बम वर्षाको बीच हनिमुन – HamroAwaj


सन् १९७४ जुन २४ का दिन बिहेगरे लगत्तै हामी बैङ्कक गयौँ र उतैबाट नोम्पेन्ह पुग्यौँ । विनताको यो पहिलो विदेश भ्रमण थियो । असाध्यै शान्त मुलुक त्यसमा पनि सुरक्षित पारिवारिक घेराबाट अचानक उनी यस्तो स्थानमा पुगेकी थिइन्, जहाँ एक त बोलेकै नबुझिने भाषा र अर्को द्वन्द्वग्रस्त सहर । फरक संस्कृति र खतरनाक सुरक्षा व्यवस्थाले दिएका केही अप्ठ्याराको बावजुद उनले त्यो बेग्लै परिस्थितिमा आफूलाई छिट्टै अनुकूल बनाइन् ।

हामी मेकोङ नदीको किनारमा ‘फ्रोँ द बसाक’ भन्ने एउटा विशाल अपार्टमेन्ट कम्प्लेक्समा डेरा गरी बसेका थियौँ ।

रमाइला दिनहरूमा हाम्रो जोडी पछाडिबाट ठेलिने नोम्पेन्हको ‘साइक्लो रिक्सा’ चढेर बसाक र मेकोङ नदीका किनारै किनार भौँतारिन्थ्यो । त्यसैगरी मोनिभोङ बुलभार्डदेखि कम्बोडियाको राजप्रासादसम्मकै फराकिलो सडकको पैदलयात्रा पनि कम्ती रमाइलो हुँदैन थियो । विशाल मेकोङ नदीको वारि हामी टहलिरहँदा पारितर्फ बमले आकाशमा फैलाएको धुवाँ देखिन्थ्यो र यदाकदा विस्फोटका आवाज पनि सुनिन्थे । कहिलेकाहीँ त अझ नोम्पेन्हका विभिन्न भेगमै बमगोला वा रकेट खसेका आवाज सुनिन्थे । त्यस्ता दिनमा म कार्यालय गए पनि विनता घरैमा बस्थिन् ।

मेरो कार्यालय सहरको अर्को भागतिर एयरपोर्टनजिकै पर्थ्यो । त्यहाँको टेलिफोन सेवा उत्तिको भरपर्दो नभएकाले हामीलाई वाकीटकी दिइएको थियो । केही अनौठो वा डरलाग्दो परिस्थिति देख्नेबित्तिकै विनता मलाई सम्पर्क गरिहाल्थिन् । मलाई अझै त्यो दिनको सम्झना छ, जति बेला विनताले सेन्ट्रल मार्केटमा आफूभन्दा केही मिटरअगाडि मात्र खमेर रुजको रकेट खसेर केही मानिसको ज्यान गएको देख्नासाथ सम्पर्क गरेकी थिइन् ।

इन्डो–चाइना क्षेत्रमा राजनीतिक विचारधाराको सङ्घर्षका कारण चलिरहेको युद्धबारे विनता उति राम्ररी परिचित थिइनन् । त्यहाँ के भइरहेको छ भन्ने कुरा म उनलाई बताइरहन्थेँ । मैले एउटा अनौठो कुरा गरेर उनलाई तर्साइदिएको पनि थिएँ । त्यो थियो– मलाई कुनै तवरले अलिक दिन खमेर रुजको नियन्त्रणमा रहने इच्छा ।

म खमेर रुजलाई राम्ररी बुझन चाहन्थेँ । कथंकदाचित उनीहरूको अपहरणमा परे पनि केही नौलो कुरा सिक्न पाइएला, धन्दा मान्नुपर्दैन भन्ने मेरो भनाइ सुनेर मेरी सोझी पत्नीको सातोपुत्लो उड्थ्यो । यस्तो सनकी श्रीमान् पाएकी विनतालाई उनी भित्रको गहिरो धार्मिक र आध्यात्मिक लगावले नै जीवनमा अचानक आइपरेको यो अनौठो र जोखिमपूर्ण परिस्थिति सामना गर्ने साहस प्रदान गरिरहेको थियो ।

