सलाम ‘सफी’ ! तिम्रो समर्पणलाई – HamroAwaj


यो वर्ष वैशाखदेखि नै पानी पर्न सुरु गरेको हो । भदौको अन्तिम सातासम्म पनि पानीको रफ्तार उस्तै लाग्छ । छिनमै चरिकोटलाई बादलुले छपक्कै छोपेर पानी दर्कन थाल्छ, छिनमै खुला आकाशले गौरीशंकरको हिउँलाई गिज्याइरहेझैं लाग्छ ।

मेरो दैनिकी कहाँ फेरिएको छ र ! दिउँसो तीन बजेपछि पछाडि झोला भिरेर रेडियोमा अक्षरको खेती गर्ने कामलाई भ्याएसम्म निरन्तरता दिइरहेको छु । कतिले आलोचना गर्छन्, यो उमेरमा पनि के को दौडधुप ! म जवाफ फर्काउदिनँ । मनमनै भन्छु- अक्षर खेती त यमराजलाई ढोकाको सँघारमा भेट्दासम्म पनि रोक्दिनँ ।

छाताले पनि छेक्दैन पानीको वेगलाई । आधा शरीर निथ्रुक्कै बनाउँछ । चरिकोटको सातदोबाटोबाट रेडियो स्टेशन भएको चरिघ्याङतिर उकालो लाग्दा हिजोआज तीन वटा कुकुरले पछ्याउँछन् । आज भने पानीलाई छेलिएर कुकुरहरू सडकका दायाँ-बायाँ सुतिरहेका छन् । रेडियोबाट र्फकंदा यिनीहरूलाई मैले सधैं बिस्कुट दिने गरेको छु ।

कति बुझकी क्या ! म रेडियोतिर जाँदै गर्दा यिनीहरू देखेनदेख्या गर्छन् । किनभने म रेडियो जानेबेला यिनीहरूलाई बिस्कुट दिन्न । रेडियोबाट र्फकंदा भने मेरो शरीरमा झुण्डिनै आइपुग्छन् तीनवटै कुकुर ।

कुकुर त मेरो घरमा पनि छ । पहिले टाइगर थियो सौराहबाट ल्याएको । उमेरको एउटा विन्दुमा पुग्दै गरेको मेरो टाइगरलाई बोलेरोले किचेर मारिदियो । सम्झँदा अहिले पनि मुटु चसक्क हुन्छ । अहिले यूजी छ, काठमाडौंबाट ल्याएको । म कतै बाहिर जाँदा गेटसम्मै पुर्‍याउन आउँछ । अनि घर र्फकंदा गेटमै लिन आउँछ । घर आउँदा उसको हातमा माया गर्नुपर्छ अनि मात्र खुशी हुन्छ ।

रेडियोमा अक्षर खेतीको लागि गोडमेल, कुटो-कोदालो गर्दा धेरै समाचार, लेख र टिपोटहरूतिर आँखा दौडाउनुपर्छ । प्रकाशित, संकलित र सम्पादित समाचारको विश्लेषण पछि संप्रेषण र प्रसारण जिम्मेवारीभित्रको काम हो । यही मेसोमा भदौको अन्तिम साता अनलाइन मिडियाका दुई वटा विषयले मलाई अत्यन्तै मर्माहत बनाएको छ ।

अनलाइनखबरमा प्रकाशित ‘जब आफ्नो मालिकलाई पछ्याउँदै चितामा चढ्यो कुकुर’ शीर्षकको समाचार र कान्तिपुर अनलाइनमा उषा थपलियाले लेखेको ‘सन्तान विदेशमा, आमाबाबु बिचल्लीमा’ शीर्षकको लेखले मुटुको धड्कन मात्र बढाएन हातखुट्टा गलेजस्तो भयो । श्वास प्रश्वास अस्वाभाविक र अनियन्त्रित बन्यो । मानव र पशु बीचको भेद छुट्याउनै कठिन भयो मलाई ।

बुबा-आमालाई नेपालमा चटक्कै छोडेर विदेशमा पैसा र परिवार (श्रीमती, छोराछोरी) सँग रमाउने मानव (छोरा) असल कि आफूलाई सडकबाट बेवारिसे अवस्थामा उठाएर घरमा पालनपोषण र माया दिने स्वामी (मालिक) को मृत्युमा चितासम्मै साथ नछोड्ने पशु (‘सफी’ नामको कुकुर) असल ? यो प्रश्न मानवीयतालाई चट्टानी चुनौती दिने अत्यन्त संवेदनशील लाग्दछ ।

‘सफी’सँग आत्मीय हृदय छ । भावना छ । स्वामी भक्तिको बेपर्वाह लगाव छ । निस्वार्थ भक्तिभाव छ । र, चितासम्मै उसले आफ्नो स्वामीलाई पछ्याएर सती जाने साहस गर्न सक्यो । भक्तिभावको हद पार गर्न सक्ने ‘सफी’ ! सलाम छ तिमीलाई । तिम्रो समर्पणलाई

