बच्चामा ब्रेन ट्युमर हुनु दयालाग्दो अवस्था : प्रा. डा. राजीव झा – HamroAwaj


काठमाडौं । वीर अस्पतालको आफ्नो कार्यकक्षमा भेटिएका वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झा सधैं झैं हतारमा देखिन्थे । उनी भन्दै थिए, ‘अब अप्रेसनका लागि तयारी गर्नुछ ।’

‘अप्रेसन’ । यो शब्दले आम मान्छेलाई नराम्ररी तर्साउँछ । यद्यपि उनका यी परिपक्व हातले १८ हजारभन्दा बढीको शल्यक्रिया गरिसकेका छन् । त्यो पनि शरीरको सबैभन्दा जटिल र संवेदनशील मानिने टाउकोको ।

त्यसैले उनको निम्ति शल्यक्रिया एक नियमित र सामान्य क्रिया हो । तर यसपालि उनी सामान्य मानिरहेका थिएनन् । किनभने एक वर्षको शिशुको टाउको चिरफार गर्नुथियो, जसको मस्तिष्कलाई ट्युमरले गाँजिसकेको छ ।

‘यो एकदमै क्रिटिकल केस हो,’ यसो भनिरहँदा उनी निकै गम्भीर देखिए, ‘यस्तो परिस्थिति सम्हाल्न निकै कठिन हुन्छ ।’ यससँगै उनले के पनि खुलाए भने अहिले बालबच्चामा ट्युमरको जोखिम बढ्दो मात्रामा छ । आखिर के कारणले बालबच्चामा ब्रेन ट्युमरको जोखिम बढ्दो छ ? यसको पहिचान कसरी हुन्छ ? उपचार प्रक्रिया कस्तो हुन्छ ? यिनै सन्दर्भमा प्रा. डा. झासँग गरिएको कुराकानी :

बालबच्चामा ब्रेन ट्युमरको समस्या बढिरहेको हो ? यसको खास कारण के हुन सक्छ ?

पहिला ब्रेन ट्युमर कम पहिचान हुन्थ्यो । अहिले बढी नै पहिचान हुन थालेको छ । परिवार पनि शिक्षित हुँदै गएको हुँदा स्वास्थ्यबारे सचेतना बढिरहेको छ । स्वास्थ्यमा समस्या देखिने बित्तिकै अस्पताल लैजाने क्रम पनि बढी नै रहेको देख्न पाइन्छ । अस्पतालमा जाँच गराउने प्रवृत्तिमा पनि तुलनात्मक रुपमा बदलिएको छ ।

पहिला काठमाडौंमा मात्र सिटिस्क्यान गर्नेहरु बढी हुन्थे भने अहिले काठमाडौं बाहिरका ठूला सहरमा मात्र नभएर साना–साना सहरमा पनि सिटिस्क्यानको जाँच गर्ने प्रविधि छन् । जसकारण रोगको पहिचान पनि बढी हुन थालेको हो ।

ब्रेन ट्युमर हुनु भनेको जीवनको अन्त्य होइन । किनभने धेरै किसिमको ट्युमरको शल्यक्रिया सहजै गर्न सकिन्छ र त्यसपछि बिरामी पूर्णतया निको हुन्छन् । यदि ढिलो गरियो भने चाहिं यसमा जटिलता आउन सक्छ ।

बच्चामा ब्रेन ट्युमर भएको कसरी पहिचान हुन्छ ?

बच्चामा ब्रेन ट्युमर हुनु एउटा दयालाग्दो अवस्था भन्छु, म । जस्तै, भर्खरै जन्मिएको बच्चा दुई–तीन महिनामा शरीर जस्तोका तस्तै छ, तर टाउकोको आकार बढ्दै गएको छ भन्दै अभिभावकले ल्याउने गर्छन् ।  जाँच गरेर हेर्दा ट्युमर देखिन्छ ।

अन्य समस्या बालबच्चा भन्दा फरक देखिन सक्छ । जस्तो आमाको दूध नखाने, नखेल्ने, अरु बच्चा जसरी शारीरिक विकास नहुने, कतिपय केसमा बच्चाले धेरै बान्ता गर्न सक्छन् ।

बच्चाको टाउकोको आकार बढ्दै जान्छ । बच्चाले उमेर अनुसार जसरी हातखुट्टा चलाउनु पर्ने, हाँस्ने, खाने, खेल्नुपर्ने हो, त्यो देखिंदैन । यस्ता बच्चामा जाँच गरेपछि मस्तिष्कमा ट्युमर देखिन सक्छ ।

बच्चामा के कारणले यस्तो हुन्छ ?

