नेपालमा पुस्तकालय दिवसको नालीबेली

विभिन्न कार्यक्रमसहित भदौ १५ गते पुस्तकालय दिवस मनाउने गरिन्छ । पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवम् आवश्यकताका बारेमा जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५ सालको भदौ १५ गतेबाट पुस्तकालय दिवस मनाउन थालिएको हो । विधिवत् रूपमा यो दिवस मनाउन सुरु भएको १४ वर्ष पूरा भएको छ । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पससँगै विभिन्न सामुदायिक पुस्तकालयले समेत भदौ १५ लाई उत्सवका रूपमा मनाउन थालेका छन् ।

नेपालमा १४ वर्ष अघिबाट पुस्तकालय दिवस मनाउन सुरु गरिए पनि पुस्तकालयको सुरुवात भने करिब १४५ वर्ष पहिलेबाट भएको मानिन्छ । तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहको शासनकालमा पुस्तकालयको सुरुवात भएको इतिहास छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका समयमा आफूले पराजित गरेका राज्यहरूका महत्वपूर्ण दस्तावेजहरूलाई संकलन गरेर राख्ने गर्दथे । पछि, उनका नाति गीर्वाणयुद्धले तिनै ऐतिहासिक दस्तावेजहरूलाई पुस्तकालयका रूपमा संग्रहित गरेर संरक्षण गरे ।

व्यक्ति सुसूचित र जिम्मेवार नागरिक बनाइराख्न पुस्तकको ज्ञानको महत्व ठूलो हुन्छ । त्यसैले प्राचीनकालदेखि नै पुस्तकको महत्वबोध भएर नै ज्ञानका कुरा र विभिन्न सूचना सामग्री लेखेर-छापेर पुस्तकका रूपमा संग्रहित गरी राख्न थालिएको हो । त्यस्तै खालका संग्रहहरू नै पछि गएर पुस्तकालयका रूपमा उदय भएको कुरा इतिहासकारहरूले बताउने गरेका छन् । यसले पुस्तकालयमा रहेका पुस्तक र पुस्तकमा रहेको ज्ञानको महत्व र महिमा हाम्रा पुर्खाहरूले उहिल्यैदेखि नै बुझिआएका थिए भन्ने कुरा प्रष्ट हुन्छ ।

नेपालको संविधान-२०७२ को भाग-४, धारा-५१, उपधारा -ज(४) मा नागरिकहरूको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्रका रूपमा पुस्तकालयको स्थापना एवम् प्रवर्द्धन गर्ने कुरा उल्लेख गरेको छ । त्यस अनुरूप पुस्तकालयको विकासका लागि सरकारले २०६४ सालमै पुस्तकालय तथा सूचना सेवा नीति पारित गरेको थियो । त्यही नीतिका आधारमा सरकारी र गैरसरकारी संस्थाको संयुक्त पहलमा सबै शिक्षण संस्था, विद्यालय, गाउँपालिका र नगरपालिकामा सार्वजनिक पुस्तकालय स्थापना र सञ्चालन गर्ने अवधारणा राखेको थियो । तर, सो अवधारणा अनुसारको काम भने अद्यापि हुनसकेको छैन ।

समग्रतः नेपालमा पुस्तकालयको क्षेत्रमा जति विकास हुनुपर्ने हो, त्यति हुनसकेको छैन । शैक्षिक संस्था बाहेकका पुस्तकालय जीर्ण हुँदै गएका छन् । समयसापेक्ष माग अनुसारका पुस्तक नहुँदा पुस्तकालयमा पाठकको संख्या निकै न्यून हुँदै गएको छ । मूलतः अहिले सूचना र प्रविधिको क्षेत्रमा भएका/भइरहेका चामत्कारिक विकासका कारण परम्परागत पुस्तकालयहरू संकटमा पर्दै गएका छन् । हाल नेपालमा निम्नानुसारका पुस्तकालय छन् –

१. शैक्षिक पुस्तकालय

विद्यालय वा शैक्षिक प्रतिष्ठानमा हुने पुस्तकालयलाई शैक्षिक पुस्तकालय भनिन्छ । यस्ता पुस्तकालयमा विशेष गरेर विद्यालयका पाठ्यसामग्री राखिएका हुन्छन् । शैक्षिक पुस्तकालय पनि ३ प्रकारका हुन्छन्-

