्यार्थी संख्या अत्यन्तै कम हुँदै गएको देखिन्छ ।

त्रिवि योजना निर्देशनालयका प्रमुख ध्रुवकुमार गौतम केही संकायमा विद्यार्थी न्यून भएपनि समग्र संख्यामा प्रभाव नपरेको बताउँछन् । ‘कुनै विभाग वा विषयमा विद्यार्थी कम हुनु स्वाभाविकै हो’ उनी भन्छन्, ‘समयअनुसार विषयको महत्व, आवश्यकता वा चाहनाले विद्यार्थी संख्या घटबढ हुन्छ । एकातिर घट्दा अर्कोतिर बढेको हुन्छ ।’

विभाग प्रमुख र प्राध्यापकहरू भने वार्षिक प्रणालीबाट सेमेष्टरमा गएपछि सबै विषयमा विद्यार्थी घटेको बताउँछन् ।

सामान्यतः सेमेष्टर प्रणालीमा १० जनाभन्दा कम विद्यार्थी भर्ना नगर्ने नीति त्रिविले लिएको छ । तर कुनै पनि विभागमा पर्याप्त स्थायी शिक्षकहरू छन् र विद्यार्थी नभएर काम नै नपाउने अवस्थामा छन् भने चाहिं १० जना भन्दा कम विद्यार्थी पनि भर्ना गर्न सकिनेछ । १० जनाभन्दा कम विद्यार्थी भएका विभागलाई आंशिक शिक्षक राख्न नपाउने व्यवस्था छ ।

तर, त्रिविका कतिपय विभागमा जम्मा विद्यार्थी संख्या एक अंकमा र कुनै सेमेष्टरमा शून्य अवस्थामा छन् ।

संस्कृत र भाषा विज्ञान

विद्यार्थी कम भएको विभागमध्ये संस्कृत केन्द्रीय विभाग एक हो । तर, विभाग प्रमुख डा.माधव शर्मा भन्छन्, ‘पहिला विद्यार्थी कम थिए, अहिले बढ्न थालेको हाम्रो बुझाइ हो ।’

केही वर्ष अगाडिसम्म उपत्यकाका पाँच वटा क्याम्पसमा संस्कृत पढाइ हुने गरेकोमा अहिले त्रिचन्द्र र पद्मकन्या क्याम्पसमा मात्रै हुन्छ । त्यहाँ पनि पढाइ नियमित भने छैन । ‘विद्यालय तहमा संस्कृत विषय राखिएको छैन’ विभाग प्रमुख डा. शर्मा भन्छन्, ‘जरा काटेपछि रूख हराभरा हुने कल्पना गर्नु नै बेकार हुन्छ ।’

त्यति हुँदाहुँदै पनि मानिसले संस्कृत पढ्नु/पढाउनुपर्ने विषय रहेछ भन्ने बुझ्न थालेको उनले बताए । त्यही चेतनाको कारण आधार कमजोर हुँदाहुँदै पनि प्राविधिक रूपमा मिल्ने भए पढ्छु भन्ने विद्यार्थी बढिरहेको बताउँदै डा. शर्मा भन्छन्, ‘केही वर्षयता संस्कृतप्रति मानिसको रुचि बढेकै छ ।’

संस्कृत आधार नभएकैले गर्दा विद्यार्थी संख्या कम भएको उनको भनाइ छ । गत वर्ष २०७८(पहिलो सेमेष्टर) मा ११जना विद्यार्थी भर्ना भएपनि परीक्षा एक जनाले मात्रै दिए ।अहिले दोस्रो सेमेष्टरमा भर्ना भएर कक्षा सुरु हुनुपर्नेमा ती एक जना पनि आएका छैनन् ।

चौथो सेमेष्टरका तीन विद्यार्थी भने सुरुदेखि नै नियमित छन् ।यीमध्ये एक जना विदेशी छन् । विभाग प्रमुखसहित चार जना शिक्षक छन् ।

