नयाँ अनुहार २ : लाहुरेको सांसद बन्ने हुटहुटी – HamroAwaj


१९ भदौ, काठमाडौं । रुपन्देहीको लाहुरे परिवारमा जन्मिएका भीष्मकुमार राना कक्षा १२ सकेपछि व्यापार गर्न चाहन्थे । भारतीय सेनाको गोर्खा रेजिमेन्टमा कार्यरत बुबाको इच्छा छोरा आफूजस्तै लाहुरे बनोस् भन्ने थियो ।

इज्जत पनि पाइने, पेन्सन पकाएर आए भविष्य सुरक्षित हुने बुबाको बुझाइ थियो । नेपालको राजनीतिबाट वाक्कदिक्क भएकाले पनि बुबाले लाहुरे बन्ने सहज यात्रा रोज्न सुझाएका होलान् भन्ने रानालाई लाग्छ । त्यही लहडमा भारत गएका बेला उनी भर्ती केन्द्र हेर्न पुगेका थिए । त्यत्तिञ्जेल उनलाई ‘इण्डिन आर्मी’मा भर्ना हुन सकिएला भन्ने विश्वासै थिएन ।

‘त्यहाँ पुग्दा केही साथीहरु भर्ती भइसकेका रहेछन्, उनीहरुलाई देखेपछि पो मलाई पनि रहर जाग्यो,’ राना सम्झन्छन्, ‘त्यतिबेला म पनि जोशिलो थिएँ, दौडमा दोस्रो नम्बरमा आएँ ।’ उनी शारीरिकरुपमा तन्दुरुस्त थिए, लिखितमा पनि राम्रो नतिजा आयो । त्यसपछि गोर्खा सैनिक बन्न उनले धेरै दुःख गर्नु परेन । बरु पछि तालिमेका लागि प्रशिक्षककै जिम्मेवारी पाए ।

‘भारतीय सेनामा भर्ती हुने कहिल्यै सोचेको थिइनँ, साथीहरु देखेरै त्यतातिर लागियो,’ उनी भन्छन्, ‘त्यहीँ काम गर्दा गर्दै ब्याचलर पनि पूरा गरे ।’ उनकै शब्दमा भन्दा भारतीय सेनामा रहेर स्नातकसम्म अध्ययन पूरा गरेपनि ‘बुद्धि पलाउन’ चाहिँ ७ वर्ष लाग्यो ।

‘काम गरेको सात वर्ष भएपछि मलाई भित्रैदेखि ह्वाट आई एम डुइङ हेयर भन्ने भयो (अर्काको देशमा म के गर्दैछु),’ उनले सम्झिए, ‘त्यसपछि राजीनामा दिन हाकिम कहाँ गएँ ।’ त्यतिबेला उनको ‘इन्स्ट्रक्टिङ ग्रेड’ राम्रो भइसकेको भइसकेको थियो, कमाण्डिङ अफिसरले राजीनामा दिन दिएनन् ।

पछि उनी बाध्य भएर साढे १५ वर्ष त्यहीँ बसे । ‘त्योभन्दा एकदिन पनि बस्दिन भनेर अठोट नै लिएको थिएँ, मैले ठ्याक्कै पेन्सन हुने वित्तिकै जागिर छाडिदिएँ’ राना भन्छन्, ‘त्यतिबेला पनि उनीहरुले मानेका थिएनन्, तर म जबरजस्ती विदा लिएर नेपाल आएँ ।’

फर्किएर आउँदा नेपालमा विशानकारी भूकम्प गएको केही समय मात्रै भएको थियो । उनले रुपन्देही फर्किएर कृषि कर्ममा लाग्ने सोच बनाए । ‘मैले सुरुमा गाउँमा ६० वटा बंगुर पालेँ, फ्रेस हाउस पनि खोलेँ’ राना सम्झन्छन्, ‘तर नेपालमा उद्यम गर्न गाह्रो रहेछ, वस्ती पनि बाक्लिँदै गएपछि विरोध आउन थाल्यो । त्यसपछि यसलाई छाडिदिएँ ।’