ब्रेन ट्युमर हुने धेरै कारण हुन्छन्, तीमध्ये पनि खराब जीवनशैली र चोटपटक मुख्य हुन् । तर बच्चामा देखिने ट्युमर कोष वा वंशाणुगत दोष नै हो । त्यसैगरी यसमा अरु कारण पनि छन् । जस्तो गर्भावस्थामा आमाले धेरै रक्सी पिउने, चुरोट वा लागूऔषध लिने, औषधि खाने गरेमा पछि शिशुको ब्रेन ट्युमर हुने जोखिम हुन्छ । यद्यपि धेरैजसो अवस्थामा वंशाणुगत कारण नै हो ।

बच्चामा ब्रेन ट्युमर हुनु कति जटिल अवस्था हो ?

बच्चामा ब्रेन ट्युमर धेरै फरक चीज हो । ब्रेन ट्युमर नन क्यान्सर भए पनि क्यान्सरभन्दा बढी नै यसले असर देखाउँछ । किनभने एउटा ६ महिनाको बच्चा वा ५ वर्षकै भनौं,  उनीहरुको तौल नै कति हुन्छ, शरीरमा रगत नै कति हुन्छ र, सानो शरीर भएकाले सानो अप्रेसन पनि बच्चाको लागि एकदमै ठूलो हुन्छ । बच्चामा १० एमएल पानी मात्र कम भयो भने उनीहरुको ज्यान नै जान सक्छ । उनीहरुलाई धेरै सेन्सेटिभ सपोर्टहरु आवश्यक हुन्छन् ।

भनेपछि शिशुको शल्यक्रिया गर्नु कठिन छ ? 

बच्चामा नन क्यान्सर नभए पनि त्यसको नतिजा क्यान्सर जत्तिकै हुन्छ । उनीहरुलाई शल्यक्रिया गर्नु नै जटिल हुन्छ । जस्तो ६ महिना वा एक वर्षको बच्चालाई एनेस्थेसियादेखि लिएर शल्यक्रिया गर्नु वा वार्डमा राखेर उपचार गर्नु सजिलो छैन ।

बच्चाहरुको ब्रेन ट्युमरको शल्यक्रिया गर्न मल्टी डिसिपिलिनेरी टिम तयार गर्नुपर्छ । धेरै जना डाक्टर, नर्सको सहभागिता चाहिन्छ । किनभने त्यो बच्चा हो । उसले आफूमा भएको कुरा अभिव्यक्त गर्न सक्दैन ।

जो बोल्न सक्दैन, आफूलाई दुखेको कुरा पोख्न सक्दैन उसले टाउको दुख्यो त भन्न सक्दैन नि । सबैकुरा जाँच गरेपछि मात्र उनलाई के भइरहेको छ भन्ने थाहा पाउन सकिन्छ । त्यसैले यसका लागि विज्ञहरु जरुरी हुन्छन् । न्युरोलोजिष्ट, न्युरो सर्जरिस्ट, इन्टेन्सिभ केयरका चिकित्सक, न्युरोका स्पेसलिस्ट नर्स लगायतलाई समावेश गराउँछौं । बच्चाको उपचार गर्न अरु रोग जस्तै कठिन र सधैं चुनौतीपूर्ण हुन्छ ।

शल्यक्रियापछि बच्चा पूर्णतः ठीक हुन्छ ?

यो कुरा बच्चाको टाउकोमा कहाँ र कस्तो अवस्थामा ट्युमर छ भन्ने कुराले निर्धारण गर्छ । दिमागमा फ्रन्टल लोप, टेम्पोरल लोप, पाराइटल लोभ, अक्पिटल लोभ, पोन्स, मेडुला जस्ता भाग हुन्छन् ।

पहिलो कुरा उमेर, कुन ठाउँ र कुन ग्रेडमा छ भन्ने कुराले धेरै फरक पार्छ । यदि दिमागको जरामा ट्युमर भएको छ भने शल्यक्रियापछि पनि त्यो ठाउँको ट्युमर निकाल्न सकिंदैन र बाँचे पनि एक किसिमको प्यारालाइज हुने र सामान्य बच्चा जस्तो हुन सक्दैनन् ।

ग्रेड १ र २ ट्युमर नन क्यान्सर हुन्छन् । राम्ररी शल्यक्रिया भएको छ भने पुनः पलाउने सम्भावना कम हुन्छ । यसमा शल्यक्रियापछि बच्चाहरु ठीक हुन्छन् । यदि ग्रेड ३ र ४ मा छ भने यो हाई ग्रेड मानिन्छ । यतिबेला सबै ट्युमर निकालियो भने पनि पलाउने जोखिम हुन्छ । यस्तो पलाउन नदिन रेडियो थेरापी र किमो थेरापी गरिराख्नुपर्छ । यस्ता बच्चालाई डेढ वर्षसम्म बचाउन पनि गाह्रो हुन्छ । त्यसैले शल्यक्रियापछि पूर्ण ठीक हुन्छ वा हुँदैन भन्ने कुरा यी सबै अवस्था हेरेर मात्र भन्न सकिन्छ ।

