साँच्चैका सांसद थिए प्रदीप गिरि – HamroAwaj


५ भदौ, काठमाडौं । ‘संसदमा बोल्दा समय लिन्थे तर, नेपालको संसदीय इतिहासमै संसदमा प्रस्तुतिका दृष्टिले त्यसरी सशक्त, रोचक रुपमा आफ्ना कुरा राख्ने अर्को सांसद भएन’, प्रदीप गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका पूर्वसभामुख दमननाथ ढुंगानाले अनलाइनखबरसित भने, ‘उहाँ साँच्चै सांसद हुनुहुन्थ्यो जो हामी कस्तो हो सांसद भनेर कल्पना गर्दछौं ।’

पूर्वसभामुख सुवाचन्द्र नेम्वाङका दृष्टिमा पनि प्रदीप साँच्चैका सांसद जस्ता थिए । प्रदीपबाट सिक्नुपर्ने धेरै विषय रहेको उनलाई लाग्छ । नेम्वाङ प्रदीपलाई सम्झन्छन्, ‘राम्रा, खारिएका, सुल्झिएका सांसद हुनुहुन्थ्यो । आफ्ना बोल्ने विषयहरुमा साह्रै गहिरो अध्ययन राख्ने । निरन्तर पढ्नुहुन्थ्यो । संसदमा आफ्नो उपस्थिति देखिने गरी बोल्नुहुन्थ्यो, उस्तै सरल भाषा प्रयोग गर्नुहुन्थ्यो ।’

प्रदीपबाट धेरै सिक्ने विषयहरु रहेको उल्लेख गर्दै संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङ थप्छन्, ‘संविधान निमाणका क्रममा कतिपय विषयमा उहाँको आफ्नै दृष्टिकोण थियो । म कहाँ आएर ‘मलाई यो कुरामा चित्त दुखेको छ भन्नुहुन्थ्यो तर, सरल भाषामा गम्भीर विषय राख्नुहुन्थ्यो । सबैले सिक्नुपर्ने विषय हो यो, उस्तै सामान्य जीवनशैली पनि ।’

पूर्वसभामुख ओनसरी घर्ती सभामुख हुँदा प्रदीपले संसदमा आएर बोलिदिए हुन्थ्यो भन्ने लाग्ने अनुभव सुनाउँछिन् । ‘सभामुखले तपाईं आएर बोलिदिनुस् भन्न मिलेन । तर, साझा एजेण्डा, राष्ट्रिय अन्तर्राष्ट्रिय विषयहरु, राजनीतिक सरगर्मीका सवालहरुमा व्यवहारिक हिसाबले ‘हजुर बोल्ने कि’ भनिन्थ्यो’ घर्तीले सुनाइन् ।

संसदमा पूर्वप्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलको नेतालाई बोल्न दिँदा समय नतोक्ने अभ्यास छ । अन्यको हकमा समय तोकिन्छ । तर, प्रदीपले बोल्दा पनि सभामुखहरुले समय धेरै ख्याल गरेनन् ।

पूर्वसभामुख घर्ती भन्छिन्, ‘उहाँ बोल्दा विगतका साथसाथै वर्तमान र भविष्य समेत केलाउनुहुन्थ्यो । सांसदहरु पनि उहाँलाई बोल्न दिँदा खुसी हुन्थे । उहाँलाई समयको पावन्दी हुँदैनथ्यो । उहाँलाई बोल्न समय दिँदा राष्ट्रलाई नै फाइदा हुन्छ भन्नेमा हामी सबै सांसदहरु कन्भिन्स थियौं ।’ घर्तीका अनुसार प्रदीप चिन्तन मनन गर्ने नेता हुन्, एकदमै अध्यनशील, ज्ञानको भण्डार थिए । साथसाथै सादगी पनि ।

