अचम्मको बाँसघारी – HamroAwaj


पीडितपुरमा एउटा बाँसघारी थियो। त्यहाँका बाँस जत्रोसुकै हावाहुरी आए पनि हल्लिंदैनथे। मच्चिंदैनथे। सबै बाँस ठिङ्गको ठिङ्ग नै रहन्थे। हावाहुरीमा त नहल्लिने बाँस अरू बेला झन् हल्लिने वा मच्चिने कुरै थिएन। बडो विचित्रको बाँसघारी थियो त्यो। किन त यस्तो भनेर बुझ्दा त्यो बाँसघारीमा कुनै समयमा एउटा घटना भएको थियो रे! त्यही घटनाको प्रभावको कारणले त्यसो भएको हो रे! पीडितपुरवासीका अनुसार त्यो रोचक घटना यस्तो थियो रे-

त्यो बाँसघारीमा अन्य बाँसका अलावा अग्ला अग्ला दुइटा बाँस थिए। एउटा चाहिं अलिक अग्लो थियो भने अर्को त्योभन्दा थोरै होचो थियो। अग्लो बाँस चाहिं आफू अग्लो भएकोमा अचाक्ली अहङ्कार देखाइरहन्थ्यो-

`म जति अग्लो यो दुनियाँमा कोही छैन´, `म जति ठूलो कोही छैन´, `मलाई उछिन्ने केही छैन´

भन्दै फुइँ लगाएको लगायै गर्थ्यो।

कसैले- `इ नापिस्! काठमाडौंको धरहरा, पेरिसको आइफेल टावर तँभन्दा कति हो कति अग्ला छन्´ भन्दियो भने उसले तुरून्तै मुख फर्काउँथ्यो— `त्यो धरहरा र आइफेल टावर त मान्छेले उचाल्दिएको हो। म त आफैं यति अग्लो भएको हुँ। त्यसैले तिनको उचाइको तुलना मेरो उचाइसँग हुनै सक्दैन बुझ्यौ।´

यस्तै यस्तै तर्क–वितर्क गरिरहन्थ्यो। बाटो हिंड्ने जसले जे भने पनि त्यसको तत्काल जवाफ फर्काइहाल्थ्यो। उसलाई मन नपर्ने कुरा गरे बत्तिएर हुँइकिंदै स्वाँट्ठ हिर्काउन पनि पछि पर्दैनथ्यो।

उसको डरले साँझपख त्यो बाँसझ्याङ्गमा रुप्पी कराएको आवाज पनि सुनिन्नथ्यो। सुनिन्थ्यो त केवल बेला न कुबेला त्यही बाँस हुँइकिएको, कराएको आवाज र उसको हुँकार मात्र।

`अहा म त कत्ति सुरिलो! कत्ति गज्जबको´, `मेरो उचाइ देखेर म आफैं चकित छु दुनियाँ त झन् कति चकित होला!´ भन्दै कराउँथ्यो।

कराए मात्रै त हुन्थ्यो नि! अण्ट न सण्टसँग हुँइयँ हुँइयँ मच्चिन्थ्यो र सामुन्नेका बाँसहरूलाई आफ्ना हाँगाका सिर्कनाले सुम्लै उठ्ने गरी स्वाँट्ठ स्वाँट्ठ हिर्काउँदै वारपार हुन्थ्यो। बेलाबखत टुप्पोले भुइँ नै छोउँला झैं गर्थ्यो। `फलेको वृक्षको हाँगो निहुरिन्छ निरन्तर´ भन्ने चर्चित कवितांशलाई ठाडै चुनौती दिन्थ्यो। आफ्नो महिमा आफैंले गाएर मात्रै पनि अघाउँदैनथ्यो ऊ। आफूभन्दा हल्का होचो अर्को बाँसलाई खिसी गर्नमा बेपत्तै मज्जा मान्थ्यो।

`खै कहाँ छस् हौ तँ ? देखिंदैनस् त! तँलाई त अब दिउँसै बत्ती बालेर खोज्नुपर्ने भो त हँ! हेर हरिबिजोक!´ भन्दै खिसिटिउरी गरेको गर्यै गर्थ्यो।

आफू अग्लो भएकोमा घमण्डले चूर भएर अझ भन्थ्यो— `दुनियाँ नै मेरो स्वरूप देखेर मन्त्रमुग्ध हुन्छ´, `बाँस विशेषज्ञहरू पनि मेरै मात्र अध्ययन अनुसन्धानमा लिप्त हुन्छन्´, `गिनिज बुक पनि मेरै मात्र उचाइ नाप्छ´, `तँलाई त कसैले नपुछ्ने भए त मिस्टर लिलीपुट!´ `यही ताल रहे पाँच सात वर्षमा तँ त सीधै जमिनमुनि भासिन बेर लाग्दैनस्।´

ऊ जतिपटक लगभग आफू समान अर्को बाँसलाई ह्युमिलिएट गर्थ्यो, खुइल्याउँथ्यो उति बेतोडले मच्चिन्थ्यो। उसको यो मच्चाई देखेर हावा पनि चित खान्थ्यो। चराचुरुङ्गी पनि डराउँथे। हावामा उड्ने पुतलीलगायतका कीराफट्याङ्ग्राको पनि सातो जान्थ्यो।

एकदिन हावाले भन्यो- `हैन के सारो मच्चिएको हो बाँस भाइ। यो भाँडिम मच्चिनु राम्रो होइन।´

सुन्दर पुतलीले उडान रोकेरै भन्यो- `अति गरे खती हुन्छ है दाजै। धेरै नमच्चिनु।´

उसलाई सुझाव, सल्लाह, अर्ति, उपदेश, ज्ञान विज्ञानका कुरा आफू बाहेक कसैको पनि मन पर्दैनथ्यो। मन पर्थ्यो त केवल आफ्नो तारिफ, तारिफ र तारिफ!