नोम्पेन्हको पतन

सन् १९७४ को अन्त्यतिर सिङ्गो राजधानी सहर खमेर रुजको रकेटको दायराभित्र परिसकेको थियो । राष्ट्रसङ्घले अत्यावश्यक सेवामा संलग्नबाहेक सबै कर्मचारी र परिवारका सदस्यहरूलाई नोम्पेन्हबाट बाहिर पठाउने निर्णय गरेपछि विनता काठमाडौँ गइन् । विपद्को बेला मानवीय सहयोग गर्ने युनिसेफको कर्तव्य हुनाले म भने त्यहीँ खटिरहनुपर्ने भयो ।

सन् १९७५ को प्रारम्भ नहुँदै अब बढीमा केही दिन वा साताभित्रै नोम्पेन्हको पतन अवश्यम्भावी छ भन्ने प्रस्ट देखिइसकेको थियो । सहरको एउटा भागमा रकेट आक्रमण हुनासाथ हामी अर्को भागमा सरेर आफ्ना सहकर्मीसँग बस्थ्यौँ । यसरी बसेको टोलमा पनि लगत्तै आक्रमण भएपछि हामीलाई फेरि ठाउँ सारेर अर्कातिर लगिन्थ्यो । यस्तो अवस्थामा हामीले दिन सक्ने सेवाको दायरा पनि असाध्यै साँघुरिएको थियो । अन्तिममा हामीमध्ये केही कर्मचारी सहरकै सुरक्षित होटलमा बसेर बाँकी सबै अन्तर्राष्ट्रिय कर्मचारीलाई बिदा गर्ने निर्णय लियौँ ।

सन् १९७५ फेब्रुअरीको अन्त्यमै यस्तो दिन पनि आइपुग्यो, जति बेला बेलायती दूतावासले उसका नागरिकलाई जोगाउन प्रयोग गरेको सैनिक विमानले दूतावासका कर्मचारी, केही बेलायती नागरिक र मजस्ता आफ्नो देशको दूतावास नभएका ‘फिरन्ता जोगी’ लाई नोम्पेन्हबाट उडायो । पहिलो चरणमा नोम्पेन्हबाट मलेसियाको ‘बटरवर्थ एयरफोर्स बेस’ मा उत्रेपछि सिङ्गापुर र बैङ्ककसम्मको त्यो यात्रा असाध्यै आकस्मिक, रोमाञ्चक र पीडादायी थियो ।

आफ्ना विदेशी कर्मचारीलाई तत्काल जोगाउनुपर्दा सामान्यतः राष्ट्रसङ्घको आकस्मिक निकास योजना नै हुने गर्छ । नियमअनुसार हामीलाई राष्ट्रसङ्घमा वरिष्ठ सुरक्षा संयोजकको जिम्मेवारी सम्हालेका व्यक्तिकै नेतृत्वमा डिजाइन गरिएको योजनाले डोर्‍याउनुपर्थ्यो । त्यति बेला यो दायित्व राष्ट्रसङ्घीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि फर्नान्ड सेलेरले सम्हालेका थिए, जोसँग त्यसअघि पनि प्यालेस्टाइनदेखि लिएर कङ्गोसम्मका थुप्रै आकस्मिक उद्धारको अनुभव थियो ।

आफू भुक्तभोगी भएको आडम्बरले काम गर्ने सेलेर जहाँसुकै जाँदा पनि त्यहीँको रैथाने उपाय अपनाउनुपर्छ भन्ने मान्यता राख्थे । कम्बोडियाली खमेरहरूलाई पनि आफूले राम्रैसँग चिनेको उल्लेख गर्दै उनी भन्थे, ‘यी बेग्लाबेग्लै युद्धरत सबै खमेरहरूको आपसी पारिवारिक सम्बन्ध छ । कसै गरी खमेर रुजले नोम्पेन्ह कब्जा गरे भने उनीहरू बेग्लाबेग्लै क्याम्पका भए पनि आपसी परिवारहरूको बाहुपासमा पर्नेछन् र सबै कुरो मिल्नेछ ।’ यसरी उनी त्यहाँको खतरनाक परिस्थितिलाई अति हल्का रूपले लिन्थे ।

