चार कारणले मुख्यमन्त्री हटाउन चाहन्छन् उपेन्द्र यादव – HamroAwaj


चुनाव जति नजिकिँदै छ, उपेन्द्र यादवमा अधीरता बढ्दो छ । जनता समाजवादी पार्टीका अध्यक्ष यादव चार कारणले आफ्नै मुख्यमन्त्री हटाउन चाहन्छन् ।

पहिलो कारण, सप्तरीमा आफू सुरक्षित बन्न ।

जसपाबाट क्रमशः महन्थ ठाकुर, अनि बाबुराम भट्टराई पक्ष बाहिरिइसक्दा पनि उनी शान्त छैनन् । मधेसका सानामध्येका ठूलो पार्टीका सर्वशक्तिमान अध्यक्ष यादवमा आसन्न चुनावी सन्त्रासले घर गरेको छ । उनी प्रतिनिधिसभामा चुनिँदै आएका सप्तरी २ मा यसपल्ट सीके राउत लड्ने तयारी गर्दैछन् । यो यादवका लागि ठूलो टाउको दुखाई हो ।

त्यसैले पर्साबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री मोहम्मद लालबाबु राउत फ्याँकेर आफ्नै जिल्लाका, अझ आफ्नै क्षेत्रका शैलेन्द्र साहलाई उनी केही महिनामात्रै भएपनि मुख्यमन्त्री बनाउन चाहन्छन् । साह अहिले मधेसका आर्थिक मामिलामन्त्री छन् । अनि, यादवका हस् म्यान् ।

तर अरुतिर प्रदेश सरकार ढल्दा पनि सुदुरपश्चिम र मधेसमा सरकार पाँचै वर्ष चल्न लागेको रेकर्ड बन्यो । राउतलाई यस्तो पृष्ठभूमिमा सहजै फाल्न के निहुँ बनाउने ? यादव यसका लागि दोस्रो कारणतर्फ जान चाहन्छन् ।

दोस्रो कारण, भ्रष्टाचारविरोधी कार्ड ।

‘बेटी बचाउ, बेटी पढाउ’ अभियानका कारण चरम भ्रष्टाचारमा निर्लिप्त भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग छापा हान्ने, मुद्दा चलाउने गरिरहेको छ । यस्तै मुख्यमन्त्री स्वच्छता अभियान पनि विवादमा छ । अहिले प्रदेश सरकारका कर्मचारी तारो भएका छन् । राउत अहिलेसम्म सुरक्षित छन् ।

हुन त स‌ंघकाे चुनाव लड्ने आश्वासन दिएकाे हुनुपर्छ । तर आसन्न तयारीबाट भने अर्कै संकेत मिल्छ । किनभने अख्तियारले राउतलाई लक्षित गरेर मुद्दा चलाउनुभन्दा पहिल्यै उपेन्द्र यादवले उनलाई दोषी करार गर्न खाेजेकाे देखियाे । योभन्दा अगाडि उनी काठमाडौंले प्रतिशोध साँधेको भन्दै आफ्नो सरकारको बचाउमा ओर्लने गर्थे । तर आफ्नो नीतिबाट फनक्क फर्केर उपेन्द्र यादवले पछिल्लो केन्द्रीय समिति र राजनीतिक समितिका बैठकमा आफ्नो पार्टीको नेतृत्वमा रहेको मधेस सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै चरम असन्तुष्टि पोखे । राउतलाई भ्रष्ट भएकै कारणले निकाल्ने हो भने यस कामका लागि उपेन्द्रले किन यति लामो समय लगाए होलान् ? कारण प्रष्टै छ, आसन्न चुनाव । यसका लागि उनी तेस्रो कारणतर्फ नजर लगाइरहेका छन् ।

तेस्रो कारण, हिन्दु मुस्लिम भावना ।

उपेन्द्र तिनै नेता हुन्, जसलाई मधेसमा जातीय सम्प्रदायवाद नहेरी राजनीतिक कदम चाल्न हिम्मत गर्ने नेताका रुपमा चित्रित गरिन्थ्यो । संघीय चुनावमा मोहम्मद इस्तियाक राईलाई उनले टिकट मात्रै दिएनन्, जिताए, अनि संघीय मन्त्रीसमेत बनाए । सिरहाबाट मुस्लिम समुदायकै नेता खालिद सिद्दिकीलाई राष्ट्रिय  सभा लगे । अनि स्वयं लालबाबु राउतलाई मुख्यमन्त्री बनाएर हिन्दु बहुल प्रदेशमा राजनीतिक सन्देश प्रसार गरे ।

