यसकारण नेपालको भविष्य हो ‘ग्रिन हाइड्रोजन’ – HamroAwaj


अहिले विश्वभर नै ‘ग्रिन (हरित) हाइड्रोजन’ को चर्चा छ । यो हाइड्रोजन मात्रै हैन, वातावरणलाई असर नपार्ने हरित ऊर्जाको प्रयोग गरेर उत्पादन हुने ‘ग्रिन हाइड्रोजन’ हो । सोलार र जलविद्युतबाट निकालिएको विद्युत् प्रयोग गरेर उत्पादन गरिने हाइड्रोजन सबै हिसावले फलदायी र महत्वपूर्ण हुन्छ ।

पानीबाट हाइड्रोजन निकाल्न बिजुली चाहिन्छ । हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेको हुन्छ । हाइड्रोजन निकाल्न पानीलाई ‘ब्रेक डाउन’ गर्नुपर्छ । इलेक्ट्रोलाइसिस विधिबाट पानी (एचटूओ) हाइड्रोजन र अक्सिजनलाई छुट्याउने गरिन्छ । यसपछि यी दुवै अलग–अलग निस्कन्छन् ।

यसरी निकालिएको हाइड्रोजन विभिन्न ठाउँमा प्रयोग हुन्छ । हाइड्रोजनबाटै चल्ने विभिन्न ठूला–ठूला गाडी पनि बन्न थालेका छन् । पानी जहाजमा पनि हाइड्रोजन प्रयोग हुन थालेको छ । भारी सवारी साधन पनि यसबाटै चलाउन थालिएको छ । रेल र विमानहरुमा पनि यसको प्रयोगबारे अध्ययन हुँदैछ ।

विश्वमा हाइड्रोजनलाई पेट्रोल–डिजेलको विकल्पमा रुपमा चर्चा गरिंदैछ । त्यसको ‘फाइनान्सियल भायबिलिटी’ (वित्तीय सम्भावना) र उत्पादन कस्ट (लागत) मा हेर्नुपर्ने हुन्छ । अहिले नै इकोनोमिकल्ली (आर्थिक रुपमा) के हुन्छ भन्ने कुरा भने अली ‘इम्याचुअर्ड’ (अपरिपक्व) छ । त्यसको ढुवानी पनि केही महँगो हुन्छ ।

जे भएपनि हाइड्रोजन भविष्यमा मुख्य इन्धनका रुपमा आउँदैछ । नेपालमा जलविद्युत् प्रयोग गरेर यस्तो हाइड्रोजन निकालिने भएकाले यो ‘शून्य कार्बन’सहित उत्पादन हुने ‘ग्रिन हाइड्रोजन’ हो ।

हाइड्रोजन हाम्रा लागि इन्धनका रुपमा मात्रै हैन, अरु हिसावले पनि महत्वपूर्ण हुन्छ । हाम्रो लागि एमोनिया बनाउन पनि यो प्रयोग हुनसक्छ । हाइड्रोजन र नाइट्रोजनको संयोजनबाट एमोनिया बन्छ । वायुमण्डलको हावामा नै ७९ प्रतिशत नाइट्रोजन हुन्छ । नाइट्रोजन हावाबाट ट्रयाप गरेर हाइड्रोजनसँग मिलायो भने एमोनिया ग्याँस बन्छ । एमोनिया ग्याँस नेपालमा पनि आयात भइरहेको छ ।

नेपालमा धेरै प्रयोग हुने ग्याँसमा एमोनिया पनि पर्छ । विष्फोटक पदार्थ बनाउनदेखि विभिन्न काममा यसको प्रयोग हुन्छ । हाइड्रोजन उत्पादनपछि एमोनिया पनि उत्पादन गरेर बेच्न सक्छौं ।

हाइड्रोजनमा सेन्थेटिक एमोनिया र कार्बन मनोअक्साइडसहित ग्याँस मिसाउँदा घरमै बाल्न सकिने सेन्थेटिक ग्याँस पनि उत्पादन हुन्छ । हाइड्रोजनबाट एमोनिया उत्पादनपछि सिमेन्ट फ्याक्ट्रीले फाल्ने धुँवा (कार्वनडाइअक्साइड) ट्र्याप गरेर युरिया मल बन्छ । यसले नेपालको खाद्य सुरक्षामा पनि सहयोग पुग्छ ।

