बाँदर आतंक- विश्वदेखि नेपालसम्मको नालीबेली – HamroAwaj


भगवान रामलेे रावणलाई वध गर्न हनुमानको सहायता लिएको पढ्न पाइन्छ । सीतालाई हरण गर्ने रावणको हराभरा बगैंचालाई तहसनहस पार्ने हनुमानलाई रावणले पक्रेर पुच्छरमा आगो लगाई सजाय दिएको र त्यही हनुमानले आफ्नो पुच्छरको आगोले रावणको लंका दरबारमा आगो लगाई ध्वस्त पारेको कथा नयाँ होइन । यतिखेर आफ्नै घर, आँगन र शहर-बजारमा छिरेका बाँदरको बथानले मच्चाएको आतंक देख्नासाथ उक्त कथा स्मरण भइहाल्छ ।

युग फरक भएर होला वा के कारणले हो, यस युगमा त बाँदर मात्र देख्न पाइन्छ, हनुमान त कथामा सीमित भए ।

यसै वर्ष, असार ३० गते बिहीबारको दिन करिब २ बजेको थियो । मेरो भन्दा तल्लोपट्टकिो घरबाट एक जना महिला चिच्याएको आवाज आयो । के आपत् परेछ भनी उठेर झ्यालबाट नियालें ।

एउटा ढेडु बाँदर हातमा प्लाष्टिकको बट्टा बोकेर छानो चढ्दै हुन्छ । पछि-पछि ती महिला मानिसलाई झैं के-के गाली फलाक्दै हुन्छिन् । लौरोले झटारो हान्छिन् तर बाँदर झनै माथितिर उक्लेर छतमा बसेर बिर्को फ्याँकेर पीठो बुक्याउन थाल्छ ।

ती महिला त्यस घरमा डेरा गरेर बस्छिन्, दिउँसो कसैको घरमा काम गर्छिन् । उनका श्रीमान् कहाँ काम गर्छन्, मलाई थाहा छैन । बाँदर कोठाभित्र पसेर चोरेर लगेको बट्टाको वस्तु कोदाको पीठो रहेको कुरा पछि थाहा पाएँ ।

काठमाडौंको सिफल टोलमा यस्ता घटना त दिनहुँ भइरहन्छन् । घरभित्र पसेर पकाएर राखेको खानेकुरा खाइदिने, सामान नाश गर्ने, घर वरिपरिका बोटबिरुवा चुँड्ने, उखेल्ने, चिचिला कोपिला सबै खाने, भाँच्ने आदि अनेक उपद्रव गरेर स्थानीयलाई हैरान पारिरहेका छन् । बगैंचा र गमलाहरूमा फूलका बोटबिरुवा राखेर वातावरण राम्रो राखौं भन्ने यस टोलका सबैको जाँगर मरेको छ ।

बोटबिरुवा किनेर ल्यायो, बाँदरले कतिखेर आएर उखेल्न वा चुँडिदिन भ्याइसक्छ । धारा खोलेर पानीको ट्याङ्की रित्तो पारिदिने, पानी ट्याङ्कीको बिर्को बिगारेर पानी फोहोर पार्नेे, पानीमा डुबुल्की मार्ने, पानीको पाइपमा झुण्डिएर बिगार्ने, टेलिफोन, बिजुली, इन्टरनेटका तारमा झुण्डिने, चुँडाल्ने, धोएर सुकाएको लुगाहरू तान्ने, च्यात्ने, खसाल्ने इत्यादि दुःखहरू स्थानीयले बाँदरबाट दिनहुँजसो व्यहोर्दै आएका छन् ।

किराना पसल, फलफूल तथा तरकारी पसलहरूमा दिने दुःख अर्कै छ । फिटिक्क यताउति गर्‍यो कि केही न केही सामान कुदाइहाल्छ । सानातिना सडक किनार एवं खुला ठाउँमा बसेर व्यापार गर्नेले बाँदरबाट पाएको दुःख भनिसाध्य नै छैन । त्यसैगरी पोका बोकेर हिंडेको देख्ने बित्तिकै बाँदर पछि लाग्ने गर्छन् । आइमाई, केटाकेटीले बोकेको खानेकुरा खोसेको घटनाहरू दोहोरिरहन्छन् । बाँदरको हूल बस्तीमा बिहान-बेलुकी ओहोरदोहोर गरिरहने हुँदा विद्यार्थी विद्यालय जान र अन्य व्यक्तिहरू पनि सामान बोकेर बाहिर निस्कँदा डराउनुपर्ने अवस्था बनेेको छ ।

