डेंगुले अस्तव्यस्त टेकु अस्पताल, बिरामी लाइनमै बेहोस – HamroAwaj


३० भदौ, काठमाडौं । आँगनभरि डेंगुले आक्रान्त बिरामीहरु थिए । बिहीबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा पुग्दा ज्वरोले निस्लोट बिरामीको लाइन परसम्म पुगिसकेको थियो । उभिने कसैको तागत थिएन । उनीहरु चिसो भुइँमा थचक्क बसेका थिए ।

आकस्मिक कक्षको बाहिरपट्टि एउटा टेबुल राखिएको थियो । अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन (एक्लै) एकपछि अर्को बिरामी हेर्दै थिए । डा. पुनले बिरामीको जाँच मात्रै नगरी हौसला पनि बढाइरहेका थिए । उनी बिरामीका आफन्तलाई पनि सम्झाइ बुझाइ गरिरहेका थिए । ‘कुन ठाउँ बस्नुहुन्छ ? समस्या भएको कति दिन भयो ? घरमा अन्य व्यक्तिमा पनि समस्या छ कि छैन ? यस्ता–यस्ता प्रश्न गर्थे ।

‘सबै लक्षण हेर्दा डेंगु भएको आशंका गर्न सकिन्छ । घरमै आराम गर्नुहोस्, झोलिलो खानेकुरा खानुहोस्,’ डा. पुन सुझाव दिन्थे, ‘ज्वरो बढी भए पारासिटामोल खानुहोला । अरू आत्तिनुपर्ने केही छैन ।’ डाक्टरले नआत्तिनु भने पनि स्थितिले अत्याइरहेको छ त्यहाँ ।

बिहान ९ः३० मा आकस्मिक कक्ष बाहिर एक ट्याक्सी रोकियो । आफन्तले बिरामीलाई कुर्सीमा राख्दै टिकट लिन दौडिए । तर टिकट काउन्टरमा पुग्दा नपुग्दै डेंगु संक्रमणले गम्भीर बिरामी परेकी ६० बर्षीया महिला एक्कासी भुइँमा ढल्न पुगिन् । आफन्तले हत्तपत्त उठाए । स्वास्थ्यकर्मीले आकस्मिक कक्षमा पुर्‍याए ।

तर त्यहाँ राख्ने ठाउँ थिएन । आकस्मिक कक्षका बेडमा दुई जना बिरामी राखेर उपचार गरिराख्नुपरेको थियो । जनरल वार्ड मात्र होइन, आकस्मिक कक्ष पनि डेंगुका बिरामीले भरिएपछि अहिले अस्पताल प्रशासनले प्यासेजमा समेत बेड थपेर उपचार गरिरहेको छ । बेड खाली हुन उपचाररत बिरामी डिस्चार्ज हुनुपर्छ ।

आकस्मिक कक्ष प्रमुख लीलानाथ भण्डारी भन्छन्, ‘जति बेड राखे पनि पुग्दैन । ज्वरोले गलेर उभिन नसक्ने बिरामीलाई कुर्सीमा राख्न समेत सकेका छैनौं ।’

भण्डारीका अनुसार आकस्मिक कक्षमा मात्रै दैनिक ३०० भन्दा बढी बिरामी उपचारका लागि आइपुग्छन् । ‘अधिकांश बिरामीलाई आकस्मिक कक्षमा उपचार गरेर घर पठाउने गरेका छौं । पटक–पटक बिरामी बेहोस भएपछि घर जान मान्दैनन्’, भण्डारीले अनलाइनखबरसँग भने, ‘आकस्मिक कक्षमा बिरामी राख्ने ठाउँ नभएकाले भित्र प्यासेजमा राखेर उपचार गरिरहेका छौं ।’

भण्डारीसँग कुरा गर्दैगर्दा बाहिर अर्को बिरामी बेहोस भए । कहाँ राख्ने ? आकस्मिक कक्षमा बेड खाली छैन । स्वास्थ्यकर्मीहरुले प्यासेजमा रहेको एउटा बेडमा बिरामीको व्यवस्थापन गरे । ‘अस्पताल आएका सबैलाई राखेर उपचार गर्न सम्भव छैन । गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गरेका छौं’, भण्डारी भन्छन्, ‘अन्य बिरामीलाई लक्षण अनुसार थप उपचार गरेर घर पठाउछौं ।’

‘आँगनमा बेड पाउने आशमा बिरामी कुरेर बस्छन् । बिरामी र स्वास्थ्यकर्मी दुवैलाई सास्ती छ,’ भण्डारी भन्छन्, ‘अब पहिलाको पुरानो बेडमा राखेर विरामीको उपचार सुरू गछौं ।’

‘यस्तै रहे थेग्न सकिँदैन’

अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे अहिलेको अवस्था निकै गाह्रो र जटिल बनिसकेको बताउँछन् । आकस्मिक कक्षमा आएका अधिकांश मानिसहरू जटिल अवस्थामा मात्रै आइपुग्छन् र, बिरामीलाई बचाउन पनि कठिन हुन्छ ।

अस्पताल प्रशासनका अनुसार पछिल्लो हप्ता डेंगुबाट ३६ बर्षीय पुरूष र २७ बर्षीया महिलाको मृत्यु भएको छ । २७ बर्षीया महिला अवस्था जटिल भइसकेपछि अस्पताल आइपुगेका कारण  बचाउन नसकेको चिकित्सकहरु बताउँछन् । ‘अत्याधिक रक्तस्राव भएर आउनुभएको थियो । केही दिन अगाडि मात्रै अस्पताल आएको भए बचाउन सकिन्थ्यो कि ?’ डा. चालिसे भन्छन् ।

डेंगु भएका थोरै मानिसलाई मात्र हेमोजेरिक हुने गर्छ । अर्थात उनीहरुको धेरै रक्तस्राव हुने, गिजाबाट रगत बग्ने हुन्छ । साथै, अन्तरिक रक्तस्राव पनि हुन्छ ।

डा. चालिसेका अनुसार सन् २०१९ को तुलनामा यस पटक डेंगु संक्रमण बढी जोखिमपूर्ण देखिएको छ । ‘२०१९ भन्दा यसपटक डेंगुका किरामी बढी गम्भीर देखिएका छन्,’ डा. चालिसेले अनलाइनखबरसँग भने, ‘अस्पतालका आएका कतिपय बिरामीलाई रक्तश्राव सँगै बेहोस हुने समस्या बढ्दो छ ।’

चिकित्सकका अनुसार डेंगुका बिरामी अधिकांशलाई घरमै बसेर आराम गरेमा सञ्चो हुन्छ । तर, जटिल लक्षण देखिएको अवस्थामा तुरून्तै अस्पताल जानुपर्छ र संक्रमितलाई भर्ना गरेर उपचार गर्न जरूरी हुन्छ ।

डेंगु संक्रमित बिरामीलाई २ देखि ७ दिनसम्म ज्वरो आउने गर्छ । ज्वरो घटेर गएका बेला २४ देखि ४८ घण्टासम्मको समयमा क्रिटिकल फेजमा रहने डा. चालिसे बताउँछन् । डा. चालिसे भन्छन्, ‘यस्तो बेलामा कतिपय व्यक्तिको शरीरबाट रक्तस्राव हुने र केहीमा रक्तचाप घटेर सकमा जान सक्ने सम्भावना हुन्छ ।’

संक्रमित व्यक्तिलाई श्वासप्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगेजस्तो हुने, कालो दिसा आउने, थकान महसुस हुने, उल्टी हुँदा रगत देखिने, बिरामी बेहोस हुने, नाकबाट रगत आउने लगायत लक्षण देखिएमा डेंगु संक्रमण जटिल भयो भनेर बुझुपर्ने चिफ कन्सल्टेन्ट फिजिसियन डा. चालिसे बताउँछन् ।

तर यो अवस्थाका बिरामीका लागिसमेत बेड व्यवस्थापन गर्न सक्ने अवस्थामा टेकु अस्पताल छैन । ‘दिनहुँ बिरामी आउने संख्या बढ्दो छ’, डा. चालिसे भन्छन्, ‘सबै बेड भरिएका छन् । उपचार व्यवस्थापनमा गाह्रो हुँदै गएको छ ।’

टेकुमा हाल २४ बेडको आईसीयूमध्ये १६ बेड भरिएका छन् । अस्पताल प्रशासनका अनुसार १० जना डेंगु र अरु कोरोना लगायतका रोगका बिरामी उपचारत छन् । उपत्यकामा डेंगुका गम्भीर बिरामी बढेकाले अहिले अस्पतालहरूमा आईसीयू बेडहरू भरिँदै गएका छन् ।

‘केही समय अगाडि बेडहरु खाली थिए । अबको केही दिनभित्रमा आईसीयू बेडको समेत अभाव रहन्छ’, डा. चालिसे भन्छन्, ‘धेरै बिरामीले अस्पताल भरिइसकेका छन् । हामी अहिले निकै गाह्रो अवस्थामा पुगिसक्यौं । अवस्था अझै यस्तै रहे थेग्न सकिँदैन ।’

डेंगुका बिरामीलाई १०–१२ दिन उपचार गर्नुपरेको छ । तर जाडो सुरु भएसंगै डेंगु फैलाउने लामखुट्टे हराउने भएकाले अझै एक महिना प्रकोप रहने चिकित्सकहरु बताउँछन् ।

