पर्खाइमा बित्यो दुई दशक, सकिएन दुःखका पहाड –

१४ भदौ, दाङ । मान्छेहरु भन्छन्, ‘रुँदा रुँदा एकदिन आँसु नै रितिन्छ । पर्खाइमै आशाका त्यान्द्राहरु चुडिन्छन् । दाङको तुलसीपुर उपमहानगरपालिका-१७ की रतिकलामती चौधरीका न आँखामा आँसु सकिए, न आशा नै मर्‍यो ।

उनका श्रीमान् सोमराज चौधरी सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भए । लामो समय वित्दा पनि श्रीमानको कुनै पत्तो नलागेपछि धेरैले आश मार्न सुझाए, श्रीमानको काजकिरिया गर्न भने । तर उनले मानिनन् । उनलाई लाग्छ, ‘एकदिन फर्किएर आइ पो हाल्छन् कि ?’ यही आशमा त हो उनले २० वर्ष विताएको ।

रतीकलामतीका श्रीमान् बेपत्ता पारिंदा घरमा दुई काखे र एक नाबालक सन्तान थिए । श्रीमान् घरका मुली थिए र उनकै भरमा परिवार जसोतसो चलेको थियो । २१ भदौ ०५७ सालमा गाउँमा गुरै पूजा (थारु समुदायले गर्ने देउता पूजा) गर्न भनेर गएका बेला सोमलालसहित ६ जनालाई माओवादीको आरोपमा सेनाले पक्राउ गरेर लग्यो । अनाहकमा पक्राउ परेयता कुनै खबर आएन ।

श्रीमान् बेपत्ता पारिएपछि रतीकलामतीका जीवनमा दुःखका पहाडहरु थपिए । खेतीकिसानी गरेर गुजारा गर्ने परिवारको मुली नै बेपत्ता भएपछि जीवन चलाउन असाध्यै समस्या भयो । उनी काखे सन्तान बोकेर श्रीमान् खोज्दै हिँडिन् । बृहत शान्ति सम्झौतासँगै सशस्त्र विद्रोह अन्त्य भयो, द्वन्द्वकालमा बेपत्ता पारिएकाहरुको खोजीका लागि आयोग बन्यो । ‘कि सास चाहियो कि लास’ भन्दै बेपत्ता पारिएका व्यक्तिहरुको खोजबिन आयोगमा निवेदन लगेर पटक-पटक धाइन् । मानवअधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाको ढोका चहारिन् । जहाँ-जहाँ पुगिन्, आँसु खसालिन् । तर श्रीमानबारे कसैले केही जवाफ दिएको छैन ।

यो अवधिमा उनले किस्ता-किस्ता गरेर सरकारबाट १० लाख रुपैयाँ पाएकी थिइन् । त्यो रकम व्यवहार चलाउँदैमा ठिक्क भयो । छोराछोरीलाई अक्षर चिनाउने बाहेक धेरै पढाउन सकिनन् । ‘श्रीमान् बेपत्ता पारिएपछि खान लाउन दुःख भयो’ उनले भनिन्, ‘छोराछोरीलाई पढाउन धेरै मुश्किल भयो ।’ आर्थिक अवस्थाले पढाउन नसकेपछि उनका सन्तान बीचमै पढाइ छाडेर ज्याला मजदुरी गर्न हिँडे ।

तर उनको दुःख सकिएको छैन । कारण हो- बेपत्ता श्रीमानको नाममा भएको सम्पत्ति हस्तान्तरण नहुनु । उनका श्रीमानका नाममा घरखेतीसहित तीन कठ्ठा जग्गा छ । केही वर्षअघि घर व्यवहार चलाउन मुश्किल भएपछि उनले जग्गा धितो राखेर बंगुर पाल्ने सोचेकी थिइन् । तर श्रीमानको नाममा भएको जग्गा बेच्न वा धितो राखेर ऋण लिन सकिनन् । अनेक उपाय गर्दा पनि जग्गाको नामसारी हुन सकेन । बेपत्ता व्यक्तिको नाममा जग्गाको स्वामित्व हुँदा केही गर्न मिलेन ।

