‘डेंगुले कोरोनालाई छायामा पार्‍यो, अझै दुई महिना प्रकोप रहन्छ’ – HamroAwaj


२० भदौ, काठमाडौं । पछिल्लो समय नेपालमा डेंगु संक्रमणको प्रकोप निकै बढेको छ । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट गत एक महिनामा मात्रै ३ हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् ।

डेंगुको संक्रमण ७२ जिल्लामा फैलिसकेको छ । एक जनाको मृत्यु भएको छ । सरकारले डेंगुको लार्भा खोजेर मार्न वा लामखुट्टे नियन्त्रण गर्न भनेर प्रत्येक वर्ष लाखौं रुपैयाँ विनियोजन गर्दै आएको छ । तर, हरेक वर्ष डेंगु नियन्त्रण बाहिर जाने गरेको छ । गत असारदेखि फैलिन थालेको डेंगुले अस्पतालमा चाप बढ्दै गएको छ । ललितपुर, काठमाडौं र रुपदेन्हीमा डेंगु संक्रमणले उच्च गति लिइरहेको छ ।

डेंगुले महामारीको रूप लिइरहँदा नियन्त्रणको प्रमुख जिम्मेवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा भने हरेस खाएजसरी बसेको छ । डेंगुका कारण भएको मृत्यु तथा संक्रमितको तथ्यांक संकलनमा मात्रै केन्द्रित भएको देखिन्छ ।

वास्तवमा डेंगु के हो ? यसले कसरी महामारीको रूप लियो ? किन रोग अनियन्त्रित बन्ने अवस्था उत्पन्न भयो ? डेंगु संक्रमितमा के–कस्ता स्वास्थ्य समस्या आउँछन् ? यसबाट कसरी बच्ने ? यस्तै विषयमा आधारित भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ ।

डेंगु के हो ?

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । डेंगु नेपालमा सन् २००४ मा देखिएको थियो । त्यसपछि हरेक वर्षजसो देखिंदै आएको छ । सन् २०१९ सबैभन्दा धेरै जनसंख्यालाई संक्रमित गराएको र अधिकांश जिल्लालाई प्रभावित पारेको थियो । लामखुट्टले टोकेर हुने भाइरल संक्रमण प्रत्येक वर्ष रोगको रूपमा रहने देखिन्छ ।

डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ ।

यसका लक्षण केके हुन् ?

१० हजार मानिसलाई डेंगु भयो भने १ हजारमा मात्र लक्षण देखापर्छन् । बाँकी ९ हजार मानिसमा डेंगुको खासै लक्षण बाहिर देखिँदैन । डेंगुको भाइरस छिरेपछि शरीरमा रोगसँग लड्ने क्षमता (एन्टिबडी) नबन्दासम्मको समयमा अन्य लामखुट्टेले टोकेमा शरीरको भाइरसले लामखुट्टेमा संक्रमण हुन्छ । एकपटक लामखुट्टे संक्रमित भएपछि उसका वंशजहरूमा समेत संक्रमण हुने गर्छ ।

मानिसमा संक्रमण भएको चारदेखि १० दिनमा यसको लक्षण देखिन सुरू हुन्छ । विशेषगरी अत्यधिक ज्वरो आउनु, असाध्यै शरीरमा पीडा हुनु, आँखाको गेडी दुख्नु, ढाडको तत्लो भाग कट्कट खानु, खुट्टाको जोर्नी एकदमै दुख्नु, खान मन नलाग्नु, वान्ता हुनु जस्ता लक्षण देखिन्छन् । पछिल्लो समयमा केही मानिसमा दिसा पातलो जाने, धेरै पसिना आउने नयाँ लक्षण देखिएका छन् ।

