राजनीतिशास्त्रकी ‘गोल्डमेडलिस्ट’, नीति निर्माणमा हस्तक्षेपको लक्ष्य – HamroAwaj


२२ भदौ, काठमाडौं । मानुषी यमी भट्टराई राजनीतिमा नयाँ अनुहार होइनन् । उनको सक्रिय विद्यार्थी नेतृत्वको विगत पनि छ । तर, राष्ट्रिय चुनावी राजनीतिका लागि भने नयाँ अनुहार बन्नेवाला छिन् । उनी काठमाडौं–७ बाट प्रतिनिधिसभाका लागि भिड्ने तयारीमा छिन् ।

हुन त मानुषीको सक्षमता र योग्यतालाई बाबुराम भट्टराई र हिसिला यमीको नामले सेप नलगाइदिएको होइन । तर उनको आफ्नै संघर्ष र त्यसले आर्जेको पहिचान पनि छ । उनी हुन्, राजनीतिशास्त्रकी गोल्डमेडलिस्ट, त्रिवि केन्द्रीय क्याम्पसकी स्ववियु सचिव । अनि सडक आन्दोलनदेखि प्राज्ञिक बहसहरूमा सक्रिय अभियन्ता ।

२०४२ सालमा काठमाडौंको भुरुङखेलमा जन्मिएकी मानुषी सानैदेखि राजनीतिक वातावरणमा हुर्किइन् । २०४६ को आन्दोलन तयारीका लागि बुवा बाबुराम अर्ध–भूमिगत थिए । आमा हिसिला पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढाउँथिन् । उनी बस्दै आएको मामाघरमा पनि राजनीतिक माहोल थियो ।

‘मामाघरमा थुप्र्रै राजनीतिक व्यक्तित्व, कार्यकर्ता आउने गर्नुहुन्थ्यो’ उनी सम्झिन्छिन्, ‘अजीले टुँडिखेलमा हात समाएर लैजानुहुन्थ्यो ।’ उनी सानी छँदा आमा हिसिलालाई प्रहरीले पक्रिन आएको रिमरिम याद छ । अलिक पछि त सशस्त्र युद्ध नै सुरु भयो । त्यसबेला उनी १० वर्षकी थिइन् ।

उनका बुबा बाबुराम युद्धका एकजना देखिने अगुवा अनुहार थिए । त्यही कारण आफूले सहजतापूर्वक काठमाडौंमै पढाइ गर्न नपाएको र भूमिगत भएको अहिले पनि सम्झिन्छिन् मानुषी । ‘जनयुद्ध सुरु भएपछि एक वर्ष चाहिं म ठूलीआमा र काकाकाकीसँग यतै बसें’ उनी भन्छिन्, ‘तर, विस्तारै यहाँ बस्ने अवस्था भएन । सीआईडीले पछ्याउने गथ्र्यो । त्यो बेला आन्दोलनको अनुहार नै बाको थियो । म उहाँको एकल छोरी । अलि बढी जोखिम भएपछि म पनि भूमिगत भएँ ।’

भूमिगत भएपछि उनको हुर्काइ र बाँकी पढाइ भारतमै भयो । भारतका प्रवासी नेपाली मजदुरहरूसँग बस्दै उनले कक्षा ११, १२ र स्नातक तहको पढाइ पूरा गरिन् । प्लसटु तहमा विज्ञान विषय लिएर पढेकी मानुषीले स्नातक तहमा भने राजनीतिशास्त्र रोजिन् ।

आफ्नो सुरुवाती राजनीतिक कर्म पनि मानुषी त्यहींका प्रवासी नेपालीका बीचबाट सुरु भएको ठान्छिन् । ‘म १० कक्षादेखि नै पार्टीको काममा सक्रिय भएँ । त्यहींका प्रवासी मजदुरलाई संगठित गर्ने काममा बढी सक्रिय भएँ’, उनी भन्छिन् ।

माओवादी शान्तिपूर्ण राजनीतिमा फर्किएपछि मानुषी पनि नेपालमै फर्किइन् र उनको राजनीतिशास्त्रको पढाइले त्रिभुवन विश्वविद्यालयबाट निरन्तरता पायो ।

