छोरा ! घर फर्क – HamroAwaj


छोरा, बुहारी र नातिनीलाई शुभआशीर्वाद,

छोरा, यहाँ तिम्री आमालाई त्यति सञ्चो छैन तर पनि सकी–नसकी काम गर्दैछिन् । म सञ्चै छु तर ज्यानले पहिला जस्तो मेलो भ्याउन सक्दैन । थाकेर लखतरान हुन्छु । आशा छ, त्यहाँ तिमीहरूका ज्यानलाई सञ्चै होला ।

हुन त मैले चिठी नपठाए पनि हुने हो । दिनदिनै जस्तो फोटो देखिने फोनमा कुरा हुन्छ नै तर चिठीमा जस्तो सबै मनका कुरा फोनमा बोल्न नसकिंदो रहेछ । तिम्री आमा फोटो फोनमा तिमीहरूसँग कुरा गरिसकेपछि ‘ला ! यो पनि सोध्न बिर्सेछु, त्यो पनि भन्न बिर्सेछु, म त कस्तो सुद्धी नभाकी’ भनेर मसँग गन्गन् गर्छिन् । मैले नभनेको मात्रै हो मलाई पनि त्यस्तै हुन्छ ।

हामीले सावाँ अक्षर जसोतसो चिनेका थियौं । धक फुकाएर पढ्न पाइएन । गाउँमा स्कुल थिएन । सहरमा गएर पढ्ने त्यो बेला कल्पनै थिएन । पछि गाउँमा स्कुल खुलेपछि तिमीहरू दिदीभाइलाई पढायौं । गाउँका स्कुलको पढाइ सकिएपछि सहरमा पढाउने धोको थियो तर हैसियत थिएन । जे होला, लागेको ऋण कसो नतिरिएला त भनेर तिमीलाई सहरको स्कुलमा पढ्न पठाएँ । तिम्री दिदी माइत आउँदा ‘मलाई चाहिं बिहे गरेर टाढा पठाउनुभयो, भाइलाई सहरमा राखेर पढाउनुभयो’ भनेर चित्त दुखाउँछिन् । ‘त्यो समय नै त्यस्तै थियो नि छोरी’ भनेर सम्झाउँछु ।

चाडबाड र घरमा मिठो–मसिनो पाकेको दिन सधैं तिमीलाई सम्झन्थ्यौं । तिमी खान आइपुग्दैनौ भन्ने थाहा थियो तर पनि तिम्री आमा यो छोरालाई भनेर भाग लगाउँथिन् । म निःशब्द हेर्थें । तिमी दशैंमा घर आउँदा स्वर्ग मेरै घरमा आएको जस्तो लाग्थ्यो । त्यो दिनका लागि हामी दुई महिना अघिदेखि नै पर्खेका हुन्थ्यौं ।

रामचन्द्र उप्रेती

तिमीले सहरका ठूला स्कुलको पढाइ सकेको, राम्रो नम्बर ल्याएर पास भएको खबर पठाउँदा हाम्रा आँखाबाट हर्षका आँशु बगेका थिए । हाम्रो सपना पूरा भएको थियो । राति पाएको त्यो खबर कतिखेर गाउँमा गएर अरूलाई सुनाउनु जस्तो भएको थियो । त्यो रात निकै लामो लागेको थियो । बिहानै तल्लाघर, माथ्ला घरमा गएर विना प्रसङ्ग तिमी पास भएको सुनाएँ । बिहानै पँधेरामा आउने पँधेर्नीहरूसँग तिम्री आमाले खुसी साटेकी थिइन् । घरमा आएर मलाई सुनाउँदा निकै प्रफुल्ल थिइन् ।

पढाइ सकेपछि घर फर्कन्छौ भन्ने सोचेका थियौं । तिमीले केही दिन सहरमै बसेर काम खोज्ने र पैसा कमाउने भन्यौ । हामीलाई ठिकै लाग्यो । यत्रो पढेका छौ अब पढाइ अनुसारको काम गरेर केही कमाउने र लागेको ऋण तिर्न सघाउने तिम्रो सोचसँग असहमत हुने ठाउँ नै थिएन । तर तिमीले जति कोसिस गर्दा पनि कुनै गतिलो काम पाउन सकिन भन्थ्यौ ।

