डा. बस्ताकोटीको ‘विसंगत बस्ती’ डुल्दा – HamroAwaj


तिमीलाई देख्दा पनि छटपटी हुन्छ, नदेख्दा झन् छटपटी हुन्छ,
तिमीलाई लेख्दा पनि छटपटी हुन्छ, नलेख्दा झन् छटपटी हुन्छ ।
औषधिविहीन मनरोग नै रहेछ, अनामिका यो याद भन्ने कुरो,
लाग्छ तिम्रो बाटो छेक्दा पनि छटपटी हुन्छ, नछेक्दा झन् छटपटी हुन्छ ।।

एउटाको प्रेममा डुबेको प्रेमीलाई साँच्चै मायाको गाँजा लागेको हुन्छ होला, जो खाएपछि त लाग्छ नै तर नखाए पनि लाग्छ । कुनैबेला आफैं प्रेममा डुबेको बेला लेखेको हो वा अरूको डुबान क्षेत्रको भित्री गहिराइसम्म पुगेर एउटाले गरेको माया अर्काले नबुझेको दिक्दारीलाई लेखेको हो थाहा भएन । तर, गफिंदै गरेको शैलीमा लेखेको यो मुक्तकले कुनै पनि पे्रमी प्रेमिकाको मनको भित्रैसम्म पुगेर हल्लाउँछ । साँच्चै मेरै मनको कुरा लेखिदिएको हो झैं लाग्छ ।

मैले ऋषिजीलाई पचासको दशकमै चिनेकी हुँ । मैले चिन्दा उहाँ गजलमा पोख्त हुनुहुन्थ्यो । उहाँले आरबी फ्लेमको साहित्यिक नामबाट ‘ज्वालाको रापहरू’ भन्ने गजल संग्रह पहिला नै निकालिसक्नुभएको छ । काठमाडौंमा भएका एकाध कवि गोष्ठीमा बाहेक धेरै भेटेको पनि होइन । उहाँको शैक्षिक क्षेत्र पोखरा, मेरो काठमाडौं । तर, त्यही पातलो भेटाइमा सुनेका उहाँका बाक्ला गजलहरूले मलाई पछिसम्म सम्झिरहने बनाएको हुनुपर्छ ।

घर छोडेर पर आएपछि धेरै वर्षको अन्तरालले होला चिनेका धेरैलाई बिर्सिएकी थिएँ तर उहाँलाई बिर्सिनँ । अमेरिका आएको धेरैपछि नेपालीपोष्टमा एउटा मुक्तक पढें । ‘माथि पुगेपछि एकदिन तल र्झनुपर्छ’ सबै सम्झिरहन सकिनँ तर मुक्तक यस्तै यस्तै भावको थियो । तल क्यानाडा लेखेको रहेछ ।

आफ्नै देशको राजनीतिमा जनतालाई चुनावी भर्‍याङ बनाएर सिंहदरबार छिरेका नेताहरूले फेरि चुनाव नआउन्जेलसम्म जनतालाई नसम्झेको कुरा समाचारमा पढिराखेको र सुनिराखेको बेला त्यो मुक्तकले मेरो मन असाध्यै छोयो । साथीसँग फेरि भेट हुन्छ कि क्या हो भन्ने नलागेको त होइन तर यसरी नजिकै बसिएला, साहित्यिक कुरामा एकअर्कालाई सहयोग गरिएला भन्ने लागेको चाहिं थिएन ।

समयले जुराएको हुनुपर्छ, आज एकैठाउँमा बसेर उहाँका मुक्तकको बारेमा आफ्नो विचार बाँड्न पाएँ, मलाई असाध्यै खुसी लागेको छ ।

म मुक्तकको इतिहास खोतल्नतिर गइनँ । मुक्तकमणि तीर्थ अधिकारीले भन्नुभए अनुसार यो मुक्तक संग्रह रुवाइ छन्दमा लेखिएको हो अरे ! शब्द र भावको संयोजन राम्रो भएकोले सबै मुक्तकहरू सललल बगेका छन् । संग्रहित मुक्तक पढ्दा कतै ढुंगा लाग्दैन । वर्तमानमा मान्छेले बनाउन सक्ने कुरामा पनि ध्यान नदिएको देखेर व्यंग्य गरिएका मुक्तक पढ्दा साह्रै चित्त बुझ्छ । कुनै कुनै पढेर त ठिक्क पर्‍यो, बल्ल तेरो घैंटामा घाम लाग्यो भनूँ जस्तो लाग्छ ।

