‘ठूला आयोजना सत्ता–स्वार्थको सिकार भए’ – HamroAwaj


बाँकेमा निर्माणाधीन सिक्टा सिंचाइ आयोजना मात्रै होइन नेपालमा सुरु गरिएको कुनै पनि विकास निर्माणका ठूला आयोजना निर्धारित समयमा पूरा भएको रेकर्ड छैन ।

सिंचाइ आयोजनाहरूको निर्माणमा ढिलाइ भई समय र लागत बढ्ने गरेको सत्य हो । तर, सिंचाइ बाहेक अन्य विकास निर्माणका ठूला आयोजनाहरू चाहिं समयमै पूरा भएका छन् त भनेर पनि हेर्नुपर्ने हुन्छ । त्यसरी हेर्दा म के देख्छु भने अन्य ठूला आयोजनाहरू पनि समयमा पूरा भएका छैनन् । चाहे त्यो हुलाकी वा मध्यपहाडी राजमार्ग होस्, चाहे मेलम्ची खानेपानी वा बुढीगंगा जलविद्युत् आयोजना; यी कुनै पनि समयभित्रै पूरा भएका छैनन् ।

किन त्यस्तो हुन्छ भन्दा ‘जनताको चाहना पूरा गर्ने’ नाममा पर्याप्त अध्ययन–अनुसन्धान, बजेट र जनशक्तिको सुनिश्चितता विनै सत्ता र शक्तिमा भएका नेताहरूले लोकप्रियताका लागि आयोजना सुरु गर्छन् । अनि राजनीतिक अस्थिरताका कारण आयोजना सुरु भएर काम सुरु हुने बेलासम्म सत्ता र शक्तिमा भएका ती नेताहरू परिवर्तन भइसक्छन् । शक्तिमा अरू नै कोही आइपुग्छ ।

फेरि अर्काे क्षेत्रको नेता सत्ता र शक्तिमा पुग्छ अनि त्यो नेताले पहिलेको नेताले सुरु गरेको आयोजना अलपत्र पारेर उसले आफ्नो क्षेत्रमा हतारहतारमा नयाँ योजना सुरु गर्छ । पहिलेको नेताले सुरु गरेको आयोजनाले आवश्यक पर्ने बजेट र जनशक्तिसम्म पाउँदैन । यसरी ठूला आयोजना सत्ता र शक्तिमा रहेकाहरूको प्राथमिकतामै पर्दैनन् । र काममा ढिलाइ हुने, लागत बढ्ने हुन्छ । पछिल्ला दिनहरूमा अधिकांश योजनाले यो नियति भोग्दै आएका छन् ।

त्यसबाहेक सत्ता र शक्तिका भरमा सुरु गरिएका ठूला आयोजनामा गर्नैपर्ने कामहरू पनि पहिलो गुरुयोजनामा जानाजान छुटाइएको हुन्छ । सबै कामहरू गर्दा बजेट ठूलो हुन्छ र समय धेरै लाग्छ । धेरै बजेट र समयावधि बढी लाग्ने योजना सुरु गर्दा विरोधका स्वरहरू धेरै आउन सक्छन् भनेर चलाखी गरेर योजना सुरु गरिहाल्ने र गर्नैपर्ने कामहरू पछि थप्दै जाने प्रवृत्तिका कारण पनि आयोजनाको लागत र समय बढ्छ ।

सत्ता र शक्तिमा भएका नेताहरूले काम गर्न सक्ने सक्षम कर्मचारी भन्दा पनि विधि र प्रक्रिया मिचेर आफू निकटका कर्मचारीहरूलाई त्यस्ता आयोजनामा पठाउने र उसबाट नाजायज फाइदा लिने गर्छन् ।

त्यसपछि पहुँच भएका नेता र त्यहाँ खटिने कर्मचारीको प्राथमिकता त्यो आयोजनामा कति काम भयो भन्दा पनि त्यो आयोजनाबाट आफूले कति फाइदा लिन सकिन्छ भन्नेमै केन्द्रित हुन्छ । त्यसैले आयोजना अलपत्र पर्छन् । बजेट कम भएको आयोजनामा कर्मचारीहरूको पनि आकर्षण हुँदैन । त्यस्ता आयोजनामा कर्मचारीहरू जान नमान्ने, गए पनि राम्रोसँग काम नगर्ने समस्या हुन्छ ।