भाषा विज्ञान केन्द्रीय विभागमा पनि अहिले विद्यार्थी संख्या घटेको छ । सेमेष्टर प्रणालीमा नियमित कक्षा धाउनुपर्ने, प्रयोगात्मक कामहरू गर्नुपर्ने भएकोले विद्यार्थी घटेको विभाग प्रमुख प्रा.डा.बलराम प्रसाईं बताउँछन् । ‘सेमेष्टर प्रणाली सुरु भएपछि विद्यार्थीह्वात्तै घटे’ उनी भन्छन्, ‘भाषा विज्ञान अरू विषय भन्दा गाह्रो भएकोले काम गर्दै पढ्न पनि समस्या हुन्छ ।’

सरकारले भाषा विषयमा दरबन्दी नखोलेर भोलि रोजगार नहुने अवस्था सिर्जना गरेकाले पनि विद्यार्थी कम भएको प्रा.डा. प्रसाईंको बुझाइ छ ।

अहिले धेरै स्थानीय तहले विद्यालय तहमा मातृभाषा पढाउन थालेका छन् । त्यसका लागि भाषा शिक्षक र अरूभाषाहरूको समेत अध्ययन गरेर पाठ्यक्रम, पाठ्यपुस्तक तयार गरिदिने भाषा विज्ञान पढेको जनशक्ति चाहिएको छ । तर, सरकारले त्यसमा दरबन्दी नखोल्दा भाषा विज्ञान पढ्न आउने विद्यार्थी घटिरहेको प्रा.डा. प्रसाईं बताउँछन् ।

प्रवेश परीक्षा दिन, भर्ना हुन आए पनि नियमित पढ्न र प्रयोगात्मक कक्षामा सहभागी हुन कामकाजीलाई यसै पनि गाह्रो हुन्छ । अहिले स्नातकोत्तर तहको दोस्रो सेमेष्टरमा तीन जना विद्यार्थी अध्ययनरत छन् ।

अघिल्लो सेमेष्टरमा भर्ना भएकामध्ये केहीले व्यावहारिक कारण र केहीले बिरामी भएर पढाइ छाडे । अरू सेमेष्टरमा विद्यार्थी छैनन् । एमफिल र पीएचडीमा ७ जना छन् । शिक्षक भने ११ जना छन् ।

सरकारले भाषा विज्ञानमा लेक्चरर मात्र, त्यो पनि सीमित संख्यामा माग्दा यो विषय रोजगारमुखी नदेखिएर विद्यार्थीमा रुचि घटेको भाषा विज्ञान केन्द्रीय विभाग प्रमुख प्रा.डा. प्रसाईं बताउँछन् । उनी भन्छन्, ‘अहिले सबभन्दा धेरै खाँचो भाषा विज्ञान पढेकाहरूको छ, तर सरकारले यसमा ध्यान नदिंदा समस्या भएको छ ।’

नेपाली, हिन्दी र बौद्ध अध्ययन 

नेपाली केन्द्रीय विभागमा पनि विद्यार्थी एकदमै न्यून छन् । कुनै समय ४०० सम्म विद्यार्थी हुने गरेकोमा अहिले मुश्किलले दुई अंक पुग्ने गरेको विभाग प्रमुख प्रा.डा. कृष्णप्रसाद घिमिरे बताउँछन् । ‘विद्यार्थी संख्या घट्नुको मुख्य कारण सेमेष्टर प्रणाली र दिउँसोको कक्षा हुनुका साथै लोक सेवा आयोगले नेपाली विषय सम्बन्धी प्रश्न घटाउनु हो’, उनले भने ।

२० शिक्षक रहेको नेपाली स्नातकोत्तर तह दोस्रो र चौथो सेमेष्टरमा अहिले १०–१० जना विद्यार्थी छन् । एमफिलमा भने ३५ विद्यार्थी छन् । उच्च मावि तहमा प्राचार्य हुन एमफिल अनिवार्य भएकाले यसमा विद्यार्थी संख्या तुलनात्मक रूपमा राम्रो रहेको प्रा.डा. घिमिरे बताउँछन् ।