सहपाठीमध्ये अब्बल

संसदमा गिरिसँगै लामो समय संगै रहेका हृदयेश त्रिपाठीका अनुसार प्रदीपले बोल्दा संसद पुरै ‘साइलेन्ट’ हुन्थ्यो । संसद बाहिर रहेका सांसदहरु प्रदीपले बोल्ने भन्ने थाहा पाएपछि हलभित्र प्रवेश गर्थे । प्रदीपको भाषण सुन्न वामपन्थी बाहुल्य संसद पनि साइलेन्ट हुन्थ्यो । प्रदीपको वौद्धिक क्षमतामा दख्खल दिनेहरु साह्रै न्यून थिए, छन् । खुलेआम मार्क्सवादको व्याख्या गर्नेहरुले पनि गिरिको वौद्धिकता माथि चुनौती दिन सक्दैनथे ।

०४८ देखि नै सांसदका रुपमा रहेका त्रिपाठी भन्छन्, ‘उहाँ र हामी संकटकै साथी हौं । संसदमा पनि संगै समय बिताइयो । बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो । दलीय स्वार्थ नराखेर बोल्नुहुन्थ्यो, कसैलाई प्रहार गर्दा निर्मम प्रहार गर्नुहुन्थ्यो । समकालीन राजनीतिमा उहाँ जस्तो सांसद, उहाँ जस्तो दार्शनिक व्यक्तिको अभाव छ ।’

प्रदीपलाई सांसदका रुपमा मात्रै सीमित गर्नु न्यायोचित नहुने उनलाई लाग्छ । त्रिपाठी भन्छन्, ‘उहाँ सांसद मात्रै नभएर दार्शनिक हो, राजनीतिक विश्लेषक हो ।’

त्रिपाठीका अनुसार आलोचनात्मक चेत र धारिलो वौद्धिक क्षमताकै कारण जस्तो प्रहार गरे पनि गिरि को आलोचना हुन्नथ्यो । बरु, प्रदीप सधैंभरि विरोधी पार्टी र पक्षमा लोकप्रिय रहिरहे । प्रदीपको भाषण विशेष चासोका साथ सुनिनुको कारण हो – आफ्नो पार्टी र नेताहरुको मात्रै नभएर, विरोधी पार्टी र तिनका नेताको कमजोरीहरुको सीमा, बाध्यता, राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको वर्तमान, विगत र भविष्यबारे तार्किक र सुक्ष्म रुपमा सान्दर्भिक विश्लेषण गर्ने कला र गला ।

उदाहरणका लागि ‘४ जेठ २०७७ मा प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रदीपले तत्कालीन सरकारले ल्याएको नीति तथा कार्यक्रमको आलोचना गरे । त्यसक्रममा उनले बेलायतका प्रधानमन्त्रीलाई चर्चिलले भनेको ‘इनफ इज इनफ’ को प्रसंग दोहोर्‍याउन नचाहेको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा प्रहार गरे । यति गम्भीर प्रहार गर्दा पनि उनको शैली उस्तै सरल थियो ।

सत्तालाई प्रश्न गर्ने प्रदीप शैली

‘स्वयं यहाँ (सभामुख अग्नि प्रसाद सापकोटा) सँग २०४२ सालमा केन्द्रीय जेलमा पहिलो पटक सात्क्षात्कार भएको थियो । हेर्दाहेर्दै ३५ वर्ष भइसकेछ । त्यो भन्दा लगभग १० बर्षअघि कमरेड ओलीसँग भद्रगोल जेलमा देखादेख भएको थियो । उहाँलाई गोलघरमा राखिएको थियो । नजिकबाट कुरा गर्न पनि गाह्रो थियो । कति बर्ष बितिसकेछ त ?

मलाई यो दस्तावेज (नीति तथा कार्यक्रमबारे) मनमा एउटा प्रश्न आएको छ– यत्रा वर्ष हामी के गरेर बसेका थियौं ? यो दस्तावेज सरकारको किंकर्तव्यबिमुढताको ठोस प्रमाण छ । तर, समस्या छ त्यो किंकर्तव्यबिमुढताले, दिशाविहीनताले म पनि संक्रमित भएँ जस्तो छ, के बोलौं के बोलौं जस्तो भएको छ । कसको विरोध गर्ने ? जेलका सहकर्मीको विरोध गर्ने ! देश परिवर्तन गर्नका लागि लडेका मान्छेको हाँसो उडाउने ? अथवा, कुन पक्षको समर्थन गर्ने ?