समग्रमा भन्नुपर्दा डेंगु भनेकै अत्याधिक दुखाई हो । धेरै मानिसले अस्पताल आउँदा अत्याधिक पीडा भएको गुनासो गर्दै आएका छन् । उनीहरूले जीवनमै पहिलो पटक शरीर यसरी दुखेको भन्ने अनुभव सुनाउने गर्छन् । त्यसकारण, डेंगुलाई एकदमै शरीरिक पीडा दिने रोगको रूपमा लिन सकिन्छ ।

डेंगु भएका सबै मानिसमा लक्षण भने देखिँदैन । लक्षण नदेखिएका संक्रमित व्यक्तिले पनि डेंगु सारिरहेका हुन्छन् । लक्षण नभएका व्यक्तिलाई डेंगुले टोकेको खण्डमा ८ देखि १२ दिनसम्म अर्को व्यक्तिलाई भाइरस सार्नसक्ने क्षमता विकास गर्छ । अहिले हामीले दैनिक रूपमा डेंगुका बिरामी देखेका छौं, त्यसभन्दा कयौं गुणा संक्रमित भइसकेको अनुमान गर्न सकिन्छ । नेपालमा सामान्यतया अत्यधिक पीडा नभइ अस्पतालमा नपुग्ने गरेकाले परीक्षणको दायरामा टाढा छन् ।

कस्तो अवस्थामा स्वास्थ्य जटिल हुनसक्छ ?

अस्पताल आइपुगेका केही व्यक्ति पुनः डेंगुको संक्रमित भएका छन् । डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ मध्ये कुनै एक प्रजातिको इन्फेक्सन भएमा जीवनभर त्यहि प्रजातिको संक्रमण हुँदैन । तर, अन्य प्रजातिले भने संक्रमण गर्न सक्छ । किनभने एक प्रजातिको इन्फेक्सन भएको अवस्थामा जीवनभर शरीरमा त्यसप्रजाति विरुद्ध लड्न सक्ने क्षमता विकास भइसकेको छ, हुन्छ । केही व्यक्तिमा दोस्रो प्रजातिको डेंगु भाइरसबाट संक्रमण भएमा बढी जटिल हुन्छ ।

सन् २०१९ को धेरै मानिसलाई डेंगु २ प्रजातिले संक्रमण गरेको अध्ययनमा देखिएको छ । तर, यदि डेंगु २ बाहेक अन्य प्रजातिले संक्रमण गरेको छ भने लक्षण सहित जटिल भएर जान्छ । नेपालमा हाल फैलिरहेको डेंगुको कुन प्रजाति हो भन्ने सार्वजनिक भएको छैन । डेंगुसँगसँगै गर्मी महिना भएकाले टाइफाइड, स्क्रबटाइफस, आदिको इन्फेक्सन भएको खण्डमा डेंगु थप जटिल बन्न जान्छ ।

पछिल्लो समयमा डेंगुले कोरोनालाई पनि छायामा पारिरहेको छ । अहिले डेंगुमा भएका मानिसमा रगतमा देखिने उत्तरचढाव सामान्य देखिएको छ । परीक्षणको क्रममा डेंगु नेगेटिभ भएतापनि लक्षणहरू मिल्दोजुल्दो भएका छन् ।

कस्ता बिरामीलाई अस्पतालमा भर्ना गर्नुपर्छ ?

डेंगु भएका थोरै संख्याका मानिसलाई हेमोजेरिक हुने गर्छ । यसमा बढी मात्रमा रक्तस्राव हुने, गिजाबाट रगत बग्ने हुन्छ । साथै, अन्तरिक रक्तस्राव पनि हुन्छ ।

