सायमीको सांसद सपना : साथीको देहान्तले मोडेको यात्रा – HamroAwaj


१७ भदौ, काठमाडौं । २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सडक विस्तार अभियान अघि नसारेको भए सायद सुमन सायमी यतिबेला सांसद् बन्ने दौडमा हुन्थेनन् ।

वर्षौंदेखि गरिरहेको मिठाइ व्यवसायमै भुलिरहेका हुन्थे होलान् । या त हालै थालेको पार्टी प्यालेस व्यवसायमा व्यस्त हुन्थे होलान् । जे भए पनि अहिले जस्तो नाम चाहिँ पक्कै कमाउने थिएनन् ।

तर सडक विस्तार अभियान उनका लागि यस्तो घुम्ती बनेर आइदियो, जसले जीवनको बाटो नै मोडिदियो ।

बिहीबार ललितपुरमा भटिएका उनले त्यही संकेत गर्दै हातमा डोजरले संस्कृति, सभ्यता मासेको झल्काउने ट्याटु खोप्ने रहर रहेको सुनाए । ‘त्यसमा डोजरले घर भत्काइदिएको चित्र पनि राख्ने सोचेको थिएँ,’ उनले भने, ‘ट्याटुमुनि टर्न माई लाइफ भनेर लेख्न मन थियो ।’

तर राजनीति गर्ने मान्छेले ट्याटु खोप्नु ठिक हुँदैन भनेर भनेपछि आफू पछि हटेको उनले बताए ।

सायमीकै भनाइमा कक्षा सातमा पढ्दैदेखि व्यापारी बन्छु भनेर हिँडेका उनी सडक विस्तार सुरु भएपछि अभियन्ताका रुपमा उदाए । ‘त्यसबेला मैले राजनीति भनेको जानेकै थिइनँ, पसलमै रमाइरहेको थिएँ,’ सायमी सम्झन्छन्, ‘तर परिस्थिति यस्तो बन्यो कि सडक विस्तार पीडितहरुको नेतृत्व नगरी भएन ।’

उनका अनुसार सडक विस्तारका कारण एकजना साथीले आत्महत्या गरेको थाहा पाएपछि नै व्यवसायीबाट अभियन्ताको यात्रा सुरु भएको थियो । त्यसपछि नै सायमीले यसविरुद्ध बोल्नुपर्छ भन्ने अठोट लिएका थिए ।

‘एकजना बच्चैदेखि मिल्ने साथी थियो, उसले सडक विस्तार भइरहेका बेला सात तलामाथिबाट हामफालेर आत्महत्या गर्‍यो,’ सायमी सम्झन्छन्, ‘धेरैले डिप्रेसनका कारण आत्महत्या गरेको भने, तर बुझ्दै जाँदा खास कारण अर्कै थियो ।’ उनका अनुसार ती साथीको कलंकीमा पसल थियो, सडक विस्तारसँगै भत्कियो । बालाजुमा रहेको घर पनि आधा भत्कियो, अर्को तुरुन्त तयार हुनसक्ने अवस्था थिएन ।

पसल र घर दुवै बर्खामा हिलाम्मे, हिँउदमा धुलाम्ये हुन्थ्यो । सडक विस्तारबाट सडकमै पुगेका उनी फेरि माथि उठ्न सकेनन्, बरु मृत्यु रोजे । ‘सामान्य गुजारा गरेर जीवन धानिरहेको व्यक्तिले त्यति धेरै खप्न नसक्ने रहेछ’ उनले भने, ‘दुई दिनअघि भेट्दा केही भनेको थिएन, सुसाइड गर्‍यो भन्ने सुन्दा झसंग भएँ ।’

सायमीका अनुसार यो कुराले उनको मनमा गहिरो चोट पर्‍यो । गैरन्यायिकरुपमा सडक विस्तार गरियो भन्ने उनलाई लाग्यो । ‘त्यसपछि नै हो, मैले सडक विस्तारविरुद्ध आवाज उठान थालेको’ सायमी सम्झन्छन् ।

सायमीले त्यतिबेला केही शुभचिन्तकहरुसँग कुरा गरे, साथीहरुले पनि विश्वास गरे । विगतमा २०६७ सालको सडक विस्तार आन्दोलन पार्टीगतरुपमा अघि बढ्दा नेताहरुको स्वार्थले तुहिएको उनीहरुलाई लागेको थियो । त्यसैले राजनीतिबाट मुक्त मान्छे खोजी हुँदा आफूलाई अघि सारिएको उनी बताउँछन् ।