१) विद्यालय पुस्तकालय, २) महाविद्यालय पुस्तकालय र ३) विश्वविद्यालय पुस्तकालय । यी पुस्तकालयले आ-आफ्नो क्षेत्रका सम्बन्धित पुस्तकहरू राखेका हुन्छन् ।

नेपालमा शैक्षिक पुस्तकालयको इतिहास केलाउँदा नेपालकै ठूलो पुस्तकालयको रूपमा परिचित त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको बारेमा चर्चा गर्नु आवश्यक हुन्छ । १२ सय पुस्तकबाट वि.सं. २०१६ मा स्थापना भएको यो पुस्तकालयमा हाल ४ लाखभन्दा बढी पुस्तक छन् । विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, कर्मचारी र शिक्षामा रुचि राख्ने सबैलाई सेवा प्रदान गर्ने लक्ष्यका साथ समयकोे माग अनुसार त्रि.वि.ले केन्द्रीय पुस्तकालयलाई डिजिटलाइजेशन समेत गरेको छ । सूचना र प्रविधिमा भएको विकाससँगै त्रि.वि.ले केन्द्रीय पुस्तकालय सञ्चालनलगायत आंगिक क्याम्पसमा समेत ई-पुस्तकालय सञ्चालनमा ल्याएको छ ।

२. सामुदायिक पुस्तकालय

नागरिकस्तरबाट वा सामुदायिक संघ-संस्थाद्वारा स्थापना गरिएको पुस्तकालयलाई सामुदायिक पुस्तकालय भनिन्छ । यस्ता पुस्तकालय सञ्चालन गर्न सम्बन्धित निकायले नै स्रोत जुटाएको हुन्छ । सामुदायिक पुस्तकालयमा जोसुकैले सदस्यता लिएर वा नलिई पनि सूची अनुसारका पुस्तक वा पत्रपत्रिका पढ्न सक्छन् । नेपालमा १ हजारको हाराहारीमा सामुदायिक पुस्तकालय रहेको विभिन्न तथ्यांकहरूले देखाएको छ ।

स्रोत र साधनको अभावमा सामुदायिक पुस्तकालयको अवस्था जीर्ण बन्दै गएको छ । नेपालमा विश्वेश्वरप्रसाद कोइराला र मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला मात्र सामुदायिक पुस्तकालयका लागि बजेट छुट्याएको चर्चा हुने गरेको छ । नेपालका सामुदायिक पुस्तकालयहरू केही पुस्तकप्रेमी र अध्ययनमा रुचि राख्ने व्यक्तिको पहलमा खुलेका छन् ।

केही पुस्तकालयहरू दान, चन्दा वा देउसी-भैलोबाट रकम सञ्चालन गरी सञ्चालनमा आएका छन् । केही सामुदायिक पुस्तकालयहरू कुनै व्यक्ति-विशेषको स्मृतिमा उनका आफन्तद्वारा पनि सञ्चालनमा आएका छन् । सामुदायिक पुस्तकालयहरूको साझा समस्या भनेको स्थापनाकालमा पुस्तकालय खोल्ने बेलामा जति उत्साह, समर्पण र लगनशीलता थियो, कालान्तरमा त्यो ह्रास भएर गएपछि धेरै पुस्तकालय नाममा मात्र सीमित भएका छन् ।

३. ई-पुस्तकालय

यस्ता किसिमका पुस्तकालयमा पुस्तक, पत्रपत्रिकालगायत कुनै पनि किसिमका परम्परागत कागजी सामग्री हुँदैनन् । त्यहाँ इन्टरनेटजडित थुप्रै कम्प्युटर र तिनका माध्यमबाट प्राप्त हुने डिजिटल अध्ययन सामग्री मात्र हुन्छन् । पुस्तकालयका सदस्यहरू आएर तिनै कम्प्युटरबाट पुस्तकालयको ई-रिसोर्सेस डाटाबेसमा भण्डारण गरी राखिएका ई-बूक्स, ई-जर्नल, ई-म्यागेजिन, ई-न्यूजपेपर आदि अध्ययन गर्न सक्छन् ।

