डेंगुले हरेक वर्ष सताउँछ, कीट रोग विशेषज्ञ शून्य – HamroAwaj


२ असोज, काठमाडौं । प्रि–मनसुनमा नै प्रकोपको रूप लिएको डेंगु अहिले देशभर प्रमुख स्वास्थ्य समस्याका रूपमा देखा परेको छ । काठमाडौं उपत्यकालगायत केही जिल्लामा घर–घरमा डेंगु पुगेको छ, अस्पतालमा बेड भरिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार दुई महिना नपुग्दै डेंगुबाट १५ हजार संक्रमित भएका छन् भने डेंगुका कारण १६ जनाको मृत्यु भएको छ । पछिल्लो एक दशकको तथ्यांक हेर्दा डेंगुको जोखिम प्रत्येक वर्ष भए तापनि तीन वर्षको अन्तरमा डेंगुको प्रकोप देखिंदै आएको छ ।

सरकारले भने त्यस अनुसारको पूर्वतयारी गरेको देखिंदैन । कतिसम्म भने हरेक वर्ष डेंगुको समस्या बढ्नुको कारणबारे समेत सरकारले अनुसन्धान गर्न सकेको छैन ।

सरकारी बेवास्ताकै कारण डेंगु भयावह बनिरहेको ईडीसीडीकै अधिकारी स्वीकार गर्छन् । ‘सरकारले डेंगु नियन्त्रणका लागि रणनीति र योजना बनाउन नसक्नुले यस्तो अवस्था आएको हो’ ती अधिकारी भन्छन्, ‘दीर्घकालीन रूपमा योजना बनाउन सकेन । न त डेंगु कसरी फैलिरहेको छ भन्ने अध्ययन नै भयो !’ सन् २०१९ मा डेंगुबाट १८ हजारभन्दा बढी संक्रमित भएका थिए ।

ईडीसीडीका अर्का अधिकारी पनि योजना राम्रो गरेको वर्षमा प्रकोप नदेखिने र तथ्यांकमा आधारित भएर काम गर्दा प्रकोपको रूप लिने गरेको बताउँछन् । कतिसम्म भने लामखुट्टे लगायतबाट सर्ने रोगको अनुसन्धान तथा नियन्त्रणका लागि काम गर्ने इन्टोमोलोजिस्ट (कीट विज्ञान विशेषज्ञ) को दरबन्दी नै छैन ।

एक जना सहायक इन्टोमोलोजिस्ट कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडामा कार्यरत छन् । जनस्वास्थ्यको विषयमा अध्ययन, अनुसन्धान, त्यसका लागि नीति बनाउन इपिडिमियोलोजिस्ट आवश्यक पर्छ । तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा इपिडिमियोलोजिस्टको दरबन्दी नै सिर्जना गरिएको छैन । महाशाखाको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्य विशेषज्ञले नै चलाएर बसेका छन् ।

नेपालमा संघीयता लागू हुनुभन्दा अगाडि स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न निकायमा भेक्टर कन्ट्रोल सुपरभाइजर र इन्टोमोलोजिस्टको दरबन्दी थियो । उक्त विज्ञले कीटजन्य रोगको नियन्त्रणका लागि काम गर्दै आएका थिए ।

ईडीसीडीका पूर्व महानिर्देशक डा. बाबुराम मरासिनी सरकारले भेक्टर कन्ट्रोल सुपरभाइजर र इन्टोमोलोजिस्ट दरबन्दी हटाएर ठूलो गल्ती गरेको बताउँछन् । ‘सरकारले संघीयतापछि भएका सबै इन्टोमोलोजिस्टलाई पालिकास्तरमा जनस्वास्थ्य कार्यकर्ता भनेर पठायो’ डा. मरासिनी भन्छन्, ‘इन्टोमोलोजिस्टलाई जिम्मेवारीविहीन पारेर ठूलो गल्ती गर्‍यो । अन्य जनशक्तिले कीट रोग सम्बन्धी काम गर्न सक्दैनन् ।’

