विद्यार्थीले गुरु पर्खिन्छन्, ताजपुरियाले नाउ – HamroAwaj


२८ भदौ, गौरीगञ्ज (झापा) । पुरानै भनाइ हो, शिक्षक माझीले झैं डुंगा खियाइरहन्छ, विद्यार्थीहरु नदी पार गरिरहन्छन् । यदि स्कुललाई एउटा डुंगा र विद्यार्थीलाई यात्री मान्ने हो भने यो ३३ वर्षमा गोमाप्रसाद ताजपुरियाले हजारौं विद्यार्थीलाई स्कुलको भंगालोबाट पार गराए । तर त्यही स्कुल पुग्न उनले रतुवाको वारपार गर्दा ब्यहोरेको सकसको हिसाबकिताब उनको जिन्दगीको गणितले गरेकै छैन ।

५७ वर्षका ताजपुरिया मोरङको रतुवामाई नगरपालिकामा रहेको मावि महादेवा विद्यालयमा ८ कक्षासम्म विज्ञान र गणित विषय पढाउँछन् । २०४५ सालमा शिक्षा सेवा आयोगको परीक्षा उतीर्ण गरेपछि ०४६ सालदेखि उनले यही विद्यालयमा पढाउन थालेका हुन् ।

०४८ सालमा स्थायी शिक्षक भए, तर उनले कहिल्यै पनि सरुवा मागेनन् । बरु गाउँमा भोट माग्न आउने नेताहरुसँग रतुवामा एउटा पुल मागे । प्रत्येक निर्वाचन हुने वर्षमा आश्वासन पाए, तर पाएनन् । नदीबाहेक अरु चिजको अप्ठ्यारो छैन, त्यसैले उनलाई स्कुल छोड्न मन लाग्दैन । र त, ताजपुरिया पेन्सन भइसकेपछि पनि स्कुल पढाइरहेका छन् ।

‘म अहिले ५७ वर्षको भएँ । पेन्सन पनि भइसक्यो, तर स्थानीयले नछोड्नुस् भन्छन्,गरिबका छोराछोरी पढ्ने स्कुल प्लस टुसम्म बनाउन पाए हुन्थ्यो भनेर लागेका छौं’, ताजपुरिया भन्छन्, ‘पहिले स्कुलको घर पनि थिएन, प्रावि थियो अहिले मावि बनायौँ अब प्लस टु बनाउछौं, अनि मैले छोड्छु ।’

०४८ सालमा उनी स्थायी शिक्षक हुँदा उनको घर रहेको गौरादह क्षेत्रबाट केपी शर्मा ओली र स्कुल रहेको रतुवामाई क्षेत्रबाट गिरिजाप्रसाद कोइरालाले चुनाव जिते । त्यसपछि नेपालको राजनीतिमा एकछत्र राज गरेका गिरिजाप्रसाद कोइराला र कोइरालाको अवशान पछि राजनीतिको केन्द्रमा रहेका केपी ओलीले रतुवामा पुल बनाउन ध्यानै दिएनन् । त्यसैको परिणामस्वरुप पारी पुग्न नाउ पर्खिने र कक्षा कोठामा शिक्षक पर्खिने उपक्रम चलिरहेको छ ।

‘हिउँदमा त खोला तरेर पनि गइन्छ, तर जहिले पनि खोला तरेर जाँदा गाह्रो हुन्छ,’ ताजपुरियाले भने, ‘पौडेर जान सकिदैन । कहिलेकाहीँ नाउ हुँदैन, यहाँसम्म आएर घरै फर्किनुपर्छ । यहीँबाट फोन गरेर नाउ चलेन है साथीहरु भन्छु ।’ त्यसरी अरु शिक्षकलाई फोन गर्दा साना नानीबाबुहरु पर्खिएर बसिरहेका होलान् भन्ने पिरले उनको मन कुँडिन्छ । ‘साह्रै अप्ठ्यारो हुन्छ । पुल नै बनाउँदैन’, पुरानो साइकलको अडेस लागेर नाउ पर्खिरहेका ताजपुरिया गुनासो गर्छन् ।