यी मुक्तकले समस्या मात्र तेस्र्याएका छैनन्, समाधान पनि देखाएका छन् । धेरैजसो मुक्तक आफ्नै देशको बिगि्रएको परिवेशसँग मिल्छन् । देशबाहिर हुँदा पनि देशसँगै एकाकार भएका मुक्तकहरू पढ्दा उहीं बसेर दिनका दिन सामना गरेका असंगत र विसंगतबाट निस्किएका जस्तै लाग्छन् । देश र माटो छोडिंदैमा कहाँ मन छोडिंदो रहेछ र ? नमिलेका कुरा मिलाउन पाए जनताले अलिकति राहत पाउँथे कि भनेर मन उतै अड्केर बसेको छ । पढेका मध्येबाट केही मुक्तकलाई साभार गर्न खोजेकी मात्र छु मैले आज ।

हेर्दाहेर्दैको सेतो हिमाल कालो भयो भने,
च्यातिएको ओजोनको जालो भयो भने ।
सम्झनु कि संकटले घेर्न थाल्यो अब,
उल्टो पाल्टो मौसमको पालो भयो भने ।।

– ‘धर्तीको गीत-३’

पहाडमा पहिरो र्झनुमा पनि,
अतिवृष्टि, अनावृष्टि पर्नुमा पनि ।
मान्छेकै गल्ती छ कि झैं लाग्छ अचेल,
प्रकृतिले यो तमासा गर्नुमा पनि ।।

– ‘धर्तीको गीत’

एउटा कवि त्यसमाथि पढाइको विषयमा रूखबिरुवा र वातावरण । विषयको पल्लै छेउमा पुगेपछि वातावरण जोगाउन झन् धेरै लागेको कुरा यी मुक्तक पढेपछि थाहा पाइन्छ । प्रकृतिमाथि मान्छेको आक्रमण जति धेरै हुन्छ, त्यसको परिणाम कुबेलाको मौसम परिवर्तनबाट हामीले थाहा पाइरहेकै छौं तर प्रकृतिलाई यस्तो हुनबाट जोगाउन सकेका छैनौं । बिग्रिएको आजको समयलाई बिगार्ने हात हामी मान्छेकै हुन् र जुन कुरा बेमौसममा भएको अनावृष्टि, अतिवृष्टिले देखाइरहेकै छ ।

साधारण कुराबाट सुरु गरेर पाठकलाई भित्रैसम्म पुर्‍याएर हल्लाउने क्षमता साहित्यकार डा.बस्ताकोटीमा छ । यी माथिका लाइनले प्रकृतिलाई यस्तो बनाउन हामी मान्छे चाहिं कति दोषी छौं भन्ने कुरा गम्भीर भएर सोच्न बाध्य बनाइएको छ ।

धेरै त पर्दैन अलिकति मात्र फेरौं अब,
पात्रो फेरिएसँगै अलिकति हिजोका पात्र फेरौं अब ।
चित्र फेर्दैमा भित्र त फेरिने रहेनछ देखियो,
सकिन्छ भने अलिकति चरित्र फेरौं अब ।।

– ‘नयाँ वर्ष’

नयाँ वर्ष शीर्षकको यो मुक्तकले हरेक वर्ष ठूला-ठूला भाषण गर्ने तर विकासको नाममा विनाश मात्र गर्ने उही बानी र उही व्यवहार बोकेका मान्छेहरू ओहोदामा पुगेर उस्तै बासी र रोगी विचारमा नयाँ खोल हालेर जनतालाई झुक्याइरहेको देख्दादेख्दा आजित मनहरूमा अलिकति आशा र भरोसाका पुल निर्माण गर्न खोजेको छ ।

यस्ता विचार सुन्ने र बुझ्ने ओहोदामा पुगेका मान्छे साँच्चै भइदिएको भए यसरी लेखिरहनुपर्ने थिएन होला । तर नभएपछि सबैकुरा रित्तिए पनि आशा रित्याउन हुँदैन भनेर लेख्नेहरूले लेखिरहनुपर्छ जस्तो लाग्छ ।

कहिले यसका लागि भयौं, कहिले उसका लागि भयौं,
कोही पहाडका लागि भयौं, कोही मधेशका लागि भयौं ।
आफ्ना माग राखिरहृयौं घरीघरी, बुढीगाईको बाच्छाले झैं गरी,
उदेक लाग्छ सम्झँदा पनि, खै को कतिबेला देशका लागि भयौं ?

