पहिले फौजी, पछि द्वन्द्व व्यवस्थापनविज्ञ, अहिले संसदतिर नजर – HamroAwaj


२० भदौ, काठमाडौं । कोरोना भाइरसको महामारी विश्वभरि फैलिँदै गर्दा डा. प्रणय शम्शेर जबरा अमेरिकाको सेन्टर अफ डिजिज् कन्ट्रोल (सीडीसी) मा वरिष्ठ सल्लाहकारका रुपमा काम गरिरहेका थिए । सीडीसीले गर्ने अध्ययनलाई विश्वभरिका थुप्रै मुलुकले सन्दर्भ सामग्रीका रुपमा लिन्थे । प्रतिकार्यको तयारी पनि त्यसमै आधारित हुन्थे ।

त्यस्तो महत्वपूर्ण ठाउँको आकर्षक जागिर छाडेर प्रणय स्वदेश फिर्ने तरखरमा थिए । ‘फेसबुक र समाचारहरूमा हरेक दिन आफ्नो देश कोभिडले आक्रान्त भइरहेको देख्थे,’ राणा सम्झन्छन्, ‘त्यसपछि अमेरिका बसिराख्नै मन लागेन, फर्किने निधो गरेँ ।’

प्रणयले सीडीसीमा काम गर्दा अन्तर्राष्ट्रिय दातृ निकायसँग चिनिने मौका पाएका थिए, स्वदेश फर्केमा नेपालका लागि सहयोग जुटाउन सक्छु भन्ने आँट उनमा थियो । त्यही भरमा उनले सीडीसीको जागिर छाडेर नेपाल फर्कने निर्णय गरेका थिए ।

काठमाडौं आएर प्रणयले प्रतिमा मेमोरियल फाउन्डेसन लगायतका संस्थासँग जोडिएर सात वटै प्रदेशका लागि मास्क, पीपीई, भेन्टिलेटर, अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री वितरण गरे ।

‘पैसा माग्दा पारदर्शितामा प्रश्न उठ्न सक्छ भनेर सिधै सामान मगाएको थिएँ, चार्टर विमानमार्फत पटकपटक सामानहरू आए,’ राणा भन्छन्, ‘लुम्बिनीका १३ जिल्ला र प्रादेशिक अस्पतालमा त आफैं पुगेको थिएँ ।’

हरेक ठाउँमा आफैं पुगेर सामान वितरण गर्न मिल्ने स्थिति नभएकाले अरुतिर प्रदेशमा सहयोग सामग्र बुझाएको उनी बताउँछन् ।

नेपालमा कोरोना महामारीको डेल्टा भेरियन्ट फैलिएका बेला दैनिक दुई सय जनासम्मले ज्यान गुमाइरहेका थिए । त्यतिबेला उनी नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान र नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेजमा अतिथि प्राध्यापकका रुपमा काम गर्थे । एक निजी कलेजमा पनि पढाइरहेका थिए ।

‘महामारीको बढ्दो दर देखेर फेरि सबै कुरा छाडेर कोभिडतिरै केन्द्रित हुनुपर्छ भन्ने लाग्यो, त्यसपछि मैले घरबाटै कोभिड कन्सल्टेन्सी चलाउन थालेँ,’ उनी थप्छन्, ‘प्रहरी, सेनासहित विदेशमा पनि नेटवर्कमा भएका डाक्टरहरूलाई जोडेर भाइरबर ग्रुप बनाएँ, समस्यामा परेका जो कोहीलाई परामर्श दिने गरी व्यवस्था गरेँ ।’

यो त्यतिबेलाको कुरा हो, जतिबेला उपत्यकाका अस्पतालमा गेटसम्मै विरामी हुन्थे ।

‘डाक्टरलाई बिरामीसँग जोडेर काम गर्दा एउटै घरका ५/७ जनासम्म संक्रमितलाई सेवा दिन सक्यौं,’ राणा सम्झन्छन्, ‘पछि ऐचोपैंचो भन्ने कार्यक्रममार्फत एम्बुलेन्स सेवा पनि प्रदान गर्‍यौं ।’