डेंगु संक्रमित व्यक्तिमा श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगेजस्तो हुने, कालो खालको दिसा आउने, थकान महसुस हुने, उल्टी हुँदा रगत देखिने, बिरामी बेहोस हुनेलगायत लक्षण देखिएमा डेंगु जटिल भयो भनेर बुझनुपर्छ । डेंगु अधिकांशलाई घरमै बसेर आराम गरेमा सञ्चो हुन्छ । तर, जटिल लक्षण देखिएको अवस्थामा तुरून्तै अस्पताल जानुपर्छ र संक्रमितलाई भर्ना गरेर उपचार गर्न जरूरी हुन्छ । अस्पताल आइपुगेका जटिल लक्षण भएका बिरामी फोक्सो वा पेटमा पानी जमिरहेको हुन्छ ।
त्यसैगरी, कलेजोको आकार नर्मलभन्दा २ सेन्टिमिटर बढेको हुन्छ । यस्ता बिरामीको सेता रक्तकोषको र प्लेटलेट्सको मात्रा तीव्र रूपमा घट्छ भने हेमाटोक्रिट मात्रा उकालो लागेको हुन्छ । शरीरमा डेंगु संक्रमण हुँदा त्यसले बोनम्यारोलाई केही समय निष्क्रिय गराउँछ, जसले गर्दा सेतो प्लेटलेट्सको मात्रा बिस्तारै घटेर जान्छ, जुन स्वाभाविक प्रक्रिया हो । तर, शरीर जति कमजोर हुन्छ, त्यति नै अन्य ब्याक्टेरियाले आंक्रमण गर्ने सम्भावना रहन्छ ।

प्लेटलेट्सको मात्रा समान्यतया एक लाखभन्दा कम भएको राम्रो मानिँदैन । प्लेटलेट्सको मात्रा अत्यधिक घटेर २० हजारभन्दा मुनि गएको अवस्थामा यसको कारण खोज्नुपर्ने हुन्छ । यी कोषिका ज्वरो घटेको केही दिन तल झरेर आफैं माथि आउँछन् । त्यसैले घटेर गएको अवस्थामा आत्तिनुपर्दैन ।

डेंगु संक्रमित बिरामीलाई २ देखि ७ दिनसम्म ज्वरो आउने गर्छ । त्यसपछि, ज्वरो घटेर गएका बेला २४ देखि ४८ घण्टासम्मको समयमा क्रिटिकल फेजमा केही व्यक्तिको शरीरबाट रक्तस्राव भएको देखिन्छ र थोरै मानिसमा रक्तचाप घटेर सकमा जान सक्ने सम्भावना हुन्छ ।

डेंगुका विरामीले कुन औषधि खाने ?

डेंगु भएका बिरामीलाई कतिपय चिकित्सक वा फार्मेसीले अनावश्यक रूपमा एन्टिबायोटिक्स औषधि दिएको पाइन्छ । वास्तवमा डेंगुमा एन्टिबायोटिक्सको कुनै भूमिका हुँदैन

डेंगुको विशेष औषधि हुँदैन । लक्षणमा आधारित भएर उपचार गर्नुपर्ने हुन्छ । बान्ता वा झाडापखाला भएका मानिसको शरीरमा आवश्यक पर्ने तत्वहरू खेर गइरहेको हुन्छ । त्यसकारण उनीहरूलाई स्लाइन पानी आवश्यकता अनुसार दिनुपर्छ । जटिल लक्षण देखिएका मानिसका शरीरमा विभिन्न अंगमा समस्या गरेको छ कि छैन भनेर हेर्नुपर्छ । सोही अनुसार थप उपचार गरिन्छ ।

सामान्य डेंगु ज्वरो आएका मानिसमा प्रशस्त पानी पिउने र प्यारासिटामोलको सेबन गर्नाले नै रोग ठिक हुन्छ । ज्वरो आएपछि वा दुखाइ बढेपछि धेरैले फ्लेक्जन, ब्रुफिन, निम्स जस्ता औषधि सेवन गरिरहेका छन् । डेंगु संक्रमितले यस्ता औषधि डाक्टरको सल्लाहविना खानु वास्तवमै हानिकारक र घातक हुनसक्छ । किनकि, यस्ता दबाइ खाँदा आन्द्रा सुन्निने, घाउ हुने र रगतमा प्लेटलेट्स कम भएका बेला रगत बग्न सक्नेजस्ता जोखिम बढेर जान्छ ।