उनको बुझाइमा नेपालमा व्यवसायमा हात हाल्नु भनेको उच्च जोखिममा पर्नु हो । ‘किनकि यो क्षेत्रमा राज्यको लगानी छैन, कसरी उठाउने भन्ने मात्र छ,’ आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, ‘बैंकबाट ऋण लिए ब्याजदर आज ८ प्रतिशत हुन्छ, भोलि १७ पुगिसकेको हुन्छ । पत्तै हुन्न ।’

तरलता अन्तर्राष्ट्रिय समस्या हो भन्ने उनलाई थाहा छ । तर यसबाट व्यवसायीलाई उकास्न नीति नियम ल्याउनुपर्नेमा सरकारी संयन्त्र चुपचाप बस्ने गरेको प्रति उनलाई दुःख छ ।

बंगुर पालन छाडेपछि रानाले पोखरामा टायल र मार्बलको स्वरुम खोले । दुवै काम गर्दा उनले थाहा पाए कि नेपालमा कुनै पार्टीको फेरो नसमाती काम गर्न गाह्रो रहेछ । ‘म जहाँ जान्थेँ, तपाईं कुन पार्टीको भनेर सोध्थे,’ राना भन्छन्, ‘पार्टी नसोधी कुनै कुरै सुरु हुन्नथ्यो, यसले मेरो मनमा सधैँ घन्टी बजाइ रह्यो ।’

यो प्रवृत्तिविरुद्ध कसरी धावा बोल्ने ? उनीसँग जोश थियो, कहाँ पोख्ने थाहा थिएन । त्यही बेला उनले मुलुकका विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारहरुको लहर देखे ।

‘हुन त मलाई पहिल्यै हामी जस्ता युवा यो देशको प्रधानमन्त्री हुनुपर्छ भन्ने लाग्थ्यो,’ राना भन्छन्, ‘नेपाल आउँदा जाँदा यहाँको स्थिति देखेर म वाक्कदिक्क हुन्थे, यो बदल्न नेतृत्व तहमा म जस्ता युवा पुग्नुपर्ने सोच्थें ।’

मनमा यस्ता कुरा खेले पनि कसरी अघि बढ्ने उनलाई थाहा थिएन ।

‘तर अहिले स्वतन्त्रको लहर सिर्जना हुँदै गर्दा मैले पनि संसदमा गएर नीतिगत तहमा केही गर्नसक्छु, भूमिका खेल्न सक्छु भनेर आँट आउन थाल्यो’ राना भन्छन् । त्यसपछि उनले आफ्नै ठाउँ रुपन्देही क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने निर्णय गरे । अनि, स्वतन्त्रहरुको समूह लौरो अभियानसँग गाँसिए ।

उनले आँखा लगाएको क्षेत्र एमालेमा स्थापित भइसकेका नेता खिमलाल भट्टराई र नेपाली कांग्रेसका भरत शाहको क्षेत्र हो । तर झण्डै चार महिनाको चुनावी दौडाहबाटै आफू चुनाव जित्नेमा ढुक्क रहेको राना बताउँछन् ।

बिहीबार ललितपुरस्थित एक होटलमा भेटिएका उनले भने, ‘मैले रुपन्देही-५ मा प्रतिष्पर्धी नै देखेको छैन ।’ पछिल्लो समय निर्वाचन क्षेत्रका हरेक कुनामा पुग्दा उनले मतदाताबाट नेताहरुप्रति गुनासो मात्र सुनेका छन् ।

हेर्नुस्, मैले यो त्यत्तिकै बोलेको होइन, गाउँगाउँ डुलेर आएर भनेको हो । रुपन्देही ५ बाट मेरो ६० हजार बढी भोट आउँछ

