काठमाडौंमा जहाँ सित्तैमा खाना पाइन्छ – HamroAwaj


८ भदौ, काठमाडौं । सहरसँगै जोडिएर आउने एउटा विशेषण हो, स्वार्थी । मान्छेहरू भन्छन्, यो सहर स्वार्थी छ । तर, यहाँ त्यस्ता मनकारीहरू पनि छन् जो अरुलाई सित्तैमा खाना खुवाउँछन् ।

काठमाडौंको गोगंबुस्थित बिजी मलको प्राङ्गणमा सित्तैमा खाना उपलब्ध हुन्छ । झट्ट हेर्दा लाग्छ, यहाँ कुनै भत्तेर चलिरहेको छ । आगन्तुकहरू भुईंमै टुक्रुक्क-टुक्रुक्क बसेर कपाकप खाना खाइरहेका देखिन्छन् । भोको पेट लिएर पुग्ने जो कोहीले यहाँ खाना पाउँछन्, भरपेट ।

ज्याला मजदुरी गर्नेहरू हुन् वा यसै टहल्नेहरू, यहाँ खाना खान सक्छन् । दिनमा दुई छाक खाना उपलब्ध हुन्छ । बिहान ११ बजेको हाराहारी र साँझ ५ बजेको हाराहारीमा तात्तातो खाना पाइन्छ । खानामा दाल, तरकारी, अचार सबै हुन्छ । हिजोआज दैनिक लगभग सय जनाले खाना खाने गर्छन् ।

कतिपय रोगी, अशक्त, निमुखा हुनसक्छन्, जो यहाँसम्म आएर खान सक्दैनन् । उनीहरू जहाँ छन्, त्यही पुर्‍याइदिने व्यवस्था पनि छ । ‘परिवारको अवस्था एकदमै कमजोर छ’ मनिष विक भन्छन्, ‘खाना खानका लागि यहाँसम्म आउन पनि सक्दैनन् भने उनीहरुलाई उनीहरू बसेकै ठाउँसम्म खानेकुरा पुर्‍याइदिने गरेका छौं ।’

विक जय महाकाल युवा समूहका महासचिव हुन् । यही समूह अन्तर्गत नि:शुल्क खानपानको बन्दोबस्ती मिलाइएको हो । उनीहरू आफैं खाना बनाउने, वितरण गर्ने काममा खटिंदा रहेछन् ।

*** ***

हामी मध्याह्न गोगंबु पुग्दा यी युवाहरू खाना बनाउने सुरसार गरिरहेका थिए । कोही तरकारी काट्न त कोही मसला पिस्ने काममा लागिका थिए । माटोले बनाइएको भान्सामा दुई ठूल-ठूला चुलो बलिरहेको थियो । त्यही चुल्होमा दाल र भात बसाइएको थियो ।

साँझ ५ नबज्दै उनीहरू तात्तातो खाना बोकेर बिजी मल अघिल्तिर पुगे । त्यहाँ खानाका लागि दुई/तीन दर्जन मान्छे भेला भइसकेका थिए । सबैजना पलेंटी कसेर बसेका थिए । उनीहरु जहाँ-जहाँ बसेका छन्, त्यही नै उनीहरूले खाना पुर्‍याइदिए ।

कसरी गर्छन् खानाको बन्दोबस्ती ?

जय महाकाल युवा समूहले असहाय र भोकालाई दिने नि:शुल्क खानाको परिकार ।

यी मनकारी युवाहरूले अन्य दाताबाट पैसा संकलन गरेर रासनपानी जुटाउने गर्छन् । खासगरि ट्याक्सी चालकहरूले उनीहरूलाई सहयोग दिंदै आएका रहेछन् । यस क्षेत्रका धेरैजसो ट्याक्सी चालकले दिनहुँ ५० रुपैयाँको दरले सहयोग गरिरहेका छन् ।

संस्थाकै युवा संयोजक संस्थाका युवा संयोजक महेश राना ट्याक्सी चालक पनि हुन् । उनी दिनहुँ ५० रुपैयाँ आफ्नो संस्थामा बुझाउने गर्छन् । उनीजस्तै अरु ४० जना ट्याक्सी चालकले दैनिक ५० रुपैयाँ सहयोग गर्छन् ।

‘धनीमानीभन्दा पनि हामी दुःखी गरीबले नै एकअर्काको लागि सहयोग गरिरहेका छौं’ राना भन्छन्, ‘यहाँ कसैलाई बाध्यकारी छैन । आफ्नै इच्छाले खुसीसाथ सहयोग गर्ने हो ।’