कम्बोडियाका तत्कालीन राजा नरोद्दम सिंहानुकसँग संवाद गर्दै पुस्तकका लेखक कुलचन्द्र गौतम ।

उनको यही रवैयाले गर्दा राष्ट्रसङ्घसँग आफ्ना कर्मचारीलाई आवश्यक परे तत्काल बाहिर निकाल्ने कुनै भरपर्दो योजनै भइदिएन । राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले राष्ट्रसङ्घका तमाम कर्मचारीलाई फ्रान्सेलीहरूका साथमा बाहिर निकाल्ने योजना बुन्यो, जसलाई हामीले सबैभन्दा रद्दी विकल्प ठहर गर्‍यौँ । किनभने हजारौँका सङ्ख्यामा त्यहाँ रहेका फ्रान्सेली नागरिक स्वाभाविक हिसाबले नै पहिलो प्राथमिकतामा पर्थे र त्यसपछि बल्ल पर्खेर बसेका हामीजस्ता बाँकी अरूले पालो पाउँथ्यौँ ।

तत्काल बहिर्गमनका निम्ति हामीसँग गतिलो योजना नभएको गुनासो जब–जब हामी गर्थ्यौं, तब–तब सेलेर हामी आलाकाँचालाई घटनाक्रमले कसरी रूप फेर्छ भन्ने ज्ञानै नभएको भन्दै हाँसोमा उडाइदिन्थे । उनले हाम्रा चासो र सरोकार लाई पन्छ्याउँदै ‘हेर्दै जाऔँ न, यहाँ पनि कङ्गोजस्तै हुनेछ’ भनिरहँदा हामी जिल्ल पर्थ्यौं ।

यस्तो अवस्थामा अन्ततः नोम्पेन्हमा दूतावास भएका मुलुकका राष्ट्रसङ्घीय कर्मचारीले आफ्नो दूतावासकै उद्धार सूचीमा आफूलाई समावेश गराए । कम्बोडियामा कूटनीतिक नियोग नभएको मजस्तो नेपालीले चाहिँ त्यहाँको कुनै दूतावासलाई राजी गराउनुपर्ने भयो । त्यस्तो अवस्थामा मैले बेलायती दूतावास छनोट गरेको थिएँ ।

बेलायतीहरू अति परिपक्व थिए । उनीहरूले बहिर्गमनको प्रक्रियालाई पनि निकै गोप्य राखेका थिए । बहिर्गमनको दिन हामीलाई बिहान सबेरै ७ बजे २० पाउन्डभन्दा कम तौलको एउटा सुटकेस मात्र लिएर दूतावासमा पुग्नुपर्ने निर्देशन थियो । हाम्रो पासपोर्टमा बहिर्गमनको छाप लगाउन उनीहरूले कम्बोडियाको विदेश मन्त्रालयका कर्मचारीलाई त्यहीँ डाकेका थिए । बिहान साढे ७ बजे मलेसियाको ‘बटरवर्थ एयरफोर्स बेस’ बाट आएको ‘सी–१३०’ सङ्केतको हर्कुलस विमानले नोम्पेन्हको आकाशमाथि चक्कर लगाउन सुरु गर्‍यो । यता तलचाहिँ पोचेन्तोङ विमानस्थल र त्यहाँसम्म पुग्ने सडक सबै खमेर रुजको रकेट आक्रमणको दायराभित्रै थिए । हामी सबै डरले थुरथुर भएका थियौँ तर बेलायती अधिकृतले ‘धन्धा मान्नुपर्दैन’ भन्दै आश्वासन दिइरहेका थिए ।