– ‘हामी’

आफ्नै स्वार्थका लागि आज एउटा पार्टीमा कुद्ने, त्यसबाट माखो नमर्ने देखेपछि भोलि अर्को पार्टीमा कुद्ने मान्छेहरूको चरित्रलाई यो मुक्तकले विस्तारै तर मर्मसम्मै पुर्‍याएर भनेको छ । अझ जनताको ध्यान केन्द्रित गर्न कहिले पहाडलाई त कहिले मधेशलाई उचालेर आफ्नै माग तेस्याइरहने तर देश उचाल्न कसैले सिन्को नभाँच्ने तैपनि मैले नै पिठ्यूँमा देश बोकेर हिंडेको छु भन्न पछि नपर्ने मान्छेहरूको प्रवृत्तिलाई यो मुक्तकले देखाएको छ । यस्ता प्रवृत्तिका मान्छेलाई कुनबेला निस्वार्थ रूपले तिमीहरूले देशका लागि सोचेका छौ, एकपल्ट आफैंले आफैंलाई छामेर हेर त ! भन्ने सन्देश दिएको छ ।

कहिले गाउँ दुख्छ, कहिले शहर दुख्छ,
कुर्दाकुर्दै देउरालीमा सान्नानीको रहर दुख्छ ।
जब जहाज चढेका सपना बन्द बाकसमा र्फकन्छ,
तब के दुख्दैन यहाँ, सबको घरघर दुख्छ ।।

-‘घरघर दुख्छ’

दिनदिनै रोजगारीका लागि विदेशको दैलोमा खुट्टा राख्न आतुर युवा जमातलाई भविष्यको आश देखाउने भरपर्दो जनतामुखी सरकारको अभाव सबैलाई खट्किएकै छ । सबै मिठैमिठोको मात्र सपना देखाउनेले कहिलेकाहीं तितो, टर्रो र हृयदविदारक पनि हुनसक्छ भनेर कहिल्यै भन्दैनन् । डाँडामुनि के छ के छ नपुगी देखिंदैन तर सरकारी ओहोदामा रहेकालाई त्यही डाँडामुनि पुर्‍याउन सधैं हतार भएको आज देशको अवस्था छ । जानेहरू सबैलाई विदेशी रोजगारीले खुशी दिंदैन ।

भएको जेथो बेचबिखन गरी हजार सपना बोकेर हिंडेका कसैका छोराछोरी त कसैका जीवनसाथी बाकसमा बन्द भएर फर्केको दर्दनाक अवस्था देख्दा कुन आमाबाबुको मनमा पहिरो जाँदैन होला ? कुन महिलाको हृदय दुख्दैन होला र ? तिनै अभागी मनहरू जसको विपनाकै आकाश खसेर घर पुरिएको बेलाको चित्रण गरेको यो मुक्तक पढ्दा जो कोहीलाई पनि भावुक बनाउँछ ।

एकाबिहानै उसले पुरस्कार किन्नुस् भन्यो,
खल्ती छामेर मात्रै आफ्नो प्रतिभा चिन्नुस् भन्यो ।
कला संस्कृतिको मठाधीश मै हुँ झैं गरी,
सम्मानित हुनुछ भने दस्तुर पो दिनुस् भन्यो ।।

-‘पुरस्कार’

आज लेखेर भोलि छाप्ने र पर्सि पुरस्कारका लागि साम र दाम नै दिन खोज्नेहरूको प्रवृत्तिलाई मीठो झापड हानेको छ यो मुक्तकले । दुःखको कुरा आजकल पुरस्कार किनबेच भएको सुनिन्छ । बजारमा राखिएका यस्ता नक्कली पुरस्कारको व्यापार देख्दा कतै सक्कली पुरस्कारहरू पनि यो भेलबाट बच्न सफल छन् त ? प्रश्नचिहृन खडा गरेका छन् ।

नबोली पछि लागें, ती सबै हजुरकै लागि भए,
चित्त बुझेन बोेलें, ती वर्षौंका लागि बागी भए ।
लोकतन्त्रमा लोकले नचाहे पनि हुने हो र हजुर,
जो जो भए ती धेरै त आखिर सीमा नाघी नै भए ।।