२०६५ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर टेकेको केही वर्षमै उनी अखिल क्रान्तिकारीको तर्फबाट त्यहाँको स्ववियू सचिव निर्वाचित भइन् । हिमाल शर्मा सभापति चुनिंदै गर्दा सचिव मानुषीले पाएको भोट सबैभन्दा बढी थियो । ‘एउटा प्रतिनिधिका रूपमा विद्यार्थीका निम्ति गर्नुपर्ने कामहरू कस्ता हुँदारहेछन् भन्ने पनि थाहा पाइयो’ मानुषी भन्छिन्, ‘त्योभन्दा अगाडिको स्ववियूलाई हेर्ने दृष्टिकोण जुन थियो, त्यसलाई चिरेर, सकारात्मक काम गरेर देखाउने केही काम हामीले गरेका थियौं ।’

आफूहरूले पहिलो पटक विश्वविद्यालयमा तालाबन्दी गर्न नदिने, ताला फोड्ने, शुल्क घटाउने लगायत काम गरेको उनी बताउँछिन् । त्यहीदेखि नै शिक्षाका मुद्दामा आफूमा जुझारुपन आउन थालेको बताउँछिन् मानुषी । ‘त्यहाँदेखि नै म शिक्षाप्रति अलि जुझारु भएर लाग्न थालें । बोल्न थालें’, उनी भन्छिन् ।

त्यही बीचमा उनका बुवा बाबुराम भट्टराई प्रधानमन्त्री बने । उनले पनि राजनीतिशास्त्रमा त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रको गोल्डमेडल पाइन् । संविधान निर्माणलगत्तै बाबुरामले माओवादी त्यागे । मानुषी भने फेरि दिल्लीतिरै लागिन् । दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा एमफिल कक्षामा भर्ना भइन् ।

‘माओवादी आन्दोलनबाट निसासिएको महसुस भएपछि म एमफिल, पीएचडी गर्न जेएनयू लागें’ उनी भन्छिन्, ‘त्यहाँ मैले राजनीतिशास्त्रमै एमफिल सिध्याएँ । र, पीएचडी गर्ने दौरानमै यहाँ चुनाव हुनेभयो । गएको चुनावमा पूर्णरूपमा लाग्नका लागि म पीएचडी छोडेर आएँ ।’

नयाँ शक्ति हुँदै, संघीय समाजवादी फोरम र जनता समाजवादी पार्टीसम्मको यात्रामा उनले पार्टीको काठमाडौंकेन्द्रित जिम्मेवारी बढी सम्हालिन् । हाल उनी नेपाल समाजवादी पार्टीकी नेता छन् । र, पीएचडीको पढाइलाई फेरि त्रिभुवन विश्वविद्यालयबाटै निरन्तरता दिएको उनी बताउँछिन् ।

कक्षाकोठाभित्र राजनीतिको पढाइ र बाहिर राजनीतिको अभ्यास गर्न पाएकी मानुषी अब संसदमा छिर्न चाहन्छिन् । त्यसका लागि उनले काठमाडौं–७ मा आफ्ना गतिविधि तीव्र पारेकी छिन् ।

एउटा जनप्रतिनिधिले जे गर्नुपर्ने हो त्यही गरेर देखाउन आफू संसद्मा जान चाहेको बताउँछिन्, मानुषी । ‘मेरो उम्मेदवारी चाहिं जनताले आफ्नो प्रतिनिधिलाई जे काम गर्नको निम्ति पठाउँछन्, त्यसलाई इमानदारीपूर्वक र पारदर्शी रूपमा संचालन गर्नको निम्ति हो’, उनको भनाइ छ ।

नेपालमा बनाइएका सार्वजनिक संस्थाहरू कामयावी बताउने उनी तिनको सबलीकरण र सुधारलाई पहिलो एजेन्डामा राखेकी छिन् । ‘हामी एकैपटक कार्यकारी निकायमा पुगिहाल्ने होइन, हामी नीति निर्माण तहमै पुग्ने भएकाले पहिलो मेरो प्राथमिकता चाहिं सार्वजनिक संस्थाको सबलीकरण गर्ने र त्यसलाई सुधार ल्याउने भन्ने हो’, उनले सुनाइन् ।

मानुषी त्यसको थप व्याख्या गर्दै भन्छिन्, ‘जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि लिएर सम्पत्ति शुद्धीकरणका जे–जति निकाय छन्, ती किन निकम्मा बनिरहेका छन्, किन डेलिभर गर्न सकेका छैनन् भन्ने कुरा नै मेरो प्रखर मुद्दा हो ।’