करिब ७ बजेर ४५ मिनेट जाँदा दूतावासको अगाडि जिपहरूको लस्कर आइपुग्यो, तिनमा हामी कुदाकुद चढ्यौँ ।

त्यति बेला नोम्पेन्हको पोचेन्तोङ एयरपोर्ट खमेर रुजको रकेट आक्रमण हुने परिधिभित्र परेकाले हामी एयरपोर्ट जान थर्कमान भई डराइरहेका थियौँ ।

जिपको लस्करलाई अगाडि–पछाडि सेनाको ट्याङ्क लगाएर हामीलाई विमानस्थलतर्फ लगियो । तर विमानस्थल पुग्नुभन्दा दुई किलोमिटर वरैबाट अचानक हाम्रो यात्रा मार्ग परिवर्तन गरेर धान खेत हुँदै अघि बढ्न थाल्यो । उनीहरूले त हामीलाई कम्बोडियाली सेनाले प्रयोग गर्ने कुनै गोप्य अवतरण मैदानमा पो लगे । हामी पुग्नासाथ हर्कुलस विमान पनि त्यहीँ ओर्लियो र पाँच मिनेटभित्रै सबै त्यसमा सवार भयौँ । त्यस दिन १५ मिनेटभित्रै विमान ओर्लने, हामी सबै चढ्ने र फेरि उडेर आकाशमा पुग्ने काम सम्पन्न भएको थियो ।

हामीलाई सिङ्गापुर लगेर रात बिताउन एउटा होटलमा राखियो, जहाँबाट अर्को दिन यात्रुलाई उनीहरूको गन्तव्यतर्फ लगिँदै थियो । मचाहिँ बैङ्कक पुर्‍याइँदै थिएँ ।

सिङ्गापुर ओर्लिएपछि मलाई बल्ल आफू कस्तो भयावह अवस्थाबाट बाहिर निस्केँ भन्ने महसुस भयो ।

नोम्पेन्हमा मध्यराततिर जब कतै केही पड्केको अवाज आउँथ्यो, म त्यति बेला बुर्लुक्क उफ्रेर बाथरुम पस्ने गर्थें, किनभने हाम्रो अपार्टमेन्टमा सबैभन्दा सुरक्षित स्थान बाथरुम मानिन्थ्यो । कम्बोडियाको त्यही बानीले म सिङ्गापुर र पछि बैङ्ककका राम्रा सुरक्षित होटलमा बस्दा पनि बाहिर केही कुरा पड्कियो भने झस्केर बाथरुममै हाम फाल्थेँ ।

बैङ्ककस्थित युनिसेफको क्षेत्रीय कार्यालयमा मैले एउटा सानो ‘खमेर अपरेसन युनिट’ खडा गरेर नेतृत्व लिएँ र फेरि नोम्पेन्ह फर्किने योजना बुन्न सुरु गरेँ । युद्ध टुङ्गिएपछि छिट्टै राजकुमार सिंहानुकको निर्वासित सरकारलाई सत्ता हस्तान्तरण हुनेछ भन्ने हामीलाई विश्वास थियो ।

सन् १९७५ अप्रिल १७ का दिन नोम्पेन्हको पतन भयो । भएभरका सम्पूर्ण विदेशी कूटनीतिज्ञ र युनिसेफका अन्तिम अन्तर्राष्ट्रिय कर्मचारीको टोलीलाई फ्रान्सेली दूतावास लगियो, जहाँ एक साताभन्दा बढी भयावह अवस्थामा बन्दी बनाएर पर्खाएपछि अन्ततः ट्रकमा राखेर थाइल्यान्ड ओसारियो ।

त्यसपछि कम्बोडियामा दोस्रो विश्वयुद्धमा हिटलरको नरसंहारपछिकै सबैभन्दा ठूलो र भयावह नरसंहार भयो र सारा देश बन्दीगृहजस्तो भई यस्तरी लगातार शून्यतर्फ ओह्रालो लाग्यो कि फेरि त्यहाँ फर्केर महिला र बालबालिकालाई राहत सेवा उपलब्ध गराउने युनिसेफको योजनाले चार वर्ष लामो अवधि पर्खनुपर्‍यो ।