अहिले युरिया मल आयातमा हामीले जुन सास्ती भोगिरहेका छौं, त्यो समस्या पनि हल हुनसक्छ । युरिया मल बनाउन पनि हाइड्रोजन प्रयोग हुने र हाइड्रोजन बनाउन जलविद्युत् प्रयोग हुने हो ।

यसले जलविद्युत् र हाइड्रोजनको संयोजन गरेर एउटा इन्धन आपूर्ति र खपतको चक्र नै बनाउँछ । जुन, अर्थतन्त्रका लागि निकै लाभदायक पनि हुन्छ । एक त यसले विद्युत् खपत गराउने भयो, अर्के महत्वूपर्ण कुरा यसले ऊर्जा र खाद्य सुरक्षा तथा सम्प्रभुतामा निकै सहयोग गर्ने भयो ।

अब विद्युतीय गाडी मात्रै नभएर हाइड्रोजन गाडीहरु पनि आउन सक्छन् । यस्तो गाडी आयो भने त पेट्रोल आयात कम गर्ने माध्यम नै बन्न सक्छ । ठाउँ–ठाउँमा पेट्रोल पम्पजस्तै हाइड्रोजन स्टेसनहरु हुनसक्छन् । त्यसले पेट्रोल डिजेल आयात गर्नै नपर्ने दिन नआउला भन्न सकिन्छ र ?

हामी विद्युतीय गाडी पनि प्रवद्र्धन गरिरहेका छौं । अझ हाइड्रोजन गाडीहरु पनि आए भने त्यसले अर्थतन्त्रलाई आत्मनिर्भरतातिर लैजान सहयोग गर्छ । अहिले अली ‘हेभी’ गाडी हाइड्रोजनबाट चल्ने गरी बनाइँदैछ । सोचौं, हेभी ड्युटीका गाडीले हाम्रै हाइड्रोजन प्रयोग गर्ने अवस्था बन्यो भने हामी कति धेरै पक्षबाट लाभान्वित हुन्छौं होला त ?

देशभित्रको जलविद्युतबाट उत्पादित हरित ऊर्जा खपतका लागि महत्वपूर्ण योगदान पुग्ने छ । यसले ऊर्जा खपतको नयाँ ढोका मात्रै खोल्दैन, ऊर्जाको स्रोतमा नेपाललाई थप मजबुत पनि बनाउनेछ ।

यो परिवेश हेर्दा त इन्धनको सम्पूर्ण स्रोत नै नेपालको पानी हुने भयो । पानीबाटै विद्युत्, पानीबाटै हाइड्रोजन, हाइड्रोजनबाटै एमोनिया ग्याँस, युरिया निस्किने भयो भने हाम्रो पानी नै हाम्रो ठूलो शक्ति बन्ने भयो ।

अझ महत्वूर्ण कुरा के छ भने यो इन्धन पूर्ण रुपमा ‘ग्रिन’ हो । विश्वव्यापी तापमान वृद्धि, त्यसको असर न्यूनीकरणका लागि भइरहेका अन्तर्राष्ट्रिय पहल, कार्बन उत्सर्जन कटौतीले विश्वव्यापी प्रतिवद्धतासहितको परिवेश हेर्दा त हाम्रो जलविद्युत् र हाइड्रोजन त निकै महत्वपूर्ण हुने देखियो ।

तेलका खानी रहेका खाडी देशमा समेत हाइड्रोजनको भविष्य देखेर त्यसमा लगानी गर्न सुरु भएको छ । मरुभूमिमा सोलार राखेर त्यसको प्रयोग गरेर हाइड्रोजन बनाउन सुरु भएको छ । सुमन्द्रकै पानी प्रयोग गर्न उनीहरुलाई त ‘डिसाल्नेसन’ (नुनरहित बनाउने पद्धति) गर्नुपर्ने हुन्छ । हाम्रो त पानी नै शुद्ध र सफा छ । त्यसमा हाइड्रोजन मात्रै छुट्याए हुन्छ । यसैकारण नेपाल इन्धनको मुख्य स्रोत मुलुक बन्नसक्छ ।