काठमाडौंका स्वयम्भू, बूढानीलकण्ठ, गुहृयेश्वरी, जयवागेश्वरी, सिफल, गौशाला, थापाथली, साँखु आदि स्थानमा मात्र हैन, यो दशा यो देशका एकतिहाइ जिल्लाका विभिन्न भागका मानिसले भोग्दै आएको खबर दिनहुँजसो पत्रपत्रिका र सामाजिक सञ्जालबाट थाहा हुन्छ ।

अर्घाखाँची, केरुंगाका टंक खनाल बारीमा पसेर मकै खाइरहेका बाँदरको हूललाई धपाउने क्रममा लडेर उपचारको क्रममा बिते । (कान्तिपुर १८ साउन, २०७९)

बाग्लुङका सुदर्शन पौडेल गहुँबारीमा पसेका हूल बाँदर लखेट्ने क्रममा लडेर मृत्युवरण गर्न पुगे । (काठमाडौं पोष्ट १२ डिसेम्बर, २०१९)

जिल्ला वन कार्यालयमा दर्ता हुने उजुरीमा सबैभन्दा बढी बाँदरले गरेको हानि र हैरानीका छन् । तर नेपाल सरकारले विभिन्न १४ जनावरले गरेको हानिनोक्सानी बापत मात्र क्षतिपूर्ति दिने नियम/कानुन बनाएको छ तर बाँदरले पुर्‍याएको क्षतिबापत यस्तो व्यवस्था गरेको छैन । (हिमालय टाइम्स १६ सेप्टेम्बर, २०१७)

धनकुटामा आजित भएर एक गाउँपालिकाले भारत उत्तरप्रदेशबाट बाँदर समात्ने मान्छे बोलाएर बाँदर समाती स्थानान्तरण गरेर स्थानीय बाँदर आतंक समाधान गर्ने प्रयास गरिएको थियो । एक बाँदर समातेको रु.१५०० दिने यस कार्यक्रमको लागि गाउँपालिकाले रु.५ लाख बजेट छुट्याएको थियो ।

स्याङ्जाको पुतली बजारमा बाँदर धपाउँदा धपाउँदा हैरान भएकी एक महिलाले बाँदर पुरुषसँग बढी डराउने बुझेर दौरा-सुरुवाल र ढाकाटोपी लगाएर गुलेली बोकेर बाँदर धपाउन थाल्छिन् तर उनको त्यो चलाखी बाँदरले केही दिनमै थाहा पाई झनै दुःख दिन थालेको समाचार छ । (काठमाडौं पोष्ट २६ मार्च, २०२२)

कालिन्चोक गाउँपालिकाले बाँदरले गर्ने गरेको बालीनाली नोक्सानीबाट मुक्ति पाउन एक घर एक बाँदर समातेर पाल्ने योजना सार्वजनिक गरेको छ । (कान्तिपुर असार २०७९)

नेपालको वन जंगलमा कति बाँदर छन् ? कुन कुन जातका छन् ? भन्ने विषयमा भरपर्दो तथ्याङ्क वन मन्त्रालय वा वन्यजन्तु संरक्षण निकायहरूसँग भएको पाइन्न । तर वर्षैपिच्छे बस्तीमा पसेर आतंक फैलाउने बाँदरको संख्या बढ्दै गरेको स्थानीयहरू बताउँछन् ।

बाँदरलाई धपाउने, गस्ती गरी बस्ती र खेतबारीबाट लखेट्ने, ढुंगाले हिर्काउने, गुलेलीले हान्ने, बन्दुक पड्काउने, थुन्ने, छेक्ने आदि अनेक उपाय गर्दा पनि केही सीप नलागे पछि विशेषगरी ग्रामीण भेगका जनता निराश र हैरान भएका छन् । खेतीपातीबाट वर्षभरि गुजारा चलाउन धौ-धौ पर्ने अवस्थामा रहेका किसान बाँदरले सधैंभरि बालीनाली नष्ट गर्न थालेपछि स्थानीय गहिरो चिन्तामा परेका छन् ।

कैयौं परिवार बस्ती छाडेर हिंडेका र कतिपयले त विवशतावश बालीनाली लगाउन छाडेका छन् । कतिपयले बाँदरले नखाने कागती लगायतका बोटबिरुवा लगाएर छाडेको पनि पाइन्छ । यद्यपि यसले तिनको गुजाराको समस्या कम गर्न सक्दैन ।