शिक्षा, स्वास्थ्य जस्ता जनताका आधारभूत विषय सेवामूलक हुने कि नाफामूलक भन्ने कुरा किटान नगरिएको उनको ठम्याइ छ । त्यसलाई नीतिगत रूपमै प्रष्ट पार्ने कुरा उनले आफ्नो दोस्रो एजेन्डा बनाएकी छिन् । ‘आधारभूत जनताको दैनिक चिन्ता र चासो भनेको यही हो’ उनी भन्छिन्, ‘म आफैं पनि अहिले दुई वर्षको बच्चाकी आमा हुँ । मेरो बच्चालाई म कहाँ पढाउने ? मेरो आयले पढाउन भ्याउने ठाउँ कुन हो ? धेरै सीमित विकल्प मात्रै हुन्छन् ।’

‘शिक्षा, स्वास्थ्य भनेको सेवामूलक क्षेत्र हुन् कि नाफामूलक क्षेत्र भन्ने कुरा त हामीले नीतिगत तहबाटै हल गर्नुपर्ने हुन्छ’, उनी थप्छिन् ।

उनको तेस्रो एजेन्डा समृद्धि रहेको छ । आर्थिक समृद्धिमा तीव्र वृद्धि, सम्मानजनक वितरण, वातावरणीय न्याय र आत्मिक सुख जस्ता विषय समेटिने मानुषीको भनाइ छ ।

चुनावी मैदानमा जाँदाका पनि उनले तीनवटा मुख्य चुनौती पहिचान गरेकी छिन् । उनका अनुसार अहिले मान्छेमा धेरै अपेक्षा र उत्तिकै दिक्दारी पनि छ । यस्तोमा आम साधारण मानिस चुट्कीका भरमा समाधान निकाल्न सक्ने मान्छेको खुब खोजी गर्छन् । त्यस्तो हुँदैन भनेर मतदातालाई बुझाउने कुरालाई पहिलो चुनौती ठानेकी छिन् ।

‘अहिले मान्छेमा धेरै अपेक्षा र फ्रस्टेसन छ’ मानुषी भन्छिन्, ‘कोही यस्तो महान् व्यक्ति आउँछ जसले चुट्कीभरमा सबै चिजको समाधान गर्न सक्ला भन्ने अपेक्षा छ । त्यो खालको सोचाइबाट हामीले व्यक्तिकेन्द्रित होइन, हाम्रा संस्था, निकायहरू बलियो बनाउने गरी सोच्नुपर्छ । व्यक्तिहरू आउँछन्, जान्छन् भन्नेतिर डो¥याउन अलि चुनौती छ ।’

दोस्रो चुनौती उनले लोकरिझ्याइँका पछि दगुर्ने उम्मेदवारलाई ठानेकी छिन् । ‘जेभन्दा क्षणिक फाइदा हुन्छ, भोट आइहाल्छ भन्ने आधारमा पपुलिष्ट बन्ने होडबाजीलाई पनि मैले चुनौतीका रूपमा लिएकी छु’, उनले भनिन् ।

उनले देखेको तेस्रो चुनौती ठूला नेताहरूको चुनाव क्षेत्र कब्जा गर्ने ‘सिन्डिकेट’ हो । किनभने उनले उनको पार्टी र उनको दल आवद्ध  गठबन्धनबाट किकट पाउने, नपाउने यसैमा अडेको छ । उनी भन्छिन्, ‘चुनाव क्षेत्रहरूमा सीमित नेतृत्वको सिन्डिकेट हुने, पार्टीभित्र पनि लोकतान्त्रिक अभ्यास हुन नदिने, नयाँपन, युवापन जुन जनताले खोजिरहेका छन्, त्यसको हेक्का नराख्ने अर्को चुनौती देखेकी छु ।’

चुनावी मैदानमा अन्ततः उम्मेदवारले पाउने मत अंक नै सबथोक हुन जान्छ । कति भोट पाइएला त भन्ने प्रश्नमा मानुषीको जवाफ छ, ‘(हाँस्दै) आरामदायक मत प्राप्त गर्छु भन्ने मलाई विश्वास छ ।’





Source link

HamroAwaj

2022-09-07 21:28:04

Leave a Comment