अहिले फर्केर हेर्दा नोम्पेन्ह कब्जामा लिनुअगावै पनि हिंसा र अतिवाद अँगालेका खमेर रुजप्रति मैले कति सुधो धारणा बनाएको रहेछु भन्ने लाग्छ । तर तत्कालीन लोन नोलको शासन यति भ्रष्ट र अवैध थियो कि हामीमध्ये केहीले सिंहानुकको निर्वासित सरकारमा खमेर रुजकै रजगज भए पनि उसले मौका पायो भने सायद कम्बोडियाका निम्ति तत्कालीन अवस्थाभन्दा राम्रो पो भइजाला कि भन्ने सोचेका थियौँ ।

निर्वासित सरकारमा तीन किसिमका गुट थिए– (क) सिंहानुकका राजभक्त (ख) खमेर रुज र (ग) फ्रान्समा पढेलेखेका प्रगतिशील सोच राख्ने तन्नेरी नरमपन्थी ।

निर्वासित सरकार सत्तामा आएपछि राजावादी र खमेर रुज दुवैले एकअर्कालाई मत्थर पार्नेछन् र ती प्रगतिशील नरमपन्थीले चाहिँ शासनसत्तामा प्रभाव जमाउलान् भन्ने कल्पना मसमेत हामीमध्ये धेरैले गरेका थियौँ । वामपन्थी झुकाव राख्ने थुप्रै कम्बोडियाली र मजस्ता विदेशीले पनि निर्वासित सरकार सत्तामा आएपछि युद्धविराम भई अवस्था सुधारोन्मुख हुने र युद्ध झेलेका कम्बोडियाली सर्वसाधारणलाई तत्काल राहत उपलब्ध गराउन सकिने सपना देखेका थियौँ ।

तर हामी सबैले चिताएको भन्दा बेग्लै परिस्थिति विकास भयो ।

कम्बोडियाका सम्पूर्ण नाका यसरी जाम गरियो कि त्यहाँभित्र के भइरहेको छ भन्ने थाहा पाउनै मुस्किल हुन थाल्यो । सारा देश एउटा विशाल झ्यालखानाजस्तो बन्यो । चुहिएर आएका सूचनाले चाहिँ त्यहाँ भयावह किसिमको सामाजिक प्रयोग हुन थालेको जनाइरहेको थियो ।

नोम्पेन्हलगायत भएभरका सम्पूर्ण सहर र बजार खाली गराइयो । अस्पतालका बिरामी, बुढापाका, अपाङ्गता भएका र केटाकेटीलाई समेत बन्दुकको नाल सोझ्याउँदै घोक्र्याएर सहरबाहिर निकाला गरियो । भएभरका मानिसलाई लस्कर लगाएर जबर्जस्ती गाउँतर्फ लैजाँदा कतिपयको त बाटैमा मृत्यु भयो । कतिपय मारिए ।

त्यस समय कम्बोडियामा अकल्पनीय मानवीय भोगाइलाई दर्साउन नोम्पेन्ह सहरको जनसङ्ख्यामा आएको उतारचढाव नै काफी छ । सन् १९७० मा त्यस सहरको जनसङ्ख्या चार लाख थियो । १९७५ अप्रिल १७ मा यसै सहरमा बस्नेको सङ्ख्या २० लाख पुग्यो । अनि १९७५ मे १७ मै यस सहरको जनसङ्ख्या केवल ४० हजारमा झर्‍यो ।

कसैले चस्मा लगाएको छ, किताब पढेको छ, विदेशी भाषा बोलेको छ, गलत समयमा खाना खाइरहेको छ भने मात्र होइन, सामुन्ने आफन्त मरेको देखेर रोइरहेको छ भने पनि उसलाई मृत्युदण्ड दिइन्थ्यो । पूर्वकूटनीतिज्ञ, व्यापारी, शिक्षक र विभिन्न व्यवसायमा आबद्ध नागरिकलाई सिङ्गो परिवारसहित हत्या गरियो ।