मध्यपश्चिम नेपालमा गरेको मानव र बाँदर द्वन्द्व सम्बन्धमा ईस्वी संवत् २०१७ मा प्रकाशित अध्ययनले देखाएको तथ्यांक अनुसार नेपालमा पाइने ६ जातका बाँदरमध्ये ‘रिसस मकाक’ बाट स्थानीयहरू धेरै पीडित भैरहेका र यो जाति तराई तथा मध्य तथा उच्च पहाडी भेगमा पाइन्छ ।

उक्त क्षेत्रको अध्ययन अनुसार ५८.३ प्रतिशत स्थानीयको भनाइमा बालीनाली नाश गर्ने नै बाँदरको मुख्य समस्या हो । धेरैजसो स्थानीयको भनाइमा बाँदरले वाषिर्क रु.२० हजार भन्दा बढीको हानिनोक्सानी पुर्‍याउँदै आएको छ । त्यसैगरी बाँदरले हानिनोक्सानी गर्ने बालीमा मकै प्रमुख भएको र अन्य बालीमा आलु, गहुँ, कोदो र तरकारी छन् ।

बाँदर धपाउन प्रयोग गरिएका स्थानीय रणनीतिमा, ठूलोस्वरले कराउँदै लखेट्ने, थाल र अन्य भाँडा ठटाएर लखेट्नेे, कुकुर लगाउने, ढुंगाले हिर्काउने, गुलेलीले हान्ने, ठूलो आवाज बनाउने, काँडाले बार्ने, बाँदरले नखाने बोटबिरुवा लगाउने आदि । कास्कीको पुम्दीभुम्दीमा बाँदरले ५ वटा कुकुर समेत मारिदिएको उक्त अध्ययनमा उल्लेख छ ।

बाँदरको समस्या रोकथाममा कुनै निकायबाट पनि सहयोग नपाएको र वन्यजन्तुले हानिनोक्सानी पुर्‍याए बापत क्षतिपूर्ति दिइने सूचीमा बाँदरबाट हुने क्षति उल्लेख समेत नभएको स्थानीयको ठूलो गुनासो छ । वन्यजन्तु संरक्षण क्षेत्र बाहिर रहने बासिन्दाहरू पनि बाँदरले बालीनालीमा पुर्‍याएको क्षतिले आजित भएका छन् । (श्रेष्ठ तथा पौडेल, २०१८)

अन्य देशको बाँदर आतंकको अवस्था कस्तो छ त ?

बाँदरको समस्या विश्वका धेरै देशका विभिन्न भागमा रहेको पाइन्छ । विभिन्न देशले आ-आफ्नै ढंगले समस्याको गहिराइ अनुसार समाधान खोजिरहेका पाइन्छन् । हाम्रो छिमेकी मुलुक भारत लगायत एशियाली मुलुकका विभिन्न स्थानमा पनि बाँदर आतंक विद्यमान रहेको पाइन्छ । केही प्रतिनिधि मुलुकको तल चर्चा गरिएको छ :

भारत

भारतमा बाँदरको संख्या ५ करोड पुगेको र भारतका २० राज्यमा फैलिएको अनुमान छ (शर्मा केके, २०२०) । भारतका विभिन्न स्थानमा बाँदरले दिनहुँ एक हजारभन्दा बढीलाई टोक्ने/चिथोर्ने गरिआएको समाचार पढ्न पाइन्छ । बाँदर आतंकको राम्रो नमुना भारतको नयाँदिल्ली, हिमाञ्चल प्रदेश, जम्मु-काश्मिर आदि स्थानमा रहेको भनिन्छ ।

दिल्ली उच्च अदालतले २००७ मा बाँदर समातेर राख्ने जाली/खोर उपलब्ध गराउन र ठाउँठाउँमा स्थापना गर्न म्यूनिसिफल गभर्मेन्टलाई आदेश दिएको थियो । २००७ मा दिल्लीका उपमेयर सविन्दर सिंह बज्वाको बाँदरको आक्रमणबाट मृत्यु भएको थियो । बाँदरको समस्या समाधान गर्ने कसको जिम्मेवारी हो ? वन्यजन्तु संरक्षण गर्ने निकाय वा स्थानीय निकाय भन्ने विवादमा छुट्टै संरचना समेत बनेको पाइन्छ । दिल्ली सरकारले २०१८ मा भारु ५ करोड लागतको बाँदर गणना, गर्भनिरोध व्यवस्था, अनुगमन लगायतको कार्यको लागि आयोजना बनाएको थियो ।