हिन्दी केन्द्रीय विभागको पहिलो सेमेष्टरमा ८ विद्यार्थी छन् । दोस्रो सेमेष्टरमा दुई जना, चौथो सेमेष्टरमा चार जना र एमफिलमा दुई छन् । विभाग प्रमुख डा.सन्जिता बर्मा अहिले रोज्न पाउने विषय धेरै भएको र सेमेष्टर प्रणालीका कारण विद्यार्थी घटेको बताउँछिन् । हिन्दीमा मात्रै नभएर समग्र मानविकी संकायमै विद्यार्थी संख्या घटेको उनले बताइन् ।

हिन्दी केन्द्रीय विभागमा प्रमुख डा.बर्मासहित पाँच शिक्षक छन् । यीमध्ये दुई जना आंशिक छन् ।

बौद्ध अध्ययन केन्द्रीय विभागमा भने विद्यार्थी संख्या ठिकठिकै रहेको विभाग प्रमुख उप–प्राध्यापक वेदराज ज्ञवाली बताउँछन् । उनका अनुसार, एमए दोस्रो सेमेष्टरमा १४, तेस्रोमा ११, चौथो सेमेष्टरमा १३ र पीएचडीमा २३ जना विद्यार्थी छन् ।

विभागमा ज्ञवालीसहित ६ जना स्थायी र ७ जना आंशिक शिक्षक छन् ।

भूगोल र शिक्षा संकायका ६ विभाग

भूगोल केन्द्रीय विभागमा दोस्रो सेमेष्टरमा मात्र दुई जना विद्यार्थी छन् । दुई जनाले चौथो सेमेष्टरको परीक्षा दिएका छन् ।

पुरानो विषय भएकोले पनि भूगोलमा आकर्षण घट्दै गएको विभाग प्रमुख सह–प्राध्यापक त्रिलोकसिंह थापा बताउँछन् । उनका अनुसार, पहिले भूगोल पढ्न बीएडमा मुख्य विषय भूगोल लिएको हुनुपर्थ्यो, अहिले जुनसुकै विषयमा बीएड गरेकाले भूगोल पढ्न पाइन्छ । धेरैलाई यो जानकारी नहुँदा पनि विद्यार्थी नआएको थापा बताउँछन् ।

कुल दुई विद्यार्थी भएको भूगोल विभागमा १२ जना शिक्षक छन् ।

विद्यार्थी कम भएको त्रिविको अर्को संकाय शिक्षा पनि हो । शिक्षा संकायका विभिन्न केन्द्रीय विभागमध्ये ६ वटामा विद्यार्थी संख्या अत्यन्तै कम छन् ।

शिक्षा योजना तथा व्यवस्थापन विभागमा तीन जना विद्यार्थी छन् । तीन जनाले तेस्रो सेमेष्टरमा अध्ययन गरिरहेका छन् ।

गत वर्ष पहिलो सेमेष्टरमा तीन जना आएकामा न्यूनतम १० जनाहुनुपर्ने भन्ने भएपछि भर्ना नगरेको एक शिक्षकले बताए। त्यसैले अहिले दोस्रो सेमेष्टर विद्यार्थीविहीन भएको उनको भनाइ छ ।

विद्यार्थी कम हुनुको मुख्य कारण सेमेष्टर प्रणाली, पायक पर्ने कलेजहरूमा पनि पढ्न पाउने अवसर र रोजगारी नपाउने डर भएको ती शिक्षक बताउँछन् । विभागमा शिक्षक भने ८ जना छन् ।

दुई विद्यार्थी ८ शिक्षक

पाठ्यक्रम तथा मूल्यांकन विभागमा तेस्रो सेमेष्टरमा दुई विद्यार्थी छन्, जसलाई ८ जना शिक्षकले पढाइरहेका छन् । ऐच्छिक विषय भएकोले विद्यार्थी कम भएको विभाग प्रमुख सह–प्राध्यापक शिवराज बडुले बताए ।

