अन्धकूप : विराट कल्पनाको आख्यानीकरण – HamroAwaj


नेपाली साहित्य लेखनमा नवप्रवेशीहरूको उपस्थिति बाक्लिंदै गइरहेको छ। यही मेसोमा झम्क तिमिल्सिना उपन्यास लेखेर साहित्यमा भित्रिएका छन्। उनको उपन्यासको नाम हो, अन्धकूप। तिमिल्सिना साहित्य क्षेत्रका नयाँ अनुहार हुन्। उनलाई यसअघि खासै पढिएको थिएन। उनको पेशा पनि साहित्य क्षेत्र होइन। उनी कानुन, त्यसमा पनि वित्त कानुनमा दख्खल राख्छन् र साहित्यमा रुचि। यसबाट दुईवटा कुराको ज्ञात हुन्छ– पहिलो हरेक क्षेत्रका व्यक्तिहरूका भावना समान प्रकृतिका हुन्छन् र दोस्रो कला संवेदना र प्रस्तुतिले डोर्‍याएर साहित्यमा पुर्‍याउँछ। तिमिल्सिनालाई पनि नयाँ लेखकीय भूगोलमा पुर्‍याएको छ, आफ्नो रुचिले।

शीर्षकलाई पुस्तक छनोटको पहिलो आधार बनाउनेहरू धेरै हुन्छन्। शीर्षककै पछि दौडिहाल्नु पनि ठीक कुरा होइन, तर आकर्षक शीर्षकले पाठकलाई जरुर तान्छ। अझ कतिपय त मन्त्र जस्तै प्रलोभनकारी शीर्षक नै हुन्छन् साहित्यमा, तर प्रस्तुत उपन्यासको शीर्षक भने भय सिर्जना गर्ने खालको छ। खासमा जीउमा काँडा उमार्ने खालको छ। अन्धकूपलाई धेरैले गरुडपुराणमा सुन्छन्। प्रस्तुत उपन्यासको शीर्षकलाई पनि अद्भुत र भयानक ठानेर पाठकले अध्ययन गर्नेछन्।

जतिपटक गरुडपुराण सुने पनि हातलाग्ने भनेको त्रास हो। कूप भनेको कुवा हो। अन्ध भनेको अँध्यारो। जो मान्छे पापी हुन्छ, धेरै पाप गर्छ त्यसलाई त्यही कुवामा डुबाइन्छ जहाँ अत्यन्त विषालु साप, र घातक जनावरहरू हुन्छन् भन्ने विश्‍वास गरिन्छ। र, गरुडपुराणले पनि यसै भन्छ। प्रस्तुत उपन्यासको शीर्षक सुन्दा थ्रिलर चलचित्र जस्तो अनुभव गर्नेछन् पाठकले ।

यद्यपि उपन्यासको सुरुवात सामान्य पारिवारिक पृष्ठभूमिबाट भएपछि पाठक डर विस्तारै हराउँदै जानेछ। ज्योतिष पेशा गर्ने बाबुको सङ्घर्ष र आफ्नो सफलताको कथा सुनाउन व्याकुल म पात्रको मनोदशाबाट उपन्यासको कथानक आरम्भ हुन्छ। एउटा विकट गाउँमा जन्मेको व्यक्ति पढाइमा तेज निस्केर खगोलविद् वैज्ञानिक बनेर ठूलो परियोजनाका लागि विदेश जान लागेको सन्दर्भबाट कथाले गति लिन्छ। गाउँले परिवेशका जटिल सङ्घर्षका कथाले पाठकलाई आफ्नै कथा पढेको भान हुनेछ।

देश बनाउने कुराहरू पनि विभाजित मानसिकताले अपूर्ण बन्न सक्छ। हामी आफ्ना झिनामसिना स्वार्थमा अडिएर निकै ठूला कुरा बिगारिरहेका छौं। सानो कुराले ठूला उपलब्धि गुमाएको तीतो यथार्थलाई यस उपन्यासमा उल्लेख गरिएको छ।

उपन्यासमा परिवारको चाहना र उपन्यासको पात्रको लक्ष्य र गतिविधिमा सामीप्यता देखिंदैन। परिवारले चाहना के राखेको छ भने छोराले गाउँमा राम्रो शिक्षक भएर बसिदिए हुन्थ्यो। ज्योतिष शास्त्र बुझ्ने बाबुको छोरो चिनाटिपोट गरेर बस्ला भनेको त्यस्तो भएन ऊ त साँच्चै सूर्यमण्डल, तारामण्डल बुझ्ने खगोलविद् बनेको सन्दर्भ साँच्चै चाख लाग्दो बनेर आएको छ उपन्यासमा। उपन्यासका म पात्रकी श्रीमती संसारिकाको पनि श्रीमान् सँगै बस्ने चाहना व्यक्त गर्नु अस्वाभाविक देखिएको छैन।