तिम्रा गाउँका साथीहरू पढ्न सहर जान सकेनन् तर भटाभट विदेश गए । केही पैसा कमाए, घर बनाए । नजिकैको सहर पसे । तिमी पढेको मानिस सहरमा नै जीवन र जीविकाको बाटो खोज्न थाल्यौ । गाउँमा एक्लै भए पनि तिमीले रोजेको बाटोमा हामीले विमति राख्न सकेनौं । त्यो बेला हाम्रा आँतमा अलि बल थियो । गरिखाउँला, नसकेका दिनमा जे त होला छोराले जे भन्छ त्यसै गरौंला भन्ने आँट गरेका थियौं ।

तिमी सहर पसेको बीस वर्ष भएछ । भनेजस्तो काम नपाएपछि, सहरमा श्रीमती र छोरीको खर्च धान्न धौ–धौ भएपछि तिमीले सडकको व्यापार रोजेका थियौ । बुहारीले सघाउँछिन् । छोरी ठिकैको स्कुलमा पढ्दैछिन् भन्थ्यौ । हामीले जसोतसो गाउँको खेतीपाती, बस्तुभाउ धानेकै थियौं । तिमीले ‘सडक–व्यापारबाट अलिअलि कमाएको पैसाले व्यापार बढाउँदैछु, सहकारीबाट ऋण लिएर भुइँतलाको एउटा सानो कोठा भाडामा लिएको छु’ भन्थ्यौ । हामी खुसी थियौं किनकि त्यो तिम्रो रोजाइ थियो । काठमाडौंमा एउटा चारकोठाको सानो घर र एउटा पसल तिम्रो सपना थियो । त्यो घरमा हामीलाई सुखले राख्ने तिम्रो सपना पसलसँगै महानगरको डोजरले भत्काएछ ।

तिम्री आमा रोगाइन् । मैले साठीको नेटो काटें । बस्तुभाउ धेर हुन थाले, खेती सम्हाल्न नसक्ने भयौं । त्यसैले गैरीघरे साइँलालाई ‘खेती लगाऊ आधा देऊ’ भनें । उनले गोरु छैन भन्दा गोरु दिएँ, बीउ दिएँ । एक साल खेती गरेपछि यो वर्षबाट खेती फिर्ता गर्ने अब बाली लगाउन नसक्ने भनेका छन् । हिउँद लाग्दैछ । खेती आफूले गरे जस्तो छैन । मन त्यसैत्यसै अमिलिएको छ । अब ज्यान गलेछ । खेती गर्ने आँट छैन ।

आऊ छोरा ! गाउँमै आऊ । गाउँ पवित्र छ । गाउँमा एउटालाई पर्दा अर्काले सघाउँछ, एउटालाई पोल्दा अर्कोलाई दुख्छ, सुख–दुःखका साथी गाउँमा पाइन्छ । सहर जति बसे पनि बिरानो हुन्छ । आऊ छोरा गाउँमै आऊ । तिमी गाउँलाई स्वर्ग बनाउन सक्छौ ।

तिम्री आमा छोरो घर आए, बुहारीले पकाएर दिएको खान पाए हुन्थ्यो भन्छिन् । नातिनीको औधी याद गर्छिन् । यो मेरो पनि मनको कुरा हो छोरा तर म कसलाई भनूँ ?

अस्ति टिभीमा खबर सुनें, काठमाडौंका मेयरले सडकमा दोकान गर्नेलाई उठाए भनेको । फेरि सुनें काठमाडौंका थुप्रै घरमा डोजर चलाइयो । त्यहाँ दोकान गर्ने व्यापारीको चिल्लीबिल्ली भयो । हाम्रो मनमा चिसो पसेको थियो तर तिमीले केही भनेका थिएनौ । दिउँसो माथ्ला घरका माइला दाइका कान्छा छोराले घरमा खबर गरेछन् उनको र तिम्रो दोकानमा एक्कासी डोजर चलेछ । पसलमा तिमी थिएनौ अरे ! बुहारीले कति सामान भेला पारिन् कति सकिनन् अरे ! दुवैको बिचल्ली भएछ । घरमा गाँसिएको पाली भत्काउन सूचना दिएका थिए रे तर घरधनीले किन आत्तिन्छौ म छु नि भनेछन् । डोजर आउँदा घरधनी माथिबाट तल नै ओर्लेनछन् । सायद तिमीले हामीलाई किन पीर पार्नु भनेर खबर गरेनौ होला ।