यहीअनुसार नेपालले हाइड्रोजनलाई पनि प्रबर्द्धन गर्नुपर्छ । त्यसैकारण हामीले काठमाडौं विश्वविद्यालय र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट, कोरियासँग समझदारी गरेका छौं । हरित ऊर्जामार्फत हाइड्रोजन, एमोनियाको उत्पादन र युरिया मल उत्पादनका लागि मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन हुँदैछ ।

नेपालको जलविद्युत् आयोजनाबाट उत्पादित हरित ऊर्जाको प्रयोग गरी हाइड्रोजन, एमोनिया उत्पादन गर्ने र मल कारखाना स्थापनाका लागि एउटा नमुना परियोजनाको डिजाइन, विकासका लागि सम्भाव्यता अध्ययन गर्दैछौं । हामीलाई ग्रिन हाइड्रोजनको सम्भावनाबारे भएको अध्ययनको प्रारम्भिक प्रतिवेदन पनि आएको छ । हामी अन्तिम प्रतिवेदन कुरिरहेका छौं । एउटा पाइलट (नमूना) प्रोजेक्ट बनाउने भन्ने योजनामा गृहकार्य गरिरहेका छौं ।

यस्तो महत्वपूर्ण परियोजना अगाडि बढाउन सकिएमा देशभित्रको जलविद्युतबाट उत्पादित हरित ऊर्जा खपतका लागि महत्वपूर्ण योगदान पुग्ने छ । यसले ऊर्जा खपतको नयाँ ढोका मात्रै खोल्दैन, ऊर्जाको स्रोतमा नेपाललाई थप मजबुत पनि बनाउनेछ ।

नेपालमा हरित हाइड्रोजन उत्पादन गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहितको मार्गचित्र बनाएर अघि बढ्नुपर्छ । हाल विश्वमा इन्धनको नयाँ स्रोतको रुपमा आएको हरित हाइड्रोजन ग्याँसका लागि आवश्यक पानी र जलविद्युत् नेपालमा प्रशस्त छ । भविष्यमा हरित हाइड्रोजन निर्यात गर्ने प्रमुख देशको रुपमा स्थापित हुने सम्भावनालाई हामीले अवसरका रुपमा उपयोग गर्नुपर्छ ।

यसमा अहिले गैरआवासीय नेपाली र लगानीकर्ताहरुले पनि चासो बढाउनुभएको छ । उहाँहरु यसबारे कार्यक्रम नै गरेर छलफल र बहस गर्न लाग्नुभएको छ ।

यसमा नेपालको निजी क्षेत्र पनि आउनुपर्छ । नमूना परियोजना हामी विकास गर्छौं, त्यसलाई विकास र विस्तार गर्न निजीले नै कदम चाल्नुपर्छ ।

हाइड्रोजन इन्धन उत्पादनमा अहिले धेरै निजी क्षेत्रका कम्पनीहरु पनि चासो र प्रस्ताव लिएर आइरहनुभएको छ, यसलाई निकै सकारात्मक रुपमा लिनुपर्छ । नेपालमा ‘ग्रिन हाइड्रोजन’को सम्भावनाबारे नेपाली मात्रै नभएर भारतीय कम्पनीहरु पनि चासो लिएर आउँदैछन् ।

यसलाई चर्चामा मात्रै सीमित नराखेर काम नै गर्ने कतिपय कम्पनीको योजना छ । यसलाई निकै स्वागतयोग्य मान्नुपर्छ, किनकी ‘ग्रिन हाइड्रोजन’नै नेपालको भविष्य हो ।

(विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग रवीन्द्र घिमिरेले गरेको कुराकानीमा आधारित)





Source link

HamroAwaj

2022-09-28 21:10:16

Leave a Comment