परिवारको चाहना, श्रीमतीको भावना सबैलाई लत्याएर म पात्र अति महत्त्वाकाङ्क्षी योजनामा सामेल हुन्छ। नयाँ पृथ्वी बनाउने परियोजनामा संसारभरिका वैज्ञानिक सँगै सहभागी हुन्छ। यो दृश्य उपन्यासको निकै रोमाञ्चक घटना हो। प्रथम पुरुष दृष्टिबिन्दुमा पारिवारिक सफलताको कथा भनिएको छ उपन्यासमा। खासमा यो विज्ञान अन्वेषणको कथा हो। विज्ञानको चमत्कार मिश्रित कथा हो। समग्रमा युवा पुस्तामा उर्जाको सञ्चरण गर्ने कथा हो।

आख्यानको कमी छैन अचेल। उपन्यासका सङ्ख्या ह्वात्तै मोटाएका छन्। नेपाली पाठक आजित थिए उपन्यास थोरै भएर होइन नयाँ स्वादका कथा नपाएर। एउटै परिवेश, उही शिल्प, उही विषयवस्तु प्रेम, राजनीति, इतिहास, गरिबीको सङ्घर्ष आदिआदि। यस सन्दर्भलाई चिर्दै अन्धकूप एउटा विराट विषयवस्तु बोकेर भित्रिएको उपन्यास हो जसले सकारात्मक सपना देख्न सिकाउँछ। प्रस्तुतिका दृष्टिले, उपन्यास संयन्त्रका दृष्टिले त यो औसत प्रकृतिको देखिन्छ। तर विषयको नवीनताका दृष्टिले यो उपन्यासले एउटा छुट्टै उपस्थिति राख्छ भन्नेमा आम पाठक विश्‍वस्त हुनसक्ने थुप्रै आधार छन्।

गरिब देश होस् वा विकसित। सम्भ्रान्त देश होस् वा दरिद्र। प्रत्येक राष्ट्रका आ–आफ्ना मान्यता र जीवन्त विश्‍वास हुँदारहेछन्। हरेक धर्ममा आ–आफ्ना दृष्टि र दर्शन हुँदा रहेछन्। खासमा हामी आफ्ना मान्यताद्वारा भेदिएका हुँदारहेछौं। सङ्क्रमित दिमाग लिएर बाँचेका हुँदारहेछौं। आफ्नो सोचको फ्रेम बोकेर हिंडेका हुँदारहेछौं। यस कुरालाई उपन्यासमा चर्चा गरिएको छ।

उपन्यासमा बहुधर्म अध्ययन गरेको प्रसङ्ग छ। यसबाट के निष्कर्ष निकालिएको छ भने मानिसले आफू र आफ्नो आस्थाबाहेक अरूलाई पूजा गर्दोरहेनछ। थुप्रै जिज्ञासा सिर्जना गरेको यस उपन्यास पूरा जिज्ञासाको शमन नहुँदै सकिन पुगेको छ। उपन्यासकारले बनाएको नयाँ पृथ्वीको धर्म-दर्शन कस्तो हुन्थ्यो होला, भाषा-समाज कस्तो हुन्थ्यो होला, विज्ञान-प्रविधि हामी बाँचेको यही पृथ्वी जस्तै हुन्थ्यो होला कि ? इतिहास-साहित्य-भूगोल कस्तो हुन्थ्यो होला ? यी यावत् जिज्ञासा शमन नहुँदै उपन्यास सकिएको छ। पाठक तृप्त भएका छैनन्, अघाएका छैनन्। पारिवारिक सुखमा बस्न नपाएको र ठूलो सफलतालाई पनि निष्कर्षमा पुग्न नपाएको एउटा असङ्गत दृश्यमा पुगेर उपन्यास सकिएको छ। यसले पाठकलाई प्यास लागेको बेलामा तिर्खा मर्ने गरी पानी पिउन नपाए जस्तै भान भएको छ।

उपन्यासमा नजानिंदो व्यङ्ग्य पनि छ। नयाँ पृथ्वी निर्माण गर्ने पवित्र कार्यमा लागेका संसारभरका वैज्ञानिकहरू आफ्ना आस्था जस्ता प्राविधिक कुरामा अल्झिएर त्यति ठूलो लक्ष्यलाई असफल बनाउने कुराको साक्षी आफैं बसेका छन्। देश बनाउने कुराहरू पनि विभाजित मानसिकताले अपूर्ण बन्न सक्छ। हामी आफ्ना झिनामसिना स्वार्थमा अडिएर निकै ठूला कुरा बिगारिरहेका छौं। सानो कुराले ठूला उपलब्धि गुमाएको तीतो यथार्थलाई यस उपन्यासमा उल्लेख गरिएको छ।