सिक्टाको ‘हेडबक्स’ राम्रो र बलियो बनेको छ । पश्चिमी मूल नहरको ४५ किलोमिटर क्षेत्रमध्ये घुलनशील माटोको समस्या देखिएको ५/६ किलोमिटर क्षेत्रमा मात्रै हो । त्यो क्षेत्रमा पूर्वबाट पश्चिमतर्फ नहर बनेको छ । नहर बनाउँदा उत्तरबाट दक्षिणतर्फ बग्ने स–साना खोला खोल्सीहरूको पानी जाने निकास थुनिएको छ । वर्षात्का बेला निकास थुनिएका स–साना खोला खोल्सीमा पनि ठूलो भेल आएर क्षति गरेको देखिन्छ । त्यसको व्यवस्थापन जरूरी छ ।

अन्यत्र पनि घुलनशील माटोका कारण समस्या भएका नहरहरू छन् । ती नहरहरूमा कसरी घुलनशील माटोको समस्या प्रविधिबाट समाधान गरेर नहर निर्माण गरियो भन्ने अनुभवका आधारमा पनि हामीले काम गर्नुपर्छ । तर, त्यसका लागि राजनीतिक तहबाटै थप प्रतिबद्धतासहित निर्णय हुनुपर्छ ।

घुलनशील माटोको समस्याका कारण नहर भत्किने समस्या देखिएको ५/६ वर्ष भइसक्यो । तर, अहिलेसम्म पनि यो समस्या समाधान कसरी गर्ने भन्नेतर्फ ठोस निर्णय हुनसकेको छैन । समस्या भएको क्षेत्रमा ब्यारेल (ड्रम) मोडेलबाट नहर पुनर्निर्माण गर्ने हो भने समस्या धेरै हदसम्म समाधान हुन सक्छ । विज्ञहरूको परामर्श लिएर जुन प्रविधि अपनाउँदा समस्या समाधान हुन्छ, त्यही गरेर नहरलाई पूर्ण क्षमतामा चलाउनेतर्फ केन्द्रित हुनुपर्छ ।

सिक्टा सिंचाइ आयोजनामा पनि त्यस्तो समस्या देखियो । त्यहाँको आयोजना प्रमुखमा सहसचिव तहको प्रमुखको दरबन्दी छ । तर, त्यहाँ सिंचाइ मन्त्रीहरूले आफ्नो मान्छे रोज्ने नाममा सहसचिव तहको कर्मचारीहरूलाई अन्यत्रै थन्क्याएर उपसचिव तहको कर्मचारीलाई पटक–पटक प्रमुख बनाएर लगे । सहसचिव तहको कर्मचारी हुनुपर्ने ठाउँमा उपसचिव तहको कर्मचारी हुँदा कामले गति लिन सकेन । सिक्टामा मात्रै नभएर त्यस्तो प्रवृत्ति अन्य आयोजनाहरूमा पनि देखिन्छ ।

ठूला आयोजनाहरूका ठेकेदारहरूमा पनि ठेक्का लिएर ‘मोबिलाइजेशन’ को पैसा लिने तर काम नगर्ने प्रवृत्ति छ । त्यही काम नगर्ने ठेकेदारलाई काम नगरेको भनेर कारबाही गर्नु सट्टा सत्ता र शक्तिमा रहेको नेताले त्यस्ता ठेक्काको म्याद थप गरिदिएर त्यसबाट पनि नाजायज फाइदा लिन्छन् । अनि काम अलपत्र पर्छ ।

जबसम्म राजनीतिक नेतृत्वमा विकास निर्माणका ठूला आयोजना समयमै पूरा गर्नुपर्छ भन्ने प्रतिबद्धता हुँदैन तबसम्म यस्तो समस्या दोहोरिंदै जान्छ । पात्र फेरिए पनि प्रवृत्ति नफेरिंदासम्म यस्ता समस्या दोहोरिंदै जान्छन् ।

(पूर्व सिंचाइ सचिव शीतलबाबु रेग्मीसँग कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित ।)





Source link

HamroAwaj

2022-09-09 20:38:59

Leave a Comment