प्रदीप गिरिलाई छुः मतलब – HamroAwaj


बालेन र हर्क साम्पाङको जुहारीमा अकस्मात् प्रदीप गिरिको सम्झना हुन गएको छ । नयाँ पुस्ताका दुई मेयरहरू ‘तेरो–मेरो’ सहरमा यस्तो–उस्तो भनिरहेका छन् । ‘हामी–हाम्रो’ भन्ने मानिसहरूको सर्वथा अभाव हुन गइरहेको बेलामा गिरिजस्ता समाजवादी झन्डै एक वर्षयता गुमनाम छन् । तन्नेरीलाई हाईहाई, बुढाबुढी बाईबाई भन्ने किसिमको डिस्कोर्सले राजनीतिक योग्यताको छलफलभन्दा पर गएर स्वास्थ्य–शारीरिक घृणा र अमानवीयताको सीमा छोला भन्ने पीर छ । यी जीवन्त चिन्तकको वृद्ध काया भने मेडिसिटी अस्पतालको शैयामा आरोग्यका लागि संघर्षरत छ ।

भर्खरै गिरिको स्वास्थ्यका लागि प्रार्थना–सभाहरू सुरु भएका छन् । मित्र शंकर तिवारीका अनुसार गिरिलाई आईसीयूबाट नन इन्भेसिभ भेन्टिलेटरमा सारिएको छ । उनकी पत्नी भारतीले फेसबुकमा प्रार्थनाका शब्दहरू लेखेकी छन्, ‘प्रेयर्स, प्रेयर्स, एन्ड प्रेयर्स फर् माइ बिलभ्ड ।’ कांग्रेस नेता विमलेन्द्र निधिले भर्खरै ट्वीट गरेका छन्, ‘आदरणीय मेरा अग्रजभ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदिप गिरिलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कंदै छु । स्तब्ध र निरीह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु– सबैले प्रार्थना गरौं !’

निधिको स्तब्धता र निरीहता यत्तिकै व्यक्त भएको होइन । यसभित्र नेपाली कांग्रेसको सिंगो विरासतभित्र गिरिको अतुलनीय उपस्थितिको रिक्तता हुने हो कि भन्ने सन्त्रास सन्निहित छ । अरुले झैं उनले पनि गिरिलाई गान्धीवादी भनेका छन् । नेपाली कांग्रेसबाट सिरहामा चुनाव जित्ने सांसदमात्रै भनिँदा गिरिको पूर्ण पहिचान व्यक्त हुँदैन ।

गिरि साँचो अर्थमा समाजवादका जीवित सम्पदा हुन् । ०७४ जेठमा कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा र यो पंक्तिकार सिरहा बस्तीपुरस्थित गिरिको आश्रममा पुग्दा उनले कल्पना गरेको समाजवादी जीवनशैलीको सुक्ष्म प्रतिबिम्ब देख्न सकिन्थ्यो । लहानबाट केही वर्तिर, राजमार्गबाट अलिक मास्तिरको कच्ची बाटो पछ्याउँदै बस्तीतिर पुग्दा उनको आश्रम पुग्न सकिन्थ्यो । त्यहाँ उनको खाने र सुत्ने ठाउँ, पुस्तकालय, सामुदायिक रेडियो, दलित बालबालिकाहरूका लागि पढ्ने व्यवस्था, अनि सीप सिक्न चाहनेहरूका लागि कम्प्युटर कोर्सलगायत तालिम दिलाउने चाँजो मिलाइएको थियो । घर वरपर टन्नै रुख रोपेका थिए । ‘रुख रोप्दा, अनि त्यसको भविश्यबारे सोच्दा मलाई जुन आनन्द आउँछ, त्यो कुनै पनि आनन्दसँग तुलना हुँदैन,’ उनले मसँगको पछिल्लो अन्तर्वार्तामा भनेका थिए । गिरिले जस्तो अभिव्यक्ति दिने गर्थे, आफ्नो गच्छेअनुसार त्यसलाई पछ्याउने प्रयास गरे ।

सार्वजनिक साख गुमाइरहेको नेपाली राजनीतिमा प्रदीप गिरि सबैजस्तो दलका वैचारिक गुरु हुन् । कतिसम्म भने एमाले र माओवादीका कार्यकर्तालाई मार्क्सवादको औपचारिक शिक्षा दिने सामथ्र्य कसैले राख्छ भने ती प्रदीप गिरि नै हुन् । चार वर्षअघि कार्ल माक्र्स जन्मेको दुई सय वर्षगाँठमा संसारैभरि कार्यक्रमहरू भए । नेपालका ठूला कार्यक्रमहरूमा उनै गिरिको खोजी भयो । आफूलाई चुनावमा हराउने ‘नेकपा’ कार्यकर्तालाई जनवाद पढाएर झन् इस्पातिलो बनाउन सघाएको भन्दै कांग्रेसका नेताहरू नै उनीसँग रिसाए । रिसाउने नै भए ।