निरीह सरकारी संयन्त्र, डेंगुको डरलाग्दो अवस्था

डेंगुको संक्रमण देशभर फैलिएको छ । सरकारी अस्पताल पुगेका बिरामीको संख्या मात्र हेर्दा पनि साउनयता १२ हजारलाई डेंगु भएको छ भने ११ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी‌) का अनुसार उच्च जोखिममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रूपन्देही, दाङ, धादिङ, तेह्रथुम, काभ्रेपलाञ्चोक र चितवन जिल्ला छन् । डेंगुले महामारीको रूप लिँदा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ईडीसीडीले रोकथाम र नियन्त्रणका कुनै प्रभावकारी कदम चालेका छैनन् ।

करिब तीन महिनादेखि फैलिएको डेंगुको संक्रमण सरकारको काबुबाहिर गएको घोषणा गर्न समेत सरकारलाई गाह्रो छ । ईडीसीडीका प्रमुख डा. चुम्मन लाल दास भन्छन्, ‘डेंगु संक्रमितको संख्या त बढिरहेको छ । तर अहिले नै नियन्त्रण बाहिर गएको भन्न सकिँदैन ।’

‘लार्भा खोज तथा नष्ट’ अभियानमार्फत डेंगु नियन्त्रणका लागि काम भइरहेको उनको दाबी छ । यो अभियान डेंगु नियन्त्रणका लागि प्रभावकारी अस्त्र हो, तर तीन तहको सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको अधिकारीहरु बताउँछन् ।

‘हामी स्वास्थकर्मी तथा अन्य जिम्मेवार व्यक्तित्वहरू डेंगु संक्रमितको संख्या गनेर बस्यौं,’ सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला भन्छन्, ‘डेंगु नियन्त्रणका लागि व्यवहार परिवर्तन गर्नुको विकल्प छैन ।’

२०१९ मा पनि डेंगुले प्रकोपको रूप लिएको थियो । त्यो समयमा सरकारी तथ्यांक अनुसार १८ हजार संक्रमित भएका थिए । ६ जनाको मृत्यु भएको थियो । ‘अहिले अवस्थालाई हेर्दा डेंगुले प्रकोपको रुप लिइसकेको छ,’ डा. बाँस्तोलाले अनलाइनखबरसँग भने, ‘अझै तीन हप्ता डेंगुको जोखिम छ । अघिल्ला वर्षमा संक्रमित भएका भन्दा बढी संक्रमित हुने निश्चित छ ।’

नेपालमा प्रभावकारी प्रविधि नभित्रिएका कारण पनि डेंगु नियन्त्रणमा समस्या आएको उनको तर्क छ । ‘जबसम्म लामखुट्टे नियन्त्रण गर्न सक्दैनौं, तबसम्म उपचारमा जोड दिँदैमा डेंगु नियन्त्रणमा आउँदैन’, सरुवा रोग विशेषज्ञ डा. बाँस्तोला भन्छन्, ‘डेंगु नियन्त्रणमा मानिसको व्यवहार परिवर्तन हुन आवश्यक छ ।’

अहिले मनसुन सँगसँगै डेंगु तीव्र गतिमा फैलिरहेको छ । बढी पानी संकलन भएका ठाउँमा लामखुट्टेको लागि उपयुक्त वातावरण भएकाले पनि डेंगु बढी, छिटो र तीव्र गतिमा फैलिने विज्ञहरु बताउँछन् ।

डा. बाँस्तोलाका अनुसार लामखुट्टेले फुल पार्न सक्ने घरभित्रका सम्भावित ठाउँ, वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाँडाहरू खोजी–खोजी सफा गर्नुपर्छ । त्यस्तै लामखुट्टेको फुल पनि नष्ट गर्नुपर्दछ ।

‘पानी राख्ने भाँडाहरु जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्नेगरी राम्ररी छोपेर राख्ने साथै पानी जम्नसक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरियो भने डेंगुको प्रकोपलाई रोक्न सकिन्छ,’ डा. बाँस्कोटा भन्छन्, ‘अहिले एडिस लामखुट्टे घर–घरमा छिरेको छ । त्यसकारण लामखुट्टेले फुल पार्नसक्ने सम्भावित घर, विद्यालय र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाँडाहरु खोजी–खोजी सफा गर्नुपर्छ ।’

ईडीसीडीका अधिकारीहरु भने ६० जिल्लाका १३९ स्थानीय तहमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न बजेट विनियोजन गरेको हिसाब सुनाएर बसेका छन् ।

तस्वीर र भिडियो : आर्यन धिमाल/अनलाइनखबर 





Source link

HamroAwaj

2022-09-15 21:14:18

Leave a Comment