खोइ तीज ? ह्विस्कीले बगायो ! – HamroAwaj


हरितालिका तीज विशेष गरी हिन्दु नारीहरूले मनाउँदै आएको एउटा महत्वपूर्ण सनातन पर्व हो । यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाउने गरिन्छ । मुख्यतः नेपालमा मनाइने यो पर्व भारतका केही ठाउँलगायत हिन्दुहरूको बसोबास भएका अन्य मुलुकमा समेत मनाउने गरिन्छ ।

धार्मिक रूपमा तीजमा उमा–महेश्वरको पूजा गरी निराहार व्रत बसी भगवान शिवको आराधना गरिन्छ । नेपाली समाजमा परापूर्वकालदेखि नै तीजलाई विशेष महत्वको पर्वका रूपमा लिइन्छ । यस पर्वलाई पति–पत्नीबीचको सम्बन्धलाई अझ प्रगाढ र प्रेमिल बनाई उमा–महेश्वरको पूजाद्वारा पति–पत्नी एकअर्काका परिपूरक भएको प्रमाणित गर्ने, पति–पत्नीबीच माया एवम् सद्भाव बढाउने पर्व समेतका रूपमा तीजलाई लिइन्छ ।

सानै उमेरमा विवाह गरेर टाढा पुगेका छोरीचेलीका घरसम्मै माइती लिन जाने र माइतमा एकैसाथ सबै भेला हुने, रमाइलो गर्ने, दुःखसुख साटासाट गर्ने एवम् मिठो र स्वादिष्ट दर खाने, व्रत बसी सामूहिक रूपमा पूजाआजा गर्ने र नाचगान, गीत–सङ्गीत, सङ्गिनीका माध्यमबाट आफ्ना वर्षभरिका पीरव्यथा, मनका कुण्ठा व्यक्त गर्ने, आदर सद्भाव व्यक्त गर्ने अवसर तीजले जुटाउँथ्यो, तीजले चेली माइतीको आत्मीयता बढाउने काम मात्र नभएर अपनत्वको विकास गराउँथ्यो ।

आफ्ना घरमा ढिंडो पीठो जो भएको खाएर बर्खाभरि खेतबारीमा काम गरेर, घाँसदाउरा, मेलापातले थकित भएकी आफ्नी चेलीलाई वर्षको एक दिन भए पनि आराम र मिठो–चोखो खुवाउँ भन्ने हेतुले आफ्ना माइती पक्षका दाजुभाइ/बुबा गएर ल्याउने चलन अझै पनि गाउँघरमा कायमै छ । यसमा कति आत्मीयता र आफ्नोपन छ, यो नै वास्तवमा तीज हो, हाम्रो मौलिक पर्व हो ।

तर हिजोआज खासगरी शहर–बजारमा तीज भद्दा, भड्किलो, खर्चिलो तथा लज्जास्पद बन्दै गएको पर्वका रूपमा देखा पर्न थालेको छ । महिनौं अघिदेखि तीजका नाममा व्यावसायिक रूपमा विभिन्न गीतका गीति एल्बमहरू निकाल्नेको होड चलेको छ ।

महिनौं अघिदेखि दर खाने कार्यक्रम आयोजना गर्ने, तीजको मौलिकता दिनानुदिन हराउँदै गएको छ, मौलिकतालाई कुल्चिएर व्यावसायिक र छाडा प्रवृत्तिका गीत गाउने, अश्लील रूपमा नाच्नेको तँछाडमछाड चलिरहेको छ ।

फेसनका नाममा नयाँ वस्त्र फेर्ने, गहना देखाउने, लोकाचारका लागि पूजा लगाउने र दरका नाममा महिनौं अघिबाट सार्वजनिक रूपमा गरिने सामूहिक खानपानको आयोजनाले तीजलाई विकृतितर्फ डोर्‍याउन थालेको छ ।

प्रायःजसो दिदीबहिनीहरू आफूले लगाउने पहिरन एकपटक लगाएपछि दोहोर्‍याएर लगाउन नहुने, पहिरन अनुसारकै गरगहना लगाउनै पर्ने, तीज आउँदा अनिवार्य रूपमा देखासिकीका लागि हजारौं खर्च गर्नै पर्ने आडम्बरयुक्त दृश्य त जताततै छरपस्ट देखिन्छ ।

नयाँ पहिरन फेर्दा मात्र, महिनौं अघिबाट दरका कार्यक्रममा सहभागी हुँदा, ह्विस्की र रक्सीका गिलासहरू चियर्स गर्दा मात्र पर्व उत्साहजनक भएको मूल्याङ्कन गरिनु पर्वको मौलिकता माथिको प्रहार हो । पहिरन थोत्रो होस् तर मन भने सधैं सफा र निश्चल होस् । यी र यस्ता किसिमका गतिविधिले हुनेखाने वर्गलाई त खासै फरक पार्दैन तर हुँदा खाने वर्गलाई त खल्लो अनुभूति गराउँछ नै ।

यस्ता प्रवृत्ति बढ्दै जाँदा हाम्रो मौलिक परम्परा दिनानुदिन हराइरहेको छ । यी र यस्तै अपाच्य गीत, नृत्य र हाम्रो स्वभावले समाजमा कस्तो असर पर्ला ? यो हामी किन सोच्दैनौं ? हामी स्वयम्ले सही र गलत छुट्याउनै नसक्ने भएर हाम्रा पर्वहरू मनायौं भने हामीबाट पछिल्लो पुस्ताले के सिक्ने ? यसर्थ यस्ता विकृतिहरूबाट सजग रहँदै तीजको मौलिकतालाई संरक्षण र सम्वद्र्धन गर्नु हामी सबैको कर्तव्य हो ।

हाम्रा सबै प्रकारका सकारात्मक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी भावी पिंढीमा समेत स्थानान्तरण गर्न लायक राख्न हामी सबै जिम्मेवार भएर लाग्न सकौं, आफ्नो कर्तव्य र दायित्व नभुलौं । विश्वभरि छरिएर बस्नुभएका सम्पूर्ण नेपाली नारीमा हरितालिका तीजको मंगलमय शुभकामना !





Source link

HamroAwaj

2022-08-29 15:31:13

Leave a Comment