गिरिलाई छुः मतलब ! उनले आफ्नो जीवनलाई अराजक र असन्तुलित रहन दिएका छन् । समाजले जुन किसिमको संस्कार र सभ्यताको अभिनयमा रहन हामीलाई बानी पारेको छ, गिरि त्यसका पक्षपाती होइनन् । कांग्रेस पार्टी चुनेर तैबिसेक उनलाई हलुका भयो । उनी भन्ने गर्छन्, ‘म कांग्रेसमा यसकारण छु कि, यसले मलाई निर्बाध रूपले अराजक हुनसमेत अधिकार दिएको छ ।’ उनका कुरा सुन्दा लाग्छ, मार्क्सवाद र लेनिनवादको बारेमा पोथा–पोथा छिचोेलेर यही मान्छे कम्युनिस्ट पार्टीमा लागेको भए यौन, महिला–पुरुष सम्बन्ध, विवाह संस्था आदि बारेमा यही किसिमले बोल्ने त छाडिदिऊँ, बोल्नेबारे सोचेको मात्रै भए पनि उहिल्यै अनुशासनको कारबाही भोगिसकेको हुने थियो । एमाले नेता घनश्याम भुसाललाई यिनै गिरिले एकपल्ट हँस्यौलीमै हपारेका थिए, ‘तपाईंजस्तो नेतालाई अझै किन तपाईको पार्टीले कारबाही गर्दैन ?’

गिरिले जत्ति मार्क्सवाद पढाए पनि यहाँका सरकारी मार्क्सवादलाई उनको पढाउने काइदा चित्त बुझेन । अहिलेका स्वनामधन्य समाजवादीलाई उनी भूपू समाजवादी करार गर्छन् । अनि लेख्छन्, ‘कुनै एउटा प्रचण्डपथ वा साइनिङ पाथले एउटा पन्थ बनाउन सक्छ । विचारधाराले एउटा बलियो राजनीतिक पार्टी बनाउनसक्छ । त्यो बलियो पार्टीले नेतालाई सत्तामा पुर्‍याउँछ । तर समाजवाद बनाउन सक्दैन । समाजवाद मुख्यतः जीवनमूल्यसँग गाँसिएको कुरा हो । कहाँ छ, त्यो व्यवहार आज ?’

संसदमा आफ्नो धारणा राख्दै सांसद गिरि

गिरि अहिले पनि सांसद नै छन् । अहिलेको अस्वस्थतालाई छाड्ने हो भने अरु बेलासमेत उनी संसदमा गयल हुने सांसदमध्ये एक–दुई नम्बरमै पर्छन् । उनको विरलै हुने उपस्थिति भने थेग्न प्रतिनिधिसभा बैठक सञ्चालक (सभामुख) लाई हम्मे पर्छ । संविधासभाको अन्तिम बैठकमा बोल्न खोज्दा उनको माइक काटिएको छ । उनले त्यसलाई क्षमा दिएनन् । संविधानसभा सदस्य भएर पनि उनले संविधानमा हस्ताक्षर गरेनन् । गिरिको त्यो निर्णय आजपर्यन्त विवादित र बहसयोग्य छ ।

बोलक्कड गिरिको हास्यचेत नेपाली सार्वजनिक वृत्तमा चर्चा गरिँदै आएको विषय हो । दर्जनौं दृष्टान्त छन्, जहाँ उनको भाषिक श्रेष्ठताका अघिल्तिर मानिसहरू कायल छन् । उनी रातैभरि पढ्न सक्छन् । भोलिपल्ट तोकिएको कार्यक्रममा उनी नपुग्ने सम्भावना बढ्ता हुन्छ । मनमौजी छन् । एकतिरको कार्यक्रममा जान भनेर हिँडेको, अन्तै पुगिदिन सक्छन् । उनको समयसीमा हुँदैन ।