‘स्पेसलाइजेसनका विषयहरूमा सामान्यतः कम विद्यार्थी हुन्छन्, अहिले झन् घट्दै गएका छन्’ उनी भन्छन्, ‘सामुदायिक क्याम्पसहरूको समस्या अहिले यस्तै छ ।’

ताहाचल, सानोठिमी लगायत क्याम्पसमा पनि यो विषयको पढाइ हुने भएकोले केन्द्रीय विभागमा विद्यार्थी कम भएको उनको भनाइ छ ।

इतिहास शिक्षामा जम्मा तीन जना विद्यार्थी छन् । सबै विद्यार्थी तेस्रो सेमेष्टरको परीक्षा दिएर चौथो सेमेष्टरमा जाने तयारीमा छन् ।तीन विद्यार्थीका लागि चार शिक्षक छन् ।

शिक्षा संकायकै स्वास्थ्य तथा जनसंख्या विभागको तेस्रो सेमेष्टरमा सात विद्यार्थी छन् ।उनीहरूलाई ११ जना शिक्षकले पढाइरहेका छन् । यसैगरी, शारीरिक शिक्षा विभागको तेस्रो सेमेष्टरमा पाँच विद्यार्थीलाई चार जना शिक्षकले पढाइरहेका छन् ।

अंग्रेजी शिक्षा विभाग, गणित केन्द्रीय शिक्षा विभाग, नेपाली केन्द्रीय शिक्षा विभागमा भने विद्यार्थी संख्या १०० हाराहारी छ ।

शिक्षाको आधार विभागमा भने शिक्षक संख्या विद्यार्थीको तुलनामा कम छ। यो विभागमा शिक्षाको पेशागत अर्थात् अनिवार्य विषयहरूको पढाइ हुन्छ ।

‘पेशागत कोर्ष’ भएकोले यो सबै शिक्षा विभागका विद्यार्थीले पढ्नैपर्छ । पहिलो, दोस्रो, तेस्रो सेमेष्टरमा दुई–दुई वटा विषय र चौथोमा एक विषय पढ्नपर्छ । विद्यार्थी संख्या अनुसार १८ शिक्षक आवश्यकता पर्नेमा ११ जना मात्रछन् ।

यो विभागमा स्थायी ९र आंशिक दुई जनाले अतिरिक्त कार्यभार लिएर पढाइरहेका छन् । इपिएम र करिकुलम पढेर कक्षा दशभन्दा तल पढाउने विषय नै छैन । ११ कक्षादेखि माथिल्लो कक्षामा मात्रै पढाउन पाउने विषय छन् ।

एक आंशिक शिक्षक भन्छन्, ‘विद्यालय तहदेखिकै पढाउने अवसर पाउने भए विद्यार्थी बढ्थे होलान् । अरू विषयहरूमा त्यस्तै छ । यी दुई विषय पढ्दा ११ कक्षादेखि माथिल्लो कक्षामा मात्रै पढाउन पाउने विषय छन् ।’

इपिएम र करिकुलम पढेर अनिवार्य एन्टरडक्सन टु एजुकेसन, इन्स्ट्रक्सन एभालुएसन, केयर चाइल्ड डेभलपमेन्ट, एजुकेशन एन्ड डेभलपमेन्ट जस्ता विषय पढाउन पाउँछन् । जिल्ला वा दुर्गम क्षेत्रका क्याम्पसहरूमा अंग्रेजी, गणित, नेपाली विषय नराख्ने हुँदा केन्द्रीय विभागमा पढ्न आउनुपर्ने स्थिति भएकोले विद्यार्थी बढी हुने उनको भनाइ छ ।

केन्द्रीय विभागमा विद्यार्थी संख्या कम हुनुको मुख्य कारण चाहिनेभन्दा धेरै क्याम्पसमा सम्बन्धन दिनु र सरकारले दरबन्दी नखोल्दा जागिर नपाउने डर भएको शिक्षा संकायका डीन प्रा.डा.चित्रबहादुर बुढाथोकी बताउँछन् ।