बाँदरको हैरानी कम गर्न दिल्ली सरकारले मंकी चेजर (बाँदर धपाउने) समूह स्थापना गरी दिल्लीका मुख्य चोकमा बाँदर धपाउँदै आएको पनि छ ।

बाँदर आतंकले नराम्रो रूप लिएको विहारको चैनपुर र सहर्साका स्थानीयले ‘बन्दर मुक्ति अभियान समिति’ बनाएर राजनैतिक दबाव दिने जस्ता कार्यक्रम गर्दछन् ।

जम्मु काश्मिर

जम्मुमा सन् २०१८ मा २५० गाउँमा बाँदरले बालीनालीमा आक्रमण गर्दा ३३ करोड भारु बराबरको क्षति पुगेको एक प्रतिवेदनमा उल्लेख छ । यसरी प्रत्येक सिजनमा बाँदरको बथानले बालीनाली नोक्सान गर्न थालेपछि कतिपय स्थानीय केही सिप नलागेर जमिन बाँझो छाडेर जीविकाको लागि शहर-बजार पसेको र यसबाट जम्मु क्षेत्रमा ३३ हजार ५०० हेक्टर जमिन बाँझो रहन गएको पाइन्छ । (शर्मा केके, २०२०)

भारतमा बाँदर भगाउन कुकुरलाई बाघजस्तो रंगाइएको

भारतको कर्नाटकमा बाँदर र किसानको द्वन्द्व बढ्दै गएर किसानले सहनशक्ति गुमाउँछन् र बाँदर मारिन थाल्छन् ।

यसै क्रममा ३८ वटा बाँदरहरू जुटको बोरामा बाँधेर अन्यत्र लैजाने क्रममा अक्सिजन नपुगेर मरेको र त्यस्तै अवस्थाका अन्य ४० बाँदरको उद्धार गरिएको समाचार फैलिएपछि उच्च अदालतको ध्यानाकर्षण हुन्छ । किसान लगायत बाँदर समात्ने र बाँदर ओसार्ने रिक्सावालाहरू समातिन्छन् । मृतक बाँदरको रितपूर्वक अन्तिम संस्कार हुन्छ । द्वन्द्व समाधानार्थ व्यापक गर्भनिरोध गर्ने र निकुञ्जको १७० एकड जमिनमा स्थानान्तरण गर्ने निर्णय हुन्छ ।

हिमाञ्चल प्रदेश, सिमलाको बाँदर आतंकको कथा अझ बेग्लै छ । यहाँ बाँदरको आतंकले सीमा नाघेपछि हानिनोक्सानी पुर्‍याउनेलाई मार्न सकिने कानुन समेत ल्याउनु परेको थियो । हिमाञ्चल प्रदेशको १० जिल्लामा बाँदरलाई बालीनाशक जीव हुँदा मार्न सकिन्छ भनी केन्द्र सरकारले घोषणा गरेको छ । यद्यपि जंगली जनावर (संरक्षण) ऐन, १९७२ अनुसार बाँदर संरक्षित जनावर हो । सुरुमा एक वर्षको लागि मार्न पाइने अनुमति अपि्रल २०२० बाट पुनः वर्ष दिन थप भएको थियो ।

हिमाञ्चल प्रदेश सरकारले एक बाँदर मारेबापत भारु ५०० र एक बाँदर समातेर गर्भनिरोध गरेमा भारु.१००० को घोषणा पनि गरेको थियो । यस व्यवस्थाबाट बाँदरको संख्या घटे तापनि व्यापक रूपमा गर्भनिरोधको कार्यक्रमलाई बाँदर आतंकबाट मुक्तिको भरपर्दो उपाय मानिंदै आएको छ ।

भुटान

भुटानमा कलमुखा जातको लंगुर बाँदरले बालीनाली नोक्सान गरेको घटना बढी छ । भुटानको त्याङ्बो गुम्बामा बाँदरले कोठामा छिर्ने, सामान लैजाने, ढलका पाइपमा चढेर बिगार्ने, महिलाको झोला खोस्ने गरेकोले अस्थायी रूपमा विद्युतीय तारबारको व्यवस्था गर्न थालेको पाइन्छ ।

