टुकुचाको सुरुङ राणाकालमै बनेको निष्कर्ष, पुरातत्व प्रमाणित भए बिगार्न नपाइने – HamroAwaj


७ असोज, काठमाडौं । टुकुचालाई भूमिगत गर्न बनाइएको संरचना पुरातात्विक सम्पदा पुष्टि हुनसक्ने आधारहरु भेटिएका छन् । पुरातत्व विभागले टुकुचा भूमिगत गर्न बनाइएको सुरुङबारे अध्ययन गर्न बनाएको समितिका सदस्यहरुले सुरुङमार्ग राणाकालमा नै बनेको प्रमाणित गर्ने आधार भेटिएको बताएका छन् ।

महानगरपालिकाले भूमिगत संरचना खोतल्ने र खुला गर्ने गरी डोजर चलाएपछि सम्पदा अभियान्ताको अनुरोधमा पुरातत्व विभागले एक अध्ययन समिति बनाएको थियो । पुरातत्वविद् भाष्कर ज्ञवालीको नेतृत्वको समितिले नारायाणहिटीभन्दा बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजाम्म टुकुचा भूमिगत रुपमा बनाइएको सुरुङ सय वर्षभन्दाअघि नै बनेको निष्कर्ष निकालेको छ । त्यसकै आधारमा समितिले प्रतिवेदन लेखन थालेको छ र दशैंअघि नै प्रतिवेदन पुरातत्व विभागमा पेश गर्ने बताएको छ ।

अध्ययनका क्रममा महानगरले सुरुङ खोतलेको क्षेत्रमा निस्किएका कतिपय इँटामा ‘श्री-३ वीर’ लेखेको भेटाएको छ । सुरुङ बनाउन भने सादा इँटाहरु पनि प्रयोग भएको पाइएको छ । ‘श्री ३ वीर लेखिएका इँटा सुरुङ बनाउन प्रयोग भएका हुन् कि अरु नै संरचनाका हुन् भन्ने यकिन गर्दैछौं,’ समितिका एक सदस्यले भने,’त्यसबाहेक सुरुङ कहिले बनेको थियो भन्ने अन्य प्रमाण पनि संकलन गरेर विश्लेषण गरिरहेका छौं ।’

उनका अनुसार सुरुङ बनाउन इँटासँगै सुर्की चुना प्रयोग गरेर निर्माण भएको पाइएको छ । गुम्बज आकारमा इँटाहरु जोडेर निर्माण भएको सुरुङमा पानी बगाउन ठाउँ-ठाउँमा भर्‍याङजस्तो आकारमा छाँगा बनाउँदै काठमाडौं प्लाजासम्म पुर्‍याएको पाइएको छ ।

सिधा बगाउँदा ओरालो नभएर पानी जम्ने खतरा हुने भएपछि ठाउँ-ठाउँमा अग्ला कन्लाजस्तो बनाउँदै जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म पुर्‍याएको हुनसक्ने अध्ययनमा सहभागी एक अधिकारीले बताए ।

यसअघि नै टुकुचा सुरुङमार्ग करिब १३० वर्षअघि नै वीर शम्शेरले बनाउन लगाएको कागजी प्रमाणहरु सार्वजनिक भएका थिए । तर, महानगरपालिकाले खोला अतिक्रमण गरेर बनाइएको भन्दै त्यसलाई खुला गर्न ठाउँ-ठाउँमा डोजर चलाएको थियो ।

यसले गर्दा सुरुङका विभिन्न भागहरु खुला भएका छन् । यदि पुरातत्व विभागले यो सुरुङमार्गलाई पुरातात्विक सम्पदाका मान्यता दिएमा महानगरले यसलाई बिगार्न पाउने छैन । प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सरकारको स्वीकृतिविना प्राचीन स्मारकका सम्पदालाई भत्काउने, हटाउने, परिवर्तन गर्ने विरुप गर्ने जस्ता काम गर्न पाइँदैन ।

पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

पुरातत्व विभागले टुकुचाको सुरूङ पुरातत्व भएको नभएको खोजबिन गर्न बनाएको समितिले हात्तीसार क्षेत्रमा महानगरले टुकचा खोलतेको क्षेत्र र आसपास अध्ययन गरेर आफ्नो अन्तिम निष्कर्षसहितको प्रतिवेदन लेख्न थालेको छ । पुरातत्वको टोलीले सुरुङको ऐतिहासिकता खोज्न विभिन्न भागमा भित्रैसम्म पुगेर अध्ययन गरेको थियो ।

सुरुङ बनाउन प्रयोग भएको इँटा र चुना सुर्कीहरुको नमूना लिएर तिनीहरुको बनोट र प्रकृति अध्ययन गरेको थियो । ती इँटाहरु राणाकालीन नै भएको र सुरुङको बनोट पनि ‘निओक्लासिक’ शैलीको देखिएको विभागका अधिकारीहरु बताउँछन् ।  राणाकालमा नेपालमा धेरै संरचनाहरु बेलायतको प्रविधिबाट प्रभावित भएर बनेका थिए । समयक्रममा ती संरचनामा सय वर्ष पुरा भएर अहिले पुरातत्वका रुपमा संरक्षित छन् ।

तर, भूमिगत सुरुङ भएकाले टुकुचाको सुरुङकोबारेमा अहिलेसम्म अध्ययन भएको थिएन । प्रजातन्त्र स्थापनापछिका दशकहरुमा अतिक्रण गरेर टुुकचा लुकाइएको हो कि राणाकालमा नै भूमिगत गरिएको थियो भन्ने अहिलेसम्म आधिकारिक रुपमा प्रमाणित भएको छैन ।

नापी विभागले समेत २०३२ सालमै यहाँ खोला भूमिगत भएका कारण खोलाको नक्साङ्कन गरेको थिएन । यसले गर्दा यो भूमिगत सुरुङ राणाकालमा नै निर्माण भएको धेरैको अनुमान थियो ।

अध्ययन समितिका संयोजक ज्ञवाली अहिलेसम्म प्राप्त प्रमाणले सुरुङ राणा कालमै बनेको प्रमाणित हुने बताउँछन् । ‘हामीले अहिलेसम्म संकलन गरेका प्रमाणसहित अन्य लिखत प्रमाणहरुलाई पनि आधार बनाएर हामी टुकुचा सुरुङबारे निष्कर्षमा पुग्छौं,’ उनले भने ।

सुरुङको ऐतिहासिकता परीक्षण गर्न इँटाहरुको कार्वनडेटिङ गर्नुपर्दैन ? भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने,’अहिलेसम्म प्राप्त भएका प्रमाणहरुले नै सुरुङ कहिलेतिर बनेको हो भन्ने प्रमाणित हुन्छ, कार्बनडेटिङ नेपालमा हुँदैन, अहिलेसम्म भेटाएका आधार प्रमाण नै पर्याप्त भएकाले त्यहाँसम्म पुग्न पर्दैन ।’





Source link

HamroAwaj

2022-09-23 20:30:41

Leave a Comment