हामीले ३०/४० बर्षमा बनाएका सरकार सबै लगभग उस्तै भएनौं त ? ३०/४० बर्षमा हामीले सत्ता त हस्तान्तरण गरेछौं, तर, सत्ताको रुपान्तरण गरेनौं । परिणामतः आज भ्रष्टाचारमा सिंगो देश डुबेको छ । सुशासन भन्ने शब्द जिब्रोमा अड्किएको छ । फगत कुशासन छ । त्यस कुशासन र भ्रष्टाचारलाई यस लकडाउनले ठोस रुपमा छाम्न सकिने, बुझ्न सकिने, तौलन सकिने रुपमा गाउँ गाउँमा प्रत्येक व्यक्तिलाई देखाइदिएको छ ।

म विगत दुई महिनाजसो लगातार आफ्नो गाउँमा थिएँ । लकडाउन हुनुअघि आफ्नो निर्वाचन क्षेत्रमा गएको थिएँ, जो मेरो जन्मथलो पनि हो घुम्न गएको बेला त्यहीँ लकडाउनमा परेँ । मलाई व्यक्तिगत रुपमा कसैका बारेमा केही भन्नु छैन । कुनै सीडीओ, कुनै गृहसचिव, कुनै आईजी, कुनै डीआईजीका बारेमा केही भन्नु छैन । मन्त्रीको पनि नाम लिएर केही भन्न चाहन्न ।

यत्रो संवेदनशून्यता, यत्रो अमानवीयता, प्रतिनिधिमूलकताको यत्रो अभाव, आम नागरिकको अवस्था के होला ? कसरी लकडाउनको कठिनाइ खेपिरहेका होलान्, कति दिन खेप्लान् ? यो मेरो तीतो अनुभवले हाम्रा मन्त्रीसँग सम्पर्क गर्न खोज्दा मैले अनुभव गरेको छु । सीडीओ हस्याङफस्याङ छन्, डीआईजीलाई सवारी चलाउँदैमा फुर्सद छैन, यसमा विस्तारमा जान चाहन्न किनभने म उनीहरुलाई दोष दिन चाहन्न, हामीले सत्ताको हस्तान्तरण त पायौं, रुपान्तरण गर्न सकेनौं ।

र किंकर्तव्यबिमुढताको कुरा, के नशा लागेको हो ? यो दस्तावेज (नीति तथा कार्यक्रम) मा आजको मुख्य समस्या, मानवजातिको आज अघि कहिले नपरेको समस्याका बारेमा एउटै पनि ठोस चिन्तन छैन । सधैं भन्दै आएको भ्रष्टाचारको नियन्त्रण, सुशासनलाई लागू गरिने भन्ने कुरा अवश्य छ । थप कुरा छ, कसैलाई भोकै रहन दिन्नौं, भोकै मर्न दिन्नौं ।

म चेतावनी दिन चाहन्छु– भोकले नै मर्ने अवस्था आउँदैछ । विभिन्न कविहरुले भनिसके, संवेदनशिल मानिसहरु र नेताहरुले भनिसके, रोग भन्दा भोकले मर्ने अवस्था आउँदैछ । यो सरकार, यो राज्यको संयन्त्र यसप्रति पुर्ण उदासिन छ किन ? भनिन्छ– रक्सीको नसा खाएपछि लाग्छ । पैसाको नशा पाएपछि लाग्छ । तर, यो सत्ताको नशा गएपछि लाग्दो रहेछ ।

अहो ! तपाईं त कति ठूलो मान्छे, तपाईं त महान्, यो देश बनाउन तपाईंको जन्म भएपछि मान्छे बेहोस हुनुपर्छ । हाम्रा नेताहरुलाई मुलुकको समस्याको जानकारी छ जस्तो लाग्दैन मलाई । मानवताको इतिहासमा दोस्रो विश्वयुद्धभन्दा एटम बमले ल्याएको खतरा भन्दा बढी खतरा कोरोनाको छ भनिन्छ । तर, दस्तावेजमा यो गरिनेछ, त्यो गरिनेछ, बाफरे बाफ गरिने, गरिनेको लिस्ट ।