राजमार्ग र अन्यत्र बाँदरलाई खाना दिंदा बस्ती बाहिर आउने प्रवृत्ति बढेकोदेखि भुटानको वन तथा प्रकृति संरक्षण नियमावली, २०१७ अनुसार जंगली जनावरलाई खाना खुवाउनु अपराध हो जसबापत नुल्ड्रुम ५०० सम्म जरिवाना हुन्छ ।

श्रीलंका

बाँदरले बालीनाली नोक्सानी गरेको, मानिस तथा घरपालुवालाई क्षति पुर्‍याएको आदि हानिनोक्सानीको विरुद्धमा परेको उजुरीको ५० प्रतिशत उजुरी श्रीलंकाको कोलम्बो, केन्डी, बदुल्ला र कालुथाराको मात्र हुने गरेको छ । बाँदरको समस्या समाधानार्थ बन्ध्याकारण नै उचित हो भन्ने भए तापनि यो समस्या समाधानको लागि नयाँ प्राकृतिक स्थलको विकास गर्ने योजनालाई भरपर्दो विकल्प मानिआएको पाइन्छ ।

इन्डोनेशिया

इन्डोनेशियामा पनि बाली र जाभा लगायत स्थानमा बाँदरले स्थानीयलाई दुःख दिने गरेको पाइन्छ । बाँदरले तरकारी र फलफूलका बाली नष्ट गर्ने, घरपालुवा र मानिसलाई दुःख दिने, बालबालिका र वृद्धहरूलाई आक्रमण गर्ने समस्या बढ्न थालेपछि सरकारले प्रहरी र सेनाका अधिकृतहरूलाई खटाएर देख्ने बित्तिकै गोली हान्ने आदेश दिएको पाइन्छ -पर्सियो एस.एल., २०१७) । उनीहरूको भनाइ छ कि रबरको गोली हान्ने कार्यबाट बाँदरको निर्मूल गर्ने नभई तर्साएर गाउँबाट भगाउने मात्र हो । तर यहाँका जनावर अधिकारकर्मी यो कार्य मानवीय हैन, बरु कुखुराको भिजेको गन्हाउने सुली बाँदर ओहोरदोहर गर्ने स्थानहरूमा राख्नाले बाँदर त्यो गन्धबाट भाग्ने गर्दछ । त्यस्तै कुनै बाँदरलाई राताम्य रंगाएर जंगलमा छाडिदिंदा पनि अन्य बाँदर डराएर बस्तीमा आउँदैनन् भन्ने अर्कोथरी धारणा पनि छ ।

थाइल्याण्ड

अन्यत्र जस्तै बैंङ्कक् बाहिरको बस्तीमा बाँदरले बाली नाश गर्ने, घरभित्र छिर्ने, पि|mज खोल्ने आदि दुःख दिएको गुनासो बढेपछि वन्यजन्तु अधिकारीले गाउँबाट ८० बाँदर समातेर स्थानान्तरण गरे । (बीबीसी, डिसेम्बर २०१५) ।

त्यसैगरी लोपबुरी मंकी टेम्पल क्षेत्रमा बाँदरको संख्या धेरै नै बढेर दुःख दिन थालेपछि बाँदरपे्रमीहरूको विरोधको वाबजूद गर्भनिरोधको अभियान सञ्चालनमा छ -सीएनएन, अक्टोबर २०२०) ।

कम्बोडिया

अंकोरबाट मन्दिरमा आउने पर्यटकलाई खानेकुरा नपाएमा रिसाएर बाँदरले सामान खोस्ने, व्यवसायीहरूको सामग्री चोर्ने, मानिसलाई टोक्ने समेत गर्ने र मन्दिरमा समेत क्षति पुर्‍याउन थालेपछि, मन्दिर प्रशासनले पर्यटक समेतको गुनासो खप्न नसकी वन प्रशासनमा अनुरोध गरेर त्यस्ता बाँदर समात्दै केही समय चिडियाखानामा राख्ने र पछि अन्यन्त्र स्थानान्तरण गर्ने गरिएको छ (नोम्पेन्ह पोष्ट, डिसेम्बर २०२०) ।