त्यसैले उसले हावालाई नै चुनौती दियो- `हे पवन! तिमी आफ्नो थान्कोमा बस! बोल्ने सोमत सिक। आइन्दा मलाई बाँस भाइ होइन बाँसराज भन्नू। यति अग्लो देख्दादेख्दै कसरी भाइ भन्न सकेको होला!´

पवनजी सुनिरहेका छन्। बाँसको फुइँ जारी छ— `मलाई मच्चिन अब तिम्रो सहयोग चाहिन्न बुझ्यौ। म एक्लै काफी छु। तिम्रो सहयोग विना मच्चियो भनेर ईर्ष्या लाग्यो?´

उसले पुतलीलाई पनि मुख फर्कायो— `पहिला आफूभन्दा ठूलाको इज्जत गर्न सिक्नू। दाजै भन्ने होइन तिमीले मलाई। बाँसराज भन्ने गर्नू।´

सुन निम्छरो पुतली— `मेरो उचाइमा त तिमी पनि पुग्न सक्छौ तर तिम्रो त्यो उचाइलाई कसैले देख्न सक्दैन। नाप्न सक्दैन। गिनिजबुकमा नि लेखिन्न तिम्रो उचाइ, बुझ्यौ?´

यसरी ओठे जवाफ फर्काएपछि सायद उसलाई लौकिक शक्ति प्राप्त हुन्थ्यो होला। वा भित्रभित्रै भिन्दै आत्मसन्तुष्टि मिल्थ्यो होला। अनि अरूबेलाको भन्दा अझ बेतोडले मच्चिन्थ्यो।

पवन र पुतलीलाई यति मुख फर्काइसकेर ऊ यति मच्चियो कि, त्योभन्दा बढी मच्चिनलाई अब ठाउँ नै थिएन। त्यो उत्तेजनात्मक मच्चाइले ऊ ठूलो आवाजका साथ प्याट्टै भाँच्चियो। बाँसझ्याङ्ग नै थर्किने गरी बन्दुकै पड्किए झैं ठूलो आवाज आयो। चराचुरुङ्गी भुरूरू उडेर गए। हेर्दाहेर्दै अग्लो, सग्लो सोलोडोलो एउटा लरक्क परेको बाँस भुइँमा लमतन्न सुत्यो। अब उसको उचाइ चाहिं फेदबाट त्यै पाँचसात फिट मात्रै बाँकी हुँदो हो।

यो देखेर मरी–मरी हाँस्यो अर्को बाँस। न हाँसोस् पनि किन! गिज्याउनु गिज्याएको थियो उसलाई। सीमा नाघेर खिसी गरेको थियो। अचाक्ली हेपेको थियो। कुनै कसर बाँकी राखेको थिएन हुर्मत लिनलाई। ऊभन्दा होचो हुनु अपराधै हो कि भनेझैं गरेर तल खसालेर बोलेको थियो।

भाँचिए पनि उसको अहंकारमा भने रत्तिभर कमी आएको थिएन। सेखी भाँचिएकै थिएन। भन्थ्यो—`फेददेखि टुप्पोसम्म नापौं न, अझै पनि म जति लामो कुनै बाँस छ त यो दुनियाँमा! भाँचिएर के भो त! बाँसको उपयोग भाँचेरै गर्ने हो क्यारे!´ भन्दै दुनियाँलाई उल्लु बनाउन खोज्दै सकी–नसकी अझै पो बुरुक् बुरुक् गरिरहेको थियो।

आफू भुइँमा लमतन्न सुते पनि उसले आफ्नो दम्भ र घमण्डलाई पटक्कै सुत्न दिएको थिएन।

यसपछि, `अहा अब म पो अग्लो भएँ। त्योभन्दा धेरै अग्लो भएँ´ भन्दै हल्का होचो अर्को बाँस फुर्किन थालेछ। ऊ पनि यति बुल्किएछ कि अर्को बाँस भाँचिएर आफू अग्लो भएको भन्ने कुरा चटक्कै बिर्सेर फुर्केछ। यो बिर्साइको उन्मादमा अझ धेरै मच्चिन थालेछ ऊ पनि।

अनि त्यो पनि त्यसैगरी भाँचिएछ।

यो सब घटना बाँकी बाँसहरूले देखिरहेका थिए। ती सबले यो घटनाबाट पाठ सिक्ने निधो गरे र एकै स्वरमा बाचा गरे-`आइन्दा यो बाँसघारीका कुनै पनि बाँस र त्यसका सन्तान दरसन्तानले आफू जति अग्लो भए पनि घमण्ड नगर्ने। नमच्चिने र नहुँइकिने।´

त्यस उपरान्त त्यहाँका बाँसहरू पटक्कै हल्लिंदैनन्, मच्चिंदैनन्, चटपटाउँदैनन्— चाहे जस्तोसुकै आँधेबेरी किन नआओस्!





Source link

HamroAwaj

2022-09-10 13:07:12

Leave a Comment