बाबुराम मरासिनी

विज्ञका अनुसार इन्टोमोलोजिस्टले डेंगु जस्ता कीटजन्य रोग नियन्त्रण प्रकोप फैलिएको ठाउँमा औषधि छर्ने, संक्रमितको तथ्यांक संकलन गर्ने तथा अध्ययन, अनुसन्धान र बहुक्षेत्रीय सहकार्यमा नियन्त्रणका कार्यक्रम सञ्चालन गर्छन् । सरकारी तथ्यांक अनुसार संघीयता अगाडि विभाग, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयमा ३७ जना इन्टोमोलोजिस्ट कार्यरत थिए ।

‘भएको दक्ष जनशक्तिलाई जिम्मेवारीविहीन बनायो । प्रकोपको अवस्थामा मन्त्रालयले विभिन्न ठाउँमा विज्ञलाई डेंगु नियन्त्रणको कार्यक्रममा समेटेर खटाउन सक्थ्यो । तर त्यो पनि गर्न नसक्दा डेंगु भयावह बन्दै गएको छ’, डा. मरासिनी थप्छन् ।

डेंगु लामखुट्टेबाट सर्ने रोग हो । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ ।

विज्ञहरू अहिले वर्षा भइरहेको र लामखुट्टेको वृद्धि–विकासका लागि उपयुक्त तापक्रम भएकाले डेंगु प्रकोप बढेको बताउँछन् । कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्मको हुने भए पनि लामखुट्टेले पारेका फुलहरू उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । उक्त संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।

‘डेंगु बढ्दो संक्रमण र मृत्युले जोखिम बढ्ने संकेत छ । आगामी दिन झन् चुनौतीपूर्ण बन्दै जानेछ । पछिल्ला मृत्युले अवस्था खराब रहेको चिन्ता थपिएको छ’, डा. शेरबहादुर पुन भन्छन् ।

ईडीसीडीले चालु आर्थिक वर्षमा डेंगु नियन्त्रणका लागि स्थानीय तहलाई करोडौं बजेट विनियोजन गरेको छ । तर स्थानीय सरकारहरूसँग डेंगु नियन्त्रणका लागि अनुभवी कर्मचारी नहुँदा नियन्त्रण अभियान प्रभावकारी हुनसकेको छैन । संक्रमण फैलाउने लामखुट्टे कस्तो हावापानी र अवस्थामा विकसित हुन्छ भन्ने बुझेर त्यसै अनुसार नियन्त्रणका लागि कदम चाल्नुपर्नेमा यसबारे सरकारले लापरबाही गर्दै आएको सुुदूरपश्चिम स्वास्थ्य निर्देशनालयमा कार्यरत भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशी बताउँछन् ।

‘इन्टोमोलोजिस्ट र भेक्टर कन्ट्रोल सुपरभाइजरले रोग सार्ने लामखुट्टे लगायत विभिन्न कीटहरूको अध्ययन गर्ने, उनीहरूको आनीबानी पत्ता लगाउने काम गर्थे’ जोशीले अनलाइनखबरसँग भनेका छन्, ‘यस विषयमा अनुभवी दक्ष जनशक्ति अहिले पालिकास्तरमा खुम्चिएर बस्नुपर्दा यस्तो अवस्था आएको हो ।’ उनले अगाडि भने, ‘पहिला भएको अध्ययनको आधारमा काम गरेका छौं । तर, एजिड बाहेक अन्य लामखुट्टेले पनि सारेको कि नयाँ प्रजाति आएको छ कि भन्ने कुरा थाहा छैन । खोई नयाँ अध्ययन, अनुसन्धान हुन सकेको ?’