दशैँको मुखमा निमुखाको बिल्लीबाठै भयो । तिम्रो मात्रै होइन सबैको हो चित्त बुझाऊ । बदमासी घरधनीले गरेछन् सजाय निमुखाले पाए ।

छोरा, तिमीलाई सहर फापेन, काठमाडौं फापेन । बचेखुचेको सामान साहुलाई फिर्ता गरिदेऊ । सहकारीको ऋण तिर्न पुगेन भने भएका बस्तुभाउ बेचेर तिरौंला । आऊ घर फर्क । गाउँले हामीलाई सहरको सुविधा नदिए पनि सहरको जस्तो तनाव, प्रदूषण र फोहोर दिंदैन । शुद्ध हावा र खानाले हाम्रो जीवन राम्रो हुन्छ ।

छोरा, गाउँ फेरिंदैछ । पहिला जस्तो फोन गर्न डाँडाघरेको दोकानसम्म जानु पर्दैन । घरघरमा फोन र नेटको सुविधा छ । बाटो कालोपत्रे नभए पनि बाह्रै महिना गाडी चल्ने भएको छ । आउने वर्षमा नयाँ सरकार आएपछि कालोपत्रे हुने कुरा छ । स्कुलमा नयाँ हेडसर आएपछि स्कुल सुध्रिएको छ ।

अनि निर्वाचनपछि आएका स्थानीय जनप्रतिनिधिले गाउँको विकासमा धेरै काम गरेका छन्, गर्दैछन् । हाम्रो घरमाथिको दोबाटोमा वडा कार्यालय बसेपछि नयाँ–नयाँ घरहरू थपिंदैछन् । त्यहाँ गाउँमा घुम्न आउने मानिस बस्ने गरी होटल बन्दैछन् । अरू खाने–पिउनेका दोकान थपिंदैछन् । त्यो दोबाटोले त बजारको रूप लिंदैछ ।

हाम्रो बारीको सागपात, तरकारी, अन्न, दूध, कुखुरा यहींको बजारमा बिक्री हुन थालेको छ । वडा कार्यालयमा आउने–जाने मानिसको घुइँचो थपिंदैछ । कहिलेकाहीं सहरका मानिस यतै बास बस्ने गरी आउँछन् । गाउँमा खेती गर्ने र पैसा कमाउने मानिसको संख्या बढ्दैछ । दोबाटोको चोकमा पसल थपिने क्रम बढ्दैछ । यहीं आएर खेती सम्हाल्दै दोबाटोमा दोकान गर्न सक्छौ । सुध्रिएको स्कुलमा नातिनी पढ्छिन् । ठूली भएपछि धेरै पढाउन सहर पठाउँला ।

अब आफ्नै खेतबारीको अन्न र सागसब्जी खाएर आफ्नै गाउँको उन्नति र प्रगतिमा लागौं छोरा । यहाँ गाउँमा सहकारी खुलेको छ । पैसा चलाउन उस्तो खाँचो छैन । यहाँको सहकारीमा राम्रो मान्छे, पढेको र बुझेको मान्छे भए हुन्थ्यो भन्दैछन् । आऊ छोरा गाउँमै आऊ । तिम्रो खाँचो सहरमा होइन आफ्नै गाउँमा छ । तिमी आउँदा गाउँ हाँस्छ, गाउँ रमाउँछ । उता तिमी बसेको सहरले तिमीलाई देखिसहेन, गरिखान दिएन । उल्टै ऋण बोकाएको छ ।

आऊ छोरा ! गाउँमै आऊ । गाउँ पवित्र छ । गाउँमा एउटालाई पर्दा अर्काले सघाउँछ, एउटालाई पोल्दा अर्कोलाई दुख्छ, सुख–दुःखका साथी गाउँमा पाइन्छ । सहर जति बसे पनि बिरानो हुन्छ । आऊ छोरा गाउँमै आऊ । तिमी गाउँलाई स्वर्ग बनाउन सक्छौ ।

(उप्रेती सहकारी अभियन्ता हुन् ।)





Source link

HamroAwaj

2022-09-22 09:21:23

Leave a Comment