यो प्रष्ट भइसकेको छ, हामीले पृथ्वीलाई बस्न अयोग्य बनाउँदैछौं। हामीसँग बस्नको लागि अर्को ग्रह छैन। पृथ्वीको अर्को रूप पनि छैन। हामीलाई प्रकृतिले एउटा मात्र ग्रह प्रदान गरेको छ जसले जीवनलाई निरन्तरता दिन सक्छ तर वर्षौंदेखि हामीले यसमा रहेको विकार र दुर्दशालाई आँखा चिम्लेर बसेका छौं। हामीलाई खास नयाँ पृथ्वी वा यही पृथ्वीको नवीकृत रूप चाहिन्छ तर हामी जस्ता विभाजित र भेदिएका मानवबाट सम्भव छ त ? यो उपन्यासकारले गरेको कल्पनाको निकट देखिन्छ।

व्याकरण शुद्ध नलेखिनु नेपाली भाषाको सामान्य अवस्था जस्तै हो त्यसैले यसमा पनि हिज्जे वा भाषाका केही कसरमसर बाँकी देखिन्छन्। उपन्यास शास्त्रका प्राविधिक कुरामा केही सामान्य त्रुटिहरू देखिएका छन्।

आम लेखकले पाठकलाई कि साह्रै कमजोर ठान्छौं कि साह्रै उच्च। उपन्यासकार झम्क औसतमा बस्नुपर्ने देखिन्छ। उपन्यासमा कतिपय ठाउँमा अधिलेखन समस्या देखिएको छ। अपेक्षा नगरिएको स्थानमा धेरै व्याख्या भएको देखिन्छ। उपन्यासकारले आफैं निष्कर्ष दिनुभएको छ ठाउँ–ठाउँ। त्यसको जिम्मा पाठकलाई छोडिदिनुभएको भए राम्रो हुन्थ्यो।

उपन्यासकार तिमिल्सिनामा कल्पनाको अजस्र आँधी छ। उनको कल्पनालाई लगाम लगाएर यथार्थीकरण गरिनुपर्छ। उनले स्थानीय परिवेशको सिलौटामा अधिकल्पनालाई पिस्नुपर्छ। अर्ग्यानिक चिन्तनबाट सोच्दा निस्कने भनेको अति मौलिक र धेरैले नछोएको विषयवस्तुको उपन्यास हो, जुन तिमिल्सिनाले सिर्जना गरेका छन्।

कल्पना ज्ञानको ठूलो दाजु रहेछ। प्रत्येक अनुसन्धान कल्पनाबाट सुरु हुन्छ। समुद्रमा पुल कल्पनाबाट सुरु भएको थियो। हवाईजहाजको आविष्कार कल्पनाबाट भएको थियो। पानीजहाजको आविष्कार माछा पौडेको देखेर कल्पना गरिएको थियो। कुनै दिन यस्तो पनि हुनसक्छ जुन दिन नयाँ पृथ्वी बन्न पनि सक्छ। कल्पनाको शक्ति भनेको अवचेतन मनलाई पनि छुन सक्छ। चेतनाले चेतन मनलाई पनि छुन्छ प्रायः। यो उपन्यासमा विराट कल्पनाको आख्यानीकरण हो।

नेपाली उपन्यासको समूहमा एउटा नयाँ स्वादको उपन्यास आएको छ। एउटा वित्तीय संस्थामा काम गर्ने अफिसर अब साहित्यको नयाँ भूगोलमा आएका छन्। पाठकको विश्‍वास के छ भने यस उपन्यासले विज्ञानका केही सङ्कथन स्थापित गर्नेछ। विज्ञानका युवा विद्यार्थीले यो उपन्यास पढेर लाभ लिन सक्छन्। ज्ञानको नयाँ क्षितिज उघार्नका लागि अन्धकूप पढ्नैपर्ने उपन्यास हो। उपन्यासकार झम्क तिमिल्सिनाबाट आगामी दिनमा नयाँ उपन्यासको अपेक्षा गर्न सकिन्छ।

ढिलो–चाँडो साहित्यको कूप (कुवा) मा हामफालेका छन् तिमिल्सिना। यो तलाउ गरुडपुराणमा वर्णन गरिएजस्तै भयानक नभए पनि सजिलो भने छैन। यसमा निस्सासिनु, थोरै कुवा पानी र पानी सँगै हिलो खानु स्वाभाविक छ र यो सबै छिचोलेर किनारामा निस्कनेहरू नयनराज, बुद्धिसागर र अमर न्यौपाने अनि महेश पौड्याल हुन्छन्। डुब्नेहरू निस्सासिएर आफू दशाग्रह बिग्रिएर हामफालेछु भन्ने छन् आफू कुन कित्तामा पर्ने झम्कहरूले बुझ्ने छन् जति कलमले ताछ्‌ता झन् ठूलो खाल्डो भन्ने क्षेत्र हो आख्यानलेखन। ठूलो सम्भावनासहितको अन्धकूपलाई जटिल बाटोमा स्वागत छ।

पुस्तक : अन्धकूप

उपन्यासकार : झम्क तिमिल्सिना

प्रकाशक : पैरवी बुक्स हाउस, काठमाडौं

मूल्य : ४७५ रुपैयाँ





Source link

HamroAwaj

2022-08-30 14:14:04

Leave a Comment