विज्ञ भन्छन् : राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरौं

डेंगुको प्रकोप नियन्त्रण बाहिर गएकाले ‘राष्ट्रिय स्वास्थ्य आपत्काल’ नै घोषणा गर्नुपर्ने ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी बताउँछन् । ‘डेंगुको प्रकोप नियन्त्रण बाहिर गइसकेको छ । सरकारले अब राष्ट्रिय स्वास्थ्य आपत्काल घोषणा गनुपर्छ’, डा. मरासिनी भन्छन् ।

सरकारले सार्वजनिक गरेको संक्रमितको संख्या भन्दा १० गुणा बढी मानिसमा डेंगु देखिइसकेकाले स्वास्थ्य आपत्काल घोषणा गर्नुपर्नेमा उनको जोड छ । ‘घर–घरमा डेंगु पुगिसकेको छ । अझै एक महिना यसले ठूलो प्रकोपकै रूप लिन्छ’ डा. मरासिनीले भने, ‘अस्पतालमा बेड अभाव भइरहेको छ । मृत्युदर बढिरहेको छ । डेंगुले प्रकोपको रूप लिइसकेकाले अब सरकारले उपचारको जिम्मेवारी लिनुपर्छ ।’

स्वास्थ्य मन्त्रालयले आफूले मात्रै नियन्त्रण गर्न सक्छु भनेर बसेका कारण प्रकोपको अवस्था आइपरेको डा. मरासिनीको भनाइ छ । ‘डेंगु मौसमी समस्या हो । जाडो महिना लागेपछि आफैं हराएर जान्छ भनेर प्रधानमन्त्री, स्वास्थ्यमन्त्री तथा उच्च तहमा रहेका कर्मचारी कानमा तेल हालेर बसेका छन्’ डा. मरासिनी थप्छन्, ‘डेंगुले ठूलो प्रकोप ल्याइसकेको छ । सयौं संख्यामा मानिसको मृत्यु हुनसक्छ ।’

स्वास्थ्य आपत्काल घोषणा गरेर डेंगु नियन्त्रण तथा संक्रमितको उपचारलगायत व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘अस्पतालमा बेड खाली छैनन् ।

स्वास्थ्यकर्मीमा समेत डेंगु संक्रमण भएको छ । स्वास्थ्य प्रणाली तहसनहस बन्दै गएको छ । यस्तो बेलामा पनि नलगाइएको स्वास्थ्य आपत्काल घोषणा कहिले हुन्छ होला ? योभन्दा खराब अवस्था के हुन्छ ?’, डा. मरासिनी प्रश्न गर्छन् ।

सरकारी संयन्त्रले मात्र नपुग्ने भएकाले देशमा भएका अन्य संयन्त्रको उपयोग गर्नको लागि स्वास्थ्य आपत्काल घोषणा गर्नुपर्ने विज्ञहरूको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि अहिले फैलिरहेको डेंगुले कोरोनाको दोस्रो लहर (डेल्टा) जस्तो संकेत गरेको बताउँछन् । ‘डेंगु बढ्दो संक्रमण र मृत्युले जोखिम बढ्ने संकेत छ । आगामी दिन झन् चुनौतीपूर्ण बन्दै जानेछ । पछिल्ला मृत्युले अवस्था खराब रहेको चिन्ता थपिएको छ’, डा. पुन भन्छन् ।

‘अस्पतालमा बेड नपाउने समस्या सुरु भइसकेको छ । राज्यको सम्पूर्ण ध्यान केन्द्रित भएर डेंगु नियन्त्रणमा लाग्नुपर्छ’ डा. मरासिनी थप्छन्, ‘देशको सिस्टम भने एकीकृत छैन । केन्द्र तथा स्थानीय तहले आ–आफ्नो तरिकाले काम गरेका छन् । डेंगु नियन्त्रणका लागि पनि आपत्काल घोषणा गर्नुपर्ने देखिन्छ ।’

डेंगु संक्रमण प्रकोप घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए ।

विज्ञसँग राय तथा विश्लेषण गरेर मात्रै प्रकोप घोषणा गर्नुपर्ने उनी बताउँछन् । ‘डेंगु संक्रमण बढिरहेको छ । महाशाखाले विज्ञहरूको राय लिने काम गरिरहेको छ । प्रकोप घोषणा गर्ने कि नगर्ने भन्ने विषयको छलफलमै छौं’, डा. दासले भने ।





Source link

HamroAwaj

2022-09-18 20:44:21

Leave a Comment