मलेशिया

मलेशियाका बटुकेश, पेनाङलगायत विभिन्न भागमा बाँदरले पर्यटकमाथि आक्रमण गर्ने, सामान खोस्ने, गाडी बिगार्ने, मानिसलाई समेत लखट्ने, टोक्ने, सामान खोस्ने लगायत दुःख दिएको गुनासो भएपछि मानव जीउधनको रक्षा खातिर भनी त्यहाँको वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले बाँदर मार्ने आदेश दिन्छ । सोही बमोजिम सन् २०१३ र २०१६ का वर्षहरूमा वाषिर्क सरदर ७० हजार बाँदर मारिएको थियो (दि गार्जियन, २८ जनवरी २०१९) ।

व्यापक गर्भ निरोध गर तर, मार्नु अमानवीय हो भन्ने जनावर अधिकारकर्मीको माग भएतापनि बढी खर्चिलो हुने तर्कमा त्यहाँ लाखौं बाँदर मारिइरहेका छन् ।

मौरिसस

मौरिससको कथा बेग्लै छ । यहाँ बाँदरको आतंक छैन । तर मौरिसस सबैभन्दा बढी बाँदर -लामोपुच्छ्रे जुन साइटिस अन्तर्गत पर्दछ) निकासी गर्ने मुलुक हो । यसले प्रति वर्ष दश हजार भन्दा बढीको संख्यामा बाँदर अमेरिका र युरोपीय मुलुकमा निकासी गर्दै आएको छ । मौरिसस सरकारले प्रति बाँदर अमेरिकी डलर ७५ निकासी कर असुल गर्ने गर्दछ । यहाँ बाँदरलाई आदिवासी पनि मानिंदैन बरु बाली नाशकको रूपमा लिने गरिन्छ ।

चीन

चीनमा प्रयोगशालाको प्रयोगका लागि बाँदरको माग अत्यधिक छ । चीनमा सन् २०१९ बाट बाँदर आयात फुकुवा भएको थियो । सन् २०१८ मा चीनमा एक बाँदरको बिक्री मूल्य अमेरिकी डलर १८०० पर्दथ्यो भने २०२० मा कोभिडको कारणले एक बाँदरको मूल्य अमेरिकी डलर ७००० सम्म पुगेको पाइन्छ ।

अमेरिका

अमेरिकाको बायोमेडिकल अनुसन्धान केन्द्रहरूमा बाँदर, कुकुर, बिरालो, मुसा आदिलाई प्रयोग हुँदै आएको छ । यस्तो प्रयोगशाला प्रयोगमा बाँदरको उपयोग बढी हुने गर्दछ यद्यपि ५२ प्रतिशत अमेरिकीहरू यस प्रकारको प्रयोगको विरुद्धमा बोल्दै आएका पनि छन् । सन् २०१७ मा अमेरिकाका अनुसन्धान केन्द्रहरूबाट ७४ हजार ४९८ बाँदरहरू प्रयोग गरेको तथ्याङ्क छ ।

अन्तमा, नेपालको करिब एक तिहाइ भन्दा बढी जिल्लाहरूको विभिन्न स्थानीय तहमा फैलिएको बाँदरको आतंकबाट मुक्त हुन जनस्तरबाट जे जस्तो प्रयास भैरहे तापनि यो साह्रै अपर्याप्त छ । स्थानीय विशेषगरी स्थानीय कृषक बाँदरबाट आतंकित छन् । सामाजिक संस्था वा सरकारको तर्फबाट समस्या समाधानार्थ कुनै प्रयास भएको छैन ।

बाँझो जमिन छाड्नेलाई दण्डित गर्न तम्सिने सरकार जनताको यो मर्कामा तमासेको मात्र हैसियतमा प्रस्तुतको भएको स्थिति छ । जनताको समस्याका निवेदनको चाङमाथि बसेर स्थानीय प्रशासन र सरोकारवाला निकाय तथाकथित जनावर अधिकारकर्मीको हावादारी कुतर्कमै मस्त छन् ।

विकल्पहरू बारे सोच्ने र छलफल गरी निष्कर्षमा पुग्ने राहत दिनेतर्फ राज्यका कुनै पनि निकायको कत्ति पनि चासो र चिन्ता देखिएको छैन, मानौं सर्वसाधारणले व्यहोर्दै रहनु परेको यो दुःख कुनै ठूूलो चासो र चर्चाको विषय नै हैन ।

(काठमाडौं-७, सिफलका लेखक आफैं बाँदरपीडित हुन् ।)





Source link

HamroAwaj

2022-08-20 08:35:59

Leave a Comment