‘चुनाव जितेपछि चार वर्ष सात महिना सांसदहरु बेपत्ता हुन्छन्, अर्को चुनावका बेला मात्र फर्किएर आउने पात्र अहिलेका जनतालाई चाहिएको छैन’ राना भन्छन्, ‘विगतमा जनतासँग विकल्प थिएन, विकल्प नहुँदा तिनै कांग्रेस, एमाले र माओवादीलाई भोट हाल्थे । तर विकल्प भएको अवस्थामा जनताबाट त्यो भुल हुँदैन भन्ने सन्देश पाएको छु ।’

अनलाइनखबरसँग कुराकानीमा उत्साहित हुँदै आफूले ६० हजार बढी भोट आउने पनि दाबी गरे । अविश्वास प्रकट गर्दै प्रतिप्रश्न गर्दा रानाले भने, ‘हेर्नुस्, मैले यो त्यत्तिकै बोलेको होइन, गाउँगाउँ डुलेर आएर भनेको हो ।’ उनले उम्मेदवारी दिन लागेको निर्वाचन क्षेत्रमा एक लाख २० हजार मतदाता छन् ।

‘तीमध्ये ४० प्रतिशत एकदमै पार्टीप्रति समर्थित कार्यकर्ता छन्, त्यसबाहेकको भोट मतिर आउँछ’ राना भन्छन्, ‘अबको शक्ति भनेको जनता हो, जनता अब पहिले जस्तो नबुझ्ने छैनन् ।’ निर्वाचनका लागि अझै तीन महिना समय बाँकी रहेको समयमा ३३ प्रतिशत मतलाई बढाउन कोशिश गर्ने उनी बताउँछन् ।

सांसद जितेर के गर्ने ?

उनलाई लाग्छ देशलाई बलियो बनाउन मुलुकको प्रतिरक्षा प्रणाली मजबुत हुनुपर्छ । ‘संसद हरेक क्षेत्रको विज्ञहरुको थलो हुनुपर्ने हो, तर नेपालमा त्यो हुनसकेको छैन,’ राना भन्छन्, ‘मेरो पृष्ठभूमि डिफेन्स भएकाले पनि यसको विषयमा निरन्तर संसदमा आवाज उठाउन चाहन्छु ।’

उनी सीमा क्षेत्र गएका बेला देखेको एउटा घटना स्मरण गर्दै भारतको एउटा सिपाहीले पनि नेपालप्रति हेपाहा प्रवृत्ति देखाउने गरेको बताउँछन् । ‘म सीमा क्षेत्र गएको थिएँ, भारतको एउटा सिपाही सुइँसुइँ डण्डा लिएर नेपाल आयो, उनलाई मैले जे गरे पनि केही हुँदैन भन्ने थाहा छ,’ राना भन्छन्, ‘यो मुलुकको प्रतिरक्षा प्रणाली र सरकार कमजोर भएको कारण भएको हो ।’

उनको बुझाइमा सबैले नेपाललाई शान्तिको देश भन्छन्, यद्यपि सधैँ यसलाई कायम राख्न प्रतिरक्षा शक्ति हुनुपर्छ । ‘इफ यू वान्ट पिस वी प्रिपियर्ड फर बार भनिन्छ, त्यसैले शान्तिका लागि पनि शक्ति चाहिन्छ,’ उनी भन्छन् । त्यसबाहेक अहिले कक्षा १२ पास गरेका युवाले कि आफैं जस्तै लाहुरे बन्नु वा विदेश जानुको विकल्प नरहेको उनी बताउँछन् । ‘यस्ता कुरा समाधानका लागि असल राजनीतिक भिजन चाहिन्छ, जुन अहिलेका नेतामा छैन,’ राना भन्छन् ।

तस्वीर/भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

नयाँ अनुहार ०७९–भाग १ :

सायमीको सांसद सपना : साथीको देहान्तले मोडेको यात्रा





Source link

HamroAwaj

2022-09-04 21:42:55

Leave a Comment