एक त कुन चरणको ट्युमर हो, कस्तो अवस्थामा छ भन्ने कुरा महत्वपूर्ण भयो भने अर्को चाहिं कसलाई भएको हो भन्ने कुराले । वयस्कको तुलनामा बच्चामा यस्तो कुराको पहिचान गर्न कठिन हुन्छ । उनीहरुलाई के भइरहेको छ भनेर थाहा पाउन सकिंदैन ।

कतिपय अवस्थामा ठूला मान्छेलाई पनि यसले झुक्याउँछ । कसैले आँखा देखिएन भन्दै आँखाको अस्पतालमा जाँच गर्न जान्छन्, कसैले महिनावारी भएन भन्दै प्रसूति रोगको चिकित्सकसँग जचाउन पुग्छन् । तर उनीहरुमा ब्रेन ट्युमरले पनि यस्तो समस्या निम्त्याएको हुन सक्छ ।

कसरी त्यस्तो हुन्छ ?

बच्चा नभएर महिनावारी सुकेको समस्या लिएर प्रसूति रोगका चिकित्सककहाँ जान्छन् र पछि त्यहाँबाट रिफर भएर यता आउने घटना धेरै छन् । महिलामा अहिले यस्तो ट्युमर आम समस्या बन्दै गएको छ । यसमा पनि पिट्युटरी ग्रन्थीको ट्युमर बढी छन् । ब्रेन ट्युमरको १०० जना बिरामीमा २५ जना त पिट्युटरी ग्रन्थीको ट्युमरले ग्रस्त भएको पाइन्छ ।

यस किसिमको ट्युमरको जोखिम कति छ ? 

यो एक आम ट्युमर हो । सय जनामा ९९ जना निको हुने सम्भावना हुन्छ । यो नन क्यान्सर ट्युमर हो । यस्तो ट्युमर निकाल्न टाउको खोल्न पर्दैन, नाकबाट पनि निकाल्न सकिन्छ ।

खासमा ब्रेन ट्युमर के कारणले भइरहेका छन् ?

ब्रेन ट्युमरको फरक ट्रायलहरुले देखाए अनुसार मानिसको कोषिका सामान्य हुन्छ । विकास हुँदै जाँदा नयाँ बन्दै जाने र पुरानो कोषिकाहरु मर्दै जान्छन् । तीमध्ये एक कोषिका सामान्य विकास नभएर असामान्य हुनपुग्यो भने त्यो बढ्दै गएर ट्युमर बन्छ । यो वंशाणुगत दोष भयो ।

त्यसैगरी बाहिरी कारणले पनि ट्युमर हुन्छ । जस्तो, ट्युमर बनाउने तत्वमा विषादी उद्योगमा काम गर्ने व्यक्ति र रेडियसनमा काम गर्ने व्यक्तिमा कतिपय अवस्थामा टाउकोमा चोट लागेपछि ब्रेन ट्युमर पलाउन सक्छ । त्यसपछि अस्वस्थ खानपान, आनीबानी, धुम्रपान, मद्यपान, नशालु पदार्थ खाने व्यक्तिमा पनि ब्रेन ट्युमर हुने जोखिम भएको अध्ययनहरुले देखाएका छन् ।

ब्रेन ट्युमर भएको कुरा कसरी थाहा पाउने ? यसको लक्षण के हुन् ?

ब्रेन ट्युमर साधारण जाँच गरेर थाहा हुँदैन । यसले जब दिमागमा समस्या ल्याउँछ, तब मात्र मान्छेले जाँच गराउँछन् । ब्रेन ट्युमर भएमा मान्छेको सोच्ने क्षमता कम हुन्छ । त्यसैगरी कतिपय अवस्थामा अरुले भनेको कुरा बुझ्दैनन् । एउटा कुरा गर्दा अर्कै कुरा बुझ्छन् ।

आँखाको दृष्टिमा पनि समस्या हुन सक्छ, कान नसुन्ने समस्या हुन सक्छ । यसैगरी हातखुट्टा चलाउन कठिन हुन सक्छ । छालाले तातो चिसो थाहा नपाउने हुन सक्छ ।

असाधारण टाउको दुखाइ, बान्ता आउने जस्ता लक्षण देखिए जचाउनुपर्छ । खासगरी लामो समय लगातार टाउको दुखिरह्यो, निको नै भएन । बान्ता भइरह्यो । यस्तो अवस्थामा ब्रेन ट्युमरको शंका गर्न सकिन्छ ।

ब्रेन ट्युमर हुनु भनेको जीवनको अन्त्य होइन । किनभने धेरै किसिमको ट्युमरको शल्यक्रिया सहजै गर्न सकिन्छ र त्यसपछि बिरामी पूर्णतया निको हुन्छन् । यदि ढिलो गरियो भने चाहिं यसमा जटिलता आउन सक्छ ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

भिडियो सम्पादन : शंकर गिरी





Source link

HamroAwaj

2022-09-06 08:00:18

Leave a Comment