यहाँसम्म कि मार्नका निम्ति पर्याप्त ‘प्रतिक्रान्तिकारी’ फेला पार्न नसकेकै अभियोगमा खुद खमेर रुजकै कतिपय समर्थकलाई मृत्युदण्ड दिइयो ।

भएभरका सहर र बजार खाली गरेपछि खमेर रुजले मुलुकका बौद्धिक र प्रशासनिक संरचना ध्वस्त पार्ने अभियान चलायो । धर्म प्रतिबन्धित भयो, पैसाको प्रचलनै बन्द गरियो, निजी सम्पत्ति निषेध गरियो र भएभरका सबैलाई खेती किसानीमा लगाइयो ।

लाखौँ मानिस मारिए, लाखौँ मानिस भोक र रोगले मरे । सन् १९७५ मा ७३ लाख जनसङ्ख्या भएको मुलुकमा झन्डै २० लाख मानिसको इहलीला ‘प्रजातान्त्रिक कम्पुचिया’ को ‘नयाँ चमत्कार’ ले समाप्त गरिदियो । खमेर रुजको सनकका भरमा मुलुककै जनसङ्ख्याको एक चौथाइभन्दा बढी मानिस यसरी मारिए ।

महिला र केटाकेटीको अवस्था त झनै भयावह र अत्यासलाग्दो भइदियो । सन् १९६० मा एक हजारमध्ये १४६ नवजात शिशुको मृत्यु हुन्थ्यो भने सन् १९८० मा त्यो सङ्ख्या २६३ मा उक्लियो । त्यसै गरी सन् १९६० मा मानिसको औसत आयु ४६ वर्ष थियो भने सन् १९८१ नपुग्दै त्यो अझ घटेर ३९ वर्षमा झर्‍यो । मुलुकभरका ८० प्रतिशत शिक्षकको हत्या गरेपछि र भएभरका स्कुल आधा दशकसम्मै बन्द गरिदिएपछि शिक्षाको अवस्था ध्वस्तै भएको थियो ।

आफ्नै नागरिकको यसरी व्यापक नरसंहार सँगसँगै खमेर रुजले उग्र राष्ट्रवादी धार समात्दै विदेशीहरू अझ विशेष गरी छिमेकको भियतनामप्रति घृणा फैलाउन सुरु गरे । ठूलो सङ्ख्यामा भियतनामी मूलका कम्बोडियालीको हत्या गरियो । यो उक्साहट र उन्मादलाई भियतनामीले सहन सकेनन् । आखिर उनीहरूले कम्बोडियामा आक्रमण गरे र सन् १९७९ जनवरीमा खमेर रुज सत्तालाई उल्टाइदिए ।

त्यसले नरसंहारकारी सत्ताको अन्त्य त गरिदियो तर राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय समुदायका निम्ति केही नयाँ जटिलता खडा भए, जसले नोम्पेन्हमा भियतनामद्वारा खडा गरिएको सत्तालाई अस्वीकार गर्दै खमेर रुजकै बचेखुचेको सत्तालाई वैधानिकता दिइरह्यो ।

यी सबले गर्दा कूटनीतिक जटिलता वर्षौंसम्म यथावत रहे पनि थाइल्यान्ड र कम्बोडियाको सीमावर्ती क्षेत्रबाट व्यापक रूपले राहतका कार्यक्रम अगाडि बढाउन सकियो ।

भियतनामले स्थापना गरिदिएको सरकारलाई राष्ट्रसङ्घले मान्यता नदिए पनि आफ्नो विशिष्ट ऐतिहासिक कार्यभारका कारण युनिसेफ र रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले कम्बोडियाभित्र काम गर्ने मौका पायो । युनिसेफको स्थापनायताकै सबैभन्दा बृहद् मानवीय उद्धार कार्य नै सन् १९७९ देखि १९८२ का बीचमा कम्बोडियामा परिचालित राहत वितरण अभियान बन्न पुग्यो, जसले दसौँ लाख कम्बोडियालीलाई अकाल मृत्युबाट बचाइदियो ।