त्यस्तै समस्या उनका छोरालाई पनि भयो । दुई वर्ष अघि उनका जेठा छोराले फेन्सी कपडाको व्यवसाय गर्न खोजेका थिए । व्यवसाय गर्न पाँच लाख चाहिने भयो । तर बुवाको नाममा रहेको जग्गाको स्वामित्व छोराहरूको नाममा सार्न नसक्दा बैंकबाट ऋण निकाल्न पाएनन् । चर्काे ब्याजबाटै ऋण लिएर उनले व्यवसाय सुरु गरे । ‘जग्गा जति श्रीमानको नाममा छ,’ उनले भनिन्, ‘जग्गा आफ्नो नामम भएको जग्गा बेचेरै भए पनि केही गर्ने थिए ।’

मृत्यु दर्ता गरेमात्र उनको नाममा रहेको सम्पत्ति हस्तान्तरण गर्न सकिने कानुनी व्यवस्था छ । रतिकलामती श्रीमानको मृत्यु भएको स्विकार गर्न सक्दिनन् । भन्छिन्, ‘कुनै खबर नै नआएको मान्छेलाई कसरी मृत्यु भयो भनेर मान्ने ?’

***

सोमराजसँग बेपत्ता पारिएका छन्, ५० वर्षीय लैया चौधरीका श्रीमान् सुहनलाल चौधरी । सोमराज र सुहनलाल काका-भतिज हुन् । उनीहरु एकैदिन बेपत्ता पारिएका हुन् । ‘सेनाले माओवादी भनेर लगे’ लैयाले भनिन्, ‘त्यसपछि कहाँ लगे थाहा छैन ।’

लैया चौधरी ।

सुहनलाल बेपत्ता भएपछि लैया चौधरीका दुःख बढ्यो । बस्नलाई राम्रो घर पनि थिएन । बालबच्चा हुर्काउन पनि निकै दुःख भयो । ‘घरको मुली नभएपछि छोराछोरीलाई के खुवाउने के लगाउने भने समस्या भयो’ उनले भनिन् ।

उनी पनि श्रीमानको खोजीमा धेरै ठाउँ पुगिन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पुगेर श्रीमानको खोजी गरिदिन रोइकराई गरिन् । तर सबै अर्थहिन जस्तै भए । न बेपत्ता बनाइएका श्रीमान् फर्किएर आएका छन्, न सरकारले अवस्था सार्वजनिक गरिदिएको छ । अहिले पनि उनी श्रीमानको सम्झनामा भक्कानिन्छन् । श्रीमानको प्रतीक्षामा आँसु बगाइरहन्छिन् । भन्छिन्, ‘आशैआशमा यतिका वर्ष बिते ।’

श्रीमान बेपत्ता भएकै कारण उनको नाममा भएको खेतबारी र घर जग्गा हस्तान्तरण हुन सकेको छैन । ‘सम्पत्ति भए पनि छैन भने जस्तै छ’ उनले भनिन् ।

उनका दुई छोरा र दुई छोरी छन् । तर भएको सम्पत्ती पनि धितो राख्न, बेचबिखन गर्न नपाउँदा सन्तानलाई उच्च शिक्षा दिन समेत गाह्रो भएको छ । बिहेबारी गरिसकेका छोरालाई अब अंशबण्डा कसरी गर्ने भन्ने उनलाई चिन्ता थपिएको छ । ‘आफ्नो मान्छे गुमाएको पीडा त छँदैछ’ उनले भनिन्, ‘भएको जमिन पनि चलाउन पाएका छैनौं । हामीलाई बाँच्न साह्रै गाह्रो भयो ।’