पहिले पहिले उनलाई सबै नेपाली उस्तै हुन् भन्ने लाग्थ्यो । अहिले देहातलाई नेताहरुले जानाजान हेप्छन् भन्ने लाग्छ । स्वभाविक हो उनको दुखेसो पनि, नत्र समृद्ध नेपाल र सुखी नेपालीको खाकाभित्र उनको गाउँ पनि पर्दो हो, दिनदिनै भोग्नुपर्ने दुखको समाधान पनि खोजिन्थ्यो होला ।

‘केपी ओलीले ०४८ सालदेखि हाम्रै एरियाबाट चुनाव उठेर जित्नुभएको छ, दमकतिर त ठूलो ठूलो भ्यूटावर पनि बनाउनुभयो’, ताजपुरियाले भने, ‘देहात एरियामा गर्नुभएन । हामी अब देहातमा बसेपछि दुख भोग्नैपर्‍यो के गर्ने बाटोघाटो छैन ।’

हुन त पेन्सननै भइसकेपछि ताजपुरियालाई यो दुख गरेर स्कुल गइरहन आवश्यक थिएन । गौरीगञ्जमै खेतीपाती गरेर पनि उनको दिन कट्न कठिन छैन । तर उनी नेताहरुझैं गैरजिम्मेवार छैनन् । स्थानीय गरिब नागरिकका छोराछोरीलाई देखाएको सपना अधुरै छोड्न मन लागेर दुख गरेका हुन् ताजपुरियाले ।

‘हुने खानेका छोराछोरी त बोर्डिङमै जान्छन् नि, स्कुलमा गाउँघरका गरिबका छोराछोरी मात्रै छन्, हामीले पनि जिम्मेवारी छोडे कसले गर्छ र ?’ ताजपुरियाले भने, ‘स्कुलको पुरानो भवन भत्किनै लागेको छ, नयाँ भवन बनाउँछौं, विद्यार्थीहरुले अलि आरामसँग पढ्न पाए भने, मैले पनि घरमै आराम गर्नुपर्ला ।’

मावि महादेवा स्कुलमा पुरानो शिक्षक उनीमात्रै हुन् । बस्नु भनेर अभिभावक र अरु शिक्षकहरुले अचाक्ली कर गरेपछि नाउ पर्खीपर्खी रतुवा तर्नुपर्ने दुख बिर्सिएर स्कुलमा बसेका हुन् । पुराना शिक्षक भएका हिसाबले उनलाई गाउँलेले एकपटक प्रधानाध्यापक पनि बनाए । तर सकेनन् । नाउको कुनै ठेगान हुँदैन, पारी स्कुलमा के के काम छुटिसकेको हुन्छ ।

‘म हेडसर पनि थिए, मलाई यहाँ अप्ठ्यारो भएर अर्काे साथीलाई दिएँ । मिटिङ छ किन आएन भन्ने हुन्छ । बरु अरु साथीलाई दियो आनन्दै हुन्छ’, उनले भने, ‘त्यहीँ नजिकैको अर्को स्कुलबाट एकजना शिक्षकलाई काजमा बोलाएर हेडसर बनाएका छौँ ।’

स्कुलको कुरा गर्दागर्दै ताजपुरियाले घडी हेरे साढे ११ बजिसकेको थियो । हुनत विहानै भात खाएर साइकलमा हान्निएका हुन् । नदी किनारमा पुग्दा ९ बजेको थियो, तर नाउ आइपुगेको थिएन । अधुरो पुलतिर फर्किएका ताजपुरियाले भने, ‘पुल अधकल्चो छ, पारी विद्यार्थीले पर्खिरहेका छन्, यहाँ मैले नाउँ कुरिरहेको छु ।’

पुलमात्रै होइन, धेरै चिज अधकल्चो छ, जस्तो कि उनी समयमै नपुगेका कारण विद्यार्थीको पढाइ अधकल्चो छ, रतुवामा पुल बनाउँछौं भनेर ०४८ सालदेखि नेताहरुले गरेको वाचा अधकल्चो छ ।





Source link

HamroAwaj

2022-09-13 20:50:23

Leave a Comment