‘मैले उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति बनाएर नेतृत्व गरेँ, कालिमाटीबाट सुरु भएको यो काम विस्तारै ३२ वटै वडामा फैलियो,’ उनी भन्छन्, ‘म अरु जस्तो पढे लेखेको त थिइनँ, तर जनताको पक्षमा उभिने जिम्मेवारी आएपछि अन्तर्राष्ट्रिय कानून पनि पढ्न थालेँ ।’

उनले आदिवासीको हक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानून अध्ययन गरे । साथीभाइहरुलाई पनि कानूनी विषयबारे सामग्रीहरु संकलन गर्न लगाए । ‘त्यसपछि स्वतन्त्र ट्रेड युनियन बनाएर अन्तर्राष्ट्रिय श्रम संगठनमा पनि उजुरी दियौं, यो मुद्दालाई अन्तर्राष्ट्रिय करण गर्‍यौं,’ उनले भने, ‘अदालतमा मुद्दा पनि दियौं, अदालतले विकल्प वा घरजग्गाको क्षतिपूर्ति र मुआब्जा दिएर मात्रै सडक विस्तार गर्न भन्यो ।’ तर यो आदेशको कार्यान्वयन भएन ।

स्थानीय मुद्दा उठाएर लोकप्रिय

सायमीले त्यसपछि देखिएका अन्य स्थानीय मुद्दामा नेतृत्व गर्न छाडेनन् । ‘मलाई कुनै वाद वा राजनीतिको सुत्र थाहा थिएन, त्यो अभियानपछि के गर्छु भन्ने पनि सोचेको थिइनँ’ उनले सम्झिए, ‘तर त्यतिञ्जेल यहाँका आदिवासीको आवाज बन्ने लत लागिसकेको रहेछ, गर्दिन भन्दा पनि तपाईं लाग्नु पर्छ भन्ने जमात तयार भसकेको रहेछ ।’

उनको बुझाइमा काठमाडौंका स्थानीयको मुद्दा बाहिरका मान्छेले बुझ्न गाह्रो छ । गुठीलाई प्राधिकरण बनाउने प्रस्ताव केपी शर्मा ओली नेतृत्वको सरकार पालामा आएका बेला पनि उनले कडाविरोध जनाए ।

गुठी विधेयकविरुद्ध काठमाडौंको माइतीघरमा भएको प्रदर्शन

गुठी विधेयकविरुद्धको आन्दोलनमा राष्ट्रिय परिचालन संयुक्त संर्घष समितिमा संरक्षक भएर काम गरे । गुठी विधेयक एकीकृत आन्दोलनमा केन्द्रीय सदस्य रहेर काम गरे ।

‘मलाई उपत्यका विकास प्राधिकरण देखेरै पारो तात्छ, गुठीलाई प्राधिकरणमा लैजानु भनेको पैसा कमाउने प्रयास मात्र थियो’ सायमीले भने, ‘गुठीलाई प्राधिकरण बनाएर सरकारले नियन्त्रणमा राख्नुले जात्रा, पर्वहरुमा पनि असर पाथ्र्यो ।’

उनका अनुसार स्थानीय संस्कृति र परम्परामा यस्ता कुराले कतिसम्म प्रभाव पार्छ भन्ने दृष्टान्त बालाजु हो । ‘बालाजुमा सडक विस्तारका नाममा रैथानेहरु विस्थापित भएपछि अहिले त्यहाँ जात्रा पर्व नै रोकिएका छन्, किनकि हेर्ने मानिसहरु नै हुँदैनन्’ उनले थप्छन्, ‘जात्रा पर्व भनेको देशको पहिचानसँग जोडिएको कुरा हो, तर केही व्यक्ति समुदाय नै सिद्धाउने गरी अघि आए ।’ यही संस्कृति र कला जर्गेना गर्नु आफ्नो मुख्य ध्येय भएको उनी बताउँछन् ।

उनले राष्ट्रहित जोडिएका विषयमा पनि आवाज नउठाउने होइनन्, तर केन्द्रमा चाहिँ उपत्यका नै हुन्छ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध चर्किएका बेला पनि उनले भद्र आन्दोलन गरेका थिए ।

‘मलाई यसका नराम्रा पक्षबारे बुझाउनु थियो, अध्ययन गरेर निष्कर्ष निकालेँ अनि उपत्यका व्यापी मार्च गरेँ’ सायमी भन्छन्, ‘मैले केही युवाहरु लिएर स्थानीयलाई एससीसीको खराबीबारे बुझाउँदै पैदल यात्रा थालेँ, जहाँ पुगेँ त्यहीँको फाल्चामा सुतेँ ।’