***

दाङको घोराही उपमहानगरपालिका-१७ गुलरियाकी चुमा आचार्यका श्रीमान् शिक्षक थिए । २०५९ साउन २३ मा घरदेखि स्कुल जान हिँडेका उनका श्रीमान् बीचैमा बेपत्ता पारिए । श्रीमानलाई खोज्न धेरै ठाउँ गइन्, तर कुनै पत्तो लागेन । ‘म कहाँ-कहाँ पुगिनँ ?’ उनले भनिन्, ‘धेरै ठाउँमा पुगेर धाउनुसम्म धाएँ, रोएँ कराएँ । तर न लाश, न सास पाइयो ।’

श्रीमानको पत्तो नलागेसम्म उनी आफूलाई विधवा मान्न तयार छैनिन् । ‘मरिसकेको भन्नलाई लाश देख्न पाउनु पर्याे,’ उनी भन्छिन्, ‘श्रीमानको किरिया नगरी कसरी विधवा भनुँ ?’ तर उनी लामो समय एकल जीवन बाँचिरहेकी छन् । श्रीमानको पत्तो नलाग्दा उनले एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ता पनि पाएकै छैनिन् । ‘बाँच्नलाई एकल जीवन बाचिरहेकी छु’ उनले अनलाइनखबरसँग भनिन्, ‘तर एकल महिला भत्ता पाएकी छैन ।’

कृष्णा चौधरी

दाङ घोराही-१७ की कृष्णा चौधरीका श्रीमान् बिरजु कृषक थिए । १९ चैत २०५८ मा उनी घोराही बजार गएको बेला सेनाबाट बेपत्ता पारिए । त्यसयता उनको कुनै खबर आएको छैन । श्रीमती कृष्णालाई भने पटकपटक लागि रहन्छ, उनका श्रीमान् अझै ज्यूँदैछन् । यही कारण उनले आफूलाई विधवा भनेकी छैनन् । तर दुई दशक यता एक्लो जीवन बाँचिरहेकी छन् । ‘न लाश, न सास भेटिएको छ’ उनले भनिन् ‘केही थाहाँ नपाइ म कसरी विधवा भन्ने ?’

***

१० वर्ष -२०५२-२०६३)सम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही दुबै पक्षबाट १४०० बढी नागरिक बेपत्ता भएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरुको खोजबिन गर्न बनेको आयोगमा मात्र २५०० बढी उजुरी परेका छन् । बेपत्ताका परिवारले भने ‘कि सास देऊ, कि लास देऊ’ भनिरहेका छन् ।

शान्ति सम्झौतामै बेपत्ता पारिएका व्यक्तिहरुको ६० दिनभित्रै सत्यतथ्य पत्ता लगाएर उनीहरुको अवस्था सार्वजनिक गर्ने भनेर प्रतिबद्धता गरिएको थियो । तर सशस्त्र द्वन्द्व अन्त्य भएको १६ वर्ष पुगिसक्दा पनि बेपत्ताहरुको अवस्था टुंगो लागेको छैन । ‘पीडितहरु आँसु बगाउँदै आफ्नो मान्छेको पर्खाइमा बसेका छन्’ द्वन्द्वपीडित साझा सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीले अनलाइनखबरसँग भने, ‘तर उनीहरुलाई अहिलेसम्म न्याय मिलेको छैन ।’

बेपत्ता पारिएको घटनाबारे सत्यतथ्य पत्ता लगाएका कारण धेरैले मृत्यु भएको स्वीकार गरेका छैनन् । थुप्रै परिवारका सदस्यले काजक्रिया समेत गरेका छैनन् । बेपत्ता भएकाहरुको परिवारलाई भावनात्मकसँगै सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक र आर्थिक रुपमा समेत आघात बनाएको चौधरी बताउँछन् । ‘बेपत्ता परिएको लामो समय बित्दा पनि खोजबिन नहुँदा परिवारलाई एकातिर आफन्त गुमाउनुको पीडा छ भने अर्काेतिर सम्पति हस्तान्तरण नहुँदा जीवन बाँच्न कठिन भइरहेको छ,’ उनले भने ।

Source link

HamroAwaj

2022-08-30 08:45:28

Leave a Comment