कम्बोडियाको वियोगबाट चर्केको मेरो छाती

दशकौँपछि मैले फेरि युनिसेफको प्रतिनिधिमण्डल प्रमुखका रूपमा कम्बोडिया पुगेर राजा सिंहानुक, प्रधानमन्त्री हुनसेनलगायत थुप्रै महत्वपूर्ण व्यक्तिहरूसँग बारम्बार भेटघाट गरेँ । म ‘तुल स्लेङ नरसंहार सङ्ग्रहालय’ पनि पुगेँ, जहाँको दृश्य देखेर मानव जाति कतिसम्म क्रूर हुन सक्दो रहेछ भनेर भित्रैदेखि काँपे । मेरो मुटुमा कम्बोडियाले सदैव विशेष स्थान बनाएका कारण नै मैले त्यहाँ युनिसेफ र अन्तर्राष्ट्रिय समुदायलाई कम्बोडियाली महिला तथा बालबालिकाको क्षेत्रमा सक्दो योगदानका लागि अभिप्रेरित गर्दै आएको छु ।

कम्बोडिया पुग्दा जहिले पनि म तिता र मिठा अनुभवको सँगालो भेट्छु । मेरो व्यावसायिक जीवनको थालनी भएको त्यो मुलुक र त्यहाँका मानिसलाई म अति मन पराउँछु । त्यसैले त्यहाँको भ्रमण सधैँ मिठो हुन्छ । त्यो कहालीलाग्दो विगतबाट उनीहरू कसरी बाहिर निस्के भन्ने कल्पना गर्दै अहिलेका तन्नेरी अनुहारमा जब–जब आत्मविश्वासको चमक देख्छु, म आह्लादित बन्न पुग्छु । तर त्यहाँ खमेर रुजले बर्साएका कालरात्रिका भयावह दृश्य मेरो स्मरणमा ठोक्किन बाम्बार आइपुग्छन्, जसले मभित्र उथलपुथल मच्चाइरहन्छ । त्यसैले तितो पनि भइदिन्छ ।

मैले थुप्रै मुलुकमा बसेर सेवा गर्ने मौका पाएको छु । सेवाअवधि सकिएपछि पनि ती मुलुकका आफ्ना चिनारुलाई भेट्न मन लागिरहनु मानवोचित स्वभावै हो । कम्बोडिया मात्रै एउटा यस्तो मुलुक हो, जहाँ मैले उति बेला काम गर्दा चिनजान भएका कुनै पनि मानिसलाई म फेरि भेट्न सक्दिनँ । किनकि तिनीहरू सबै हताहत भए वा हराए ।

कम्बोडियालीहरू आफैँले भोगेको त्यो यातनाको तुलनामा मैले महसुस गर्ने पीडा त्यति ठूलो होइन । खमेर रुजको शासनकालमा कुनै पनि कम्बोडियाली परिवार सकसपूर्ण यातनाबाट मुक्त थिएन । म सधैँ कम्बोडियालीको अनुहारको प्रत्येक मुस्कानमा मानव जाति कतिसम्म सहनशीलता र लचकता अपनाएर पुनर्जीवित र आशावान् हुन सक्छ भन्ने असाधारण दृश्य देखिरहेको हुन्छु ।