तर यो क्षणभरको कुरा थियो । इस्तियाक राईको विद्रोह प्रयास लुकेको छैन । राउत भने उनीजति हिम्मतिला छैनन् । उपेन्द्रका लागि हाललाई उनको औचित्य पनि सकियो ।बरु स‌ंघीय चुनावमा टिकट थमाउन सक्छन् ।  राउत जनकपुरमा शासन गर्न आएदेखि नै त्यहाँका शासन प्रशासन संयन्त्र असन्तुष्ट थियो । भारतीय संस्थापनले भड्काएको हिन्दुवादी भावनाको शिकार त्यहाँको मधेस सरकार समेत थियो । राउतलाई पछिल्लो समय काम गर्न निकै अप्ठ्यारो थियो । उपेन्द्र यादवले त्यो बुझेका थिए ।

उपेन्द्रलाई एक दशकयता भारतीय पक्षबाट निरन्तर असहयोग छ । यस्तो अवस्थामा उनी दिल्ली संस्थापन अनि छिमेकका भारतीय प्रदेशहरुलाई चिढ्याउन चाहँदैनन् । मुस्लिम र अल्पसंख्यकप्रति भाजपा सरकार चरम असहिष्णु छ । नेपाललाई समेत आफ्नो गेरुवा राजनीतिको छाताभित्र ल्याउन भाजपा र यसको मातृसंस्था आरएसएस चाहन्छन् । उपेन्द्रले यो चुनौतीलाई अभेद्य देख्न थालेको नेताहरु बताउँछन् । सत्ता राजनीतिको व्यवहारवादले उनलाई यसैमा रम्ने बानी पारिसकेको छ । त्यसैले बरु अल्पसंख्यक मुस्लिमले जेसुकै ठानुन् भन्नेमा उनी पुगेको पार्टीकै नेताहरु अनलाइनखबरसँग बताउँछन् ।

उनलाई त्यति सजिलो पनि हुने छैन । एक त जनमत पार्टीका अध्यक्ष सीके राउत महन्थ ठाकुरको लोसपासँग मिलेर चुनाव लड्ने दाउमा छन् । अर्को त, उपेन्द्र त्यस्तो क्षेत्रमा फेरि लड्दैछन्, जहाँ मुस्लिम भोट उल्लेख्य छ । कतिसम्म भने राजविराज नगरपालिकामा गत स्थानीय चुनावमा कांग्रेसले मुस्लिम समुदायका इर्शाद अन्सारीलाई मेयर उम्मेदवार नै दिएको थियो । मुस्लिमले आफैं नजित्ला, तर उपेन्द्रको दबदबा हल्लाइदिन सक्छन् ।

यस्तो अवस्थामा उनी चौथो कारण खोज्न सक्छन् ।

चौथो कारण, विजय यादव ।

खासमा सिरहाका विजय यादव लालबाबुलाई उछिनेर मुख्यमन्त्री बन्न चाहन्थे । टाठा, महत्वाकांक्षी, अनि राजनीतिक रुपमा तिखा विजय यादव उपेन्द्रकै लागि समेत चुनौती बन्न सक्थे । उपेन्द्र जानीजानी किन खतरा निम्त्याउँथे र !

विजयले केही पनि पाएनन् । अहिले भने उनको चासो सम्बोधन नगरी उपेन्द्रलाई धरै छैन । मुस्लिमहरु अझै असन्तुष्ट बन्नसक्ने सम्भावनाबीच उपेन्द्रलाई आफ्नो पक्ष बलियो देखाइराख्न पनि विजय यादवलाई नजिक राख्नु परेको छ । यस्तो अवस्थामा उनी शैलेन्द्र साहलाई पर, विजय यादवलाई वर राखेर भए पनि संकट टार्ने मेलो खोज्न सक्छन् ।

अहिले मधेस प्रदेश सभामा यादवको जसपासँग ३९ सिट छ । कांग्रेससँग १९ सिट, लोसपासँग १५ सिट, एमाले र माओवादी केन्द्रसँग आठ, आठ सिट । उदाउँदो सीके राउतको शक्ति जोसँग मिल्छ, त्यो निर्णायक भएर आउने संकेत देखिँदैछ । उपेन्द्रलाई यसैको भय छ । उनको यही असुरक्षित मनोविज्ञानको शिकार बन्दैछन्, लालबाबु राउत । सुशासन र स्वच्छता त चुनावी फन्डामात्रै हो ।

यी सब हुँदाहुँदै पनि यादवले चाल्ने अन्तिम तयारी गरेको ‘मुभ’ले उनलाई के लाभ होला ? अनलाइनखबरले यसको जवाफ खोज्ने कोसिस गर्यो ।

तर जवाफमा पनि उल्टै प्रश्न मिल्यो । आज साँझ कुरा गरेका मध्ये चार नेता तथा विश्लेषकले एउटै प्रश्न गरेः चुनावको मुखमा आएर उनले किन मुख्यमन्त्रीलाई बलीका बकरा बनाउने निर्णय लिए ? यस्तो गरेर उनलाई के फाइदा हुन्छ ?





Source link

HamroAwaj

2022-08-22 22:19:32

Leave a Comment