सुरुमा टेलिफोन परामर्श सेवा मात्र दिए पनि पछि भेन्टिलेटर, आईसीयूका लागि पनि फोन आउन थालेको उनी बताउँछन् । ‘त्यसपछि टेलिफोन सेवा मात्र प्रदान गरेर भएन भन्ने भयो, फेरि बाहिर चिनजान भएका सहयोगी निकायलाई इमेल लेखेर स्वास्थ्य उपकरणहरू पनि मगाएको थिएँ,’ उनी भन्छन् ।

सीडीसीमा काम गर्नुअघि उनले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सुरु गरेको ‘ओबामा केयर’ कार्यक्रममा पनि काम गरेका थिए । स्नातकोत्तर सकेपछि अमेरिकामै ‘शरणार्थी पुनर्वास कार्यक्रम’मा काम गर्न पाएको अनुभवका आधारमा राणाले राष्ट्रपतिको नाममा अघि सारिएको कार्यक्रममा जोडिने मौका पाएका थिए ।

‘संसारभरिबाट आउने शरणार्थीलाई व्यवस्थापन गर्ने क्रममा मैले रुवाण्डा, भुटान, अफगास्तान, इराक, इथियोपिया, कंगो लगायतका मुलुकका मानिसहरूसँग काम गर्न पाएँ,’ राणा भन्छन्, ‘एक एनजीओसँग जोडिएर मैले यो काम गरेको थिएँ, तर मैले गरेका सबै सिफारिस कार्यान्वयन हुन्थेनन्, त्यसपछि मेरो कुरा सुनुवाइ हुन पनि विद्यावारिधी गर्नुपर्छ भन्ने भयो ।’

त्यतिञ्जेल राणाले शरणार्थीहरूको स्वास्थ्य, सामाजिक कल्याण, सर्वोपरि हित जस्ता कल्याणकारी राज्यले दिने कार्यक्रममा नजिकबाट जोडिइसकेका थिए । ‘यस्ता कुरामा सुधार गरिएन भने उनीहरू तेस्रो मुलुकमा आएर पनि फेरि शरणार्थी सरह नै हुन्छन् भन्ने मेरो बुझाइ थियो,’ राणा भन्छन्, ‘त्यसैले मैले पुनर्वासलाई पनि कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमै केन्द्रित भएर विद्यावारिधि गरेको थिएँ ।’

सन् २०१२ बाट केन्सस स्टेट युनिभर्सिटी जर्जियामा अध्ययन गर्न पाउनु उनका लागि सार्वजनिक स्वास्थ्यसँग जोडिने मौकासमेत बन्यो । ‘म बसेको एट्लान्टा सार्वजनिक स्वास्थ्यको विषयमा विश्वकै राजधानी जस्तो रहेछ, सार्वजनिक स्वास्थ्यको अधिकांश बजेट त्यहीँ जाँदो रहेछ,’ राणा भन्छन्, ‘सीडीसी पनि त्यहीँ थियो ।’

खानेपानी, निकुञ्जको कुरामा मैले पहिल्यैदेखि वकालत गर्दै आएको हुँ, शिक्षा र स्वास्थ्यको अवस्था पनि राम्रोसँग थाहा छ, त्यसैले मेरो अनुभवलाई प्रयोग गरेर यो क्षेत्रलाई मोडल बनाउने गरी काम गर्न चाहन्छु ।

त्यतिबेला राष्ट्रपति बाराक ओबामाले ल्याएको ओबामा केयर कार्यक्रम नागरिकले बुझेनन् भन्ने सरकारी बुझाइ थियो । यो समस्या आप्रवासी र शरणार्थीमा अझ बढी थियो । संयोगवस सिड्को नामक संस्थासँग पीएचडी विद्यार्थीका रुपमा अन्तरक्रिया गर्ने क्रममा यो कुरा निस्कियो । सिड्कोले ‘ओबामा केयर’मा काम गरिरहेको थियो ।

अन्तरक्रियामा राणाको कुरा सुनेर त्यसका प्रतिनिधिले शरणार्थीसँग समन्वय गर्ने विषयमा सहयोग गर्न प्रस्ताव गरे । ‘शरणार्थीसँग डिल गर्ने गरी प्रस्ताव आएपछि मैले नाइँ भन्ने कुरै थिएन,’ राणा भन्छन्, ‘म आप्रवासी पनि थिएँ, पहिले शरणाथीसँग काम पनि गरेको थिएँ, त्यसैले ओबामा केयरका लागि म उपयुक्त हुनसक्छु भन्ने थियो ।’