छोराहरूले चटक्कै छोडेर विदेशिएपछि बुढा-बुढी एकअर्काको सहारामा बाँचिरहेकै अवस्थामा श्रीमतीलाई पक्षघात भएपछि श्रीमान्ले कसरी रेखदेख गरेका थिए होलान् । यसको कल्पना मात्रै गर्दा पनि आङ सिरिङ्ग हुन्छ । झन् श्रीमान्लाई हृदयघात भएर छट्पटिरहेको अवस्था पक्षघातले थलिएको श्रीमतीले टुलुटुलु हेर्नुपरेको क्षण कस्तो हृदयविदारक थियो होला ? हृदयघातको चोटले छटपटिरहँदा एउटा वृद्ध बुबाले विदेशिएका छोराहरूलाई कसरी सम्झिए होलान् ? अनि श्रीमान्को छटपटीमा पक्षघातको कारण सहयोग गर्न नसक्दा आँशु पिएर सुकसुकाएकी बुढीआमाले विदेशिएका ती छोराहरूलाई के भनेर आशीर्वाद दिइन् होला ?

त्यतिबेला दुवै वृद्ध बुबा-आमाले छोराहरूलाई पालनपोषण गर्दा बेहोरेको दुःख, कष्ट र झमेला पक्कै सम्झे होलान् । बुढा-बुढी एक अर्कोलाई हेरेर कति धेरै रोए होलान् । हृदयविदारक त्यो परिवेश काल्पनिक कथा मात्र हुन्थ्यो भने पनि मुटु कति धेरै चिमोटिन्थ्यो होला । सत्य त्यो परिवेशले साँच्चै मानवीयताको शक्तिलाई चुनौती दिएको छ । समय पुस्तान्तरण हुँदै जाँदा मानवीयता पनि पुस्तान्तरण हुँदैछ, कठोर बन्दै बन्दै … !

धेरै मानिसले कुकुरलाई अपहेलना गर्छन् । हामी मानव जाति कुकुर शब्द अपहेलित ठान्दछांै र मानिसलाई तल्लो दर्जामा गाली गर्दा कुकुर भन्छौं । तर के मानिस कुकुर जतिको संवेदनशील, इमानदार र जिम्मेवार छन् त ? बरु मानिस, मानिससँग मिलेर बस्न सक्दैनन् तर कुकुर मानिससँग सधैं मित्रवत् रहन्छ । स्वामी भक्त छ कुकुर ।

‘सफी’ले देखाएको स्वामी भक्ति कति आत्मीय छ । प्रसव पीडामा छटपटिएका वृद्ध श्रीमान्-श्रीमतीको अचेत आर्तनाद छोराहरूसम्म पुग्न सकेन । आपसमा हेराहेर मात्र गरेरै देहत्याग गरे वृद्ध-वृद्धाले । उमेर पुगेपछि विदेशिएका ती छोराहरूलाई वृद्ध बुबा-आमाको बाल स्नेह कहिल्यै याद आएन । तर ‘सफी’ले सडकबाट बेवारिसे अवस्थामा घर ल्याएर माया र आश्रय दिने स्वामीलाई आफू जलेर भए पनि साथ दिने अठोट लियो र चितासम्मै पुग्यो । ‘सफी’ आफ्नो स्वामीसँगै सती जान चाहन्थ्यो सायद । यति धेरै आत्मीयता र स्नेह बोक्न सक्ने कुकुर किन अपहेलित हुने ? कुकुर शब्दलाई अपहेलित र घृणित अर्थमा प्रयोग गर्ने हाम्रो कुसंस्कार बन्देज हुनुपर्दैन ?

३० हजार वर्ष अघिदेखि कुकुरले मानवसँग मित्रवत् सम्बन्ध राखेको ऐतिहासिक तथ्य छ । अनि नेपालीको महान् पर्व तिहारमा कुकुरको पूजा गर्ने प्रचलन यद्यापि कायमै छ । फेरि किन कुकुर शब्दलाई अपहेलित रूपमा प्रयोग गरिरहेका छौं ? के यो सांस्कृतिक अपभ्रम अन्त्य हुनुपर्दैन ?
धार्मिक ग्रन्थहरूमा पनि कुकुरको सकारात्मक महिमा उल्लेख भएको पाइन्छ । धार्मिक ग्रन्थ ऋग्वेदमा समराको बारेमा उल्लेख गरिएको छ । ‘समरा’ अर्थात् कुकुरहरूकी आमा जसले स्वर्गको राजा इन्द्रलाई उनको हराएको वस्तु भेट्टाउन सहयोग गरेको कुरा ऋग्वेदमा उल्लेख छ । महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । वैदिक सनातन हिन्दु परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी, यमराजको दूतको रूपमा मानिन्छ । मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहेको पाइन्छ । कुकुरलाई भैरवको वाहन समेत भनिन्छ ।