उनी भन्छन्, ‘मुख्य कुरा, शिक्षा पढ्ने भनेकै शिक्षक बन्नको लागि हो । तर, सरकारले दरबन्दी नै नखोलेर पढाउन नपाउने स्थिति बनाएको छ ।’

कतिपय विभाग शिक्षा, भूगोल, इतिहासलगायत विषय शिक्षा संकायसँग सम्बन्धित नहुँदा पनि शिक्षा संकाय अन्तर्गत खोलिएको उनी बताउँछन् । ती विषयलाई प्रतिस्थापन गर्न सामाजिक अध्ययन सुरु गरेको डीन प्रा.डा.बुढाथोकीले बताए ।

पुराना भएका ती विषय पढेर रोजगारी पनि नपाउने हुँदा विद्यालय तहको पाठ्यक्रम अनुसार सामाजिक अध्ययन पढाउन थालिएको उनले बताए । विद्यालय तहमा सामाजिक अध्ययनलाई अनिवार्य बनाइएको छ।

शारीरिक शिक्षाका विद्यार्थी स्पोर्टस् साइन्सतिर जान थालेको र स्वास्थ्यमा पनि विद्यार्थी कम भएकोले स्वास्थ्य र शारीरिकलाई समायोजन गरेर नयाँ पाठ्यक्रम बनाउने तयारी भइरहेको जानकारी प्रा.डा. बुढाथोकीले दिए ।

उनका अनुसार, गत वर्षदेखि पढाइ सुरु गरिएको सामाजिक अध्ययनमा करिब १०० विद्यार्थी छन् । विद्यार्थी कम भएका यी विभागहरू विद्यार्थी हुन्जेल सञ्चालन हुने र विस्तारै खारेज हुँदै जाने कार्यालयले जनाएको छ । शिक्षा, भूगोल, राजनीतिशास्त्र अन्तर्गतकै शिक्षकहरूले सामाजिक अध्ययन अध्यापन गरिरहेका छन् ।

इतिहास विभागमा प्रगति

मानविकी संकायको इतिहास विभागमा भने विद्यार्थी बढ्न थालेको देखिएको छ । अहिले पहिलो सेमेष्टरमा १७, चौथो सेमेष्टरमा ९ र पीएचडीमा १५ जना विद्यार्थी छन् ।

इतिहास केन्द्रीय विभाग प्रमुख प्रा.डा. घनश्याम भट्टराईले पछिल्लो समय इतिहासमा विद्यार्थीको रुचि बढेको बताए । आगामी वर्ष विद्यार्थी संख्या अझ बढ्ने उनको अनुमान छ ।

अहिले मानविकी संकायको स्नातक तहमा नेपाल अध्ययन अनिवार्य विषय थप भएको छ । यसमा धेरै इतिहास पढ्नुपर्छ । व्यवस्थापन संकायको बीबीए र बीआईएममा पनि नेपालको इतिहास र राजनीति विषय अनिवार्य बनाइएको छ ।यसले गर्दा इतिहास विषयको स्नातकोत्तर तहमा आकर्षण बढेको प्रा.डा.भट्टराई बताउँछन् ।

‘यी विषयहरू अनिवार्य गर्नासाथ रोजगारी पनि सिर्जना भयो’ उनले भने, ‘त्यसैले आउँदो वर्ष इतिहासमा विद्यार्थी संख्या अझ बढ्छ ।’

केही वर्षअघि एउटा भर्ना वर्षमा इतिहास विषयमा भर्ना शून्य भएको थियो । त्यसपछि पत्रकार सम्मेलनलगायत इतिहास विषयको महत्वबारे बृहत् छलफल चलाएर विद्यार्थी बढाएको विभाग प्रमुख प्रा.डा.भट्टराई बताउँछन् ।