-हजुरकै लागि

तपाईं को हो र महाशय, तपाईंलाई कतै छुनै नहुने,
जे गर्नुस् आफूखुशी शंका भने गर्नै नहुने ।
नबिराउनु नडराउनु किन कुर्लनुहुन्छ आफैं नांगिएर,
कस्तो लोकतन्त्र हो महाशय प्रशंसा बाहेक सुन्नै नहुने ।।

-विसंगति-४

यी दुई मुक्तकमा एउटाले विस्तारो झटारो हानेको छ, देश बनाउँछु भनेर गएका अगुवा भन्नेहरूलाई । जो उसका कार्यकर्ताबाट प्रशंसाबाहेक सुन्नै सक्दैन । अर्कोले अति भएपछि चार हुन्छ भनेजस्तो सहँदा-सहँदा अचाक्ली भएपछि ठाडै गाली नै गरेको छ ।

साहित्यकार बस्ताकोटीका १२५ मुक्तक सबैको आ-आफ्नै विशेषता छन् । धर्तीको गीतबाट सुरु भएका उहाँका मुक्तकहरू बा-आमामा समर्पित भएर टुंगिन्छन् । बा-आमामा समर्पित मुक्तकहरूले घर छोडेर टाढा गएका सन्तानहरू दिनदिनै जाँगर हराउँदै गएका आफ्ना बा-आमाको नजिक हुन नसकेर सामाजिक सञ्जालमा टाँसेका तस्बिरहरूमा सीमित हुनुपरेको अहिलेको तितो सत्यलाई नढाँटी बोलेका छन् । जुन मुक्तकहरूले बाहिर हुने सबै छोराछोरीलाई छुन्छन् नै ।

परिस्थितिसँग सम्झौता गर्नको विकल्प नरहेको अवस्था गुँड छोडेर गएकाहरू सबैजसोको यथार्थ हो । यहाँ भएका धेरैजसो मुक्तकहरू बिग्रिएको मति सपार्न र उल्टो भएको विकासको गतिलाई सुल्टो बनाउन बोलेका छन् । भन्छन्, सबै कुरा सकिए पनि आशा कहिल्यै सकिंदैन र सकिनु पनि हुन्न । यसले मान्छेलाई अगाडि बढ्न हौसला दिइरहन्छ ।

एउटा सच्चा कवि वर्तमानबाट भाग्न सक्दैन । वर्तमान सबै नराम्रा कुराले मात्र भरिएको हुँदैन त्यहाँभित्र माया-प्रेम, सुख-दुःख सबै समेटिएका हुन्छन् । यो मुक्तक संग्रह पनि वर्तमानको दस्तावेज हो । यसमा समाजमा भएका माया, प्रेम, संगति, असंगति र विसंगतिका थुप्रै पाटा देख्न सकिन्छ ।

लेखकले त बिगि्रएका कुरा बनून्, राम्रा कुरा जोगिउन् भनेर लेख्नुपर्छ कसैको लागि पाच्य होस् या अपाच्य । यी कुराहरू नै साहित्यकार बस्ताकोटीको मुक्तक संग्रहमा पढ्न पाइन्छन् । सूक्ष्मतामा संसार अटाउन सक्ने क्षमता बोकेका उहाँका कुनै पनि शीर्षकका मुक्तकमा त्यसको चित्रलाई जरैसम्म गएर हेर्न सकिन्छ । साहित्यकार विवश बस्तीले भनेझैं माया, प्रेम, निराशा, आशा, दुःख, सुख सबै अटाएका छन् यो संग्रहभित्र ।

उहाँ आफैंले भने जस्तै ‘लेख्छु भनेर लेखिएका मुक्तक यी होइनन् । देश, काल र परिवेश अनुसार जिउने क्रममा अनुभूतिका अक्षरहरू आफैंआफैं कुँदिए आफैंआफैं लेखिए ।’ त्यही भएर त होला यी मुक्तक पढिरहन मन लाग्छ । यिनीहरूका बारेमा बोलिरहन र लेखिरहन मन लाग्छ तर सबै सम्भव हुँदैन ।

(हालः अमेरिका)





Source link

HamroAwaj

2022-09-17 12:46:19

Leave a Comment