वैज्ञानिक तथ्यलाई हेर्दा पनि अन्तरिक्षमा जाने पहिलो जनावर कुकुर नै हैन र ! १९५७ को नोभेम्बर ३ मा सोभियत संघले ‘लाइका’ नामको कुकुरलाई पहिलो प्राणीको रूपमा अन्तरिक्षयानमा राखेर अन्तरिक्षमा पठाएको र अन्तरिक्षयानमा अत्यधिक गर्मी भएकै कारण ‘लाइका’ले ज्यान गुमाउनु परेको तथ्यलाई हामीले भुल्न मिल्छ ? कुकुरको त्यो महानतालाई सम्मान गर्ने कि कसैलाई गाली गर्दा या अपहेलित गर्दा कुकुर भनेर त्यो आत्मीय जनावरको अपमान गर्ने ? यो विषयमा पशु अधिकारकर्मीहरूको ध्यान जानुपर्दैन ? कसैलाई अपमानित या अपहेलित गर्दा कुकुर भन्ने हैन कसैको महानतालाई सम्मान गर्दा कुकुर शब्द प्रयोग हुनुपर्छ ।

कसैको बहादुरीलाई कदर गर्दा बाघ जस्तो, सिंह जस्तो भन्न सक्ने हामीले सहृदयी र सहयोगी भाव भएकालाई कुकुर भन्ने शब्दावली प्रयोग गर्ने परम्पराको लागि सांस्कृतिक अभियान चलाउनु जरूरी छ ।

म फेरि एकपटक ‘सफी’ले देखाएको स्वामी भक्ति र आत्मीयताको स्मरण गरिरहेको छु । कैलाली लम्कीचुहा-५ कि हैरानी चौधरीको मृत्युमा ‘सफी’ले देखाएको त्यो आत्मीयता मानव समाजको लागि ठूलै चुनौती ठान्दछु म । संस्कार, सभ्यता, मित्रता, आत्मीयता, आफन्त सबै गुमाउँदै गएको हाम्रो समाजमा ‘सफी’को समर्पण वास्तवमै हृदयविदारक लाग्दछ ।

‘सफी’ मानव हैन तर जीवित प्राणी हो । ज्यानको माया उसलाई पनि छ । भोक, प्यास, पीडा उसँग पनि छ । तर त्योभन्दा महानतम कुरा ‘सफी’सँग आत्मीयता, सहृदयता र समर्पणभाव छ । स्वामीप्रतिको आत्मीयता कति धेरै ‘सफी’को, साङ्लो चुँडालेर पाँच किलोमिटर दौड्दै घाटमा पुगेर हैरानी चौधरीलाई राख्नुअघि आफू चितामा चढ्यो ।

नौ महिना कोखमा राखेर ताथै-ताथै सिकाउँदै औंला समाएर संसार चिनाउने बाबु-आमालाई बुढ्यौली उमेरमा एक्लै छोड्ने छोराहरूको जस्तै कठोर हृदय किन हुन सकेन होला ‘सफी’को । त्यस्तै हृदय ‘सफी’सँग हुन्थ्यो भने ऊ पनि त कसैको मृत्युमा बेपर्वाह रहन्थ्यो होला । पाँच किलोमिटर दौडिएर स्वामीलाई पछ्याउने ‘सफी’ घरतिरै कतै गुटमुटिएर बसेकै भए पनि उसलाई बास र गाँसको समस्या हुँदैनथ्यो होला ।

तर ‘सफी’सँग आत्मीय हृदय छ । भावना छ । स्वामी भक्तिको बेपर्वाह लगाव छ । निस्वार्थ भक्तिभाव छ । र, चितासम्मै उसले आफ्नो स्वामीलाई पछ्याएर सती जाने साहस गर्न सक्यो । भक्तिभावको हद पार गर्न सक्ने ‘सफी’ ! सलाम छ तिमीलाई । तिम्रो समर्पणलाई ।

यो पनि पढ्नुहोस

सौखको संसार : लाखौंको कुकुर पाल्छन् नेपाली पनि

यो पनि पढ्नुहोस

कुकुर मारेको घटनालाई किन गम्भीरतापूर्वक लिंदैन प्रहरी ?

यो पनि पढ्नुहोस

हँसियाले हानेर कुकुर मारेको आरोपमा महिला पक्राउ

यो पनि पढ्नुहोस

सामुदायिक कुकुर व्यवस्थापनमा एक्लाएक्लै प्रयास, परिणाम शून्य

यो पनि पढ्नुहोस

तीन महिनादेखि थुनामा रहेको कुकुरले भेट्टायो मालिक

यो पनि पढ्नुहोस

निर्दोष कुकुरलाई काराबास, चोरी सिकारीको आरोप

यो पनि पढ्नुहोस

जब एकलकाँटे युवाको घरमा कुकुर पाहुना लाग्छ…





Source link

HamroAwaj

2022-09-17 07:16:26

Leave a Comment