अहिले डेंगु फैलिँदो अवस्थामा छ । सम्भवतः ज्वरो आउनु र शरिर दुख्दा डेंगु भएको संकेत गर्छ । तर, डेंगु भएका बिरामीलाई कतिपय चिकित्सक वा फार्मेसीले अनावश्यक रूपमा एन्टिबायोटिक्स औषधि दिएको पाइन्छ । वास्तवमा डेंगुमा एन्टिबायोटिक्सको कुनै भूमिका हुँदैन ।

कुनै बिरामी ज्वरो आउने बित्तिकै अत्याधिक स्लाइन पानी दिने गरेको पाइन्छ, जुन घातक हुन जान्छ । जसले गर्दा छातीमा पानी जम्मा भएर बस्न सक्छ । पानी फोक्सो र पेटमा जान्छ र दुर्घटना निम्तिन सक्छ । त्यसकारण स्लाइन पानी बढी नदिनका लागि चिकित्सकले परीक्षण गरेसँगै कति दिने भनेर निर्णय लिन आवश्यक हुन्छ ।

पछिल्लो समय प्लेटलेट्सको मात्रा एक लाखभन्दा कम हुँदैमा रगत चढाइहाल्ने गरका पनि छन् । उपचारको मापदण्डले पनि रगत चढाउनुपर्ने देखाएको छैन । अनावश्यक रूपमा रगत दिँदा फाइदा भन्दा बेफाइदा गर्न सक्छ । कतिपय देशका गाइडलाइनले प्लेटलेट्स पनि (२० हजार) घटेको र अन्य समस्या छ भने रगत चढाउनुपर्ने जनाएको छ । डेंगुको प्रक्रियामा यो घट्ने प्रक्रिया सामान्य हो । ज्वरो घटेको केही दिनमा प्लेटलेट्सको मात्रा बिस्तारै बढेर जाने हुन्छ ।

डेंगु भएका मानिस घरमा बसेका के खाने भन्ने कुरा महत्वपूर्ण हुन्छ । सकेसम्म झोलिलो खाने कुरा प्रशस्त खानुपर्छ । हल्का तथा सजिलैसँग पच्ने खाना खानुपर्छ । डेंगु भएका बिरामीलाई खाना खान रुचि नहुने हुँदा परिवारका सदस्यले खाना खान कोसिस गर्दै लैजानुपर्छ ।

लामखुट्टेको टोकाइबाट जोगिन झुल लगाएरै सुतेका हुन्छौं, डेंगु कसरी सर्यो भन्नेहरु पनि छन् । उनीहरुलाई के भन्नु हुन्छ ?

एडिस जातको लामखुट्टे दिउँसोमा बढी सक्रिय हुन्छ । तर, मानिसले अझै पनि दिउँसो लामखुट्टेले टोक्छ भन्ने विश्वास गरेको पाइँदैन । राति सुत्दा झुलदेखि सबै सुरक्षाका मापदण्ड अपनाउँछन्, तर दिउँसो भने यसलाई बेवास्ता गरिरहेका हुन्छन् ।

दिउँसो काममा व्यस्त भएकाले त्यही बेलामा टोक्ने गरेको छ । जहिले पनि राति नै लामखुट्टेले टोक्छ भन्ने सोचलाई परिवर्तन ल्याउन जरूरी हुन्छ । घरमा जस्तै विद्यालय, कार्यालयमा पनि लामखुट्टेले टोक्ने हुँदा त्यस वरपर पानी जम्न दिनु हुँदैन ।

अस्पताल आइरहेका धेरै मानिसलाई दिउँसो टोक्ने लामखुट्टेले डेंगु सार्छ भन्ने थाहा नै छैन । जहाँसम्म उपचारमा आएका मानिस लुगा साटासाट नगर्ने तथा छुट्टा–छुट्टै बसेको बताउँदै आएका छन् । छोएर वा लुगा लगाएर सर्छ भन्ने अनविज्ञता प्रकट गर्ने गरेका छन् । त्यसकारणले यस्ता व्यक्तिलाई डेंगुको जानकारी एकदमै छ भन्ने बुझिन्छ ।

डेंगुको प्रकोप अझै कति दिनसम्म रहला ?