केन्द्रीय विभागहरूको पुनर्संरचना

विद्यार्थीभन्दा बढी शिक्षक भएकाले त्रिवि केन्द्रीय विभागहरूको पुनर्संरचना हुनुपर्ने कुरा उठ्ने गरेको छ । शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला त्रिभुवन विश्वविद्यालय पुनर्संरचना गरेर स्तरीय बनाउनुपर्ने सुझाव दिंदै आएको बताउँछन् ।

प्रा.डा.विद्यानाथ कोइराला

‘त्रिवि साह्रै ठूलो भयो, त्यसैले त्रिवि पूर्वाञ्चल, त्रिवि मध्यमाञ्चल बनाऔं र बोर्ड अफ डाइरेक्टरबाट सञ्चालन गरौं भनेको धेरै वर्ष भइसक्यो’, उनी भन्छन् ।

नेपाली विभाग प्रमुख प्रा.डा. कृष्णप्रसाद घिमिरे भने पुनर्संरचनाभन्दा व्यवस्थापन गरेर अघि बढ्नुपर्ने बताउँछन् । त्रिविका कार्यक्रमहरू आवश्यकता अनुसार सम्बन्धित क्याम्पसहरूबीच व्यवस्थापन गरेर लैजानुपर्ने उनको मत छ । उदाहरण दिंदै भन्छन्, ‘रत्नराज्य र त्रिचन्द्रको विद्यार्थी एक ठाउँमा राखेर पढाउन सकिन्छ । विद्यार्थी बढे फेरि सम्बन्धित क्याम्पसमै सार्न सकियो ।’

अहिले उपत्यकाका ७ वटा क्याम्पसमा नेपाली स्नातकोत्तर तहको पढाइ हुन्छ । ती सबैमा विद्यार्थीसंख्या न्यून छ। ती विद्यार्थीलाई समस्या नहुने गरी एउटै क्याम्पसमा पढाउन सकिने गरी व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

‘रत्नराज्य र त्रिचन्द्रका विद्यार्थीलाई कुनै एक क्याम्पसमा पढाउन सकिन्छ’ प्रा.डा. घिमिरे भन्छन्, ‘यसो गर्न सके भएका जनशक्ति अर्को सिर्जनात्मक काममा लगाउन सकिन्छ । त्यसो गर्दा विद्यार्थी बढे भने फेरि सम्बन्धित क्याम्पसमै पढाउन सकिन्छ ।’

शिक्षा संकायका डीन प्रा.डा.चित्रबहादुर बुढाथोकी विद्यार्थी कम भएका विभागहरूलाई नयाँ तरिकाले अगाडि बढाउन सकिने बताउँछन् । शिक्षा संकायका विभागहरूमा विद्यार्थी कम भएकै कारण गत वर्षदेखि सामाजिक अध्ययन पढाउन थालिएको उनले बताए ।

नयाँ विषय सुरु गरेको पहिलो सेमेष्टरमा नै १०० जना विद्यार्थी भर्ना भएको बताउँदै उनले भने, ‘सबै संकायमा यसरी नै नयाँ तरिकाले जाने कुरा चले पनि कार्यान्वयन हुनसकेको छैन ।’

विद्यार्थी कम भएका विभाग र क्याम्पस गाभ्ने अथवा पुनर्संरचना गरेर जानुपर्ने कुराहरू आए पनि नीति बनाएर कार्यान्वयनमा आउन नसकेको त्रिवि प्रिन्सिपल ध्यानेन्द्र राई बताउँछन् ।

विद्यार्थी संख्या घटबढ भइरहने भएकोले कम भएको आधारमा, खर्च कटौतीकै लागि केन्द्रीय विभागहरू गाभेर जानुभन्दा स्वायत्तबनाएर लैजानु राम्रो हुने उनको तर्क छ । ‘विद्यार्थी आज नभए भोलि हुनसक्छन्’ उनी भन्छन्, ‘विद्यार्थी कम भएको र खर्च–बर्च कटौतीकै लागि केन्द्रीय विभागहरू गाभ्नु भन्दा स्वायत्त बनाउनु राम्रो हो ।’





Source link

HamroAwaj

2022-08-19 19:54:25

Leave a Comment