पहिलो बूकलेस पब्लिक लाइब्रेरीको स्थापना सन् २०१३ मा अमेरिकामा भएको थियो, जसमा विद्यार्थी, ज्येष्ठ नागरिक र बालबालिकाका लागि समेत पाठ्यसामग्री राखिएका थिए । विशेषगरी त्यस्ता पुस्तकालय शैक्षिक संस्थाहरूमा स्थापना गर्ने गरिएको पाइन्छ ।

त्रिभुवन विश्वविद्यालयले पनि पछिल्लो पटक आंगिक क्याम्पसहरूमा ई-पुस्तकालयको स्थापनामा बढी जोड दिएको पाइन्छ । त्रि.वि.का विभिन्न क्याम्पसमा यस्ता पुस्तकालय सञ्चालनमा आइरहेका छन् । यस्ता पुस्तकालयमा असंख्य पुस्तकहरू राख्ने ठूलो ठाउँको आवश्यकता पर्दैन । पुस्तकालय व्यवस्थापन र सञ्चालन गर्न धेरै कर्मचारीको आवश्यकता समेत पर्दैन ।

पुस्तकालयको महत्व

पुस्तकालयलाई विद्याको सागरको रूपमा लिइन्छ । जसलाई जति व्यवस्थित रूपमा प्रयोग गर्न सकियो, त्यति नै विद्या आर्जन गर्न मद्दत पुग्छ । पुस्तकालयको महत्वलाई मुख्य रूपमा तलका बुँदाहरूमा चर्चा गर्न सकिन्छ :

१. ज्ञान भण्डार तथा प्रयोगशाला

पुस्तकालयलाई हामी शैक्षिक अध्ययनको प्रयोगशालाका रूपमा लिन सक्छौं । जहाँ उपलब्ध हुने पुस्तक, पत्र-पत्रिका, श्रव्य-दृश्य आदि सूचनाको भण्डारमार्फत आफ्नो ज्ञान र सीपको क्षेत्रलाई बढाउन तथा खोज अनुसन्धान गर्न सकिन्छ । साथै !  आफ्नो ज्ञान, धारणा, दृष्टिकोणको परीक्षण र त्यसलाई परिमार्जन गर्ने उपयुक्त थलोको रूपमा पनि यसलाई प्रयोग गर्न सकिने भएकाले ज्ञान आर्जनको प्रयोगशालाका रूपमा पुस्तकालयको महत्व रहेको छ । पुस्तकालयमा विभिन्न विधाका पुस्तक, सूचना आदिको संकलन र व्यवस्थापन हुने भएकाले यो ज्ञानको भण्डार हो । जहाँबाट आफ्नो रुचि र आवश्यकता अनुसार जति पनि ज्ञान र सीप आर्जन गर्न सकिने भएकाले यसको औधी महत्व छ । शोधकर्ता एवम् अन्वेषकहरूका लागि पुस्तकालय उपयुक्त र भरपर्दो विकल्प हो !  जहाँ उपलब्ध हुने पुस्तक भण्डार, इन्टरनेट तथा भर्चुअल पुस्तकालयको माध्यमबाट इच्छुक व्यक्तिहरूले आफ्नो शोध र खोजलाई पूर्णता दिन सक्दछन् । त्यसकारण पुस्तकालयलाई ज्ञानको भण्डार तथा प्रयोगशाला मानिएको हो ।

२. कम व्यय भार

सबै विद्यार्थी तथा प्रयोगकर्तासँग पुस्तक तथा पत्रपत्रिकामा लगानी गर्ने आर्थिक स्रोत सीमित हुन्छ । जस्तैः सबै पत्रपत्रिकाको ग्राहक बन्न गाह्रो हुन्छ, तर पुस्तकालयमा जाने हो भने ती सबै पत्रपत्रिकाहरू निःशुल्क पढ्न पाइन्छ । त्यस्तै, सबै पुस्तकहरू खरिद गरी अध्ययन गर्न पनि गाह्रो हुन्छ, जसको व्ययभार पनि बढी हुन्छ ।