सन् २०१९ भन्दा अहिले बढी संक्रमित भइरहेका छन् । अहिले परिवारका सदस्य, स्कुल, कलेजका साथीभाइ वा कार्यालयमा केही व्यक्तिमा डेंगु भएको पाइएको छ । त्यसकारण, लगभग लामखुट्टेको प्रवेश घर–घरमा भइसकेको छ । जसले डेंगु तीब्र गतिमा फैलाइरहेको देखाउँछ । सन् २०१९ मा काठमाडौंमा संक्रमण बढी थियो । यसपटक भने ललितपुर, काठमाडौं हुँदै भक्तपुरमा समेत फैलिरहेको छ । अहिले सरकारी अस्पतालमा मात्रै होइन, क्लिनिक, निजी अस्पतालमा पनि डेंगु भएर भर्ना हुने अत्यधिक छ । त्यसकारण सन् २०१९ भन्दा अहिले धेरै मानिस संक्रमित भएको अनुमान गर्न सकिन्छ ।

डेंगु नियन्त्रण गर्नका लागि सबैभन्दा प्रभावकारी उपाय ‘खोज र नष्ट गर’ अभियान हो । रोग सार्ने लामखुट्टे ग्रामिण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन् ।

त्यसैगरी, फोहोर व्यवस्थापन नभएका कारणले पनि डेंगु फैलिरहेको कारकतत्व मान्न सकिन्छ । यस्ता कारणले लामखुट्टेलाई वृद्धिविकास हुन धेरै सहज भएको छ । पहिला पनि मनसुनमा डेंगु देखिन्थ्यो, तर मनसुन सकिएपछि ‘आउट ब्रेक’ हुने गरेको थियो । तर, अहिले मनसुन सँगसँगै तीब्र गतिमा बढिरहेको छ । बढी पानी संकलन भएका ठाउँमा लामखुट्टेको लागि उपयुक्त वातावरण भएकाले पनि डेंगु बढी, छिटो र तीव्र गतिमा फैलिरहेको छ । यसभन्दा अगाडि दशैं, तिहारतिर आउटब्रेक हुन्थ्यो । त्यसलाई आधारभन्दा अबको दुई महिना अझैं डेंगुले प्रकोप लिनसक्ने देखिन्छ ।

अहिले सम्बन्धित निकाय डेंगुका केस भए भन्ने मात्रैमा केन्द्रित भएको जस्तो देखिन्छ । यद्यपि, डेंगु सार्ने लामखुट्टेको अन्त्यका लागि कमै मात्र लागेको छ । डेंगु अन्त्यका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई व्यवहारमा उतार्न जरूरी छ ।

लामखुट्टेको टोकाइबाट जोगिने कसरी ?

डेंगुको संक्रमण रोक्नका लागि लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाँडाहरू खोजी–खोजी सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ । पानी राख्ने भाँडाहरु जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्नेगरी राम्ररी छोपेर राखौं । साथै पानी जम्नसक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्नुपर्छ । यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।

त्यसैगरी, कोठाभित्र लामखुट्टे भगाउने धुप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउनुपर्छ । पूरै शरीर ढाक्ने लुगा उपयुक्त हुन्छ । लामखुट्टेले फुल पार्नसक्ने सम्भावित घर, विद्यालय र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाँडाहरु खोजी–खोजी सफा गर्नुपर्छ । लामखुट्टेका फुल नष्ट गर्नुपर्ने हुन्छ ।





Source link

HamroAwaj

2022-09-05 11:20:29

Leave a Comment