उनले ‘ओबामा केयर’का नीतिगत विषयहरूलाई सामान्य भाषामा अनुवाद गराएर बुझाउने कोशिश गरे । ‘मिल्ने जति अंग्रेजीमा पनि टोन डाउन गरेर तयार गरियो, अंग्रेजी पनि नबुझ्नेलाई उनीहरूले बुझ्ने भाषामा तयार गरियो’ राणा भन्छन्, ‘फिल्डमै गएर रिसर्च गरेपछि मैले यसरी प्रभावकारीरुपमा काम गर्न सकिन्छ भनेर सुझाव दिएको थिएँ र त्यही अनुसार काम भएको थियो ।’

सैनिकबाट मोडिएको यात्रा

अमेरिका जानुअघि राणा नेपाली सेनामा प्रमुख सेनानी थिए । २०५८ सालमा सैनिक महाविद्यालयबाट कक्षा १२ सकेपछि उनी नेपाली सेनामा भर्ती भएका थिए । द्वन्द्वको समयमा उनी सेनाका १० नम्बर बाहिनी विशेष फौजमा रहेर काम गरे । यो फौज द्वन्द्वमा अग्रपंक्तिमा खटिने टोली थियो ।

‘अर्घाखाँची, कपिलवस्तु, रोल्पा, जाजरकोट, नवलपरासीमा भएका ठूल्ठूला भिडन्तमा म सामेल थिएँ,’ उनी भन्छन्, ‘अहिले पनि हात खुट्टामा चोट छन्, तर भाग्य नै भनौं वा के भनौं अरु त्यस्तो केही भएन ।’

उनले त्यसबेला सेनाबाट राजीनामा नदिएको भए पनि सायद अहिले राम्रै दर्जामा पुग्ने थिए । तर उनले द्वन्द्व व्यवस्थापनको विषयमा अध्ययन गरेर विज्ञ बनेर सेवा गर्ने बाटो रोजे ।

‘सेनामा रहेर गाउँ जाँदा हिजो राति माओवादी आयो भनेको सुनिन्थ्यिो, विद्रोही कञ्चटमा बन्दुक राखेपछि उनीहरू खाना दिन्थे,’ राणा भन्छन्, ‘तर भोलि उनीहरूले फेरि राज्यबाट पीडित हुनुपर्थ्यो ।’

यो कुरा बुझेपछि जागिरमा छउञ्जेल आफू र आफ्नो नेतृत्वको टोलीबाट त्यस्तो नहोस् भनेर सधैं सचेत भएको राणा बताउँछन् ।

द्वन्द्वका कारण एउटा पुस्ताकै पढाइ विग्रिएको थियो । मानिसहरू गाउँ छाडेर पलायन भइरहेका थिए । पहाडी क्षेत्रबाट शहरी क्षेत्रमा बसाइँसराइ बढिरहेको थियो ।

‘जब शान्ति प्रक्रियाको कुरा चल्न थाल्यो, त्यसपछि मलाई देश लामो समयसम्म संक्रमणमा जान्छ भन्ने भयो,’ राणाले सुनाए, ‘त्यसपछि देशका लागि के गर्ने भनेर मैले द्वन्द्व व्यवस्थापन अध्ययन गर्ने निधो गरेको थिएँ ।’

त्यसबेला नर्वे, श्रीलंका र नेपाल सरकारले संयुक्तरुपमा त्रिभुवन विश्वविद्यालयमै ‘द्वन्द्व, शान्ति र विकास अध्ययन’ पढाइरहेको थियो । देशका लागि भविष्यमा चाहिने आवश्यक जनशक्ति उत्पादन होस् भनेर त्रिविमा यो कार्यक्रम राखिएको थियो । उनले त्यहाँ अध्ययन सुरु गरेका थिए ।

त्यहिबेला तत्कालीन संविधानसभाका सभासदहरूलाई ‘संविधानको गणतान्त्रिक मोडल’बारे बुझाउन द्वन्द्व व्यवस्थापनका प्राध्यापक डा. ब्राइन पुल्किन काठमाडौं आएका थिए । नेपाल आएका बेला त्रिविमा पुल्किन अतिथि प्राध्यापकका रुपमा पुगेका थिए ।