यस्तो अवस्थामा पुस्तकालयको प्रयोग गर्ने हो भने, न्यून खर्चमा आफ्नो रुचि र आवश्यकता अनुसारका पुस्तक, पत्रपत्रिका, लेख, रचना आदि हेर्न र अध्ययन गर्न सकिन्छ । साथै, शोध तथा खोजकर्ताहरूलाई आवश्यक पर्ने सन्दर्भ-सामग्रीहरू आफैं किन्न ठूलो धनराशि चाहिन्छ । तर, पुस्तकालयले उनीहरूको व्ययभार कम गर्न मद्दत गर्दछ । त्यसकारण पुस्तकालयको महत्व रहेको छ ।

३. व्यवस्थापन र वातावरण

पुस्तकालयहरूमा ऐतिहासिक र समय सान्दर्भिक पुस्तक, पत्रपत्रिकालाई वैज्ञानिक पद्धति अनुसार उचित रूपमा व्यवस्थापन गरिएको हुन्छ । जसले गर्दा प्रयोग गर्न सरल र सहज हुन्छ । त्यसका साथै पुस्तकालयभित्रको वातावरण पनि सफा र शान्त हुने भएकाले एकाग्र भएर अध्ययन र खोज गर्न सकिन्छ । यसकारण पनि पुस्तकालयको महत्व अधिक छ । पुस्तकालयमा उपलब्ध हुने पुस्तक, इन्टरनेट सुविधा, शान्त वातावरण आदिले मनोरञ्जन लिने र विश्राम गर्ने अवसर प्रदान गर्दछ ।

४. सामाजिक र सांस्कृतिक वातावरण

पुस्तकालयको प्रयोगकर्ता विभिन्न उमेर समूह, समुदाय, धर्म आदिबाट आएका हुन्छन् । साथै, पुस्तकालय सार्वजनिक हुने भएकाले एकै समयमा धेरैले सहभागिता जनाउन सक्ने हुनाले एकआपसमा अन्तरसम्बन्ध विकास गर्न र सामाजिक वातावरण तयार गर्न मद्दत पुग्दछ ।

त्यसैगरी, विभिन्न जाति, समुदाय र धर्मका मानिसहरूबीच अन्तरसम्बन्ध विकास भई सांस्कृतिक आदानप्रदान पनि हुन्छ । जसले गर्दा पुस्तकालय सामाजिक तथा सांस्कृतिक वातावरण निर्माण समेत गर्ने एउटा थलो बनेको हुन्छ । यसबाट पुस्तकमा लेखिएका वा नलेखिएका विभिन्न विषयमा अनुभव र अनुभूतिका आधारमा ज्ञान आर्जन गर्न सकिने भएकाले पनि पुस्तकालयको महत्वलाई दर्शाउँछ ।

५. समयको सदुपयोग

बालबालिका, किशोर-किशोरी, युवा, वयस्क, वृद्ध-वृद्धा आदिले आफ्नो फुर्सदको समयको उचित सदुपयोग गर्ने स्थल र माध्यमका रूपमा पुस्तकालयलाई प्रयोग गर्न सक्दछन् । जसले नयाँ-नयाँ उपयोगी कुरा सिक्न र आफूले सिकेका कुरा अरूलाई सिकाउने र बाँड्ने वातावरण निर्माण गर्दछ ।

विद्यार्थी, शिक्षक, शोध तथा खोजकर्तालाई एकै स्थानमा विभिन्न विषय र विधाका पुस्तक तथा सन्दर्भ-सामग्रीहरू पुस्तकालयले उपलब्ध गराउने भएकोले उनीहरूको समयमा पनि बचत हुन्छ । तसर्थ पुस्तकालयलाई समय सदुपयोग गर्ने उचित स्थानको रूपमा लिन सकिन्छ ।

६. कम्प्युटर तथा विद्युुतीय सामग्रीको उपलब्धता

पुस्तकालयमा उपलब्ध हुने कम्प्युटर तथा अन्य विद्युुतीय सामग्रीका कारण कम समयमा नै बढीभन्दा बढी सेवा सरल तरिकाले प्राप्त गर्न सक्ने भएकाले पुस्तकालयको महत्व अझ बढेको पाइन्छ । एकै स्थानबाट विश्वलाई नियाल्न र विश्वव्यापी बहस र सन्दर्भको बारेमा जान सकिने भएकोले पनि पुस्तकालय बहुउपयोगी बन्दै गइरहेको छ ।