३० वर्षको मेरो संसदीय कार्यकालमा यत्रो ज्यादा गरिनेछ भन्ने कहिँ पढेको थिइनँ । यसरी गरिनेछ, गरिनेछ लेखिरहने हो भने केही समयमा मरिनेछ भनेर लेखे हुन्छ । जुन कुराको समस्यालाई सम्बोधन गरेर त्यो मरिने कुराको खतरालाई हटाउन गरिने कुरा गर्नुपर्ने हो त्यसको बारेमा मौन छ । जिम्मेवारीबाट पन्छिनको लागि भ्रष्टाचार शब्दको नाम मात्रै उल्लेख छ । सुशासनको नाम मात्रै उल्लेख छ ।

मैले अघि पनि भनेँ, आफ्ना सहयोद्धालाई, आफ्ना सहकर्मीलाई नामै लिएर आरोप लगाउन चाहन्नँ । तर, मुख्य ठाउँमा बसेको व्यक्तिले, प्रधानमन्त्रीको पदमा बसेका व्यक्तिले आफ्ना आफ्ना कर्तव्य पालना गर्ने बेलामा ‘हैन के गर्नु अवस्था यस्तो थियो’ भन्न पाइँदैन । कुनै घरमा चौकीदार, गार्ड राखेको छ, त्यो घरमा चोरी भयो भने, चोर खोजिदैन, पहिले त्यो गार्डसँग त्यो चौकीदारसँग स्पष्टीकरण मागिन्छ ।

त्यसकारण म यस सरकारसँग पहिलोपटक स्पष्टीकरण माग्दैछु– म ती वक्तामध्ये होइन, त्यस्ता सांसदमध्ये होइन, त्यस्तो प्रतिपक्षको सदस्य होइन जसले बिना कारण अत्तो थापेर सरकारलाई विरोधका लागि विरोध गर्ने गरेको छ । यो सरकारको अकर्मण्यता, अक्षमता लगभग त्यस्तै छ जस्तो दोस्रो विश्वयुद्धको मुखमा बेलायतका प्रधानमन्त्री नेविल च्याम्बरलेन हुनुहुन्थ्यो ।

च्याम्बरलेनलाई हटाउन उनकै कन्जरभेटिभ पार्टीका लर्ड एमिरीले उठेर, उनकै पार्टीका चर्चिलले उठेर भन्नुपरेको थियो– इनफ, इनफ ।

हामीमाथि दया गर, हामीमाथि दया गर र त्यो कुर्सी छोडिदेऊ । म त्यो दृष्य यहाँ दोहो¥याउन चाहन्नँ । दोहोरियोस् भन्ने पनि चाहन्नँ । मलाई प्रधानमन्त्रीको तथाकथित देशभक्तिमा कुनै शंका छैन । उहाँले दिएको वचन र उहाँको राष्ट्रवाद यस्तै हो भने उहाँले जनसेना बनाएर अध्यक्ष प्रचण्डसँग हातमा हात मिलाएर भारत र चीनलाई सबक सिकाउन बेर छैन ।

तर, समस्या छ आज भोकमरीको, जो आगामी दिनमा आउने खतरा छ । यसकारण म चाहन्छु– नेपालीहरु बलिया बाङ्गा भए भने एकदिन सिंगो विश्वमा कुनै समयमा अम्मरसिंह थापाले खुकुरी चम्काएर सतलज पुगेजस्तै पुगौंला ।

अहिलेलाई आम नेपाली रोगले ग्रस्त छन् त्यसका लागि आवश्यक मात्रामा क्वारेन्टिन बनाउनुस् । बोर्डरमा अलपत्र रहेका हजारौं नेपाली नागरिकलाई भित्र्याउनुस् । उनीहरु चाहेर विदेश गएका हैनन्, उनीहरुलाई कविताको भाषामा भन्नुस्,

