‘बाघ बढ्दा खुसी हुनेसँग मेरा केही प्रश्न छन्’ – HamroAwaj


रेडियो र टीभीबाट बाघको संख्या बढेको खबर मैले पनि सुनें । बाघ बढेकोमा सामाजिक सञ्जाल फेसबुकमा बाघको तस्वीर पोष्ट गरेर खुसी साटासाट गरेको पनि देखें । काठमाडौं र शहर-बजारमा बस्ने मानिस जसलाई वनजंगलसँग कुनै साइनोसम्बन्ध नै छैन उहाँहरूका लागि बाघ बढेको ठिकै होला । बाघको संख्या बढ्दा उहाँहरूको तलब-सुविधा पनि बढ्छ होला । तर, हाम्रो गाउँको अवस्था फरक छ । बाघको संख्या बढ्यो भनेपछि मानिस डराएका छन् ।

राप्ती सोनारी गाउँपालिकामा मात्र गत वर्ष बाघको आक्रमणमा परेर पाँच जनाको ज्यान गयो । अब झन् हामीले कतिलाई गुमाउनुपर्ने हो भनेर मानिसमा त्रास छ । अब कसरी वनमा गएर दाउरा र घाँसपात गर्ने हो भन्ने डर मानिसमा छ । कसलाई बाघले कतिबेला खाने हो, बस्तुभाउ के हुने हुन् भन्ने चिन्ता छ हामीलाई ।

बिहान जंगलमा गएर दाउरा नल्याए साँझ हाम्रो चुल्होमा आगो बल्दैन । त्यो हाम्रो दुःख काठमाडौंमा बसेर बाघको संख्या गन्ने मान्छेलाई के थाहा ! जसले बाघ बढ्यो भनेर खुसी मनाइरहनुभएको छ, उहाँहरू र सरकारका मानिसलाई मेरा केही प्रश्न छन् ।
तपाइँहरू पहिला एकपटक हाम्रो गाउँमा आएर हामीले जस्तै दिनचर्या बिताउनुस् अनि बल्ल थाहा हुन्छ बाघ बढेर के भएको छ भन्ने ? हामी यो देशको जनता हो कि होइन ? यदि हो भने हाम्रो बाँच्ने अधिकार छैन ? कि त हामीलाई दाउरा-घाँस यहीं गाउँमा उपलब्ध गराएर वनमा जानुपर्ने हाम्रो बाध्यता अन्त्य गरिदिनुपर्‍यो । नभए बाघकै कारण हाम्रो दैनिक जीविकोपार्जनको काम प्रभावित हुनुभएन ।

वनमा जानुपर्ने हाम्रो रहर हो र ? हामीलाई रहर छैन । बाध्यताले वनमा घाँस-दाउराका लागि गएका हौं । सबै मानिसलाई रोजगारी दिनुभयो भने हामी अर्कै काममा व्यस्त हुन्छौं । हाम्रो जंगल जानुपर्ने बाध्यता अन्त्य हुन्छ । हामी ग्याँस किनेर पकाएर खान्छौं । बिहान काममा जान्छौं । साँझ फर्केर आउँछौं । हामीलाई वनमा जाने फुर्सद नै हुन्न ।

हामी बाघ विरोधी होइनौं । तर, बाघ बढाएर सरकारले हामीलाई भोको राख्ने प्रयास गर्दैछ । अहिले राप्ती सोनारीको वैजापुरमा मानिसले गाईबाख्रा बिक्री गरेर गोठ रित्याउन थालेका छन् । गाईबाख्रा बिक्री गरेर जीविकोपार्जन चलेको थियो । अब हामीहरूले जीविकोपार्जन कसरी गर्ने ? बाघ बढायौं भन्नेहरूले हाम्रा समस्यामा ध्यान दिने कि नदिने ? हामीलाई त पाँच सय, हजारको पनि महत्व हुन्छ । खसी-बोका, बाख्रा, गाई-गोरु बिक्री गरेर पैसा आउँथ्यो र केटाकेटीले पढ्न पाएका थिए । अब वनमै जान नसक्ने अवस्था भएपछि हामीलाई बाँच्न गाह्रो भयो ।

हामी पहिला पर्सोना गाउँमा बस्थ्यौं । त्यो अलि जंगलको नजिक र बाघको डर भएपछि हुलाकी राजमार्गको छेउमा बसाइँसराइ गरेर आएका हौं । हामी जस्तै अरू दुई परिवार पनि बाघकै कारण बसाइँ सरेर आउनुभएको छ ।

हामी बसेको ठाउँ निकुञ्ज होइन, सामुदायिक वनको क्षेत्र हो । विगतमा वन संरक्षण गरे हामीलाई नै घाँस-दाउरा गर्न सजिलो होला भनेर हामीले जोगाएको वन हो । तर, अब अहिले हामी आफैं वनमा जान नसक्ने अवस्था भयो ।

हामी निकुञ्जमा गएका छैनौं । ठिकै छ, निकुञ्जमा बाघ पाल्नुस् त्यसमा हाम्रो विरोध छैन । तर, हामीले हुर्काए, बढाएका वनमा बाघ आएर हामी नै बाघको आहारा बन्नुपर्ने र हाम्रो जीविकोपार्जन नै बन्द हुने अवस्था आएपछि त हामी कसरी सहेर बस्न सक्छौं र ?

जीविकोपार्जनमै समस्या आउन थालेपछि मानिसमा आक्रोश बढेको छ । यहाँका स्थानीय सबै नै बाघको विरोधमा लागेपछि सरकारले कसरी बाघ पाल्न सक्छ ? वन-जंगल जान नपाएकै कारण मान्छेको साँझ-बिहानको छाक टार्न नै समस्या हुन थालेपछि निकुञ्ज कार्यालय घेर्न जाऊँ भन्ने कुरा पनि उठेको थियो ।

अहिलेसम्म त मानिसले सहेर बसेका छन् । अब जनताले सधैंभरि यसरी कति सहेर बस्न सक्छन् र ? हामीलाई बिहान-साँझ बाल्ने दाउरा भएन र जीविकोपार्जनका लागि आम्दानीको स्रोतको व्यवस्था गरिएन भने हामी सधैंभरि सहेर बस्न सक्दैनौं । गाउँले सल्लाह गरेर केही न केही गर्छौं ।

(राप्ती सोनारी गाउँपालिका-४, वैजापुर बाँकेकी स्थानीय निर्मला सिंह ठकुरीसँग मुकेश पोखरेलले गरेको कुराकानीमा आधारित ।)





Source link

HamroAwaj

2022-08-29 20:41:32

Leave a Comment