स्थानीय निर्वाचनले उत्साह

उनलाई २०७४ सालको स्थानीय तह निर्वाचनमै काठमाडौंको मेयरका लागि उम्मेदवारी दिन मन थियो । किनकि, आफूहरुले उठाएका मुद्दा त्यहाँ नपुगी सम्बोधन गराउन गाह्रो रहेछ भन्ने उनलाई भान परिसकेको थियो ।

‘तर त्यतिबेला मलाई अग्रजहरुले तिम्रो तयारी पुगिसकेको छैन भनेर रोक्नुभयो’ सायमी सम्झन्छन्, ‘अहिले चाहिँ उठेको भए पनि हुने रहेछ भन्ने लाग्छ ।’ यसको पाँच वर्षपछि चुनाव लड्दा उनले सम्मानजक भोट ल्याए । काठमाडौंवासीबाट उनले १३ हजार ७७० मत पाए । ‘यसले मप्रति यहाँका जनताको विश्वास कति छ भन्ने देखाउँछ’ उनी भन्छन्, ‘मैले चुनाव नजिते पनि जनताको विश्वास पाएँ, यहाँका नागरिकले नयाँ विकल्प रोजे, त्यसमा उत्साहित छु ।’

स्थानीय तह निर्वाचनमा चुनाव चिह्न अंकित झण्डाका साथ सुमन सायमी

त्यही आत्मबलका कारण उनले अहिले काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी घोषणा गरेका छन् । लौरो चिह्न लिएर चुनाव लड्ने तयारी गरेका उनले आफ्नो कुनै प्रतिष्पर्धी देखेका छैनन् । भन्छन्, ‘म कर्ममा विश्वास गर्ने मान्छे हुँ, प्रतिष्पर्धी नै देखेको छैन ।’

विगतमा स्थानीय निर्वाचनमा रणनीतिकरुपमा चुकेको उनको बुझाइ छ । ‘अहिले चुनावमा सामाजिक सञ्जालको धेरै भूमिका हुन्छ, तर मैले यो प्रयोग नै गरेको थिइनँ’ उनी भन्छन्, ‘यसपालि बालेनजीले पनि चुनावका लागि ब्राण्डिङ र मार्केटिङ कति महत्वपूर्ण छ भन्ने बुझाइदिनु भयो, त्यसैले अब फरकरुपमा अघि बढ्दैछु ।’

कम्युनिष्ट नेताका छोरा

स्वतन्त्र अभियन्ताका रुपमा चिनिएका सायमीका बुबा जीवनराज मानन्धर काठमाडौंका पुराना वामपन्थी नेता हुन् । कालिमाटीस्थित उनका घरमा विगतमा मदन भण्डारी, मनमोहन अधिकारी, हालका राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतले सेल्टर लिन्थे ।

‘बुबाले १७ वर्ष त वडाध्यक्ष भएरै काम काम गर्नुभयो, खासमा बुबाबाटै ममा पनि विद्रोहीपन आएको होला’ सायमी सम्झन्छन्, ‘उहाँलाई रगतको क्यान्सर भएपछि १८ महिना बुबासँग एभरेष्ट अस्पताल बसेँ, त्यतिबेला मैले अरुका लागि बाच्नुपर्ने रहेछ भन्ने सिकेँ ।’

उनका अनुसार बुबा विरामी भएका बेला काठमाडौं महानगरपालिकाले उपचारमा सहयोग स्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तर मानन्धरले लिन मोनन् ।

‘अहिले मैले यो पैसा लिएँ भने यिनीहरुले रुघा, खोकी लाग्दा पनि राज्यको पैसा लिन्छन्,’ बुबाले उनलाई भनेका थिए । अस्पतालको शैय्यामा भनेको कुरा स्मरण गर्दै सायमी भन्छन्, ‘बुबाले एक दिन मर्नु परिहाल्छ, उपचार गरेपनि ३५ प्रतिशत मात्रै बाँच्ने हो भन्दै सहयोग लिन मान्नु भएन ।’

बुबाको सादगी पन, दुरदर्शिता र सहयोगी व्यवहार आफ्ना लागि प्रेरणा बनेको उनी बताउँछन् । ‘अहिलेका पार्टीहरु जनताका दुःख मर्म बुझ्ने खाल्का छैनन्, निजी कम्पनी जस्ता छन्’ सायमी भन्छन्, ‘त्यसैले जनताले ती दलहरुको विकल्प खोजेका छन् र यसैका लागि म चाहिँ स्वतन्त्र भएर लौरो अभियानमार्फत अरुलाई पनि एकत्रित गरेर हिँडेको छु ।’

भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर



Source link

HamroAwaj

2022-09-02 20:25:45

Leave a Comment