‘कक्षामा उहाँले मेरो जिज्ञासा सुनेपछि तिम्रो जुन तहको बुझाइ छ, यसलाई विदेशमा गएर अध्ययन गरेर निखार भनेर बाटो देखाइदिनु भएको थियो,’ राणा भन्छन्, ‘त्यसपछि नै मैले अध्ययनका लागि अमेरिका जाने निर्णय गरेको थिएँ ।’

फर्किएर संसदतिर नजर

महामारीपछि नेपाल फर्किएका डा. राणा अहिले मुलुकमा संसदमा गएर नीति निर्माण तहमा काम गर्न योग्य मान्छेको अभाव देख्छन् । ‘बागमती प्रदेश नै हेरौं न पाँच वर्षमा जम्मा ४५ वटा मात्रै नीति बनेको छ,’ राणा भन्छन्, ‘यसको कारण संसदमा योग्य मान्छेको खडेरी हुनु हो ।’

झण्डै एक दशक नीति निर्माण तहमा बसेर काम गरेको आफ्नो पृष्ठभूमिका आधारमा अहिले राणा काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न खोजिरहेका छन् ।

‘पढाइ मात्र होइन, नीति निर्माण तहमा पनि नेपाल र अन्तर्राष्ट्रियरुपमा गरेको अनुभवलाई यहाँ लागू गराउन चाहन्छु,’ उनी भन्छन्, ‘स्थानीयरुपमा पनि क्षेत्र नं. ५ मै जन्मिएको मान्छे, बूढानीलकण्ठमा गुच्चा, डण्डिवियो, बाँसबारीमा फुटबल खेल्दै हुर्किएको मान्छे भएकाले सबैको साथ पाउँछु भन्ने लाग्छ ।’

सानै उमेरदेखि बूढानीलकण्ठ क्षेत्रमा सामाजिक रुपमा सक्रिय भएकाले पनि आफूले मतदाताको विश्वास पाउँछु भन्ने लागेको राणा बताउँछन् । ‘खानेपानी, निकुञ्जको कुरामा मैले पहिल्यैदेखि वकालत गर्दै आएको हुँ, शिक्षा र स्वास्थ्यको अवस्था पनि राम्रोसँग थाहा छ,’ राणा भन्छन्, ‘त्यसैले मेरो अनुभवलाई प्रयोग गरेर यो क्षेत्रलाई मोडल बनाउने गरी काम गर्न चाहन्छु ।’

सांसदको रुपमा निर्वाचित भए आफ्नो प्रमुख प्राथमिकता जनस्वास्थ्य सुदृढीकरण हुने उनी बताउँछन् । ‘मैले अस्ति भर्खर पनि एउटा अनुसन्धान गरेको थिएँ, र्‍यान्डम स्याम्पलिङ गरेर हेर्दा अधिकांश फार्मेसीमा लाइसेन्स नै नभएका फार्मेसिस्ट बस्ने गरेको देखियो,’ उनी भन्छन्, ‘स्वास्थ्य बीमा पनि यस्तो छ कि सानो रोग र ठूलो रोग छुट्टयाएकै छैन, ठूलो रोग लागे १५/२० लाख खर्च लाग्छ, यस्ता नीतिगत विषयहरूमा आवाज उठाउन चाहन्छु ।’

सडक सुरक्षा र ट्राफिक व्यवस्थापन पनि आफ्नो प्राथमिकता हुने उनी बताउँछन् । ‘धेरै ठूलो सेना पाल्न सक्दैनौं होला, पर्खाल नै लगाउन सक्ने पैसा पनि नहोला,’ उनी भन्छन्, ‘तर प्रविधिको जमाना छ, ड्रोन प्रविधि प्रयोग गरेर तराइका घना जंगल र पहाडका चिसा ठाउँमा पठाउन सकिन्छ ।’ नेपालका प्रतिरक्षा सामग्री त्यहीँ उत्पादन गर्न पनि आफूले वकालत गर्ने उनी बताउँछन् ।

तस्वीर तथा भिडियो : शंकर गिरी/अनलाइनखबर

नयाँ अनुहार ०७९–भाग १ :

सायमीको सांसद सपना : साथीको देहान्तले मोडेको यात्रा

लाहुरेको सांसद बन्ने हुटहुटी





Source link

HamroAwaj

2022-09-05 20:36:35

Leave a Comment