मधेश प्रदेशका सभामुख भन्छन् : परेको निवेदनलाई अख्तियारले पैसा कमाउने माध्यम बनायो – HamroAwaj


१० भदौ, जनकपुरधाम। मधेश प्रदेशका सभामुख सरोजकुमार यादवले परेको निवेदनलाई अख्तियारका पदाधिकारी र कर्मचारीले पैसा कमाउने माध्यम बनाउने गरेको आरोप लगाएका छन् ।

बर्दिवासमा आयोजना गरिएको संघीय शाषण प्रणाली सवलीकरण विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै यादवले उक्त आरोप लगाएका हुन् । अख्तियारले कसरी पैसा कमाउने माध्यम बनाउँदारहेछन् भन्ने कुराको उदाहरण उनले आफ्नै नगरपालिकाको दिए ।

आफ्नो नगरपालिका बाराको सिम्रौनगढमा प्रदेश सरकारले दुई बर्षअघि रु २ करोड विकासका निम्ति पठाएको र ती रकम कुनै कामै नगरी खर्च गरेको पाइएको उनले बताए । ‘उपभोक्ता समिति बनाएर कुनै कामै नगरिकन कर्मचारीले पैसा झिकिहाले’ उनले भने, ‘यस्तो गुनासो आएपछि संसदीय समिति बनाएर अनुगमन गर्‍यौं । त्यस क्रममा एक रुपैयाँको पनि काम भएको पाइएन् ।’

यसपछि पुरै टिम काठमाडौं गएर अख्तियारका प्रमुख आयुक्तलाई फोन गरेर समय माग्दा नदिएको उनले बताए । ‘त्यही पनि हामीले मुद्दा दर्ता गरायौं,’ उनले भने, ‘मुद्दा दर्ता गराएको २ बर्ष भइसक्यो, एक जना पनि हेर्न आएका छैनन् । अहिले थाहा पाएँ अख्तियारले फोन गरेर कर्मचारीलाई बोलाएर सेटिंग गरिदियो । यहीं हो संघीयता ?’

सभामुख यादवले प्रदेश सरकारलाई अधिकारबिहीन बनाएपछि सबैभन्दा बढी भ्रष्टाचार हुने देश नेपाल बनिसकेको बताए । ‘अदालतमा न्याय माग्न जानुस् बिना घूसको न्यायधीशले फैसला नगर्ने गरेको संचार माध्यममा आइसकेको छ’ उनले भने ।

संघीयता चाहिदैन भन्नेहरु भोलीको दिनमा गणतन्त्र पनि चाहिँदैन भन्न बेर नलगाउने भन्दै उनले त्यस्ता व्यक्तिबाट सचेत हुनुपर्ने बताए ।





Source link

HamroAwaj

2022-08-26 15:58:22

Leave a Comment