यी र यस्तै विभिन्न जीवनोपयोगी विशेषता र प्राज्ञिक लाभका कारण पुस्तकालयको महत्व अत्यधिक रहेको छ ।

पुस्तकालयको उपयोग

पुस्तकालय एक बहुउपयोगी ज्ञान केन्द्र वा भण्डार भए पनि यसलाई मुख्य रूपमा निम्नानुसार उपयोग गर्न सकिन्छ –

· पुस्तकालयमा उपलब्ध हुने पुस्तक, कम्प्युटर तथा अन्य विद्युुतीय स्रोतमार्फत आधुनिक सूचनाप्रविधिको क्षेत्रमा आफ्नो ज्ञानको पहुँच बढाउन सकिन्छ ।

· पुस्तकालयमा उपलब्ध हुने विभिन्न पुस्तक, पत्रपत्रिका, श्रव्य-दृश्य आदि स्रोत सामग्रीको अध्ययन अवलोकन गरी आफ्नो रुचि अनुसार ज्ञान र सीपको परिधिलाई बढाउन सकिन्छ ।

· पुस्तकालयमा उपलब्ध स्रोत सामग्रीको प्रयोग गरेर विद्यार्थीले विद्यालय र कलेज बाहेकको फुर्सदको समयलाई सदुपयोग गर्न सक्छन् ।

· पुस्तकालयमा उपलब्ध साधन र स्रोतको माध्यमबाट आफ्नो कला, सीप र क्षमता अभिवृद्धि गर्न सकिन्छ ।

· पुस्तकालयलाई अध्ययनशील साथीहरू भेट्ने र अध्ययन गर्ने समुचित स्थलको रूपमा प्रयोग पनि गर्न सकिन्छ ।

· विभिन्न समयमा पुस्तकालयका प्रयोगकर्ताहरूबीच आफूले अध्ययन गरेका पुस्तक, लेख, रचना आदि बारेमा छलफल गर्ने थलोको रूपमा पनि पुस्तकालयलाई प्रयोग गर्न सकिन्छ ।

· ऐतिहासिक पुस्तक, लेख, रचना आदिको अभिलेख र संरक्षणका लागि पनि पुस्तकालयको उपयोग गर्न सकिन्छ ।

· परीक्षा तयारीका लागि पनि पुस्तकालयको उपयोग गर्न सकिन्छ ।

यसरी पुस्तकालयलाई खोज, अध्ययन र स्रोतको रूपमा बहुउपयोग गर्न सकिन्छ । यसको उपयोगिताको व्याख्या गरेर कहिल्यै सकिन्न । तसर्थ सद्विचार र ज्ञान आर्जन गर्न आफ्नो समुदाय, विद्यालय र कलेजमा रहेका पुस्तकालयको सदुपयोग गर्न आवश्यक छ ।

पुस्तकालयको गौरवपूर्ण इतिहाससँगै हाल आएर समयले परिवर्तन पनि ल्याएको छ । सूचनाप्रविधिको क्षेत्रमा दैनन्दिन भइरहेका कल्पनातीत विकासले पुस्तक र पुस्तकालयको अस्तित्व हराउँदै जाने चर्चा चल्न थालिसकेको आजको समय-सन्दर्भमा पनि विभिन्न स्थानमा (शैक्षिक तथा सामुदायिक स्तरमा) पुस्तकालय स्थापना र सञ्चालन भई नै रहेका छन् । पुस्तकालयलाई पूर्ण भौतिक रूपमा मात्र सञ्चालन नगरेर समयसापेक्ष रूपमा सूचनाप्रविधिलाई पनि प्रयोग गरी भौतिक र भर्चुअल रूपमा प्रयोगयोग्य बनाउनाले नै पुस्तकालयको प्रयोग घटेको छैन, विस्तार भइरहेको छ ।

अतः भएका पुस्तकालयहरूलाई व्यवस्थित गर्नका लागि सम्बद्ध पक्षको ध्यान जान जरूरी भएको छ । जसबाट पठन संस्कृतिको थप विकास हुँदै जाओस् ।

अन्त्यमा, ‘पढौं, पढाऔं र निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं ।’ १५औं ‘पुस्तकालय दिवस’को अवसरमा सबै-सबैमा शुभकामना !



Source link

Leave a Comment