अर्काका देशमा गएर तिमी कसका निम्ति लड्दैछौ,
अर्काका देशमा गएर तिमी कसका निम्ति कमाउदैछौ,
आऊ आफ्नै देशमा आएर लड,
आऊ आफ्नै देशमा आएर मर ।

जोसँग लड्नु छ यहीँ लडौंला, आफ्नो मुलुकको भारी बिसाउन छोडेर अर्को मुलुकको भारी बोक्न जाने ? भन्नुस्, त्यो भन्ने काम तपाईंको हो, प्रधानमन्त्रीजी तपाईंको हो ।

सबैभन्दा पहिले प्रेम र माया चाहिएको छ । आफ्ना दाजुभाइलाई, आफ्ना छिमेकीलाई माया गर्न नसक्ने व्यक्ति समाजवादी हुँदैन । मार्क्स र एंगल्सको ठेली बिर्सनुस्, माओको रेड बुक पनि गोजीमा थन्क्याउनुस्, यति बुझ्नुस् समाजवादको मूल परिभाषा– आम जनतालाई माया गर्ने, आफ्ना छिमेकीलाई माया गर्ने, आफूलाई माया गरे जस्तै माया गर्ने ।

यस दस्तावेज (सरकारको नीति तथा कार्यक्रम) मा सब थोक देखेँ तर माया देखिन, प्रेम देखिन । यसकारण म यस दस्तावेजको विपक्षमा छु । या सरकारले समस्या समाधान गरोस्, समाधान गर्दैन भने ठाउँ छोडोस् । यो म बोलिरहेको छैन, दोस्रो विश्वयुद्धको चर्चिल बोल्दैछ ।

प्रधानमन्त्रीले भन्न सक्नुपर्छ, सान्त्वना दिएर हुदैन । म सँग तपाईंलाई दिनका लागि आशुबाहेक केही पनि छैन । रोदन बाहेक केही पनि छैन । आउनुस् हामी केही दिन दुख पाएर बसौं । झुटो ललिपप दिने होइन ।

जाँदाजाँदै भने : गरिब छौं, दरिद्र छैनौं

प्रदीप गिरिकै शब्दमा सांसद प्रदीप ‘ती वक्तामध्ये होइन, त्यस्ता सांसदमध्ये होइन, त्यस्तो प्रतिपक्षको सदस्य होइन जसले बिना कारण अत्तो थापेर सरकारलाई विरोधका लागि विरोध गर्ने गरेको छ ।’ अर्थात्, उनी आफूलाई दलीय स्वार्थभन्दा माथि राख्थे ।

संसदमा उनले पटक–पटक आफ्नै सरकारमाथि प्रश्न गरेका छन् । आफ्नै पार्टी नेता र आफ्नै सरकारमाथि प्रश्न गरेका कारण कयौं सांसदले पार्टीभित्र स्पष्टीकरण दिनुपरेका उदाहरण कैयन छन् । तर, प्रदीप गिरिलाई पार्टीको अनुशासनले छुँदैनथ्यो । संसदमा उभिएर आफ्नो पार्टीको नीति र नेताको बारेमा समेत आलोचना गर्दथे ।

पूर्वसभामुख दमननाथ ढुंगानालाई लाग्छ, ‘प्रदीप आफैं पार्टी समाज र विषयवस्तुको गहिराइ बुझ्दथे । बुझेर विवेक र वौद्धिकता बोल्दथे । यसकारण उनी पार्टीको अनुशासनमाथि जस्ता देखिन्थे ।

वास्तवमा उनी आफैं स्वअनुशासनमा बाँधिएर सत्तामा रहेकाहरुमाथि निरन्तर प्रश्न गरिरहे । प्रश्न गर्दा गर्दै उनले विदा लिनु परेको छ । तर, जाँदा जाँदै प्रदीप गिरिले गहकिला सन्देशहरु छोडेर गएका छन् । फेरि पनि पार्टीमाथि उभिएर संसदमा प्रस्तुत हुन भनेका छन् । सत्तामाथि संशय राखेर हेर्न भनेका छन् । तडकभडक भन्दा सादगी जीवन जिएर आफूलाई जस्तै आम मानिसलाई माया गर्न भनेका छन् ।