लकडाउनका समयमा ट्याक्सी चलेनन् । यही चलाएर गुजारा गरिरहेकाहरूको भान्सा नै चिसो हुने अवस्था आयो । साँझ बिहान हातमुख जोर्नै समस्या भएको बेला यही समूहका युवाहरूले नि:शुल्क खाना वितरण गरे । रोजगारविहीन भएका ट्याक्सी चालकहरूलाई खानाका साथै रासन पनि उपलब्ध गराइयो । ‘संकटको बेला उनीहरुले हामीलाई ठूलो गुण लगायो’ उनी भन्छन्, ‘त्यसैले अहिले सामान्य अवस्था भएको बेला हामीले स्वतस्फूर्त उनीहरूलाई सहयोग गरेका हौं ।’

असाह्यलाई राहत

खाना खान लाइनमा बसेकाहरू ।

कोहलपुर जान भनी बसपार्क आएका एक युवा नेपाल बन्दका कारण अलपत्र परे । एक रात काठमाडौं बस्ने मात्र होइन, भात खानका लागि पनि उनीसँग पैसा रहेनछ । भोकले गल्दै गएको उनी नि:शुल्क खाना पाइन्छ भनेर त्यहाँ आएका थिए । ‘सहरमा भोकै बस्नुपर्छ भन्ने लागेको थियो’ उनले खुसी हुँदै भने, ‘तर यहाँ अघाउँञ्जेल खान पाइयो ।’

हाल बसपार्क क्षेत्रमा नै बस्दै आएका अरुण के.सीको पनि आफ्नै कथा छ । विगत एक सातादेखि उनी बिहान बेलुका यतै खाना खाँदै आएका छन् । चितवन घर भएका के.सी कामको खोजीमा काठमाडौं आएका थिए । बसपार्क क्षेत्रमै नै बसेर ज्यामी काम गरेर जीविकोपार्जन गर्थे ।

तर एक दुई महिनादेखि काम नभएकोले उनले कोठा भाडा तिर्न सकेनन् र खाना खाने पैसा पनि छैन । त्यसैले बिहान बेलुकाको खान खान उनी त्यहाँ आइपुग्छन् र राति पेटीमा सुत्छन् । उनी भन्छन्, ‘काम नपाएको धेरै भो काम पाए त गर्छु नि तर काम पाउनै गाह्रो छ खाना खाने पैसा पनि छैन त्यसैले यहाँ आएर खाना खान्छु । एकदम राम्रो सेवाको काम गर्नु भएको छ उहाँहरूले ।’

लकडाउनमा फुरेको जुक्ति

जय महाकाल युवा समूहको टिम ।

कोरोना महामारी र निरन्तरको लकडाउनपछि सहरमा बसेर ज्याला मजदुरी गर्नेहरू ठूलो संकटमा परे । न काम छ, न माम । उनीहरुले आफ्नो पेट मात्र होइन, परिवार एवं बालबच्चाको भोक पनि टार्न सक्ने स्थिति रहेन ।

ठीक यही संकटको घडीमा लीलानाथ भण्डारीको मन पग्लियो । विनासकारी भूकम्पमा जनधनको क्षति व्यहोरेका उनी आफैं पनि पीडित थिए । गोगंबुमै होटल व्यवसाय गरिरहेका उनले कोरोना महाव्याधिपछि आफूजस्तै दुःख र पीडामा भएकाहरुलाई उद्वार गर्ने सोंच बनाए ।

उनले आफूजस्तै मनकारी साथीहरूको समूह बनाए । यसमा उनीसहित १७ जना सम्मिलित भए । सबै जनाले आ-आफ्नै खल्तीबाट पैसा जम्मा गरे । सोही पैसाबाट रासनपानी जुटाए, खाना पकाए । र, भोक तिर्खाले व्याकुल मान्छेहरुलाई निःशुल्क खाना खुवाए ।

कोरोना मत्थर भयो । जनजीवन सामान्य अवस्थामा फर्कियो । यद्यपि सहरमा निमुखाहरूको दशा फेरिएन । अझै पनि उनीहरूलाई एक छाक जोर्न मुस्किल छ । यस्तै अवस्थामा रहेकाहरूलाई भरपेट खाना खुवाउने सिलसिला उनीहरुले जारी राखे । उनीहरूले काठमाडौं मात्र होइन, विभिन्न २८ जिल्लामा समेत युवाहरूलाई समेटेर सित्तैमा खाना खुवाइरहेका छन् ।

तस्वीर : चन्द्रबहादुर आले





Source link

HamroAwaj

2022-08-24 08:03:46

Leave a Comment