‘मैं जाम्ला’: एउटा गीतले नयाँ-पुरानो सत्तालाई हानेको झटारो – HamroAwaj


पीर जुनिभरिलाई
नउड्ने चरीलाई
मैं जाम्ला, मैं जाम्ला
भै जाम्ला, आकाशै चरी झैं

यो वर्ष निस्केका नेपाली गीतहरूमध्ये मलाई सबैभन्दा छोएका शब्द हुन् यी । गीतका यी हरफले यति कम शब्दमा हामी बाँचेको समय र नेपाली समाजको सिंगो कथा भनेका छन् ।

रोजगार छैन । भएको जीविका धरापमा छ । विपद्‍मा काम लाग्ला भनेर चुनिपठाएको सरकार त्यही निम्छरो जीविका खोस्न उद्यत् छ । बालबच्चाको भोक मेट्ने उपाय छैन, तिनलाई स्कुल पठाउने अवसर छैन । तिनको भविष्य आफ्नोभन्दा उज्ज्वल होला भन्ने आधार छैन । त्यसैले जुनीभरिलाई पुग्ने पीर छ ।

आड लागौं कुनै सहारा छैन, दरो खुट्टा उभिऔं बलियो आधार छैन । भएको जीवनसाथीलाई समयले बेपत्ता पारेको छ । समाउने हाँगो छैन, टेक्ने र उडान भर्ने डाली छैन । त्यसैले जीवन नउड्ने चराजस्तै छ ।

तर पनि मनमा सवार छ उड्ने भूत । सारा प्रतिकूलताका बाबजुद पनि आकाशमा चरी झैं उड्ने धीत बाँकी नै छ । अगाडि जाने बाटो छैन, तर त्यसलाई खन्ने आत्मविश्वास टुटिसकेको छैन । वर्तमानमा निराशा र खण्डहर बाहेक केही छैन, तर भविष्यमा उज्यालो हुने विश्वासको धिपधिपे दियो बलेकै छ ।

त्रासद वर्तमानको खरो चित्रण गर्ने र भविष्यका लागि सपनाको संसार बुन्ने यति गहन तर सुललित शब्द चयन सायद प्रकाश दूतराजले मात्रै गर्न सक्थे र गरे । त्यसमाथि गीतको भिडियोकर्ममा उनले देखाएको सिर्जनशीलताले यसलाई श्रव्य-दृश्य कलाकर्मको अनुपम नमुना बनाएको छ जसमा आफ्नो भूमिकालाई पूरै न्याय गरेका छन् लक्ष्मी बर्देवा र सुनिल दूतराजले ।



यो दशैंमा मैले दिन दिनभर यो गीत गुन्गुनाएँ, दूतराजसित लय मिलाउँदै पनि, एक्लै पनि । प्रकाश सपुतको ‘बोल माया’ र सुजन चापागाईंको ‘घुमी घुमी’ पछि फेरि एकपल्ट नेपाली संगीतमा मौलिकता, सिर्जनशीलता र कल्पनाशीलताको त्रिवेणी बनेको मैले पाएँ ।

यसै वर्ष नयाँ नेतृत्व पाएको काठमाडौं महानगरले साना व्यवसायीमाथि धावा बोलेपछिको समयलाई मैले नजिकबाट नियालिरहेको छु । महानगरको त्यसखाले धावाप्रति आम मानिसले जस्तो प्रतिक्रिया देखाएका छन्, त्यसले हामी बाँचेको समय र समाजबारे धेरै कुरा बोल्छ ।

सायद दशकौंको बायाँपन्थी राजनीतिको प्रभाव हुनुपर्छ, उद्यम र व्यवसायलाई धेरै नेपालीले आजका दिनसम्म पनि हेय दृष्टिले हेर्छन् । हामीमध्ये धेरैलाई लाग्छ- सबै व्यवसायी र व्यापारीहरू ठग हुन्, व्यवसाय गर्नु नै ठगी हो । त्यसैले तिनमाथि थिचोमिचो हुनु खासै अन्यायको विषय होइन ।

हामीलाई आफ्नोबाहेक अरुको निजी सम्पत्तिमाथिको अधिकारमा पनि खासै विश्वास छैन । त्यसको प्रयोग गरेर हुने उद्यम, त्यसबाट हुन सक्ने प्रगति, आउन सक्ने समृद्धि, लिन सम्भव हुने शिक्षा र स्वास्थ्य सेवा आदि केहीप्रति चासो र विश्वासै छैन ।

जब व्यवसायीको कुरा आउँछ, धेरै नेपालीका लागि खरब कमाएर अरब कर छल्ने व्यावसायी र लाख कमाएर लाखै कर तिर्ने व्यावसायीमा कुनै भेद छैन । आजीवन तलब वा पेन्सन आउने सरकारी जागिरेहरूका लागि त ती दुवै किसिमका व्यवसायी र नाङ्लोमा पसल थापेर वा मकै पोलेर दिनमा एकाध सय कमाउनेहरूमा पनि कुनै भेद छैन ।

रगत–पसिना बगाएर उद्यम सिर्जना गर्ने र कर तिरेर आफूलाई तलब खुवाउने नागरिकहरू उनीहरूलाई परजीवी लाग्छन् । मानौं कि उनीहरूलाई खेदेर डाँडा कटाउने हो भने समाजका सारा समस्याहरू निमिट्यान्न हुन्छन् ।

समाजको यस्तो विसंगत मनोविज्ञानप्रतिको कलात्मक कटाक्ष हो दूतराजको ‘मैं जाम्ला’ गीत ।