प्रदीप गिरिले पछिल्लो पटक संसदमा १५ साउन २०७८ मा विशेष समय लिएर बोलेका थिए । त्यस दिन १६ मिनेट ३७ सेकेण्ड बोलेका उनले तत्कालिन समयमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीलाई लिएर भूराजनीतिक टकरावको आशंका सहित उठेका सवालहरु चिर्ने प्रयास गरेका थिए ।

‘भारत र चीनको छेउमा परेर हामी सानो देखिन्छौं । विश्वका राष्ट्रहरूको तुलनामा आफूलाई हेर्नु भयो भने हामी मनग्य ठूला छौं । संशाधनले हामी रहित छौं । गरिब छौं । तर हामी दरिद्र छैनौं’, उनको नेताहरुलाई सुझाव छ, ‘हाम्रो मानसिकता मात्रै गरिब छ । हामीसँग अक्षय, अमूल्य र अद्भूत प्राकृतिक स्रोतहरू हाम्रा नदीनालादेखि पर्वतराज हिमालयसम्मका असीमित संशाधन छन्, हामीले च्याउन पनि भ्याएका छैनौं । हामीलाई त विदेशी डलरको मात्रै भोक छ ।’

विदेशी डलरको भोक निरन्तर लागिरहे के हुन्छ भन्नेबारे उनको सन्देश छ, ‘… सन्धिको प्रयास संयुक्त राज्य अमेरिकाबाट भइरहेको छ । यस्तो कुनै प्रयास कुनै दिन हिन्दुस्तानबाट पनि आउला वा आइसकेको होला । चीनबाट आउला, आइसकेको होला । युरोपियन युनियन एउटा शक्तिको रुपमा अगाडि बढिरहेको छ । त्यहाँबाट पनि आउला ।’

यसबाट बच्न नेपालको विदेश नीतिमा सबैको एकरुपता आवश्यक रहेको उनको सुझाव छ, ‘चाहे अमेरिका हेर्नुहोस्, भारत हेर्नुहोस् वा चीन हेर्नुस् । ठीक छ, बेठीक छ, उनीहरूको आफ्नै दृष्टिकोण छ नेपालप्रति आफ्नो दृष्टिकोण छ ।’ नेताहरुलाई उनको सुझाव छ, ‘पहिला हामी साझा दृष्टिकोण बनाऔं– भारत, चीन, अमेरिकाप्रति । अनि कुन सन्धि खारेज गर्ने, कुन नगर्ने, कुन राख्ने नराख्ने गर्नुपर्छ । यो राष्ट्रिय नीतिको प्रश्न हो ।’

नेपालको संविधानमा रहेका कतिपय व्यवस्थामा असन्तुष्टिहरु राखेर उनले हस्ताक्षर गरेका थिएनन् । यो प्रश्नको निरन्तर सामना गरेका प्रदीप गिरिले आफनो अन्तिम अभिव्यक्तिमा व्यवस्थाकै चिन्ता गरेका थिए ।

‘…पुराना गीत गाएर, पुराना तन्त्र गाएर, पुराना शास्त्र भट्याएर र शास्त्रका किमतमा लोकलाई बुझ्न हामीले छाड्यौं भने इतिहासमा हाम्रो नाम मात्र रहनेछ । यसपटक यो सरकार असफल भयो भने शेरबहादुर मात्र असफल हुनुहुन्न, संविधान असफल हुन्छ । संविधान असफल भएर पनि केही बिग्रिँदैन । व्यवस्था असफल हुन्छ । व्यवस्था असफल हुने भनेको सोच्दा मात्र पनि कहाली लाग्छ । संविधानमा हस्ताक्षर नगरेको म एक व्यक्ति भन्दैछु– बाटो अर्को देख्दिनँ म । त्यसैले यस संविधानको रक्षा गर्न अग्रपंक्तिमा आएर बोलेको हुँ, लेखेको हुँ ।’





Source link

HamroAwaj

2022-08-21 20:54:29

Leave a Comment