नेपालमा माओवादी द्वन्द्वले उत्कर्ष समातेको बेला मेरो दिमागमा फेरि कम्बोडियाकै दृश्यहरू सलबलाएर छाती चर्किरहन्थ्यो । माओवादीले बोल्ने भाषामा म त्यही खमेर रुजका अभिव्यक्ति भेट्ने गर्थें । उनीहरू पनि ‘नयाँ नेपाल’ बनाउनका निम्ति हिंसालाई वैधानिकता दिने लहडमा रङमङिएका थिए । केटाकेटी पढ्ने स्कुलमा गएर सैन्य शिक्षा थोपर्ने जमर्को गर्थे । र, ‘वर्ग दुश्मन’ को सफाया गर्नुपर्छ भन्ने उही राग अलापिरहन्थे । माओवादीका विद्वान् मानिने बाबुराम भट्टराईले मलाई उनीजस्तै उच्च शिक्षा पाएका कम्बोडियाकै खिउ साम्फानको सम्झना गराइरहन्थे, जो खमेर रुजका आतङ्कलाई ‘बढाइचढाइ प्रस्तुत गरिएको अफवाह हो’ भन्थे ।

सौभाग्यवश कम्बोडियाले जस्तो नेपालले उनीहरूको रसातल बेहोर्नुपरेन । तैपनि एकपटक माओवादी नेता प्रचण्डले आफूहरूले सञ्चालन गरेको ‘जनयुद्ध’ मा केवल १५ हजार मानिसको मृत्यु भएको तर अर्को चरणमा १५ लाखसम्मले ज्यान गुमाउनुपर्ला भन्दै धम्क्याएर बोलेको सुन्दा म भित्रैदेखि काँपेको थिएँ । खमेर रुजले गरेको मानवताविरोधी परीक्षणबाट हामीले सिक्ने एउटै पाठ छ, जब–जब ‘क्रान्तिकारी’ नेताहरूले ‘बलिदान’ को कुरा गर्छन्, तब–तब व्यापक सतर्कता अपनाउनुपर्छ ।

कम्बोडियाबाट खमेर रुजका पालामा सन् १९७५ मा निष्कासित भएको युनिसेफ सन् १९७९ मा मात्र त्यहाँ विधिवत् रूपमा पुनःस्थापित भयो । युनिसेफ पुनःस्थापनाको तिसौँ वार्षिकोत्सवको बेला आयोजित समारोहमा सरिक हुने निम्तो स्विकार्दै सन् २००९ मा म फेरि कम्बोडिया पुगेको थिएँ । त्यस यात्राकै बेला खमेर रुजको अन्तिम गढ आनलोङ भेङको भ्रमण गर्दा म असाध्यै द्रवित हुन पुगेँ । त्यहाँ पोलपोटको समाधिका साथसाथै खमेर रुजका डरलाग्दा एकखुट्टे जर्नेल ता मोकको अन्तिम कमान्ड पोस्ट पनि थियो, जुन ठाउँमा उनीहरूले ‘गद्दार’ घोषणा गरेका मानिसलाई कल्पनै गर्न नसकिने अत्यन्त अमानवीय यातना दिने गर्थे ।

नोम्पेन्हमा चाहिँ मैले एउटा सार्वजनिक समारोहलाई मनैबाट पुकार गर्दै ‘फेरि यस्तो कहिल्यै नहोस्’ भनेर लामो सम्बोधन गरेको थिएँ ।

युनिसेफका कर्मचारीहरूको एउटा बैठकमा मलाई ती पुराना याद फेरि सम्झन अनुरोध गरिएपछि म बोल्दाबोल्दै भक्कानिएको थिएँ । मैले आफ्नो भनाइ पूरा गर्नै सकिनँ । कुनै समय मसँग काम गरेका १८ जना कम्बोडियाली कर्मचारी साथीमध्ये खमेर रुजको नरसंहारका कारण एक जना पनि जीवित नरहेको अवस्थामा मेरो छाती कसरी हुँडलिरहेको थियो भन्ने जो कसैले बुझन सक्थे । म सबैका अगाडि भक्कानो छाडेर रोएँ । आफ्नै बुवा–आमाको मृत्युमा बाहेक म सार्वजनिक रूपमा भक्कानिएर रोएको सायद यो नै अविस्मरणीय क्षण थियो ।

(हालसालै प्रकाशित ‘कुलचन्द्र गौतम : आत्मकथा’ पुस्तकको अंश)



Source link

HamroAwaj

2022-08-29 08:05:20

Leave a Comment