राज्यले कुनै बहानामा कसैको निजी सम्पत्ति र जीविकामाथि डोजर चलायो, चाडको मुखमा मानिसहरू भोकै परे । आम मानिसको पहरेदार बन्नुपर्ने मिडियाले ती मानिसको पीडा सुन्नुपर्थ्यो अनि राज्यलाई प्रश्न सोध्नुपर्थ्यो ।

जीवन क्षेत्री

जस्तो कि, नियम र कानुनका फुँदा देखाएर सडकबाट उद्यमीहरू त उठाइए, कानुन सबैका लागि बराबर भनेर हौवा पनि पिटियो, तर जब ती मानिस अस्पताल जान्छन्, के तिनले उपचार पाउँछन् ? जब स्कुल जान्छन्, उचित शिक्षा पाउँछन् ? आधारभूत स्वास्थ्य र शिक्षा निःशुल्क हुने अनि आकस्मिक स्वास्थ्य सेवाबाट कोही वञ्चित नहुने भनेर तिनै कानुनका पोथामा लेखिएको छैन र ? कानुन सबैका लागि हो भने शासकहरूका लागि त्यो किन लाग्दैन ?

कानुनले तोकेको सेवा नदिएबापत न्यायको कठघरामा किन उभिंदैनन् सेलिब्रिटी जनप्रतिनिधिहरू ?

किन कानुन मिचेबापत तिनका घरमा चल्दैनन् डोजरहरू ?

किन जफत हुँदैनन् तिनका निजी सम्पत्ति ?

किन भोकै पर्दैनन् तिनका सन्तानहरू ?

किन हातखुट्टा बाँधिदैनन् तिनका सपनाका ?

सोधिनुपर्थ्यो यी प्रश्न । तर दशकौंको गडबड राजनीतिक स्कुलिङका कारण उद्यम र निजी सम्पत्तिप्रतिको वितृष्णा यसरी हाम्रो डीएनएमै घुलेर बसेको छ कि हामी त घर जोडिएको छिमेकीकहाँ डोजरले हान्दासम्म पनि ताली नै पिटिरहेका छौं । निजी सम्पत्तिमा डोजरले हान्नासाथ र मकै पोलेर बेच्नेहरूको बिचल्ली पार्दै सडकबाट लखेट्नासाथ यो देश सिंगापुरजस्तो समृद्ध बन्छ भन्ने भ्रम बाँडिरहेका छन् एक थान स्मार्ट फोन र आधा थान मस्तिष्क हुने युट्युबे, फेसबुके र टिकटकेहरू ।

अनि उनीहरूले देखाएको तमासा हेरेर मग्न छ सिंगो देश ।

नेपालको विडम्बना के भने उच्च र मध्यमवर्गले कुनै पनि जटिल वा आफ्ना लागि असुविधाजनक प्रश्नहरू सोध्न र सामना गर्न चाहँदैन । उसलाई आफू यहाँबाट अघि लागेर अझ धनी बन्नुछ, पछि परेको वर्गलाई आफूसम्म ल्याउनु छैन । उसको सपनामा फराकिला सडकहरू छन्, जहाँ ठूला निजी गाडी गुडाउन पाइयोस् तर धुस्राफुस्रा मानिसहरूले व्यापार गरेको हेर्नु नपरोस् ।

दुःखीका मुद्दा बोक्ने भनिएका वामपन्थीहरूमा त कहिले कुन देशले रेल वा पानी जहाज ल्याएर देशलाई रातारात समृद्ध बनाइदिइहाल्छ भन्ने छट्पटीपूर्ण पर्खाइ मात्र छ । यहीं जन्मेर हुर्केका मानिसहरूले मेहनत गरेर, पसिना बगाएर निजी सम्पत्ति जम्मा गर्दै देशलाई समृद्ध बनाउन सक्छन् भन्ने कुरा उनीहरूलाई तिनका गुरुले कहिल्यै सिकाएनन्, त्यसैले कसैले भने पनि उनीहरूले त्यसलाई पत्याउँदैनन् ।

त्यसैले बडो विसंगत अवस्था छ अहिले नेपालमा । ऋण खोजेर तीस हजारको ठेला किन्ने, त्यसैमा सडक छेउमा व्यापार गरेर केटाकेटी पाल्ने एकल महिला सडक मिचेकोमा ‘अभियुक्त’ बनेकी छिन्, उनको निजी सम्पत्ति जफत भएको छ । तर पारदर्शी रूपमा अरबौं भ्रष्टाचार गरेर विदेश पठाउने अनि बिचौलिया लगाएर त्यही पैसा भित्र्याउन खोज्ने ‘सर्वहारा’को नेता देशकै उद्धारक बनेका छन् ।

जो नयाँ किसिमको राजनीति गर्छौं भनेर आएका छन्, तीसँग पनि अरबौं भ्रष्टाचार गर्नेहरूले धरासायी पारेका अस्पताल र स्कुल ठीक पार्ने न ल्याकत छ, न धैर्यता, न तिनलाई ठीक पार्नुपर्छ भन्ने बोध नै । त्यसैले तिनले सजिलो काम देखाएर सस्तो लोकप्रियता कमाउन खोज्दा पिसिन पुगेका छन् दूतराजको ‘मैं जाम्ला’ गीतकी आमा पात्र जस्ता सीमान्तकृतहरू ।

त्यति हुँदा पनि संघर्ष गरिरहने र बाँचिरहने आम मानिसको उत्कण्ठा अझै सकिइसकेको छैन भन्दै दूतराजले गाएका छन्-

दु:खै छ झोलीमा
बगाम्ला खोलीमा
मैं जाम्ला, मैं जाम्ला
भै जाम्ला, आकाशै चरी झैं ।



Source link

HamroAwaj

2022-10-11 13:21:36

Leave a Comment