प्रश्नहरूलाई कहिल्यै वर्जित गरेनन् गिरिले । प्रश्नहरूभन्दा माथि उनी पनि छैनन् । ०७१ सालमा पत्रकार विजय कुमारको पहिलो पुस्तक ‘खुसी’ विमोचन कार्यक्रम चल्दै थियो । त्यसबेलाको ठूलो पार्टी माओवादीका अध्यक्ष प्रचण्ड, दोस्रो ठूलो पार्टी कांग्रेसका दोस्रै वरियताका नेता शेरबहादुर देउवालगायत शीर्षस्थ नेताहरू दर्शकदीर्घामा बसेका थिए । विजय कुमारले बोले, ‘प्रचण्डको राजनीतिक विचारप्रति मेरा सहमति–असहमति जे भए पनि समकालीन नेपाली राजनीतिका सबैभन्दा अग्ला नेता प्रचण्ड नै हुनुहुन्छ ।’

गिरिले तु. फर्काए, ‘प्रचण्ड अग्ला हुन्, तर प्रचण्डभन्दा अग्ला देउवा नै हुन् ।’

अब यसलाई कसरी बुझ्ने ! गिरि देउवासँग लामो समयदेखि निकट छन् । र, उनलाई देउवाको वास्तविक हाल पनि थाहै छ । तर राजनीति हो, एउटा मानिस कहाँ कसरी उभिन्छ कुरा अनेकन् परिस्थितिहरूले प्रभावित पारिदिन्छ । देउवा त्यसबेला बद्नाम थिए । अनि देउवा थिए, कमजोर । तर कोइरालाहरूसँग तङ् गर्दागर्दा थाकिसकेका गिरिका लागि किशुनजी स्कुलका वृक्षमा देउवा अगुवा थिए ।

यस्तै अर्को प्रसंग । बीपी कोइरालाको जन्मशताब्दी मनाउन चक्र बाँस्तोलाले तयारी गर्दै थिए । ०७० सालमा बानेश्वरमा अफिस खुलिसकेको थियो । गिरि, भीमबहादुर तामाङ, नरहरि आचार्य, लक्ष्मण घिमिरे लगायतसँग बसेर त्यसको काम अघि बढाइसकेका थिए । बीपीको सम्मान र सम्झना गर्दै त्यो समूहलाई वैचारिक परिस्कारको अगुवा बनाउने बाँस्तोलाको चाहना थियो । यो पंक्तिकारसँग केही समयपछि बाँस्तोलाले बताएअनुसार गिरि भने केही पछि हटे । सायद उनले सम्भावित राजनीतिको आदर्श र यथार्थबीचको भिन्नताबोध गरे हुन् । गिरिलाई कुनै विचारपद्धतिले टाक्सिन दिँदैन । सांगठानिक रूपमा भने उनी आजपर्यन्त देउवाकै समूहमा छन् । दुई वर्षअघि मैले चलाउने भिडियो कुराकानी ‘च्या खानु भो ?’ मा उनले बोले, ‘राजनीतिको सत्व नै लडाइँ हो । त्यसमा मैले एउटा पक्ष लिन्छु ।’

प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गर्दै शुक्रबार काठमाडौंमा भएको प्रार्थना सभा

प्रदीप गिरिको स्वास्थ्यका लागि सबैतिरबाट शुभकामनाका शब्दहरू बर्सिइरहेका छन् । प्रष्टै देख्न सकिन्छ, ती शुभकामनाहरूमा भविष्यका सम्भावित लाभहरूको कुनै हिसाब छैन । किनबेच गर्न मिल्ने भए मानिसको मुस्कानलाई समेत शोरुमको चमकदार सो–केसमा राख्न मिल्ने वित्तयुगमा गिरिले पाइरहेको जस्तो निस्वार्थ प्रार्थना हिजोआज कहाँ ! उनको हस्ताक्षर छुटेको संविधानले हामीलाई समाजवाद उन्मूखमात्रै बनाइदिएको छ । समाजवादको लक्ष्य चुम्न अब हामीलाई कति प्रदीप गिरिहरू चाहिएलान्, जसले मेयरसाबहरूको ‘म, मेरो धरान–काठमाडौं’ चिन्तनबाट माथि उठ्ने सामर्थ्य जुटाउन सकून् ।

प्रार्थना गरौं, प्रदीप गिरि सकुशल घर फर्कून् । आफूले बस्तीपुरमा रोपेका सयौं रुखहरू, अनि पढाइरहेका नानीबाबुहरूको भविष्यका बारेमा चिन्तन गर्न सकून् ।

बाँकी त उनलाई छुः मतलब !





Source link

HamroAwaj

2022-08-19 18:26:16

Leave a Comment